अझै पनि हल्ला र भावनामा चल्ने र अरूकै लहैलहैमा लागेर शेयर खरिद विक्री गरिरहने हो भने क्षणिक समयमा केही नाफा कमाउन सकिएला, तर त्यसले दीर्घकालीन पुँजीबजार विकास हुन सक्दैन।
कुनै नाफामूलक संस्था वा कम्पनीको पुँजी-स्वामित्वको निश्चित एकाइलाई शेयर भनिन्छ भने शेयरको खरिद बिक्री कारोबार हुने वैधानिक प्लेटफर्मलाई शेयर बजार भनिन्छ। आधुनिक स्टक कारोबारको शुरूआत नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डमबाट भएको मानिन्छ, जहाँ डच इस्ट इन्डिया कम्पनीको शेयरको पहिलो सार्वजनिक खरिद बिक्री भएको थियो। हाल अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्ज विश्वको सबैभन्दा ठूलो शेयर बजारका रूपमा स्थापित छ। अमेरिका विश्वको सबैभन्दा ठूलो स्टक कारोबार हुने देशका रूपमा स्थापित छ।
१९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा शेयर कारोबारको शुरूआत भएको थियो। दुवै कम्पनीले शेयर निष्कासन तथा बिक्री व्यवस्थापन आफैँले गरेका थिए। तथापि, यी दुई कम्पनीले शेयर जारी गरेपछि पनि धेरै वर्षसम्म पुँजी बजारमा शेयर जारी गर्ने अन्य कुनै कम्पनी आएनन्।
२०२० सालमा नै कम्पनी ऐन २०२० जारी भए पनि २०३३ सालमा मात्रै धितोपत्र खरिदबिक्री केन्द्रको नामबाट सेक्युरिटीज एक्सचेन्ज सेन्टरको स्थापना भएपछि विधिवत् रूपमा नेपालमा पुँजी बजारको शुरूआत भएको देखिन्छ। धितोपत्र खरिद बिक्री केन्द्रको भूमिका प्रभावकारी बनाउन तथा धितोपत्र कारोबारको नियमन गर्ने गरी २०४० मा धितोपत्र कारोबार ऐन जारी गरिएको थियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा आर्थिक उदारीकरणले बाटो पहिल्यायो र ‘धितोपत्र कारोबार ऐन २०४०’ को दोस्रो संशोधन गरी २०५० जेठ २५ गते नेपाल धितोपत्र बोर्ड स्थापना भयो।
सोही वर्षको पुस २९ गते धितोपत्र खरिदबिक्री केन्द्रलाई ‘नेपाल स्टक एक्सचेन्ज’ (नेप्से)मा रूपान्तरण गरियो। २०६२/६३ को राजनीतिक परिवर्तनलाई सम्बोधन गर्दै २०६३ मा सरकारले ‘धितोपत्र सम्बन्धी ऐन २०६३’ जारी गर्यो र पछि पुँजी बजार व्यवस्थित गर्न 'धितोपत्र बजार संचालन नियमावली २०६४' समेत जारी गर्यो। हाल नेपालको धितोपत्र कारोबार यिनै ऐन र नियमावलीका आधारमा सञ्चालन हुँदै आएका छन्।
२०६७ सालमा सीडीएस एन्ड क्लियरिङ हाउसको स्थापना भयो भने २०७२ देखि शेयर अभौतिकीकरण शुरू भएपछि कारोबार सहज भयो। वैदेशिक रोजगारीको प्रभाव, बढ्दै गएको वित्तीय साक्षरतासँगै सामाजिक सञ्जाल प्रयोगको वृद्धि र त्यसको प्रभावले समेत सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) प्रति जनचेतना र झुकाव बिस्तारै बढ्दै गयो। बेलाबखत जलविद्युत् कम्पनीले प्रभावित क्षेत्र लक्षित स्थानीय बासिन्दालाई जारी गर्ने आईपीओले समेत आम सर्वसाधारण र खासगरी न्यून वित्तीय साक्षरता भएका वर्गको शेयरबजारप्रति आकर्षण बढाउँदै लग्यो।
कोभिड १९ को प्रभावले उद्योग र व्यापार राम्रोसँग चल्न नपाउँदा आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा नेपाली अर्थतन्त्रको तरलता एकदमै बढ्न पुग्यो र बैंकका ब्याजदर पनि निक्कै तल्लो विन्दुमा पुगे। 'मेरोशेयर डटकमएनपी'मार्फत अनलाइन खरिद विक्री गर्न मिल्ने तथा कोभिडको समयमा बैंकको डिजिटल कारोबार सचेतनामा आएको उल्लेख्य सुधारले गर्दा शेयर बजारको दोस्रो बजार कारोबारमा नयाँ लगानीकर्ताको आगमन उल्लेख्य रूपले बढ्न गयो।
त्यसैताका जारी भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको करिब आठ अर्बको प्राथमिक पुँजी शेयर (आईपीओ) ले समेत नयाँ डिम्याट (अभौतिक) खाता प्रयोगकर्ताको सङ्ख्यामा एकैचोटी ठुलो मात्रामा वृद्धि भयो। सन् २०२४ को मार्चसम्म नेपालमा डिम्याट खाता प्रयोगकर्ता ६२ लाख भन्दा बढी पुगिसकेका छन् भने मेरो शेयरका प्रयोगकर्ता ५२ लाखभन्दा बढी पुगेका छन्।
