प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि १३२ निर्वाचन केन्द्र थपिए

आसन्न आवधिक निर्वाचनका लागि देशभर १० हजार ८८८ वटा मतदान स्थल कायम भएका छन्। आयोगले विभिन्न आधारमा मतदान स्थल निर्धारण गर्ने गर्दछ।

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि १३२ वटा मतदान स्थल थप गरेको छ।



आयोगले स्थानीय निर्वाचनमा कायम रहेका १० हजार ७५६ मतदान स्थलमा १३२ मतदान स्थल थप गरी मतदान स्थलको संख्या १० हजार ८८८ पुर्‍याइएको हो। 



मतदान स्थल निर्धारणका आधार

आयोगले स्थानीय निर्वाचनमा मतदान स्थल अपायक रहेको भन्ने सर्वसाधारणको गुनासो समेत सम्बोधन हुने गरी मतदान स्थल थप गरेको छ। यसबाहेक आयोगले मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ लाई आधार मान्दै मतदान स्थल निर्धारण गरेको हो।



मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधिमा उल्लेख भएअनुसार आयोगले मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत्, यातायात लगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था, सार्वजनिक स्थानको उपलब्धता, मतदान स्थलमै मतगणनाको प्रबन्ध गर्न सकिने सम्भावना, सरोकारवालाको सहमति समेतका आधारमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसलाई समेत आधार मानी मतदान स्थल निर्धारण गर्ने गर्दछ।



यसरी कायम भएका मतदान स्थलमा मतदाता संख्याका आधारमा मतदान केन्द्र निर्धारण हुने व्यवस्था कार्यविधिले गरेको छ। सामान्यतः १ हजारसम्म मतदाताका लागि एउटा मतदान केन्द्र राखिने व्यवस्था कार्यविधिमा उल्लेख छ। त्यसपछि प्रतिहजार मतदाताका लागि मतदान केन्द्र थप गर्दै लगिने व्यवस्था छ। यसरी थपिएका मतदान केन्द्रको नाम भने क्रमशः (क), (ख), (ग) गर्दै राखिन्छ। 



प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभर २२ हजारभन्दा बढी मतदान केन्द्र रहने छन्।