साथीभाइ र समुदायमाझ आफ्नो लैंगिक पहिचान खुल्लाए पनि परिवारसँग यस विषयमा बहस गर्न नसकिरहेकाहरू परेडले व्यक्तिगत रूपमा ‘लिबरेटेड’ महसुस गराउने बताउँछन्।
शनिबार मध्याह्न। टेम्पो नम्बर ३८५८ मा बजिरहेको थियो, ‘कता–कता छौ कुन रूपमा, कुन सोचमा हराउँदै कुन गीतको कुन बोलमा आफैँलाई पहिल्याउँदै... हतारिँदै बतासिँदै’ बोलको गीत। इन्द्रेणी रङका पम्प्लेटमा लेखिएका थिए ‘गौरव’, ‘लभ इज नेभर रन्ग’ लगायतका नारा। युवाहरू गायक साजनराज वैधको सो गीतमा मोहित देखिन्थे। यो दृश्य हो ‘छैटौँ क्वेयर प्राइड मार्च’का क्रममा रत्नपार्क शान्तिवाटिकाबाट जमलतर्फ मोडिँदाको। गीतको भिडियोमा पनि समलिंगी पुरुषको प्रेमबारे देखाइएको छ। शब्द र भावना र परेडको एकाकारले होला गीत र माहौल एकअर्काका परिपूरक बनेका थिए अर्थात् पार्श्वमा बजिरहेको गीतको आशय मार्च गरिरहेको भीडसँग मिल्दो थियो।
परेडमा सहभागीहरू फरक–फरक रूप र पहिरनमा थिए। यद्यपि, उनीहरू यसरी जम्मा हुनुको कारण भने एउटै थियो– लैंगिक तथा यौनिकताको आधारमा ‘अन्य’ मानिससरह पाउनु पर्ने मानव अधिकारको पक्षमा आवाज उठाउनु। साथै, प्रेमलाई समाजले तर्जुमा गरेको केटा र केटीबीचको कोटाभित्र राख्ने मान्यताबाट उदार भई शारीरिक बनोटभन्दा पनि भावनाको मिलन मान्नुपर्ने उनीहरूको आह्वान थियो, जुन टेम्पोमा टाँसिएको पम्प्लेटमा स्पष्ट शब्दमा लेखिएको थियो, ‘लभ इज नेभर रन्ग’, अर्थात् प्रेम कहिल्यै गलत हुँदैन।

प्रेमको अधिकार
शनिबारको मध्यदिनको चर्को घाममा छाता ओढेर परेडमा सहभागी भएका युवक आफ्नो समर्थन शान्त रूपमा जनाइरहेका थिए। उनको कहानी पनि वैद्यको गीतसँग मिल्दोजुल्दो थियो। आफूलाई क्वयेरका रूपमा पहिचान गरे पनि खुलस्त रूपमा व्यक्त गरिसकेका छैन उनी। परम्परावादी सोचको पारिवारिक माहौलका कारण आफ्नो पहिचान परिवारसमक्ष ल्याउन गाह्रो भइरहेको उनी बताउँछन्।
“मेरो फेमली कन्जर्भेटिभ हुनुहुन्छ, ग्रर्लफेन्ड त बनाउन पाइँदैन भन्नु हुन्छ, मलाई भने बोइफ्रेन्ड बनाउन मन लाग्छ,” उनले भने। यद्यपि, उनले आफ्नो भाइबहिनीलाई भने आफ्ना बारेमा खुलाइसकेका छन्।

“मलाई त पहिले नै थाहा थियो,” बहिनीबाट पाएको यस्तो जवाफले उनलाई हौस्याएको छ। आफूभन्दा सानो उमेरका भाइबहिनीलाई वास्तविकता बताउँदा बुझाइमा फरक पर्ने हो कि भन्ने भय उनलाई थियो। तर, भाइबहिनीबाट पाएको प्रतिक्रियाले थोरै भए पनि राहत दिएको उनी बताउँछन्।
प्राइड मार्चले प्रमोदलाई आफू मात्रै यस्ता भावनाका भागिदार नभएको महसुस गरायो। घरमा बुबाआमालाई थाहा नदिई प्राइड परेडमा आएका उनी आफ्नो पहिचान खुलाउन जटिल समयको अन्त्यको प्रतीक्षामा छन्।
उन्मुक्तिको आभास
प्रमोदको जस्तै अनुभव अन्य दुई युवाको छ। भर्खरै किशोरावस्था पार गरेका उनीहरू प्राइम परेडमा आफूहरू खुलस्त रूपमा आफ्नो वास्तविक परिचय र इच्छा प्रस्फुटन गर्ने मौका पाएको बताउँछन्। ‘क्वेयर राइट्स, ह्युमन राइट्स,’ उनीहरूको पनि माग हो। अन्य ‘सामान्य’ मानिससरहको अस्तित्वमा गनिनुपर्ने तथा समान मानव अधिकारको माग उनीहरूको छ।

