ब्यान्डका सदस्यले सन् २००७ मा पूर्वमाओवादी, पूर्वसैनिकसहित विविध क्षेत्रका मानिससँग अन्तरक्रिया गरेपछि विभेद, आन्दोलन र सामाजिक न्यायबारे बुझे। अनि ‘शान्तिका लागि संगीत’ अभियान लिएर दौडाहामा निस्किए।
काठमाडौँ– न्युरोडका रैथाने ठिटाहरू सन् २००१ सम्ममा हात–हातमा मोबाइल बोक्न थालिसकेका थिए। भर्खर मोबाइल बोक्ने त्यही पुस्ताका युवा थिए पवित महर्जन। उनी ‘लिटल स्टार’ ब्यान्डका लागि किबोर्ड बजाउँथे। संगीतमा केही नयाँ गर्ने हुटहुटीमा थिए। साथीहरूसँग चिया पसलमा नयाँ योजनाबारे छलफल गरिरहन्थे।
त्यही बेला भर्खर खुलेको कान्तिपुर टेलिभिजनमा ‘ताल’ कार्यक्रमका लागि पवित र उनका साथीले 'कन्सेप्ट' तयार गरे। उनी सम्बन्धित ब्यान्ड लिटल स्टारसहित ईएमडब्लू (इस्ट मिस्ट्स वेस्ट सीडी पसल, ठमेल) र स्टिमलाइन गरी तीन कम्पनीले कार्यक्रमका लागि 'प्रपोजल' हाले। उनीहरूको कम्पनीले पाटन दरबार संग्रहालय परिसरमा दुई वर्षसम्म ‘शुक्रबार’ नामक सांगीतिक कार्यक्रम पनि गर्यो। यसको संयोजन पवितले गर्थे। यहाँ सुरसुधालगायत विभिन्न ब्यान्डले प्रस्तुति दिएका थिए।
राजु महर्जन र रुबिनकुमार श्रेष्ठ त्यस बेला झरना ब्यान्डमा थिए। झरनाले पनि पवितले संयोजन गर्ने ‘शुक्रबार’मा प्रस्तुति दिने गरेको थियो। अर्कै ब्यान्डमा रहेका अरुण गुरूङ पनि शुक्रबारको प्रस्तुतिमा संलग्न हुन्थे। यही क्रममा उनीहरूको हिमचिम बढ्यो र कुटुम्ब ब्यान्ड स्थापनाको आधार बन्यो।
“दुई वर्ष कार्यक्रम गर्दा कुनै पनि ब्यान्डले कहिले पनि मादल, धिमे, सारंगीजस्ता नेपाली बाजा बजाएको देखिएन,” पवित भन्छन्, “मैले धेरै ब्यान्डलाई नेपाली बाजा बजाउनको लागि भनेँ, तर खास महत्त्व दिएनन्।”

पवितलाई खड्किएको विषय नै कुटुम्ब ब्यान्ड स्थापनाको कारण बन्यो। पवित, अरुण, रुबिन, राजु मिलेर सन् २००४ मा ब्यान्ड खोले। इन्जिनियरिङ अध्ययन गरेका अरुण बाजा बजाउन छाडेर ब्यान्डको व्यवस्थापक तथा प्राविधिक पक्ष सम्हाल्न थाले। “हामीसँग संगीतको पूर्ण ज्ञान त थिएन तर अलिअलि बाजा बजाउन जान्ने थियौँ। गरिहेरौँ भन्ने हिसाबले ब्यान्ड खोलका थियौँ,” अरुण भन्छन्।
कुटुम्ब ब्यान्डमा हाल ६ सदस्य छन्। सारंगी बाधक किरण नेपाली सन् २००९ बाट ब्यान्डमा जोडिएका हुन्।
कुटुम्ब नाम भने संस्कृति श्लोक, ‘वसुधैव कुटुम्बकम्’ अर्थात्, ‘द होल वर्ल्ड इज वान’बाट प्रभावित भए राखिएको अरुणको भनाइ छ। उनका अनुसार पहिले पूरै श्लोक नै ब्यान्डको नाम थियो, तर लामो भएपछि छोट्याएर एक शब्दको मात्र राखियो।
