अवस्था ठीक नभएका ३१ गाडी प्रहरीको नियन्त्रणमा

ट्राफिक प्रहरीले अवस्था ठीक नभएका बस, टेम्पो, माइक्रो बस, डिआई गाडीलगायतका ३५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने ३१ वटालाई नियन्त्रणमा  लिएको छ।

तस्वीर : ट्राफिक प्रहरी

काठमाडौँ- यान्त्रिक परीक्षणका क्रममा 'अवस्था ठीक नभएका' यात्रुवाहक सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। यान्त्रिक परीक्षणका क्रममा अवस्था ठीक नभएका ३१ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको हो।



काठमाडौँको बौद्धस्थित नारायणटारमा बुधबार गरिएको विशेष यान्त्रिक परीक्षणका क्रममा अवस्था ठीक नभएका बस, टेम्पो, माइक्रो बस, डिआई गाडीलगायतका ३५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो भने ३१ वटालाई नियन्त्रणमा  लिएको छ। 



प्राविधिकसहितको टोलीले २५५ वटा सवारी साधनमा यान्त्रिक परीक्षण गरेको थियो। सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली खटिएको थियो।



परीक्षणका क्रममा अवस्था ठीक नभएका ३५ वटा सवारी साधनलाई कारबाही गरिएको र ३१ वटालाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। नियन्त्रणमा लिएका ३१ वटा सवारी साधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाउन लागिएको उनको भनाइ छ। 



अवस्था ठीक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भन्दै उपत्यकाका विभिन्न स्थानमा यान्त्रिक परीक्षण गरिँदै छ। दुर्घटनाको सम्भावित जोखिम कम गर्न यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले दशैँका बेला उपत्यकाबाट बाहिने सवारी साधनको यान्त्रिक परीक्षण गरिरहेको हो।



त्यस्तै, चाडपर्वको समयमा यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट आठ जना र नयाँबसपार्कबाट आठ जनालाई पक्राउ गरेको हो।



चाडपर्वको समयमा यात्रुलाई अनावश्यक हैरानी दिने, तोकिएभन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने गतिविधिमा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै आएको छ। पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान गरी कानुनबमोजिम कारबाही गरिने प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए।