मौसमजन्य पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्न स्थापना गरिएका मौसमी राडार सञ्चालनमा दक्ष जनशक्ति नहुँदा चुनौती देखिएको छ। सुर्खेत, उदयपुर र पाल्पामा झन्डै एक अर्ब खर्चिएर यस्ता राडार स्थापना गरिएको हो।
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले इलेक्ट्रिक इन्जिनियर सुदीप भट्टराईको नेतृत्वमा विभागका तीन जना इन्जिनियरलाई तालिम लिन अमेरिका पठायो। विभागका महानिर्देशक जगदीश कर्माचार्यका अनुसार २०७४ सालमा उनीहरूलाई एक महिने आधारभूत तालिमका लागि पठाउनुको मुख्य उद्देश्य सुर्खेत, पाल्पा र उदयपुरमा स्थापना गरिने मौसमी राडार सञ्चालनसम्बन्धी ज्ञान प्राप्त गर्ने र भविष्यमा उनीहरूलाई त्यही काममा केन्द्रित गर्ने थियो।
ती इन्जिनियरले तालिम लिएर आएसँगै राडार स्थापना भयो। तर त्यसको सञ्चालन गर्ने सीप सिकेर आएका तीनै जना इन्जिनियर अहिले विभागमा छैनन्। विभागबाट उनीहरूको अन्यत्रै सरुवा भयो। “हामीले एक महिनाको आधारभूत तालिममा पठाएका थियौँ। तालिम लिएका जनशक्ति अहिले विभागमा छैनन्,” कर्माचार्य भन्छन्, “जुन उद्देश्यका साथ राडार स्थापना गरिएको थियोे त्यसअनुरूप काम हुन सकेको छैन।”
मौसमी सूचना प्रणालीलाई व्यवस्थित गर्नु, राडारबाट प्राप्त सूचनालाई विश्लेषण गरेर त्यसमार्फत पूर्वसूचना प्रणाली उपलब्ध गराउनु र भविष्यका लागि मौसमी तथ्यांकको संग्रह गर्नु राडार स्थापनाको मुख्य उद्देश्य हो।
यसो गर्दा एकातिर बाढी पहिरो, चट्याङ जस्ता मौसमी घटनाबाट बच्न पूर्वसूचना प्रणाली मार्फत समुदायलाई सचेत गराउन सकिन्छ भने मौसमी तथ्यांकको संग्रहले भविष्यमा निर्माण गरिने पूर्वाधारसम्बन्धी विकास निर्माणका कार्य गर्दा अपनाइने सावधानी र डिजाइनमा सहयोग पुग्छ।
विभागकी सिनियर डिभिजनल मेटेरियोलोजिस्ट डा. इन्दिरा कंडेलका भनाइमा राडारले इलेक्ट्रोम्याग्नेटिक वेभहरू पठाएर वायुमण्डलमा विकास भएको मौसमी अवस्थालाई डिटेक्ट गर्छ र सूचना उपलब्ध गराउँछ। त्यही सूचनालाई विश्लेषण गरेर कस्तो खालको बादल विकास भइरहेको छ र त्यसले कस्तो वर्षा गराउँदैछ भन्ने पूर्वसूचना जारी गर्न सकिन्छ।
“मौसमी राडारले कस्तो खालको वर्षा हुँदैछ भनेर सूचना दिन्छ। त्यसको अब्जरभेसन हेरेर नाओकास्ट गर्न सकिन्छ। नाओकास्टबाट जोखिममा रहेका मानिसहरूको उद्धार गर्न सकिन्छ,” उनी भन्छिन्, “यदि पहाडले ब्लक गरेको छैन भने राडारले करिब २५० किलोमिटर टाढासम्मको वायुमण्डल स्क्यान गरेर क्लाउड पार्टिकल्सहरूको साइजका आधारमा कस्तो खालको बादल विकास भइरहेको छ भनेर पत्ता लगाउन सकिन्छ। त्यसबाट असिना, हिउँ, पानी, हावाहुरी चट्याङ आदिको नाओकास्ट गर्न सकिन्छ।”
कंडेलका अनुसार तीन घण्टा पछिसम्मको मौसम पूर्वानुमानलाई नाओकास्ट भनिन्छ। राडारले म्याग्नेटिभ वेभहरू पठाएर वायुमण्डलमा विकास भएको मौसमी अवस्थालाई डिटेक्ट गर्छ र सूचना उपलब्ध गराउँछ। त्यही सूचनालाई विश्लेषण गरेर वायुमण्डलीय गतिविधिबारे पूर्वसूचना पाउन सकिन्छ।
उपयोगमै समस्या