ब्यान्ड बनेपछि उनीहरूले पुराना लोकगीतको धुन बजाउन थाले। “दुई वर्षको कार्यक्रम आयोजनाबाट हामीले अनुभव पाइसकेका थियौँ। १०–१२ वटा टिकट आफ्ना साथीभाइमाझ बेच्न सक्थ्यौँ,” अरुण भन्छन्, “शुक्रबार कार्यक्रममा टिकट बेच्ने, ठमलेमा पम्पलेट टाल्ने, गेटमा बस्नेलगायत अनुभव सबै काम लाग्यो।”

उनीहरूको ब्यान्डमा ‘भोकलिस्ट’ कोही छैन। ‘सेमी क्लासिकल’ र समकालीन लोकबाजा उनीहरूको प्राथमिकतामा थियो। समकालीन गीत र लोकगीतका धुन मिलाएर संगीत सिर्जना गर्थे। ब्यान्ड बनेको दुई महिनामा उनीहरूले चार वटा कार्यक्रम गरे। यो ब्यान्डले दुई दशकको समय पार गरिसकेको छ। “यसरी लामो समय जान्छ भन्ने लागेको थिएन, कारण हामीले एक्सपेरिमेन्टको हिसाबले ब्यान्ड शुरू गरेका थियौँ,” अरुण भन्छन्।
हाल पवित महर्जन धिमे, मादल, धमाहा बजाउँछन्। राजु महर्जन मादल, न्याय्खिं, नगरा र खीं बजाउँछन्। अरुण मानन्धर टुङ्ना र अरबाजो, सिद्धार्थ महर्जन घुङरू, झ्याली, झ्याम्टा, भुस्याः (मेटल प्रिकसन), किरण नेपाली सारंगी र रुबिनकुमार श्रेष्ठ बासुँरी बजाउँछन्। पवित भन्छन्, “मैले सबिन राईसम्मको जेनेरेसनका लागि किबोर्ड बजाएको छु तर मलाई चिन्ने कमै थिए। कुटुम्बको लागि धिमे, घिन्ताङ बजाउँदा संसारले सुन्यो।”
नेवार परिवारमा हुर्किएको हुँदा कजी घरमा धिमेलगायत बाजा बजाउन सिकेको राजु महर्जन बताउँछन्। एसएलसीपछि उनलाई गायन र तबला पनि सिक्न इच्छा भयो। “त्यसबेला मलाई मेरो गुरुले मेरो भोकल राम्रै भएको कारण तबला सिक्न जोड दिनुभयो, दुई वर्ष सिकेँ,” उनी भन्छन्, “त्यसपछि आज १० वर्ष हुँदासम्म यसलाई निरन्तरता दिएको छु।”
शान्तिको अर्थ र संगीतको मर्म
सन् २००० को दशकमा वर्षभरिका चाडपर्वका बिदाभन्दा बढी नेपाल बन्द हुन्थ्यो। दिनको १६ घण्टासम्म लोडसेडिङ थियो। माओवादी द्वन्द्वकाल र राजनीतिक परिवर्तनको संघारमा देशमा स्थिरता थिएन। नेपाल बन्द र लोडसेडिङको समय न्युरोडस्थित विशालबजारमा रहेको आफ्नो चिया पसलमा साथीभाइसँग भेटघाट हुन्थ्यो। बन्दको बेला सुनसान हुने न्युरोडमा फुटबल खेल्ने, भुज्याः (नेवार समुदायको बाजा) बजाउने गरिन्थ्यो। कुटुम्ब ब्यान्ड यसरी नै चलिरहेको थियो।
सन् २००७ मा ‘सर्च फर कमन ग्राउन्ड’ नामक संस्थाले शान्तिको गीतका लागि कुटुम्बलाई प्रस्ताव गर्यो। ब्यान्डका सदस्यले शान्तिको परिभाषा बुझ्न चाहे। ब्यान्ड सदस्यको चाहना बुझेर उक्त संस्थाले त्रिशूलीमा एउटा वर्कसप राख्यो। त्यहाँ पूर्वमाओवादी, पूर्वसैनिक, तत्कालीन लिम्बुवान संगठनका कार्यकर्तालगायत विभिन्न क्षेत्रका मानिसबीच अन्तरक्रिया भयो।

