Thursday, April 25, 2024

-->

करेन्ट लगाएर धमाधम मारिँदै हात्ती, रोकिएन मान्छेसँगको द्वन्द्व

पूर्वी नेपालमा हात्ती छेक्न बनाइएका विद्युतीय तारबारमा परेर हात्ती मर्ने क्रम बढेको छ। पछिल्लो पाँच महिनामा झापा, सुनसरी र उदयपुरमा पाँच वटा हात्ती मारिएका छन्।

करेन्ट लगाएर धमाधम मारिँदै हात्ती रोकिएन मान्छेसँगको द्वन्द्व

काठमाडौँ– गएको कात्तिक ३० गते झापाको कचनकवल गाउँपालिका–१, साधुपर्ती कालीगन्जस्थित गंगाप्रसाद दाहालको धानबालीमा मृत अवस्थामा जङ्गली हात्ती भेटियो। गत पुस ८ मा सुनसरीको वराहक्षेत्र नगरपालिका–२ कौशिका सामुदायिक वनक्षेत्रमा पनि वयस्क हात्ती मृत भेटियो।

त्यसैगरी, गत भदौ १९ गते उदयपुरको बेलका नगरपालिकाको हात्तीसार सामुदायिक वन क्षेत्रको पूर्वपट्टि वयस्क हात्ती मृत भेटिएको थियो। वन तथा भू–संरक्षण विभागका अनुसार पछिल्लो पाँच महिनामा प्रदेश–१ का झापा, सुनसरी र उदयपुरमा पाँचवटा हात्ती मृत भेटिएका छन्। त्यसमध्ये झापामा तीन तथा सुनसरी र उदयपुरमा एक–एक हात्ती मृत भेटिएका हुन्।

“अस्वभाविक रूपमा हात्तीहरू मरिरहेका छन्। यो विषयले विभागलाई गम्भीर बनाएको छ”, वन तथा भू–संरक्षण विभागका प्रवक्ता नवराज पुडासैनी भन्छन्, “प्रत्येक महिना हात्ती मारिने विषय सामान्य र चानचुन होइन।” 

हात्ती मारिने क्रम बढेपछि वन तथा वातावरण मन्त्रालयले गएको पुस ८ गते अध्ययन कार्यदल गठन गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक संयोजक रहेको कार्यदलले एक महिनाभित्र अध्ययन प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ। 

झापामा १७ वर्षमा मारिए १७ हात्ती
देशका विभिन्न स्थानमा प्रतिशोधका कारण मानिसले जंगली जनावरमाथि आक्रमण गर्ने र मार्ने क्रम बढेको हुनसक्ने मन्त्रालयले जनाएको छ। डिभिजन वन कार्यालय झापाका अनुसार यो जिल्लामा मात्र २०६२ देखि २०७९ पुससम्म  १७ वटा हात्ती मारिएका छन्। 

यही अवधिमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु भएको छ। हात्तीको विषयमा विद्यावारिधि गरेका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख डा.अशोक रामका अनुसार देशभर मानवीय क्रियाकलापका कारण सन् २००० देखि २०२२ सम्म ४५ हात्ती मारिएका छन्।

“करेन्ट लगाएर, खाल्डोमा पारेर र गोली हानेर हात्ती मारिएको छ। अरू कारणबाट मरेका गणना गर्ने हो भने संख्या अझ बढी हुनसक्छ”, उनी भन्छन्। त्यसैगरी, हात्तीको आक्रमणबाट ज्यान गुमाउने मानिसको संख्या ३१० भन्दा बढी छ।

डा.राम मानवीय क्रियाकलापका कारण हात्तीको बासस्थान क्षयीकरण तथा खण्डीकरण भएको र त्यहीकारण मानव तथा हात्तीबीच द्वन्द्व बढेको बताउँछन्। “हात्तीलाई विचरणका लागि ठूलो क्षेत्र चाहिन्छ। विगतमा हात्ती विचरण गर्ने र हिँडडुल गर्ने क्षेत्रमा अहिले मानिसको बसोबास बढ्यो। त्यहीकारण हात्ती र मान्छेबीच द्वन्द्व बढ्यो”, उनी भन्छन्।

डिभिजन वन कार्यालय झापाका डिभिजन प्रमुख युवराज मास्केका अनुसार मेचीनगर हुँदै भारतबाट आउने हात्ती पश्चिममा पर्सा राष्ट्रिय निकुञ्जसम्म पुग्छन्। झापादेखि पर्सासम्मको दूरी झण्डै ४०० किलोमिटर हुन्छ। 

हात्तीले परापूर्वकालदेखि नै यो रुटको प्रयोग गरिरहेका छन्। अहिले यस करिडोरमा मानव बस्ती र विभिन्न संरचना बनेका कारण हात्ती र मानवबीच द्वन्द्व बढेको मास्के बताउँछन्। 

डा.रामका अनुसार भारतबाट शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जको करिडोर हुँदै नेपाल प्रवेश गर्ने हात्ती दाङसम्म आइपुग्छन्। हात्ती पुगेको तथ्यांक नभएको तराईका जिल्लामा रुपन्देही र कपिलवस्तु मात्र छन्। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपालले वार्षिक रूपमा ४०० हात्तीलाई खाना पु¥याउनुपर्छ। त्यसमध्ये १७६ घरपालुवा, २७० जंगली छन् भने करिब १५० पाहुना हात्ती छन्। पाहुना हात्ती भारत र बंगालादेशबाट समेत आउँछन्। 

वनमा पर्याप्त खाना नहुँदा हात्ती मानव बस्ती पस्ने डा.रामको भनाइ छ। एउटा हात्तीलाई दैनिक १५० देखि २५० केजीसम्म खाना आवश्यक पर्ने उनी बताउँछन्। 

