युद्धको उन्मादले हुने कार्बन उत्सर्जन र वातावरणीय क्षति

युद्ध नभएको स्थितिमा रेगुलर सैन्य गतिविधिको मात्र हिसाब गर्ने हो भने सम्पूर्ण कार्बन उत्सर्जनको ५.५ प्रतिशत भार छ, तर युद्धको परिस्थितिमा कार्बन उत्सर्जनको मात्रा सयौँ र हजारौँ गुणा बढेर जान्छ।

रगत, पसिना र आँसुको जगमा उभिएर मानव सभ्यताको विकास भएको हो। आदिम समयदेखि अहिलेको विज्ञान, प्रविधि र पुँजीको युगसम्म आइपुग्न मानव समुदायले अनेकौँ संगठित र असंगठित युद्धहरू झेल्नुपरेको छ। त्यसो हुँदा राज्य हिंसाकै संगठित स्वरूप हो। राज्यको अस्तित्व भइरहँदासम्म युद्धहरू भइरहन्छन्। यो कटुसत्य हो। युद्धहरूद्वारा यस पृथ्वीमा राज्यहरूको उत्पत्ति, विनाश र साम्राज्यको बिस्तार मात्र भएको छैन, प्राकृतिक स्रोतको पनि त्यत्तिकै दोहन भएको छ। 

संसार मरुभूमीकरणको यात्रामा छ। पानीका स्रोत रित्तिँदै छन्। वायुमण्डल प्रदूषित भएको छ। प्रविधिमा आर्टिफिसियल इन्टेलिजेन्ससम्मको विकास भए पनि जलवायु परिवर्तन वा ग्लोबल वार्मिङको चपेटामा पर्दा आगामी कति समयसम्म यस पृथ्वी जीवहरूको निम्ति उपयुक्त वासस्थान हुनसक्छ त भन्ने विषय नै अनिश्चित छ। अत्यधिक इन्धनको खपत, वन जंगलको नाश, युद्धमा हुने ठूल्ठूला विस्फोटलगायत सैन्य गतिविधिद्वारा हुने हरितग्यास या मुख्य रूपमा कार्बन डाइअक्साइड उत्सर्जनको खराब प्रभावले पृथ्वी दिनानुदिन तातो हुँदैछ। जीवहरूको निम्ति बस्न अयोग्य बन्दैछ। 

संसारभरका सैन्य शक्तिहरूले निम्त्याएका डरलाग्दा युद्धहरूले  मानवीय  विनाशभन्दा पनि  धेरै भयावह रूपमा वातावरण विनाश गरिरहेका छन्। हातखुट्टाका मुड्की र लातबाट विकास भएको युद्ध विभिन्न घरेलु हतियार हुँदै अत्याधुनिक लडाकु जहाज, मिसाइल,ट्यांक र आणविक अस्त्रसम्म पुगेको छ।

विश्वभर केही प्रमुख राष्ट्रहरूको सैन्य खर्च
सबैभन्दा बढी सैन्य खर्च गर्ने देशमा अमेरिका अझै शीर्ष स्थानमा छ। सन् २०२३ मा अमेरिकाले यस शीर्षकमा ९१६ अर्ब डलर खर्च गरेको थियो, जुन विश्वको कुल खर्चको ३७ प्रतिशत अर्थात् एक तिहाइभन्दा बढी हो। दोस्रो स्थानमा चीन छ, जसको खर्च अमेरिकाको करिब एक तिहाइ छ। यसले २९६ अर्ब डलर खर्च गरेको छ, जुन कुल खर्चको १२ प्रतिशत हो। सन् २०२२ को तुलनामा यो ६ प्रतिशत बढी हो। 

रुस तेस्रो नम्बरमा छ। त्यसपछि भारत र साउदी अरेबिया छन्। सन् २०२३ मा रुसको खर्च २०२२ को तुलनामा २४ प्रतिशतले बढेर १०९ अर्ब डलर पुगेको छ। सन् २०१४ मा रुसले क्रिमियालाई युक्रेनबाट अलग गरेपछि यो ५७ प्रतिशतले बढेको हो। रुसले आफ्नो जीडीपीको ५.९ प्रतिशत सेनामा खर्च गरिरहेको छ।

सैन्य खर्चको हिसाबले चौथो ठूलो देश भारत हो, जसले ८३.६ अर्ब डलर खर्च गरेको छ। यो २०२२ को तुलनामा ४.२ प्रतिशत बढी हो। युक्रेन सैन्य खर्चको हिसाबले आठौँ ठूलो देश थियो। यसको खर्च ५१ प्रतिशतले बढेर ६४.८ बिलियन डलर पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ३७ प्रतिशत हो। सैन्य खर्चमा सबैभन्दा बढी वृद्धि प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको थियो, जहाँ सरकार र विद्रोहीबीच युद्ध जारी छ। यसको खर्च १०५ प्रतिशतले बढेको छ।

