विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ मन्दिर, बौद्ध स्तूपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्यमा पर्यटकको घुइँचो लाग्ने गरेको छ।
काठमाडौँ– खुल्ला संग्रहालयको रूपमा विश्वमा परिचित काठमाडौँका हरेक गल्लीमा भगवानको मूर्ति र हरेक चोकमा मन्दिर देख्न सकिन्छ। पुराना तथा परम्परागत घर र घरको वास्तुकला पनि आन्तरिक र बाह्य पर्यटक आकर्षणको केन्द्र बन्ने गरेको छ। भनिन्छ, जुन ठाउँसँग सम्बन्धित किम्बदन्ती धेरै हुन्छ, त्यस ठाउँ धार्मिक र सांस्कृतिक दृष्टिकोणले धनी हुन्छ। त्यस्तै ठाउँमध्ये एक हो, काठमाडौँ उपत्यका।
विश्व सम्पदामा सूचिकृत यहाँका ७ सम्पदा एक दिनमै घुम्न सकिन्छ। ती सम्पदा हुन्, पशुपतिनाथ मन्दिर, बौद्ध स्तूपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्य ।

पशुपतिनाथ मन्दिर
उपत्यकाको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो पशुपतिनाथ मन्दिर। यूनेस्कोले सन् १९७९ मा यस मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौँ उपत्यकाकै प्राचीन धार्मिकस्थलका रूपमा पशुपतिनाथ मन्दिर रहेकोले पर्यटकको पहिलो रोजाइ पर्ने गरेको छ। नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिरको छानामा सुन र तामाको प्रयोग गरिएको छ। चार मुख्य ढोका चाँदीका रहेका छन्।

बौद्ध स्तुपा
अर्को विश्व सम्पदा क्षेत्र हो बौद्ध स्तूपा। बौद्ध धर्मालम्वीको आस्था र विश्वाससँग जोडिएको बौद्ध स्तूपा पर्यटकको आकर्षणको केन्द्र पनि हो। यसलाई सन् १९७९ मा विश्व सम्पदा सूचिमा सूचिकृत गरिएको हो।

चाँगुनारायण मन्दिर
चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा गरेको इतिहास छ। यस मन्दिर भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्छ। काठमाडौँबाट २० किमी टाढा रहेको यस मन्दिर बौद्धबाट जोरपाटी, मूलपानी हुँदै पुग्न सकिन्छ। ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रका रूपमा पनि महत्त्वपूर्ण यस मन्दिरलाई सन् १९६९ मा यूनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो।

भक्तपुर दरबार स्क्वायर
चाँगुनारायण मन्दिरबाट ६.५ किमी टाढा रहेको भक्तपुर दरबार धार्मिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण सम्पदाको रूपमा रहेको छ। मल्लकालीन सत्ता सञ्चालनको प्रमुख केन्द्र रहेको भक्तपुर दरबार अहिले भने देशी विदेशी पर्यटकको आकर्षणको केन्द्र नै बनेको छ। दरबारको वास्तुकला, शिल्पकला र त्यससँग सम्बन्धित किम्बदन्तीले यसको महत्त्व झनै बढाएको छ। यहाँको ५५ झ्याले दरबार, भगवती मन्दिर, तलेजु भवानी मन्दिर, भूपतिन्द्र मल्लको सालिक, सुनको ढोका सम्पूर्ण आकर्षण केन्द्र हो । यस दरबारलाई सन् १९७९ मा विश्व सम्पदाको सूचिमा सूचिकृत गरिएको हो।

पाटन दरबार स्क्वायर
काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो। पाटन शहर बरदेवले स्थापना गराएका हुन्। पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ। सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ। यो दरबार क्षेत्र राजपरिवारको वासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूल केन्द्र पनि थियो। पाटन दरबारमा मुख्य ३ वटा चोक छन्। ती हुन् केशवनारायणचोक, मूलचोक र सुन्दरीचोक। यी मध्ये केशवनारायणचोक सबैभन्दा पुरानो हो। पाटन दरबार स्क्वायर सन् १९७९ मा विश्व सम्पदा सूचिमा सूचिकृत भएको हो।

हनुमान ढोका दरबार
हनुमान ढोका अर्थात् वसन्तपुर दरबार काठमाडौँ उपत्यकाको ऐतिहासिक दरबारमध्येको एक हो। यो दरबारलगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिर राजा रत्न मल्लदेखि पृथ्वी वीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। अन्य महत्त्वपूर्ण मन्दिर तथा सम्पदा पनि रहेका छन्। जसमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, गद्दी बैठक, काष्ठमण्डप। यस दरबारलाई सन् १९७९ मै विश्व सम्पदाको सूचिमा सूचिकृत गरिएको हो।

स्वयम्भू महाचैत्य
उपत्यकामा पानी भरिएको बेलामा स्वयम्भूमा बुद्ध आएर तीन पटक वरिपरि घुमेर नागार्जुनको टुप्पोमा बसेर तपस्या गरेको किंवदन्ती छ। त्यसपछि वैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्किएर मन्त्र गरी दहमा रोपेका थिए। अर्को सालको वैशाख पूर्णिमाको दिन कमलको फूल उम्रिएको र जसमा पञ्च रश्मिसहित स्वयम्भू महाचैत्यको उत्पत्ति भएको मानिन्छ। संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ। मञ्जुश्रीले काठमाडौँको स्थापना गर्नुअघि यो भूमिमा बसेर तपस्या गरेको इतिहास छ। स्वयम्भूलाई हिजोआज मंकी टेम्पलको रूपमा पनि चिनिन्छ। विदेशी र स्वदेशी दुवै पर्यटकको रोजाइमा पर्ने स्वयम्भू महाचैत्य पनि सन् १९७९ मै विश्व सम्पदामा सूचिकृत भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
