रहेनन् ‘रिटिङ–रिटिङ’ गायक जोशी

जोशी ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ गीतका कारण सबैभन्दा बढी छाएका थिए। २०१८ सालमा रेडियो नेपालमा रेकर्ड भएको यो गीतपछि चलचित्र ‘हिजो–आज–भोलि’मा समेटिएको छ।

झापा– पूर्वी नेपालको गाउँ–बस्तीबाट उठेर देश–विदेशमा ख्याति कमाएका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ। जोशीको बिहीबार साँझ झापाको दमकस्थित घरमा निधन भएको हो। 

गीत–संगीत र मौलिक संस्कृति जगेर्नाका क्षेत्रमा सिर्जनशील नाम बनाएका जोशी जीवनको उत्तरार्द्धसम्म सक्रिय तथा नयाँ पुस्ताका लागि प्रेरणा बनेका थिए। धनकुटा सिरान–बजारमा जन्मिएका जोशीले विशेषतः लोकगीत–संगीतको संकलन तथा दुर्लभ लोकभाकाहरू रेडियो नेपालमा रेकर्ड गराएर विशिष्ट योगदान पुर्‍याएका थिए। “पूर्वी नेपालको गीत–संगीत विधामा एलपी दाइ एक निधी हुनुहुन्थ्यो,” गायक गणेश रसिकले भने, “भुइँतहबाट उठेर केन्द्रको प्रभावमा नआई स्रष्टा एलपीले गीत–संगीतको स्थानीय स्वादलाई चिनाउन पुर्‍याएको योगदान अविस्मरणीय छ, अतुलनीय छ।”  

किराती समुदायको बाजा भनेर ‘बिनायो’लाई चिनाउने जोशी यही बाजाको चिनारीझैँ बनेको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ गीतका कारण सबैभन्दा बढी छाएका थिए। २०१८ सालमा रेडियो नेपालमा रेकर्ड भएको यो गीतपछि चलचित्र ‘हिजो–आज–भोलि’मा समेटिएको छ। ‘रिटिङ–रिटिङ’ नाममा जोशीका गीतहरूको रेकर्ड म्युजिक नेपालबाट पनि आइसकेका छ। 

उनका तीन दर्जनभन्दा बढी गीत रेडियो नेपालको रेकर्डमा छन्। जोशीको संकलनमा बाहिर आएका ‘खिपीमा खिपी बिनायो बाजा मुखैको तालमा बज्दै छ गम्केर चट्टै’, ‘मादलै बज्यो घिन्ताङमा घिन्ताङ–ढोल बज्यो घुम्घुम्ती’, ‘वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर’, ‘केको माला केको माला सुपारीको माला’ जस्ता लोकगीत निकै लोकप्रिय रहेका छन्। 

लोकगेडाको संकलन गर्दा जनजिब्रोको स्थानीय लवज र भाकालाई दुरुस्त समात्न सक्नुपर्छ भन्ने जोशी आफ्ना संकलन अरूले जथाभाबी प्रयोग गरिदिएकोमा चित्त दुखाइरहेका हुन्थे। ‘मादलै बज्यो घिन्ताङमा घिन्ताङ’ बोलको लोकगीत आफ्नो संकलन भए पनि संकलकको नाम नराखी गायक फत्तेमानको स्वरमा यो गीत बज्ने गरेको र ‘कान्छी मट्याङ–ट्याङ’ गीत पनि पुष्प नेपाली तथा रुवी जोशीले रेकर्ड गर्दा आफ्नो नाम नराखिदिएकोमा जोशी सधैँ गुनासो गर्ने गर्थे। 

छोराको साथमा दमक, सिरानजारमा बस्दै आएका गायक जोशीको शुक्रबार स्थानीय माइखोलामा अन्तिम संस्कार गरिने भएको छ। जोशीको निधनमा दमक नगरपालिका, स्थानीय साहित्यिक संस्था प्रतिभा निकेतनसहितले शोक समवेदना जनाएका छन्।