एकातिर तालिमप्राप्त जनशक्ति नहुँदा स्थापना गरिएको राडार सञ्चालनमा समस्या छ भने अर्कोतर्फ राडार सञ्चालन भए पनि त्यसबाट प्राप्त सूचना विश्लेषण गरेर त्यसअनुरूप जानकारी प्रवाह गर्न विभागले सकिरहेको छैन। विभागका महानिर्देशक जगदीश कर्माचार्यका भनाइमा इलेक्ट्रिोनिक्स इन्जिनियरबाहेक तालिमका लागि विभागमै कार्यरत मेटेरियोलोजिस्ट र हाइड्रोलोजिस्टहरूलाई पनि अमेरिका पठाइएको थियो। मौसममा वर्षका ३६५ दिन नै सेवा सञ्चालन गर्नुपर्ने भएकाले प्राप्त तथ्यांक विश्लेषण गरेर समयमै सूचनाहरू जारी गर्नु त्यसको उद्देश्य थियो।
राडारसँग सम्बन्धित तालिमका लागि मेटेरियोलोजिस्ट वरुण पौडेल हाइड्रोलोजिस्ट राजेन्द्र शर्मा सहितका कर्मचारी तालिमका लागि गएका थिए। पौडेल अहिले जल तथा मौसम विज्ञान कार्यालय भैरहवामा छन् भने राजेन्द्र शर्मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत छन्।
झन्डै अर्बको लगानी
सुर्खेतमा रहेको राडार स्थापनाका लागि करिब १७ करोड खर्च भएको छ जुन विश्व बैंकको सहयोग हो भने पाल्पा र उदयपुरमा नेपाल सरकारले लगानी गरेको हो। विभागका अनुसार अहिले स्थापना गरिएको एउटा राडारका लागि उपकरण, पूर्वाधार र सडकको पहुँचमार्गसहित २० देखि २५ करोडसम्म खर्च भएको छ।
महँगो प्रविधि भए पनि त्यसको सञ्चालन भने सामान्य चौकीदारको भरमा छोडिएको छ। महानिर्देशक कर्माचार्य सामान्यरूपमा ‘अन–अफ’ गर्ने जनशक्ति नै नभएको बताउँछन्। “राडारको लागि जनशक्ति छुटाएको छैन। महँगो प्रविधि सामान्य गार्डको भरमा छोड्नु परेको छ। ती पनि करारमा नियुक्त हुन्। अन–अफ गर्ने र त्यहाँको सामान्य जानकारी राख्ने मान्छे पनि अहिले व्यवस्था गर्न सकेका छैनौं,” उनी भन्छन्।
२०७६ सालदेखि सञ्चालनमा आएको सुर्खेतको राडार करिब डेढ वर्षदेखि बन्द छ। पाल्पा र उदयपुरमा स्थापना गरिएका राडार पनि चल्ने र बन्द हुने अवस्थामा छन्। नियमित विद्युत् आपूर्ति र पर्याप्त डिजलको उपलब्धता पनि सञ्चालनको अर्को समस्या भएको विभागकी सिनियर मेटेरियोलोजिस्ट कंडेल बताउँछिन्। “नियमित विद्युत आपूर्ति भए पनि केही सहज हुन्थ्यो। डिजेल किनेर सञ्चालन गर्न सक्ने अवस्था पनि छैन।” विद्युत्बाट सञ्चालन गर्दा मासिक करिब २२ हजार रुपैयाँ विद्युत् महसुल खर्च लाग्छ।
पूर्वाधार र प्रविधि करोडौँ रुपैयाँ खर्च गरेर ल्याउने तर त्यसअनुरूप सञ्चालनको जनशक्ति व्यवस्थापन नगर्ने प्रवृत्ति नै समस्याको कारक रहेको विभागका पूर्वमहानिर्देशक डा. ऋषिराम शर्मा बताउँछन्। “प्राविधिक कार्यालयमा जुन समूहबाट प्रवेश गर्छन्, ती कर्मचारीको वृत्तिविकास त्यही कार्यालयमा हुनुपर्छ। बढुवा पनि त्यही कार्यालयमा हुनुपर्छ। तिनले विशेष खालको ज्ञान लिएका हुन्छन्। अन्त जानेबित्तिकै फरक पर्छ,” उनी भन्छन्, “सिडियो सरुवाजस्तो होइन, प्राविधिक कर्मचारीको सरुवा। जल तथा मौसम विज्ञान विभाग र अरू विभागमा गर्ने काम नितान्त फरक हुन्छ।”
मर्मतमै उल्झन
बिग्रेका राडार मर्मतका लागि ग्लोबल टेन्डर आव्हान गर्दा पनि कुनै कम्पनीले चासो देखाएको छैन। विभागले सुर्खेतको राडार मर्मतका लागि दुई पटकसम्म टेन्डर आव्हान गरेको थियो। तर कुनै पनि कम्पनीले चासो देखाएका छैनन्। विभागले २०८१ वैशाख २८ गते दोस्रो पटक टेन्डर आव्हान गरे पनि कुनै पनि कम्पनीले प्रस्ताव नै पेश गरेनन्।
शुरूका पाँच वर्षको वारेन्टी समयमा कम्पनीले नै मर्मत गरेको भए पनि समय सकिएपछि भने समस्या थपिएको हो। विभागका अनुसार अमेरिकी कम्पनी इन्टरप्राइज इलेक्ट्रोनिक को–अपरेसनले उक्त राडार स्थापना गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