मध्यपूर्वमा साउदी अरेबियापछि सबैभन्दा बढी सैन्य खर्च गर्ने देश इजरायलले सन् २०२२ सम्म २४ प्रतिशत बढी खर्च गरेको छ, २७.५ बिलियन डलर। अर्कोतर्फ, इरान यस क्षेत्रमा सैन्यमा चौथो सबैभन्दा बढी खर्च गर्ने देश बनेको छ, जसले कुल १०.३ बिलियन डलर खर्च गरेको छ। उपलब्ध तथ्यांकअनुसार सन् २०१९ मा इरानमा सैन्य खर्च २७ प्रतिशत थियो, जुन अहिले बढेर ३७ प्रतिशत पुगेको छ। 

सैन्यसम्बन्धी हातहतियार र उपकरण निर्माणमा ठूलो परिणामको प्राकृतिक इन्धनको उपयोग गर्नुपर्छ। यस क्रममा ठूलो परिमाणमा कार्बन डाइअक्साइड र अन्य ग्रिनहाउस ग्यासजस्ता पृथ्वीका लागि हानिकारक ग्यासको उत्पादन हुन जान्छ। बुझ्नुपर्ने कुरा के हो भने जति बढी सुरक्षा खर्च हुन्छ, सम्बन्धित पक्षले त्यति नै बढी कार्बन उत्सर्जन गर्छन्। त्यसको प्रत्यक्ष प्रभाव जलवायु परिवर्तन र ग्लोबल वार्मिङमा देखिन्छ। अन्तर्राष्ट्रिय इनर्जी एजेन्सीका अनुसार फलाम र स्टिल उद्योग सालाखाला ६.७ प्रतिशत कार्बन डाइअक्साइड उत्सर्जनका लागि जिम्मेवार छ।

अहिले संसारभर भएका न्युक्लियर हतियार लोड भएर संसारभर परिचालन गरिने हो भने एकै दिनमा मानव सभ्यता ध्वस्त हुनसक्छ भने त्यसको उत्पादन प्रक्रियामा र प्रयोग हुँदा कति भयावह मात्रामा वातावरण विनाश होला, हाम्रो अड्कलभन्दा धेरै परको कुरा हो यो।

अमेरिकी सेना एक्लै विश्वकै धेरै ‘फसिल फ्युल’को उपभोक्ता हो र सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्नेमा यही पहिलो हो। युद्ध बाहेकको नियमित सैन्य गतिविधिद्वारा मात्र अमेरिकाले प्रतिवर्ष ५२ मिलियन टन कार्बन डाइअक्साइड उत्पादन गर्छ। अमेरिकाका पाँच केमिकल कम्पनीले गर्ने कार्बन उत्सर्जन सेनाले गर्ने कार्बन उत्सर्जनको पाँच प्रतिशत मात्रै हो। यसैबाट पनि अनुमान गर्न सकिन्छ अमेरिकी सेनाले गरेको कार्बन उत्सर्जन कति धेरै छ।

युद्ध  र कार्बन उत्सर्जन
१) दोस्रो विश्वयुद्धमा एक लडाकु बराबर प्रतिदिन एक ग्यालेन फ्युल प्रयोग भएको र कम्तिमा पनि ३० मिलियनको संख्यामा लडाकु सहभागी भएको निर्क्योल छ। ६ वर्षसम्म चलेको युक्त युद्धमा १३० बिलियन ग्यालेन फ्युल जलेर ध्वस्त भएको हिसाब निकाल्न सकिन्छ। अब इराक र अफगानिस्तानको लडाइँलाई मूल्यांकन गर्दा सो लडाइँमा प्रतिदिन एक लडाकु बराबर १६ ग्यालेन फ्युल जलेको रहेछ। यी दुवै युद्धमा दोस्रो विश्वयुद्धभन्दा चार गुणा बढी फ्युल खपत भएको छ। तथ्यांकअनुसार एक ग्यालेन फ्युल खपत हुँदा २० पाउन्ड कार्बन डाइअक्साइड उत्पादन हुन्छ। उल्लेखित युद्धद्वारा वायुमण्डलमा कति कार्बन उत्सर्जन भयो भनेर हिसाब निकाल्दा जोसुकैको पनि दिमाग चक्कराउन सक्छ।

