छोरी महिनावारी हुँदा मन्दिर, पूजाकोठा, भान्छाकोठा, बोटका फलफूल, पानीका मुहान आदि छुन हुन्न। किन हुन्न? त्यो त बजै, आमा, सानीमा कसैलाई पनि थाहा छैन। तर सबैलाई के थाहा छ भने यसबारे प्रश्न गर्न वर्जित छ।
नेपाली समाजको एउटा अँध्यारो सत्य हो, यहाँ ‘प्रश्न गर्नु हमेसा वर्जित छ।’ हरेकका विशेषतः आमाले आफ्ना सन्तानलाई नैतिकताका अनेक उपदेश दिन्छिन्। त्यसमा पनि अझ बढी छोरीहरूलाई। खुलेर बोल्न हुन्न, हाँस्न पनि हुन्न र चिच्याएर रुनु हुन्न। यो बार नुहाउनु हुन्न, कपाल खुल्ला छाडेर बस्नु/हिँड्नु पनि हुन्न। जब सन्तान प्रश्न गर्छन्, ‘आमा यस्तो गर्न किन हुन्न?’ आमा वा अभिभावकसँग त्यो किन भन्ने प्रश्नको जवाफ हुँदैन र छैन। किनभने उनीहरूले पनि यो वा त्यो गर्नु हुन्न भन्ने निर्देशन मात्रै सुन्दै आएका हुन्। तर किनको जवाफ उनीहरूलाई पनि थाहा छैन। किनको जवाफ उनीहरूलाई थाहा नभए पनि उनीहरूलाई एउटा कुरा भने अवश्य थाहा हुने गर्छ। त्यो हो, ‘प्रश्न गर्न वर्जित छ। सोध्न पाइन्न।’
छोरी (महिला) महिनावारी हुँदा मन्दिर, पूजाकोठा, भान्छाकोठा, बोटका फलफूल, पानीका मुहान आदि छुन हुन्न। किन हुन्न? त्यो त बजै, आमा, सानीमा, माइजू, फुपू, दिदी, भाउजू, साथी आदि कसैलाई पनि थाहा छैन। तर ती सबैलाई के थाहा छ भने यसबारे प्रश्न गर्न वर्जित छ। प्रायजसो शिक्षित महिलाको भनाइ सुनेको छु, ‘आमाले सिकाएको संस्कार मैले बुझेको छु र म त्यसलाई जीवनभर डगमगाउन दिने छैन।’ अनि मैले भने, ‘वाह, तिमीले तिम्री संस्कारी आमाबाट सिकेको संस्कार र मान्यता भनेको त्यही महिनावारी हुँदा बार्ने, दाँत देखाएर नहाँस्ने र कपाल छोपेर हिँड्ने, घरका पुरुषले खाइसकेपछि मात्रै खाना खाने, श्रीमान्को खुट्टाको जल पिउने आदि इत्यादि त होलान् नि।’
माओवादी सशस्त्र विद्रोह (उनीहरूको भाषामा महान् जनयुद्ध) आफूले समेत लडेकोमा गर्व गर्ने एक जना जनजाति साथीसँग यात्रा गर्दा बिरालोले बाटो काट्दा मोटरसाइकल रोकेर टक्क यथास्थानमा रोकिएको दृश्यले मलाई टिठ लाग्यो। प्रश्न गरेँ, ‘किन रोकिएको साथी?’ उसले भन्यो, ‘बिरालोले बाटो काट्यो, त्यसैले।’ मैले ठट्टैमा हाँसेर भनेँ, ‘त्यत्रो जनयुद्ध (जनैयुद्ध?) लड्दा बम, बारुद र बन्दुकसँग खेल्दा त सिद्ध्याउन नसकेको मेरो साथीलाई यो जाबो बिरालोले के बिगार गर्न सक्ला? यस्तो अन्धविश्वाससँग पनि डराउने?’