मान्छे–हात्ती द्वन्द्व झापामा धेरै 
हात्ती र मानवबीच द्वन्द्व हुने जिल्लामा झापा, सुनसरी, सप्तरी, महोत्तरी, उदयपुर, बर्दिया, कञ्चनपुर, बारा, पर्सालगायत छन्। त्यसमध्ये, सबैभन्दा बढी प्रभावित जिल्ला झापा हो।

झापाका डिभिजन वन प्रमुख मास्के भारत र बंगलादेशबाट आउने पाहुना हात्तीका कारण समस्या थपिएको बताउँछन्। “नेपालमै बसोबास गर्ने झापाका रैथाने हात्तीको संख्या ८–१० वटा छन्। ती हात्तीलाई त हामी सजिलै थेग्थ्यौँ”, उनी भन्छन्, “तर, भारतबाट करिब डेढ सयको संख्यामा हात्तीको बथान आउँछ। त्यसले हामीलाई समस्या भयो। हाम्रा कर्मचारी राम्रोसँग सुत्न पनि पाउँदैनन्, दौडादौड हुन्छ।” 

जेठपछि झापाको मेचीनगर हुँदै पाहुना हात्ती नेपाल प्रवेश गर्छन् र साउनको अन्त्यमा फिर्ता हुन्छन्। हात्ती संरक्षित वन्यजन्तु अन्तर्गत पर्छ। जीवितमध्ये पृथ्वीको सबैभन्दा ठूलो जनावर हात्ती हो। 

इलिफेन्ट गाइडमा प्रकाशित एक रिपोर्टअनुसार अहिले विश्वमा चारदेखि पाँच लाख हात्ती रहेको अनुमान छ। त्यसमध्ये चार लाख अफ्रिकन र ५० हजारदेखि एक लाखसम्म एसियन हात्ती रहेको अनुमान छ। केही विज्ञ भने, संसारभर हात्तीको संख्या तीन लाखभन्दा कम रहेको अनुमान गर्छन्।

उक्त रिपोर्टअनुसार पछिल्लो दशकमा अफ्रिकन हात्तीको संख्या ६२ प्रतिशतले घटेको छ। सन् २०२५ सम्ममा थप ३० प्रतिशतले घट्ने अनुमान छ। 

पछिल्ला वर्षहरूमा अस्वाभाविक रूपमा बढेको खडेरीका कारण आहाराको कमीले अफ्रिकामा हात्तीहरू मरिरहेको बीबीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। 

हात्ती मार्न खुल्लमखुला पासो!
विश्वमै संकटापन्न संरक्षित जनावरमा पर्ने जंङ्गली हात्ती मार्नेलाई पाँचदेखि १० लाख जरिवाना र एकदेखि १५ वर्षसम्म जेल सजाय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा उल्लेख छ। तर, झापामा भने खुल्लमखुला हात्ती मार्नका लागि पासो थापेको भेटिन्छ। 

डिभिजन वन प्रमुख मास्के पनि गाउँ गाउँमा हात्तीका लागि विद्युतीय पासो थाप्ने गरिएको बताउँछन्। “गाउँका गाउँ मिलेर विद्युतीय पासो थापेका हुन्छन्, कसलाई कार्बाही गर्नु?” उनी भन्छन्, “हामीले विद्युतलाई लेखेर त पठाएका छौं। तर, कार्वान्यन भएको छैन।” मास्केका अनुसार झापामा अधिकांश हात्ती करेन्टबाटै मारिएका हुन्।

हात्तीलाई बस्तीसम्म आउनबाट रोक्न जंगल क्षेत्रमा हात्तीले मन पराउने घाँसका जात लगाउने र सोलार फेन्सिङ गरिए पनि प्रभावकारी नभएको मास्के बताउँछन्। “अहिले डेढसयको संख्यामा हात्ती आउन थालेपछि मानिसहरूमा तबातबा भयो। किसानका अन्नबालीहरू पनि नष्ट गरिए। वर्ष दिन लगाएर लगाएको अन्नबाली एक घण्टामा सकिदिएको छ, मान्छे मारेको छ त आक्रोशित हुनु स्वाभाविक हो”, उनी भन्छन् “हामीले दुई वर्षदेखि हात्ती जंगलमा रोकियोस् भनेर घाँस लगायौं। त्यो पनि अपर्याप्त भयो।”

कसरी हात्ती र मानवबीच सह–अस्तित्व कायम गर्ने, यसको स्पस्ट खाका सरकारी निकायसँग छैन। डिभिजन वन प्रमुख मास्के हात्ती धपाउन माहुरीको आवाज निकाल्ने साइरन प्रविधिको विकासका लागि आफूहरूले राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुनसँग कुराकानी गरेको बताउँछन्। 

पारिस्थितिकीय प्रणालीलाई सन्तुलन कायम गर्न पृथ्वीमा रहेका सबै प्रकारका जीवजन्तु तथा वनस्पतीहरूको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ। पारिस्थितिक विशेषज्ञ (इकोलोजिष्ट) डा. हरिभद्र आचार्य हात्तीजस्तो ठूलो प्रजाति लोप हुँदा त्यसको असर समग्र प्रणालीमै पुग्ने बताउँछन्।

“अहिले त मानिसलाई असर गरेको छ, त्यसकारण हात्ती मारियो भन्ने होला। तर, त्यसको असर समग्र पारिस्थितिकीय प्रणालीमै पर्छ”, आचार्य भन्छन्, “इकोलोजिकल फङ्सन गर्न चालु राख्न यस्ता घटनाहरू भएका हुन्। यसमा गम्भीर हुनुपर्छ।”


सम्बन्धित सामग्री