२) हाल चलिरहेका इजरायल–हमास र रुस–युक्रेन युद्धमा पनि प्रशस्त कार्बन उत्सर्जन भइरहेको छ। इजरायल–हमास युद्धमा मात्र ६१ मिलियन टन कार्बन डाइअक्साइड उत्सर्जन भइसकेको छ। यसमा हुती र हिजबुल्लाह समूहसँग भइरहेको युद्धको हिसाब गरिएको छैन र सबै हिसाब गर्दा यसको कम्तीमा पनि तेब्बर हिसाब आउनेछ। रुस–युक्रेन युद्धको पहिलो वर्षमै १७५ मिलियन टन कार्बन डाइअक्साइड उत्पादन भइसकेको थियो। यो बढेर २०२३ को अन्त्यसम्म ३२ बिलियन टन पुगिसकेको तथ्यांकले बताउँछ।

एक केजी कार्बन बराबर कति कार्बन डाइअक्साइड हुन्छ? एक केजी कार्बन बराबर ३.६७ गुणा गरेमा कार्बन डाइअक्साइड निकाल्न सकिन्छ। जस्तै: एक हजार केजी कार्बन भयो भने १०००  गुणा ३.६७= ३ हजार ६ सय ७० केजी कार्बन डाइअक्साइड बराबर हुन्छ। कार्बन डाइअक्साइड र कार्बनको अनुपात ३.६६ हुन्छ। ३.६७ कार्बन डाइअक्साइड उत्पादन हुँदा अक्सिजन छुट्टिएर १ केजी कार्बन बाँकी रहन्छ। कार्बनले वायुमण्डललाई बाक्लो र प्रदूषित बनाउने हुँदा ग्लोबल वार्मिङको प्रमुख कारण बन्न गएको छ कार्बन।

युद्धद्वारा हाम्रो वायुमण्डल कति प्रदूषित भइरहेको छ भन्ने बुझ्न यी उदाहरण नै काफी छन्। पृथ्वीमा युद्ध नभएको स्थितिमा रेगुलर सैन्य गतिविधिको मात्र हिसाब गर्ने हो भने सम्पूर्ण कार्बन उत्सर्जनको ५.५ प्रतिशत भार छ तर युद्धको परिस्थितिमा कार्बन उत्सर्जनको मात्रा सयौँ र हजारौँ गुणा बढेर जान्छ। युद्धद्वारा कार्बन मात्र उत्सर्जन हुने होइन, हरितग्यास र अरू विषालु ग्यास पनि उत्पादन हुन्छन्। भियतनाम युद्धमा यस्तै विषालु ग्यासको प्रयोग भएको थियो। 

कहिलेकाहीँ युद्धले वातावरण विनाशलाई नै आफ्नो योजना पनि बनाउन सक्छ। भियतनाम युद्धताका अमेरिकाले एजेन्ट अरेन्ज नामक दुई करोड ग्यालन (करिब सात करोड ५६ लाख लिटर) केमिकल भियतनामभर छेप्यो। अमेरिकाले त्यसो गर्नुको उद्देश्य उत्तरी भियतनामीले  सेल्टर लिएको जंगललाई नाश गर्नु र त्यहाँको कृषि अस्तव्यस्त पार्नु थियो। अमेरिकाले छरेको सो विषादीको असर त्यहाँको वातावरण, कृषि र मानव जीवनमा अहिले पनि जारी छ। सन् १९९० र २००० को दशकमा अमेरिकाले इराकमा गरेको बमबारीका कारण त्यहाँ व्यापक प्रदूषण र वातावरणीय विनाश निम्तियो। युरेनियम हालेर पड्काइएका गोलाबारुदले सम्भवतः हजारौँ र लाखौँ इराकी जमिन नै दूषित बनायो। त्यसकै कारण अत्यधिक बम प्रहार भएका क्षेत्र र आसपासमा जन्मेका बालबालिकामा जन्मजात अनेकौँ समस्या देखिए। अफगानिस्तानको अवस्था पनि लगभग इराकजस्तै हो।

संसारको तापक्रम बढ्दै गर्दा र जलवायु परिवर्तनका विनाशकारी प्रभाव अझै प्रस्ट रूपमा देखिँदै गर्दा उल्टै संसारभर सैन्यीकरण तीव्रतर गतिमा बढिरहेकै छ। विश्वको बढ्दो सैन्य प्रतिस्पर्धाको मुख्य कारक चीन र अमेरिकाबीच बढ्दै गएको टक्कर देखिँदै छ। रुस–युक्रेन र मध्यपूर्वको युद्धले आगोमा घ्यु थपेजस्तो भएको छ।