काठमाडौँका रैथाने रहेका कुटुम्ब ब्यान्डका सदस्यले पहिलोपटक विभेद, आन्दोलन, सामाजिक न्यायका विषय बुझ्न पाए। द्वन्द्वकालमा जनताको पीडा थाहा पाए। उनीहरूले शान्तिका लागि संगीत सिर्जना गर्न काठमाडौँबाहिरका ठाउँ रोजे। सबैभन्दा पहिला उनीहरू जनकपुर पुगे।
जानकी मन्दिरभित्र बाजागाजासहितको कार्यक्रम भयो। “मन्दिरभित्रै पहिलो पटक त्यसरी कार्यक्रम भएको हामीलाई बताइयो,” पवित भन्छन्, “उक्त कार्यक्रमले मधेशी र पहाडेबीचको दूरी केही हदसम्म भए पनि घटाउन सक्यो जस्तो लाग्छ।”
त्यसपछि कुटुम्बका हरेक सदस्यलाई संगीतको माध्यमबाट गर्न बाँकी काम धेरै रहेछ भन्ने बोध भयो। कुटुम्बले सन् २०१३ मा मिथिला नाट्य परिषद् (मिनाप)मा आबद्ध जनकपुरका कलाकारसँग मिलेर अर्को सांगीतिक यात्रा गर्यो। यसपटक उनीहरूले डडेलधुरादेखि फिदिमसम्म कार्यक्रम गरे। उनीहरूले यात्राको नाम नै ‘विविधताको उत्सव’ राखेका थिए।
समथर तराईको जनकपुरदेखि डडेलधुरा, फिदिमलगायत पहाडी क्षेत्रमा गरेको कार्यक्रमले कुटुम्बमा नयाँपन थपिदियो। धिमे, बासुँरी, झ्यालीमा अब उनीहरूले अन्य स्थानीय बाजा पनि थप्न थाले। यस क्रममा लिम्बूका बाजामिश्रित एक एल्बम निकाले, जसमा सारंगी, मादल, ढोलक, टुङ्नाको ‘फ्युजन’ थियो। टुङ्ना अहिले कुटुम्बको नियमित बाजा भइसकेको छ।
“जहाँ–जहाँ हामी पुग्यौँ त्यहाँका स्थानीय कलाकारसँग मिलेर स्थानीय लोकबाजाको फ्युजन गरी संगीत सिर्जना गर्यौँ,” पवित भन्छन्, “नेपालको सिमानाभित्र रहेका सबै बाजा, गीत र संगीत नेपाली हुन्, कुनै जातीय ट्याग नलगाउने हाम्रो नारा थियो।”

त्यसो त सांगीतिक यात्रामा युवा जमात हुँदा हार्ड र रक खालको बाजा पनि बजाउँछन्। पाको पुस्ता हुँदा सुगम र ‘स्लो’ धुन बजाउँछन्। व्यवस्थापक अरुण भन्छन्, “हामी लोकबाजा बजाउने भएको कारण क्लासिकल नसुन्नेलाई हाम्रो धुन सुन्न गाह्रो हुनसक्छ। क्राउड हेरेर कार्यक्रम डिजाइन गर्नु पर्छ।”
सांगीतिक यात्राबाट निरन्तरता पाएको अर्को बाजा हो, अरबाजो। पोखरा बाटुले चौरस्थिति एक ज्येष्ठ नागरिकको घर पुग्दा उनीहरूले पहिलो पटक अरबाजो सिके। “त्यसयता अरबाजो कुटुम्बले प्रस्तुत गर्ने हरेक कार्यक्रममा गुन्जन्छ,” व्यवस्थापक अरुण भन्छन्, “यसलाई हामीले लोप हुन लागेको बाजा बचाउन गरिरहेको प्रयास मानेका छौँँ। अझै यस्ता बाजा कति होलान्!”
