महाधिवेशनको माहोल छाडेर सत्ताको ‘रस’मा रमाइरहेको रास्वपा

महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख भएको र सत्तालिप्सामा लागिरहे रास्वपा विवेकशील पार्टीजस्तो अवस्थामा परिणत हुनसक्ने खतरा औँल्याएका छन्।

काठमाडौँ– “वर्तमान अवस्थामा पार्टीको पक्षमा जनमत छैन। जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा १–२ सिट जित्ला। भोलिका दिनहरू आजकै स्थितिअनुसार अघि बढेमा पार्टीको हालत विवेकशीलसरि हुनेछ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले बुधबार साँझ गृह मन्त्रालय पुगेर पार्टी सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा प्रतिवेदनमा यस्तो लेखिएको छ। ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर समीक्षा यात्रा पूरा गरे। गएको वैशाख १० गते इलाम-२ मा भएको उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएपछि पार्टीको प्रतिनिधित्व गर्दै ढकाल समीक्षा यात्रामा निस्किएका थिए।

महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख भएको समेत उल्लेख छ। उनले पुराना राजनीतिक दलकै पछि लागेर सत्तालिप्सामा लागिरहे रास्वपा विवेकशील पार्टीजस्तो अवस्थामा परिणत हुनसक्ने खतरा औँल्याएका छन्। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सत्तामा सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको निष्कर्ष पनि प्रतिवेदनमा छ।

रास्वपाको वर्तमान कामकारबाहीबाट पार्टीमा रहेका ६२ जना केन्द्रीय सदस्यमध्ये अधिकांश असन्तुष्ट छन्। संगठन विस्तार गर्ने बेला पार्टी सत्ता बनाउने र गिराउने भूमिकामा बढी सक्रिय भएको एक केन्द्रीय सदस्यको आरोप छ। 

भइरहेको अधिवेशन पनि रोकियो
“संघीय निर्वाचन सम्पन्न भएको एक वर्षभित्र पार्टीले राष्ट्रिय महाधिवेशन गर्नेछ। यदि प्रतिनिधिसभाले आफ्नो पाँचवर्षे कार्यकाल पूरा नगरी राष्ट्रमा मध्यावधि चुनाव भएमा राष्ट्रिय महाधिवेशन सो चुनावको एक वर्षभित्र गरिसक्नुपर्नेछ,” रास्वपा विधानको भाग ११ को धारा ४७ मा लेखिएको छ। तर संघीय निर्वाचन भएको दुई वर्ष पुग्न लाग्दा पनि रास्वपामा महाधिवेशनको चर्चा सुस्त छ। बरु शुरू भएको महाधिवेशन प्रक्रिया पनि अहिले रोकिएको छ।

गएको मंसिर २८ गतेदेखि रास्वपाको महाधिवेशन प्रक्रिया शुरू भयो। त्यो बेला सातै प्रदेशको एक-एक वडामा अधिवेशन भयो। फागुन १७ गतेसम्म आउँदा ६ हजार ७४६ वडामध्ये जम्मा १२१ वटामा मात्र रास्वपाले आफ्नो अधिवेशन सकेको थियो। अहिले करिब ३०० वडाको अधिवेशन सकिए पनि असार ८ गतेदेखि बाँकी वडामा रोकिएको रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। 

“अहिले बर्सात‍्को समय भएकाले भदौसम्मको लागि सबै स्थगति गरेका हौँ। भदौदेखि बाँकी वडाको अधिवेशन फेरि शुरू गर्छौं,” बुर्लाकोटी भन्छन्, “नयाँ पार्टी भएर अधिवेशन प्रक्रियामै ढिला भइरहेको छ। बिस्तारै काम भइरहेको छ।” 

रास्वपाको विधानअनुसार राष्ट्रिय महाधिवेशनभन्दा अगाडि पार्टीले वडा, पालिका र प्रदेशको अधिवेशन गरिसक्नुपर्ने व्यवस्था छ। तर पार्टीले हालसम्म पनि पालिकास्तरसम्म संगठन विस्तारको काम सकेको छैन। यही कारण उसलाई महाधिवेशन प्रक्रिया अगाडि बढाउन समय लागिरहेको छ। 

महामन्त्री ढकाल भने रास्वपाले शुरूमा महाधिवेशन समयमा गर्ने भने पनि सबै कुरा नमिलेका कारण २०८३ सालभित्र गरिसक्ने बताउँछन्। विधानमा एक वर्षभित्र गरिसक्ने प्रावधान रहे पनि संक्रमणकालीन अवस्थामा पहिलो महाधिवेशन अर्को निर्वाचन हुनु अघिसम्ममा गरिसक्नुपर्ने व्यवस्था भएको उनको भनाइ छ। 

“संक्रमणकालीन प्रावधानअनुसार हामीले महाधिवेशन गर्नसक्ने ०८४ को असारसम्म हो। तर ०८४ को वैशाखमै स्थानीय तहको निर्वाचन हुने कारण ०८३ सम्म गरिसक्छौँ,” ढकाल भन्छन्, “तर अहिलेकै रफ्तारले ०८३ सम्म पनि नभ्याउने स्थिति छ। यसमा हामी काम गरिरहेका छौँ।”