उनको जवाफ आयो, ‘अशुभ हुन्छ रे।’ अनि म बिरालोले बाटो काट्दा अशुभ हुन्छ भन्ने मान्यताको कस्तो कहानी रहेछ भन्ने बुझ्न थप अध्ययन गरेँ।
इतिहासमा मूलवासी द्रविड, आस्ट्रिक र मंगोल जाति–समुदायको राज्यमाथि आप्रवासी आर्य जातिले युद्ध छेडे। ऐतिहासिक प्रमाणहरूअनुसार आर्य जाति युरोप, इरान र इराक आदि मुलुकबाट यहाँ आइपुगेका थिए। युद्धको भोगाई किमार्थ सुखद हुँदैन। प्राकृतिक बनोटमा पनि मूलवासीहरू कालो वर्णका, होचा, चिम्सो आँखा भएका र सोझा प्रवृत्तिका तर सूरा र बलिया हुन्थे। उता आर्यको शारीरिक बनोट आँखा गडेका, नाक लामो र चुच्चो, गोरो वर्णका, अग्ला र चतुर बुद्धिका थिए र छन्। द्रविड र अन्य मूलवासी जाति, समुदायको वर्ण कालो हुने भएका कारण भैँसी र भैँसीको दूध अशुद्ध करार गरियो। गाईको दूध मन्दिरमा चढाइन्छ, शुद्ध मानिन्छ। भैँसी राक्षस (मूलवासी) को प्रतीक हो, अशुद्ध भो। भैँसीमाथिको रङभेद।
त्यस्तै कालो वर्ण (रङ)का कारण कालो बिरालोलाई अशुभ करार गरियो। कालान्तरमा सबै बिरालो अशुभ मानिए। बिरालोले बाटो काट्दा अशुभ हुन्छ भन्ने मान्यता मूलवासी समुदायमाथिको घृणा हो। त्यो मान्यताबाट यो अवधारणा स्थापित गरिएको हो। स्मरणीय के छ भने मेरा मित्र जनजाति समुदायका कमरेडले बिरालोले बाटो काट्दा अशुभ हुन्छ भन्ने भ्रमित मान्यता बोकेर अनजानमा आफ्नै पुर्खाप्रति घृणा पो फैलाइरहेका रहेछन्। प्रश्न वर्जित गर्ने समाजको लज्जास्पद दुष्परिणाम हो त्यो।
शास्त्रअनुसार इन्द्रले गुरुआमा वा परस्त्रीमाथि अनैतिक कार्य गर्दा आफूलाई लागेको श्रापबाट मुक्त हुन स्त्री र नदीलाई उक्त श्राप बाँडे। सो श्रापका कारण महिलाहरू प्रत्येक महिना वा करिब २८ दिनमा एक पटक महिनावारी हुन्छन्। इन्द्रले श्राप दिनुपूर्व महिला कहिल्यै रजोवती नहुने र पानी एकै ठाउँमा स्थिर रहने गर्थ्यो भन्छ कथा। अब श्रापकै कारण नदी निरन्तर बगिरहन्छ। त्यो पाप कटनीका लागि महिला महिनावारी हुन्छिन्। अझ अशुद्ध र अछुत ठहर्याइन्छन्। महिला स्वयं छुवाछूतको उत्पीडनमा पर्दापर्दै पनि त्यसकै पक्षमा डटेर लागेकै छन्।
वास्तवमा आर्य र अनार्य समुदायबीच सत्ता र सम्पत्तिका निम्ति युद्ध हुँदा आर्य समुदायतर्फका सेनापति जो हुन्थ्यो, सोही व्यक्ति नै इन्द्र हो। इन्द्र एक पदवी हो। ऋग्वेदमा जम्मा १ हजार १७ सूक्त छन्। जसमध्ये २५० सूक्त इन्द्रसँग सम्बन्धित छन्। युद्धमा सबैभन्दा बढी मारकाट र हत्या जसले गर्यो, उसैलाई देवताको सर्वोच्च स्थान अर्थात् इन्द्रको पदवी दिइएको छ। भागवत् गीतामा लेखिएअनुसार देव(ता) को अर्थ हो—आर्य। यथार्थ कारण र स्रोत सबैलाई थाहा नभए पनि महिनावारी भएकी महिलामाथि विभेद गर्नुपर्छ भन्ने ज्ञान सबैलाई थाहा छ।
कथाका इन्द्रको जन्म हुनु धेरै अघिदेखि मानवको अस्तित्व थियो र त्यस युगदेखि नै महिलाहरू प्राकृतिक रूपमा नियमित महिनावारी हुन्थे। विडम्बना, यति ज्ञान प्राप्त गरेका समाजशास्त्री, विज्ञान शिक्षा प्राप्त गरेका र मार्क्सवादी साहित्य, दर्शन अध्ययन गरेका र दक्खल राख्नेहरू समेत महिनावारीलाई अशुद्ध नै मान्छन्।