संगीत र समाजसेवा
२० वर्षको यात्रामा कुटुम्बले संगीतमार्फत स्वयमंसेवा गर्न सकिने सन्देश पनि दिएको छ। कुटुम्बका सदस्य आफ्नो सफलताको मापन सामाजिक कार्यमार्फत गर्छन्।
१५ वर्षदेखि उनीहरू ‘स्कुल टु स्कुल टुर’ गर्दै आएका छन्। यस यात्रामार्फत हालसम्म ७० वटा विद्यालयमा ८५ हजार विद्यार्थीलाई स्टेसनरी सामग्री बाँडेका छन्। “१५ वषदेखि गरिरहेको यो प्रोजेक्टमा हामी कतै पनि पैसा लिँदैनौँ। सक्ने विद्यालयबाट स्टेसनरी सामान सहयोगको रूपमा लिन्छौँ र ग्रामीण विद्यालयमा दिन्छौँ,” अरुण भन्छन्।

कोभिडअघि ‘स्कुल टु स्कुल टुर’मार्फत सांस्कृतिक तथा वातावरणसम्बन्धी जनचेतना फैलाउने गरिएको थियो। “वातावरण परिवर्तनको सवालमा विद्यार्थीहरूको बुझाइ कस्तो छ त्यसमा लेख्न लगाउथ्यौँ। वातावरण परिवर्तनले हिमालमा पारेको असर जस्ता विविध विषयमा छलफल हुन्थ्यो। यो वर्कसप बेस्ड कार्यक्रम हो,” अरुण भन्छन्।
स्कुल टुरमा गर्ने कार्यक्रमका विषय र तरिका अब परिवर्तन गर्नुपर्ने देखिएको रुबिन बताउँछन्। खासगरी गीतको चयन गर्दा नयाँ पुस्तालाई ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ। “पहिला असारे महिनामा लेकका हामी केटाकेटी... जस्तो गीतमा रमाउँथे, अहिलको पुस्ताले पुरानो नेपाली गीत सुनेका छैनन्,” उनी भन्छन्।

धेरैअघि शुरू गरेको तर हाल रोकिएको कार्यक्रममा पर्छ– प्लेइङ फर हेरिटेज। यस कार्यक्रममार्फत उनीहरूले विभिन्न सम्पदा क्षेत्रमा सांगीतिक यात्रा गरी सम्पदा संरक्षणबारे जनचेतना फैलाउने गर्थे। २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो कार्यक्रम गर्न सम्भव नभएको रुबिन बताउँछन्।
भूकम्पपछि उनीहरूले खोकनामा उक्त कार्यक्रम ब्युँत्याउन खोजे पनि सफल भएन। “भूकम्पपछि खोकनामा कार्यक्रम गर्यौँ। मानिसहरूमा त्यस समय नैराश्यता थियो, पहिले जसरी कार्यक्रम हुन सकेन। हामी आफैँ पनि कार्यक्रम गर्ने तरिकाबारे कन्फ्युज भयौँ,” रुबिन भन्छन्।
दुई दशकदेखि निरन्तर
कुटुम्बले देशमा मात्र नभई विदेशमा पनि सांगीतिक प्रस्तुति दिएको छ। उनीहरू स्वदेशकै कार्यक्रमलाई प्राथमिकता दिन्छन्। पहिला देशका विभिन्न स्थानमा कार्यक्रम गरेपछि उनीहरूले भारत र बांग्लादेशमा पनि आफ्नो प्रस्तुति दिने मौका पाएका थिए।
