नयाँ सरकार निर्माण रोचक बन्दै, नेतृत्वमा कांग्रेस र माओवादी दुवैको दाबी

वर्तमान सत्तागठबन्धनका दलहरू आफ्नै सरकार बनाउने कसरतमा जुटिरहँदा नेतृत्वमा माओवादीको दाबीले अर्को जटिलता थप्ने देखिन्छ।

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भइसकेको छ। समानुपातिकतर्फको पनि अधिकांश मतपरिणाम आइसकेको छ।

अहिलेसम्म प्रत्यक्षतर्फको नतिजा र समानुपातिकतर्फ प्राप्त मतका आधारमा राजनीतिक दलले पाउने सिट संख्या लगभग तय भइसकेको छ। यो संख्या केलाउँदा कुनै पनि दलको बहुमत पुग्ने अवस्था नरहेकाले गठबन्धन सरकार अवश्यम्भावी बनेको छ।

देशभर गठबन्धन गरेर चुनावमा गएका सत्तागठबन्धनका दललाई पनि सरकार निर्माणका लागि स्पष्ट बहुमत प्राप्त भएको छैन। नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनलाई पनि सरकार बनाउन आवश्यक बहुमत पुग्ने अवस्था छैन। यो अवस्थामा दलहरूले भने नयाँ सरकार निर्माणका लागि छलफल थालेका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा अहिलेकै सत्तागठबन्धनलाई कायम राखेर सरकार निर्माणका लागि प्रयास अघि बढाएका छन्।

उता, एमालेले पनि सत्तागठबन्धनलाई भत्काएर आफ्नो नेतृत्वमा सरकार बनाउन आन्तरिक तयारी गरिरहेको छ। तर, एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने सरकार निर्माण गर्ने कुरा आफ्नो पार्टीको ‘बटमलाइन’ नभएको बताउँछन्।

“उहाँहरूको गठबन्धन कायमै रहेका बेला हामीले सरकार निर्माणको प्रक्रिया थाल्ने कुरा पनि भएन। त्यो हाम्रो बटमलाइन नै होइन”, रिजालले भने, “गठबन्धन भत्केको अवस्थामा संसद्मा रहेका दलहरूबीच छलफल गर्न सकिन्छ, अहिले त्यो अवस्था बनिसकेको छैन।”

सोमबार बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले गठबन्धनलाई निरन्तर अघि बढाउने निर्णय गरेको छ। त्यसकारण अहिलेसम्मको अवस्था हेर्दा अबको सरकार वर्तमान सत्तागठबन्धनकै बन्ने निश्चित जस्तो देखिन्छ। तर, गठबन्धनको सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषय भने प्रष्ट भइसकेको छैन। प्रतिनिधिसभामा सबभन्दा धेरै सिट जितेर पहिलो दल बनेको कांग्रेसले आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि पहल थालिसकेको छ। तर, सत्तागठबन्धनको अर्को प्रमुख घटक नेकपा माओवादी केन्द्रले भने सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ।

निर्वाचनपछि माओवादी केन्द्रको नेतृत्वमा सरकार निर्माण गर्ने सहमति कांग्रेस सभापति देउवासँग निर्वाचनभन्दा पहिल्यै भएको माओवादीका एक नेताको दाबी छ। “प्रतिगमनविरुद्ध सबै दल एक ठाउँमा आएपछि हामीले देउवाजीलाई प्रधानमन्त्री बनाएका थियौँ। चुनावपछिको नेतृत्व माओवादीले पाउनुपर्छ भन्नेमा उहाँ सकारात्मक हुनुहुन्थ्यो”, ती नेता भन्छन्, “अहिले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउँछु भन्नु नैतिक रूपले राम्रो हुँदैन।”

देउवानिकट कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा भने अबको सरकार कांग्रेसकै नेतृत्वमा हुने दाबी गर्छन्। “अबको सरकार आलोपालो प्रणालीअनुसार नै हुन्छ। तर, अहिले कांग्रेसकै नेतृत्वमा सरकार निर्माण हुन्छ”, उनले भने, “सत्तागठबन्धनका शीर्ष नेताहरूबीच औपचारिक संवाद शुरू भएको छ। सहमति गरेरै अघि बढ्नुहुन्छ होला।”

