चिसोले मुगुमा पहिरोबाट विस्थापितको बिचल्ली

छायानाथ रारा–११ तल्लो सालीमा, वडा नं ८ झ्यारी र सिगाडी तथा वडा नं ७ घुइरका स्थानीय घर पहिरोले पुरिएपछि अहिले त्रिपालभित्र कष्टकर दैनिकी बिताउन बाध्य छन्।

मुगु– चिसो बढ्दै गएपछि मुगुको छायानाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ। गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो। पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन्।

बाढीपहिरोबाट विस्थापित छायानाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जंगलमा त्रिपाल हालेर बसेका छन्। “चिसो निकै बढ्यो, त्रिपालमुनि बास बस्न सकिने अवस्था छैन”, पीडित शेरसिंह भर्गीले भने, “गाउँमा घर पहिरोले पुरियो, अब बस्न कता जाने होला।”

त्रिपालभित्रको बसाइँ कष्टकर बनेको पीडित परिवारले बताएका छन्। बाढीपहिरोबाट झयारी, सिगाडी, घुइर, तल्लो सालिमलगायत बस्तीमा ठूलो संख्यामा स्थानीयवासी विस्थापित भएका छन्। बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सरकारले राहत र पुनःस्थापनाका लागि कुनै पहल नगरेको उनीहरूले बताएका छन्।

“जाडोले बिरामी परिने डर छ, बालबालिकालाई जोगाउन गाह्रो भएको छ”, त्रिपालमुनि बस्दै आएकी बालिकन्या बोहराले भनिन्, “न्यानो कपडासमेत छैन, कहिँकतैबाट सहयोग पाइएको छैन।” 

चिसो मौसम शुरू भएसँगै सालिमका ६२ परिवार सबैभन्दा बढी समस्यामा छन्। छायानाथ रारा–११ तल्लो सालीमा, वडा नं ८ झ्यारी र सिगाडी तथा वडा नं ७ घुइरका स्थानीय घर पहिरोले पुरिएपछि अहिले त्रिपालभित्र कष्टकर दैनिकी बिताउन बाध्य छन्। स्थानीयमा आँखा पाक्ने, पेट दुख्ने, टाउँको दुख्नेलगायत समस्या देखा परेको स्थानीय बेलधरा कुमाइले बताए।

असोजमा गएको पहिरोका कारण छायानाथ रारा नगरपालिका साथै सोरु र खत्याड गाउँपालिकाका विभिन्न बस्तीमा स्थानीय विस्थापित भएका थिए। विद्यार्थीको पठनपाठनमा समस्या भएको स्थानीयले बताएका छन्। 

पहिरोमा पुरिएर सालिमा गाउँका आठ जनाको ज्यान गएको थियो। नवनिर्वाचित संघीय सांसद ऐनबहादुर शाही र प्रदेशसभा सदस्य जितबहादुर मल्लले पहिरोबाट विस्थापित परिवारको राहत तथा पुनःस्थापानका लागि पहल गर्ने बताएका छन्।