सन् २००६ अगस्ट १५ मा ‘फ्रिडम कन्सर्ट’का लागि भारतको पुने जानु थियो। भैरहवामा एउटा सांगीतिक कार्यक्रम हुँदै थियो। कुटुम्बलाई पनि आयोजकले प्रस्तुति दिएर जान आग्रह गरे। “त्यहाँ कुन ब्यान्ड आउँदैछ भन्ने थिएन। ब्यान्ड भनेको छ, भोकलिस्ट कोही छैन। नेपाली बाजा ल्याएर स्टेजमा मान्छेहरू बसेका छन्। त्यो दृश्यले स्रोताहरूलाई चकित पारिरहेको थियो,” अरुण भन्छन्, “हामीले साउन्ड चेक गर्न थालेपछि बिस्तारै मानिसहरू प्रवेश गरे। प्रस्तुति दिन नथाल्दै टिकट सोल्डआउट भएछ।”
त्यहाँबाट गएर पुनेस्थित अर्किड स्कुलमा प्रस्तुति दिए। उनीहरूले लगातार ४–५ मिनेट ताली पाइरहे। त्यहाँ बलिउडको संगीत स्थानीय मौलिक संगीतमाथि हाबी भइरहेको थियो। कुटुम्बको प्रस्तुतिले विद्यार्थीमाझ मौलिक बाजाप्रतिको ज्ञान विस्तार भएको प्रतिक्रिया त्यहाँका शिक्षकले दिए। “त्यस दिन हामीलाई थाहा भयो, बजाउनका लागि हामीलाई हाम्रै बाजा पर्याप्त रहेछ,” अरुण भन्छन्।

सन् २०११ मा ‘वर्ल्ड म्युजिक फेस्टिभल’अन्तर्गत उनीहरू पहिलोपटक अमेरिका पुगे। त्यहाँका मानिसका लागि कुटुम्ब चिनिएको ब्यान्ड थिएन। त्यो यात्राबारे पवित भन्छन्, “हामीअघि ताइवानी समूह गीत बजाइरहेको थियो। मानिसको उपस्थिति ठिकै थियो। हाम्रो पनि यस्तै ताल हुने होला भन्ने कुराकानी गरिरहेका थियौँ। हाम्रो पालो आउँदा साउन्ड चेकको समय १५ मिनेटमा पूरा हल भरियो।”
यसैगरी कुटुम्बका दुई दशक बिते। ब्यान्ड बनेको शुरूआती समयमा केही सदस्य जोडिने, छोड्ने भइरह्यो। तर स्थापनाकालका पाँच सदस्य अहिलेसम्म पनि साथै छन्।
“ब्यान्डहरूको सन्दर्भमा एउटा समस्या भइ नै हाल्छ,” व्यवस्थापक अरुण भन्छन्, “एक जनालाई मात्र हाइलाइट हुने हुँदा ब्यान्डको क्रेडिट स्वतः एक जना (भोकलिस्ट)लाई हुने गर्छ। यसले बिस्तारै ब्यान्डमा मतभेद ल्याउन सक्छ।”
तर इन्स्ट्रु्मेन्टल ब्यान्ड भएको कारण कुटुम्बमा भोकलिस्ट नभएको कारण निश्चित कलाकार मात्र हाइलाइट हुँदैनन्। “हाम्रा प्रस्तुतिमा टाइमिङको सवालमा सबै बाजालाई मिलाउछौँ,” अरुण भन्छन्, “एकअर्काको समस्या नबुझी बस्ने, एक जनालाई मात्र स्टार बनाउने गरियो भने ब्यान्डमा कुरा बिग्रन थाल्छ।”
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