माओवादी केन्द्रले आलोपालो प्रणालीअनुसार नै नेपाली कांग्रेस नेतृत्वको सरकारले निर्वाचन गराएको जिकिर गर्दै अबको सरकार आफ्नो नेतृत्वमा हुनुपर्ने दाबी गरेको हो। माओवादीको शनिबार र आइतबार बसेको बैठकमा पनि यस विषयमा छलफल भएको थियो। सत्तागठबन्धनको बैठकमा पनि माओवादीले आफ्नो पार्टीको बटमलाइन अनुसार सरकारको नेतृत्वमा दाबी गर्ने संकेत गरेको छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक रूपमा आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी नगरे पनि उनका पछिल्ला दौडधुपले भने उनी प्रधानमन्त्री बन्न बेस्सरी लालायित बनेको देखाउँछन्। 

माओवादी केन्द्रका नेता राम कार्की नैतिकताका हिसाबले पनि अबको सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने बताउँछन्। “कांग्रेसले निर्वाचनअघि नै १७/१८ महिना सरकार चलाइसक्यो। अब स्वाभाविक रूपमा समाजवादी, जनमत लगायतका पार्टीलाई पनि स्वीकार्य हुने नेतृत्व चाहिन्छ”, उनले भने, “अब गठबन्धनको बैठकमा हाम्रो नेतृत्वमा सरकार बनाउने प्रयास हुन्छ नै। कांग्रेसले यसअघि सरकार चलाइसकेकाले अब हाम्रो नैतिक बल पनि पुग्छ।”

कार्कीले कांग्रेसभित्र प्रधानमन्त्रीका धेरै आकांक्षी देखिए पनि माओवादीभित्र त्यस्तो नरहेको बताए। “पहिले सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो नलागेसम्म शक्ति बाँडफाँडका अन्य विषय टुंगो लाग्दैनन्”, उनले भने, “सरकारको नेतृत्व माओवादीले पाउनुपर्छ, गठबन्धनका बैठकमा पनि हाम्रो यही दाबी रहन्छ।”

कांग्रेसभित्र प्रतिनिधिसभाको पहिलो शक्ति भएकाले आफ्नो नेतृत्वमै सरकार बन्नुपर्ने र राष्ट्रपति पनि कांग्रेसले नै लिनुपर्ने दबाब बढ्दो छ। तर, यस विषयमा सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मुख खोलिसकेका छैनन्। गठबन्धनकै सरकार निर्माण गरेर जानुपर्ने भएकाले सबैलाई ‘चित्त बुझ्ने’ हिसाबले मिलाएर लैजानुपर्ने बाध्यतामा देउवा छन्।

“गठबन्धनकै सरकार बनाउने भइसकेपछि आबद्ध दलहरूलाई शक्ति बाँडफाँट गर्दा भागबन्डा नदिएर जाने त कुरै हुँदैन”, नेपाली कांग्रेसका एक पदाधिकारी भन्छन्, “तर, कसरी भागबन्डा गर्ने भन्ने टुंगो लागिसकेको छैन। कांग्रेसको बटमलाइन भनेको सरकारको नेतृत्व आफैले गर्ने हो।”

उनले कांग्रेसकै नेतृत्वमा सरकार निर्माण हुँदा राष्ट्रपति पनि कांग्रेसले नै लिने दाबी गरे।

कांग्रेस नेता एवम् गुल्मी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी भने नेपाली कांग्रेसले समझदारीमा अबको ५ वर्ष सरकार चलाउने भूमिका खेल्नुपर्ने बताउँछन्। “हाम्रो आफ्नो मात्रै अनुकूलता खोजेर सम्भव छैन। जसरी पनि गठबन्धन टिकाएर ५ वर्ष सरकार टिकाउने गरी भूमिका खेल्नुपर्छ”, उनले भने, “सबै विषय छलफलबाट टुंगो लगाएर मिलेर जानुको विकल्प हुँदैन, छैन।”