आफूलाई होमोसेक्सुअलका रूपमा पहिचान गराउने नयन श्रेष्ठ (नाम परिवर्तन) भने पहिलो पटक प्राइड मार्चमा सहभागी भएका हुन्। “परेडका बारेमा धेरै पहिल्यैदेखि थाहा थियो तर सहभागी हुन पाइरहेको थिइनँ, आज पहिलोपटक आएँ कस्तो खुल्ला पन्छीजस्तो हल्का महसुस भइरहेको छ,” उनले भने, “आफूजस्तै मानिस देख्दा आत्मविश्वास पलाउने रहेछ।”
उनी हाल खुलस्त रूपमा समाजबाहिर आउनसकेका छैनन्। यस्ता परेडले आफ्नो अस्तित्वप्रति गौरब गर्न सिकाउने उनको भनाइ छ। साथीभाइमाझ गफगाफ भए पनि परिवार र समाजमा भने खुलस्त रूपमा आउने आत्मविश्वास जागिनसकेको उनी बताउँछन्।
“साथीभाइ युवा उमेर समूहमा आफूलाई प्रस्तुत गर्न खासै केही लाग्दैन रहेछ तर परिवार र समाजबाट सम्भावित ‘जजमेन्टल’ टिप्पणीका लागि बिस्तारै तयार हुँदै छु,” उनले भने, “त्यही भएर अहिले आफ्नो पहिचानसहित बाहिर आउन सकेको छैन।”
परेडमा स्वयंसेवकका रूपमा खटिएका सबिन भट्टराई (नाम परिवर्तन) भने दोस्रो पटक परेडमा सहभागी भएका हुन्। नयनजस्तै सबिनको उनको लैंगिक पहिचान र यौनिक झुकावबारे परिवार अनभिज्ञ छन्। आफ्नो पहिचान खुलाउने आँट र भरोसा जुटाउनका लागि उनी अझै केही समय लिन चाहन्छन्।

यस्ता परेड, प्राइड मन्थन, मार्च कतिको सहयोगी हुन्छन्? भन्ने उकालोको प्रश्नमा उनी भन्छन्, “यहाँ लाज नमारी मन लागेको लगाउन, अभिव्यक्त गर्न पाउँछु। आनन्द र राहत महसुस हुन्छ। सेफ्टीको महसुस गर्छु। हामी परिवार, समाजबाट लुकेर बसिररहेको हुन्छौँ। अरूले सोध्दा पनि चुप लागेर बस्छौँ। हामीजस्ता क्लोजेटेडलाई मात्र नभई ओपन रूपमा समाजमा आएका लैंगिक तगा यौनिक अल्पसंख्यकका लागि यो दिन लेबरेटेड महसुस हुने दिन हो।”
परेडमा सहभागी अस्ट्रेलियाकी क्युरा पृथ्वीका सबै मानिसले समान रूपमा बस्न पाउनु पर्ने तर्क राख्छिन्। जात, धर्म, लिंग, भूगोल नभई मानिसले भावनात्मक रूपमा प्रेम गर्ने भएकाले प्रेममा सबैको अधिकार हुने उनको भनाइ छ।
लैंगिक तथा यौनिक अल्पसंख्यकको विषयमा अझै पनि ‘स्टिमग’मा अस्ट्रेलियामा पनि रहेको बताउँदै उनले भनिन्, “अस्ट्रेलियामा पनि अझै स्टिमगमा छन्, नेपालमा जस्तै केही जमात त्यहाँ आफ्ना अधिकारका लागि लागिपरेका छन्। यो लामो लडाइँ लड्न लामो समय लाग्ने मलाई लाग्छ।”

नेपाली युवा पुस्ता परेडमा सहभागी भएको देखेर उनी खुशी छन्। “युवा पुस्ताको आवाज सुनिनुपर्छ, कारण उनीहरू नै भविष्य हुन्,” उनी भन्छिन्, “हामीले एक अर्कोलाई सुन्नु पर्छ र जज्मेन्ट राख्नु हुन्न।”
प्यालेस्टाइनमाथिको आक्रमण रोक्न आह्वान
‘प्यालेस्टाइन माथिको युद्ध रोक’, ‘स्टप बम’, ‘नो पिंकवासिङ जिनोसाइड’ लगायतका पम्प्लेट, प्लेकार्ड पनि परेडमा देखिए।

आयोजक क्येवर युथ ग्रुपका अध्यक्ष रुक्शना कपालीको यस विषयमा संक्षिप्त टिप्पणी छ, “प्यालेस्टाइनमा जे भइरहेको छ, त्यो मानव अधिकार विपरीत छ। हामी वर्षौँदेखि मानव अधिकारको कुरा गर्दै आएका छौँ। हाम्रो संघर्षको पनि मानव अधिकारको हो र प्यालेस्टाइनको विषयमा पनि मानवता केन्द्रमा छ।”
शान्तिवाटिकाबाट शुरू भएको परेड रत्नपार्क भोटाहिटी, जमल, नारायणहिटी हुँदै नक्साल नारायण चौरमा मनोरञ्जनात्मक कार्यक्रम गरी सम्पन्न भएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
