कांग्रेसमा समानुपातिक सांसद बन्न नेताहरूको ‘मारामार’

प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेसले पाउने ३२ सिटमध्ये तीन सिटमा मात्र पुरुष उम्मेदवार छान्नुपर्ने भएपछि त्यही तीन सिटमा पर्न नेताहरूको दौडधुप तीव्र बनेको छ।

काठमाडौँ– प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ क्षेत्र जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त मतका आधारमा थप ३२ सिट पाउने देखिएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार कांग्रेसले कांग्रेसले समानुपातिकतर्फ २६ लाख ८८ हजार २१८ मत पाएको छ। यो मतअनुसार कांग्रेसले ३२ सिट पाउने हिसाब निस्केको हो।

अब थोरै मात्र मतगणना बाँकी रहेकाले समानुपातिकतर्फ कांग्रेसले पाउने सिट संख्यामा हेरफेर हुने सम्भावना न्यून छ। संविधानको धारा ८४ को उपधारा ८ अनुसार अरू दलले जस्तै कांग्रेसले पनि संघीय संसद्मा एक तिहाइ महिला सदस्य अनिवार्यरूपमा पठाउनुपर्ने छ। उपधारा ८ मा ‘संघीय संसद्मा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुनेगरी निर्वाचित गर्नुपर्ने’ व्यवस्था छ। 

कांग्रेसले प्रत्यक्षमा ५७ सिट जित्दा प्रत्यक्षमा टिकट पाएका ५ मध्ये एकजना मात्र महिला निर्वाचित भइन्। राष्ट्रियसभामा कांग्रेसका १० जना सदस्य छन् जसमध्ये तीनजना महिला छन्।  अब प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी कांग्रेसका कुल ९९ सदस्य हुन्छन्। उनीहरूमध्ये एक तिहाइ सदस्य महिला हुनुपर्छ। त्यो संख्या भनेको ३३ जना* हो। यसपालि कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एकजना र राष्ट्रियसभामा रहेका तीन जनासमेत चार जना महिला रहेको अवस्थामा कांग्रेसले अब समानुपातिक सूचीबाट २९ महिला संसद्मा अनिवार्यरूपले पठाउनु पर्छ। 

कांग्रेसले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फको बन्द सूचीबाटै यी महिला सदस्य चयन गर्नुपर्छ। 

कांग्रेसले बन्द सूचीमा रहेको क्रमागत नामअनुसार नै महिला सदस्य पठाउनुपर्छ। र, उसले चाहेमा ३२ जना नै महिला पठाउन पनि सक्छ। किनभने संविधानमा ‘कम्तीमा’ लेखिएको छ र त्योभन्दा बढी जति पनि महिलालाई संसद्मा पठाउन सक्ने सुविधा कांग्रेसलाई छ। लामो समयदेखि संसद्मा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग उठिरहेको पनि छ। तर, कांग्रेसले यसपटक ३२ जना महिला पठाउने सम्भावना छैन। 

किनभने, कांग्रेसमा महिलाभन्दा पुरुष नेताहरूबीच समानुपातिकतर्फ सांसद बन्ने ‘मारामार’ चलिरहेको छ। संविधानको व्यवस्थाअनुसार कांग्रेसले बढीमा तीनजना* पुरुषलाई समानुपातिकतर्फ सांसद् बनाउन पाउँछ। उसले तयारी पनि त्यही गरिरहेको छ। र, यसका लागि समानुपातिक सूचीमा परेका ‘हेभीवेट’ नेताहरूबीच चर्को हानथाप चलिरहेको छ। 

निर्वाचन आयोगमा बुझाइएको कांग्रेसको समानुपातिक सूचीमा खस आर्य समूहतर्फ १७ जना पुरुष छन्। पहिलो नम्बरमा सभापति शेरबहादुर देउवानिकट नेता, कांग्रेस प्रवक्ता प्रकाशशरण महत छन्। उनी सांसद बन्ने निश्चित जस्तै देखिन्छ। 

समानुपातिक सूचीमा आदिवासी जनजातितर्फ १६ जना पुरुष छन्। पहिलो नम्बरमा गोपालमान श्रेष्ठ छन्। उनी पनि देउवानिकट रहेकाले सांसद बन्ने निश्चितजस्तै छ। 

समानुपातिकको बन्द सूचीमा दलिततर्फ ७ जना पुरुष छन्। पहिलो नम्बरमा जीवन परियार छन्। कांग्रेसका सह-महामन्त्रीसमेत रहेका परियार भने कांग्रेसको वर्तमान संस्थापनइतर पक्षका हुन्। त्यसैले उनी सांसद बन्ने सम्भावना कम छ। कांग्रेस नेताहरू संस्थापनइतरबाट पनि पुरुषलाई समानुपातिक सांसद बनाउन देउवाले ‘उदारता’ देखाएमा परियार पनि सांसद बन्न सक्ने बताउँछन्।  

बन्दसूचीको मधेशी समूहमा ८ नेता छन्। पहिलो नम्बरमा भने विमलेन्द्र निधिको नाम छ। देउवाले निधिलाई नै रोज्ने पक्कापक्कीजस्तै छ। 

थारू समुदायतर्फ बन्दसूचीमा समेटिएका तीनजना पुरुषमध्ये योगेन्द्र चौधरी पहिलो नम्बरमा छन्। उनी पनि कांग्रेसमा सभापति देउवा निकट मानिन्छन्। 

मुस्लिमतर्फ बन्दसूचीमा दुईजना पुरुष छन्। त्यो सूचीमा फरमुल्लाह मन्सुर पहिलो नम्बरमा छन्। तर, उनी पनि देउवाले चाहेमा मात्र समानुपातिक सांसद बन्न सक्छन्। देउवानिकट हुनु नै उनी समानुपातिक सांसद बन्नसक्ने एउटा आधार हुनसक्छ।  

यसरी ६ क्लस्टरमध्ये तीनवटा क्लस्टरबाट मात्रै (एक–एक जना) पुरुषलाई सांसद बनाउनुपर्ने बाध्यता कांग्रेसलाई छ। कुन क्लस्टरबाट पुरुषलाई पठाउने भन्ने विषय नै कांग्रेस नेतृत्वलाई टाउको दुखाई बनेको छ। 

“संविधानअनुसार सबै क्लस्टरबाट प्रतिनिधि पठाउनु पर्छ तर कुन क्लस्टरबाट पुरुष पठाउने भन्ने विषयलाई लिएर सभापति तनावमा हुनुहुन्छ। मलाई पार्नुपर्छ भन्दै नेताहरूले दबाब दिइरहेका छन्”, देउवानिकट कांग्रेसका एक पदाधिकारीले भने। 

तर, उनीहरूमध्ये कसलाई सांसद बनाउने भन्ने अन्तिम निर्णय देउवाकै हुने उनले बताए।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सबै नतिजा आइसकेको छ। समानुपातिकतर्फको पनि मतगणना सकिएपछि निर्वाचन आयोगले कांग्रेसलगायत सबै दलले पाउने समानुपातिकतर्फको सिट संख्या पठाउनेछ। त्यही संख्याका आधारमा दलहरूले आयोगमा अन्तिम नाम पठाउनुपर्छ। 

*शुरुमा प्रकाशित समाचारमा संघीय संसद्मा कांग्रेसले महिला सदस्यको संख्या ३३ पुर्‍याउनुपर्ने र यसपालि समानुपातिकतर्फ सूचीमा रहेका पुरुषमध्ये तीनजना मात्र सांसद् बन्न पाउने हुनुपर्नेमा आँकडा फरक पर्न गएकाले सच्याइएको छ।– सम्पादक