बेलायतमा अर्थशास्त्र र कानूनमा उच्चशिक्षा अध्ययन सकाएर नेपाल फर्केका एक साथी मासिक गुनासो गर्छन्, ‘घरमा भान्से आफैँ छु। श्रीमती र छोरी दुवै जना ‘नछुने’ भएका छन्।’ म ठट्टा गर्छु, ‘तिमीले हरेक साँझ रक्सी खाने भट्टीकी साहुनी कहिल्यै नछुने हुन्नन्?’ साहुनीले भट्टी बन्द गरेको कुनै साँझ छैन र तिमी त्यो भट्टी नछिरेको साँझ पनि विरलै होला। अर्थात् भौतिक रूपमा गोठ नभए पनि काठमाडौँमा छाउपडी अझै जीवित छ।
एक स्थापित अनलाइन मिडियामा केही समयअघि चिरपरिचित लेखक हरि शर्माको लेख छापियो र शीर्षक, दलहरूको ‘भस्मासुर’ प्रवृत्तिसँग सम्बन्धित थियो। कान्तिपुर दैनिकले आफ्नो सम्पादकीयमा कति पटक यो शब्दको प्रयोग गर्ने गरेको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत अन्य थुप्रै विद्वान् लेखकसमेत भस्मासुर शब्दको प्रयोग गर्ने गर्छन्।
लेखक हरि शर्माको लेखको शीर्षकप्रति यस आलेखको पंक्तिकारले कडा आपत्ति जनाएपछि उक्त अनलाइनले पछि शीर्षक नै परिवर्तन गर्यो। भस्मासुर शब्द आपत्तिजनक, कुनै समुदायप्रति घृणा र साम्प्रदायिक हिंसा जनाउने शब्द भएकाले यसको प्रयोग गर्न नहुने मेरो ठहर छ। हिन्दू धार्मिक ग्रन्थहरूमा भस्मासुरबारे उल्लेख छ। उनको खास नाम बृकासुर अर्थात् बृक +असुर हो। उनी सकुनीका पुत्र थिए।
पौराणिक कथाअनुसार शिवले उनलाई एउटा वरदान दिएका थिए। बृकासुरको हात जसको शरीरमा पर्छ, ऊ भस्म हुने वरदान उनले पाए। वरदान पाएपछि बृकासुरमा उन्माद बढ्दै गयो र आफैँलाई वरदान दिने शिवलाई नै भस्म गराएर पार्वतीसँग शरीर सुखको भोग उनमा जाग्यो। शिवलाई आपत् परेपछि उनी भाग्दै विष्णुकहाँ पुगे। विष्णुले शिवलाई आपत्बाट बचाउन उपाय निकाले। अन्ततः मादक पदार्थले मातिएको बृकासुरलाई विष्णुले छल गरेर भूलवश आफ्नो हात आफ्नै टाउकोमा राख्न लगाई भस्म गराए। त्यसैले भस्मासुरको अर्थ मातिएर आफूले आफैँलाई भस्म बनाउने असुर अर्थात् मूलवासी (अनार्य) भन्ने अर्थ लाग्ने हुनाले भस्मासुर भनेर कसैलाई लान्छित गर्नु अनुचित हो।
ब्राह्मण धर्म र राजनीति कायम रहेको समाजमा जात व्यवस्था र छुवाछूत प्रथा शास्त्रबमोजिम स्वाभाविक वा ठीक हो। यसको मूल आधार, कारण र स्रोत हिन्दू धर्म हो। हिन्दू धर्मको प्राचीन नाम ब्राह्मण धर्म हो। हिन्दू धर्म शास्त्र, महाभारत, रामायण, गीता, मनुस्मृति आदि शास्त्रहरू आर्य जाति र अनार्य समुदायबीचको युद्धको इतिहासको वर्णन वा कथा हो। त्यसैले जात व्यवस्था सम्पूर्ण हिसाबले आर्य–अनार्य समुदायबीचको सत्ताद्वन्द्व तथा युद्धको परिणाम हो।
यसर्थ, यसको अन्त्यसमेत राज्यसत्तासँग अन्तर्सम्बन्धित छ। त्यसो हुँदा नेपाली समाज, बालबालिका र नवयुवा पुस्तामा प्रश्न गर्ने संस्कृतिको विकास गर्नु आवश्यक छ। अन्त्यमा डा. भीमराव अम्बेडकरको मर्मस्पर्शी एक भनाइ उल्लेख गरौँ, ‘म अन्धविश्वास, विकृति, अमानवता, असभ्यताको विरोध गर्छु, मानिसहरू मलाई धर्मविरोधी देख्छन्। त्यसको मतलब विकृति, अन्धविश्वास, अमानवता, असभ्यता आदि नै धर्म रहेछ।’
(उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