लकहिड मार्टिन र बीएई सिस्टमजस्ता अनेकौँ हातहतियार बनाउने कम्पनी र तिनीसँग अन्योन्याश्रित सम्बन्ध भएका पोलिटिकल सिस्टम नै युद्धका कारक हुन्। जलवायु परिवर्तनसँग लड्न र सिर्जनशील समाधानमा प्रयोग हुनसक्ने मानव मस्तिष्कलाई पुँजीवादी सैन्य साम्राज्यवादी प्रणालीले यसरी नै मृत्युको सामग्री बनाउन बाध्य पार्दै छ।

पुँजीवादले हाम्रा प्रणालीलाई बारम्बार युद्धतर्फ धकेल्छ किनकि युद्धबिना उसका समस्या हल हुँदैनन्। स्रोतसाधनको अत्यधिक दोहन र त्यसको निम्ति अन्यायपूर्ण कब्जाले नै पुँजीवादले आफ्नो पोजिसनको प्रतिरक्षा गरिरहेको छ। युद्धप्रेरित सैन्यीकरणतर्फको द्रुत यात्राले लाखौँ करोडौँ मान्छे र अन्य जीवनलाई मात्र चुनौती दिँदैन, वातावरणीय क्षतिद्वारा पृथ्वीको भविष्यलाई पनि चुनौती दिन्छ। यसबारे समय बाँकी हुँदै सचेत बन्नु र युद्धका हरकतलाई निस्तेज गर्नु मानव समुदायको अपरिहार्यता हो। 

अहिले एकल अमेरिकी ध्रुव धरमराएको र ‘डिडलराइजेसन’ बढिरहेको सन्दर्भमा त्यसलाई टक्कर दिन ब्रिक्स आदिजस्ता संगठनको उदय र रुस/चीन/इरान/उत्तर कोरियाको रणनीतिक गठबन्धनका कारण पनि चाँडै नै विश्व भयानक अर्को युद्धको नजिकै छ भन्न सकिन्छ। त्यो युद्ध भड्कियो भने कति कार्बन उत्सर्जन होला, त्यसले फेरि पृथ्वीको जलवायुमा कस्ता–कस्ता नकारात्मक प्रभाव ल्याउलान्, स्थिति बहुत भयावह र कल्पनाभन्दा बाहिर हुनसक्छ। उपभोक्तावाद पुँजीवादको अर्को महत्त्वपूर्ण अंक हो। 

स्थिति, स्वीकृति, चाहना या लत, बजारको चर्को मार्केटिङ र विज्ञानजस्ता कारणले उपभोक्ताले धेरैभन्दा धेरै सामान किन्ने गर्छन्। तिनले गर्ने मालसामानको उपभोग पनि अतिरिक्त हरितगृह ग्यास उत्सर्जनका लागि निकै जिम्मेवार छ। तिनले फालेका फोहोरबाट पनि हरितगृह ग्यास निस्कन्छन्। पुँजीवादी र धनी राष्ट्रमा पुँजीपतिहरूद्वारा गरिने अत्यधिक उत्पादन र जनताबाट गरिने अत्यधिक उपभोगका कारण दैनिक लाखौँ टन खाद्यवस्तु त्यसै खेर फ्याँकिन्छ। साथै, पुँजीवाद र कम्पनीबीचको प्रतिस्पर्धाका कारण खाद्यान्न, फलफूल र तरकारीको झन्डै एक तिहाइ भाग पसल पुग्नअघि नै गलत साइज या आकार भएको भन्दै अस्वीकार गरिन्छ (फ्याँकिन्छ)। यो पनि हरितगृह ग्यास उत्सर्जनको अर्को कारण बनेको छ।

बढ्दो सैन्य खर्च, भइरहेका युद्ध र भविष्यको त्रासदीको कारण पुँजीवाद हो, जो अहिले विश्वस्तरको कर्पोरेट पुँजीवादमार्फत प्रकट भइरहेको छ। सैन्यकरण, युद्ध र कर्पोरेट पुँजीवादको गठबन्धन अनि अन्तर्संघर्षको परिणाम नै युद्धहरू हुन्। युद्धहरू वातावरणीय क्षतिको मूल कारण हुन्। मानव समुदायले युद्ध र अति उपभोगका कारण पृथ्वी प्रदूषित भएको र तापक्रम बढेको विषय बुझोस्। यो पृथ्वीलाई अनन्त कालसम्म बस्न लायक बनाउने जिम्मेवारी हामी सबैको हो किनकि यो पृथ्वी सबैको साझा घर हो। सायद पर्यावरणीय समाजवाद नै तत्कालीन उत्तम उपाय हो। यसबारे अर्को लेखमा चर्चा गर्नेछु।