पार्टीका प्रमुख सचेतक सन्तोष परियार महाधिवेशनको काम भइरहे पनि गति चाहिँ धिमा भएको स्वीकार्छन्। जलेश्वर बैठकबाट महाधिवेशनको मामिलामा छलफल भएदेखि महाधिवेशनलक्षित कामहरू धेरै नभएको उनी बताउँछन्।

“नयाँ गठबन्धनमा हाम्रो उपस्थिति भएयता मूल नेतृत्वसहित सरकारमा गएपछि पार्टीको काम प्रभावित नभएको होइन। ढिलासुस्ती भएको छ। तर हामी महाधिवेशनको पनि तयारी गरिरहेका छौँ,” परियार भन्छन्, “पार्टीको गतिविधि बढाउने गरी पनि आन्तरिक रूपमा काम गरिरहेका छौँ। यसमा हामी गम्भीर छौँ।”

वार्षिकोत्सवमा देखिएको दृश्य
गएको साता आयोजित रास्वपाको दोस्रो वार्षिकोत्सव पहिलोजस्तो भव्य रहेन। असार ८ गते दुई वर्ष पूरा गरेको रास्वपाले पहिलो वर्षमा धूमधामका साथ वार्षिकोत्सव मनाएको थियो। तर यसपटक कुनै औपचारिक कार्यक्रम र सम्बोधन–अन्तर्क्रियाबिना नै वार्षिकोत्सव सकिएको थियो। गत वैशाखमा भएको उपनिर्वाचनमा पार्टीले पाएको नतिजा र सहकारी काण्डमा पार्टी सभापति रवि लामिछाने मुछिनु नै यसको मुख्य कारण भएको टिप्पणी छताछुल्ल छ।

पहलो वार्षिकोत्सवमा रास्वपा उत्साहित देखिनुको कारण थियो, वैशाखमा भएको उपनिर्वाचन जसमा सभापति लामिछाने दोस्रो पटक भारी मतले निर्वाचित भएका थिए भने रास्वपाले संसद‍्मा थप एक सिट जोडेको थियो। लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता ब्युँताउने प्रक्रिया नअपनाएको भन्दै अघिल्लो वर्षको माघ १३ गते सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि वैशाख १० मा भएको उपनिर्वाचनमा उनी दोहोरिएर उठेका थिए। सोही उपनिर्वाचनमा तनहुँ-१ बाट उठेका स्वर्णिम वाग्लेसमेत ठूलो मतान्तरले विजयी भए।

रास्वपा महामन्त्री ढकाल भने त्यस्तो कुनै कारण नभए पनि तयारी नहुँदा वार्षिकोत्सव अघिल्लो वर्षजस्तो हुन नसकेको बताउँछन्। पार्टीका सदस्यहरूले पनि त्यतातिर खासै ध्यान नदिएका कारण सुक्खापन देखिएको ढकालको दाबी छ।

“उपनिर्वचनको नतिजा र सहकारीको कुनै विषय होइन। पार्टीका साथीहरूले ध्यान नदिँदा कुनै कार्यक्रम हुन सकेन,” ढकाल भन्छन्, “म पनि बाहिर भएकाले समय दिन सकेको थिइनँ।”

वार्षिकोत्सवमा भिड भने पहिलाभन्दा बाक्लो थियो। बाटोमा ट्राफिक प्रहरी पोहोरको भन्दा बढी मात्रामा खटाइएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगै रास्वपाका चार मन्त्री त्यहाँ उपस्थित थिए। प्राय: सबै दलका अध्यक्ष रास्वपा मुख्यालय पुगेका थिए।

गत फागुन २१ गते रास्वपा दोस्रो पटक सरकारमा गएदेखि नै पार्टी आन्तरिक रूपमा कमजोर हुँदै गएको एक केन्द्रीय सदस्य बताउँछन्। सत्ता सञ्चालनको जिम्मा पाएपछि पार्टीका सारा मान्छे त्यसैको पछि लागेको उनले उकालोसँग बताए। त्यसैकारण उत्साह घटेको दृश्य वार्षिकोत्सवमा देखिएको ती केन्द्रीय सदस्यको दाबी छ।

“हामी जहिलेदेखि सरकारमा गयौँ त्यही बेलादेखि रास्वपाभित्रको सबै कामकाज ठप्पजस्तै भएको छ। एक त संगठन विस्तार नै भएको छैन। अर्को कुरा, भएको संगठनका मानिसहरू पनि मन्त्रालयसँग सम्बन्धित कामका लागि फोन गरेर हैरान पारिरहेका छन्,” ती केन्द्रीय सदस्य भन्छन्, “आजभोलि केन्द्रीय सदस्यहरू पार्टी कार्यालयमा कम, मन्त्रालयमा बढी भेटिन्छन्।”