श्रममन्त्रीले ९० दिनमा के गरे?

मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्यक्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर गरेर पक्रिया अगाडि बढाएको बताएका छन्।

काठमाडौँ- सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेकाहरूलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मंगलबार चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ति भराएको ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ पीडितलाई उपलब्ध गराइएको बताएका हुन्।



आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले उनले  वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भएको अनुसारको काममा नलगाउनेजस्ता कार्य गराएको भनी वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ति भराएको बताए। उनले वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र उजुरीउपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाइएको पनि बताए ।



मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भई काम अगाडि बढेको पनि उल्लेख गरे। उनका अनुसार रोमानियाको भिसा प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगार कार्यालय ताहाचलमा अस्थायी रूपमा रोमानिया मिशन स्थापना गरिएको छ।



इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७८ समसामयिक बनाउने कार्यदल गठन भई कार्य भइरहेको पनि उनले बताए। सातवटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम भइरहेको जनाइएको छ।



मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवर्द्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट हुनेगरी कार्यान्वयन गरिएको उल्लेख गरे।



उनले श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थलको पहिचान गर्नेसम्बन्धी प्रतिवेदन तयार भई जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको बताए। श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले व्यावसायिक सिप तथा तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।



त्यसैगरी, कम्तिमा २ वर्ष सामाजिक सुरक्षामा योगदान गर्ने योगदानकर्तालाई कोरोनरी आर्टरी बाइपास वा ओपनहार्ट सर्जरी, मस्तिष्कघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनलाइन्जुरी, हेडइन्जुरी, सिकलसेल, एनिमिया, हेमोफेलिया र थालासेमियालगायतका १० प्रकारका घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च प्रदान गर्ने व्यवस्था गरिएको बताइएको छ।



श्रम मन्त्री कुँवरका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकका स्नातक तहको प्रथम वर्षमा भर्ना भई अध्ययन गरिरहेका सन्ततीलाई प्रत्येक प्रदेशबाट १२ जनाका दरले ८४ जनाले स्वदेशी शैक्षिक संस्थामा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने भएको छ। यसका लागि योगदानकर्ता सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरिएको उनको भनाइ छ।