प्राथमिक शेयर हासिल गरेका लगानीकर्ता बिस्तारै दोस्रो बजारमा आकर्षित हुँदै गएका कारण दोस्रो बजार कारोबार गर्ने ब्रोकर एकाउन्ट प्रयोगकर्ताको संख्यामा समेत वृद्धि हुँदै गयो। बैंकिङ क्षेत्रमा आएको उच्च तरलताको प्रभाव र उद्योग व्यापारको अन्य क्षेत्र ठप्प हुँदा शेयरको दोस्रो बजार गुल्जार हुँदै गयो र अगस्ट १८, २०२१ (२०७८ साल भदौ २ गते) मा नेपाली शेयर बजारको इतिहासको हालसम्मको उच्च विन्दुमा पुग्यो, जुन दिनको कारोबारको उच्च अंक ३१९८.६० थियो भने सोही दिन २१ अर्ब २१ करोड ३४ लाख ८९ हजार २६९ को शेयर खरिदबिक्री भएको थियो।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को लागि जारी गरेको मौद्रिक नीतिमा समावेश भएका चर्चित बुँदा ४/१२ (एकै व्यक्तिले शेयर कर्जाको रूपमा कुनै एउटा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम चार करोड र जुन कुनै बैंक तथा वित्तीय संस्थाहरूबाट लिने शेयर कर्जाको कुल योग अधिकतम १२ करोड कायम गर्नुपर्ने) लगायत शेयर कर्जासँग सम्बन्धित केही कडा नियमको बहाना देखाउँदै ठुला लगानीकर्ताले शेयर बजारलाई ओह्रालो यात्राको गन्तव्य पहिल्याए।
सोही मौद्रिक नीतिले चालु पुँजी कर्जा, घरजग्गा कर्जा र अन्य थुप्रै कर्जाको सीमालाई समेत खुम्च्याएको थियो। बिस्तारै कोभिडको प्रभाव र उच्च आयातले विदेशी मुद्राको संचितिमा गिरावट देखिँदै गयो र राष्ट्र बैंकले आयातमा समेत कडाइ गर्दै नयाँ निर्देशिकाहरू जारी गर्यो। जसको प्रत्यक्ष असर राजस्व संकलनमा देखियो र राजस्व संकलनमा आएको कमीले भुक्तानी चक्र पूर्णत प्रभावित भयो। यसर्थ, यसको प्रतिकात्मक प्रभाव शेयर बजार र घरजग्गाको कारोबार हुँदै अर्थतन्त्रको अन्य क्षेत्रमा देखिँदै गयो।
बेलाबखत जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट आउने हल्लाले देशको अर्थतन्त्रमा थप नकारात्मक प्रभाव पर्दै गयो। सेप्टेम्बर २५ ,२०२२ मा नेप्से इन्डेक्स बितेको ३ वर्षको सबैभन्दा न्यून विन्दु १८१५.१३ मा पुग्यो। त्यसअघि र पछि पनि थुप्रै पटक नेप्से इन्डेक्स १८०० को बिन्दु नजिक पुगिसकेको छ। यसपछिको शेयर बजार केही समय उक्लिने र फेरी ओह्रालो लाग्ने तथा सानो आकारको उतार-चढावसँगै ढिकीच्याउँ शैलीमा चलिरह्यो र चलिरहेको छ।
राष्ट्र बैंकले लिएको कर्जा प्रवाहसम्बन्धी केही खुकुलो नीतिको प्रभावले नेप्से थोरै वृद्धि भएको थियो। तर आगामी आर्थिक वर्षको बजेटले शेयर बजारलाई तत्काल सम्बोधन गर्ने कुनै योजना नसमेटेको प्रारम्भिक अनुमानको प्रभावले अहिले लगातार घटेर २०६९.५३ बिन्दुमा आइपुगेको। हरेक बजेट र त्यसले ल्याउने तथा परिवर्तन गर्ने बुँदाले प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव पर्ने शेयर बजारलाई यो बजेटले अपेक्षाअनुरूप सकारात्मक सम्बोधन नगरे पनि विगतका बजेटले जस्तो अनावश्यक करको दर हेरफेर गरेर नकारात्मक प्रभाव भने पार्न खोजेको देखिँदैन। त्यसो हुँदा अर्थतन्त्रको अन्य सूचकमा सुधार हुँदै गएमा आर्थिक वर्ष २०८१/८२ को बजेट शेयर बजारप्रति सकारात्मक नै हुने आंकलन गर्न सकिन्छ। तथापि यसको सकारात्मक नतिजा देखिन आम लगानीकर्ताले बजेटमा भएका प्रावधान बुझ्न जरुरी हुन्छ।
प्रसंग मोडौँ, किन बहकिन्छन् नेपाली लगानीकर्ता भन्नेतर्फ। नेपालको शेयर बजार विस्तृत अध्ययन र अनुसन्धानमा कम हल्ला र भावनामा बढी चल्छ भन्ने तथ्यांकले प्रस्ट पार्छ। शेयरबजारका केही नाम चलेका लगानीकर्ता बजार अस्थिर हुनुमा ठुला लगानीकर्तालाई बढी दोषी देख्छन्। न्यून पुँजी भएका कम्पनीका शेयर हत्याउने र कृत्रिम 'बायर र सेलर' खडा गरी मूल्य तलमाथि गर्नमा सानाभन्दा ठुला लगानीकर्ता बढी दोषी छन् भन्ने तर्क शेयर बजारको चिया गफदेखि विभिन्न छलफलहरूमा समेत सुनिन्छन्।
आफ्नो समूह र उपसमूह निर्माण गरेर अनेक कोड भाषा र शब्दहरू प्रयोग गर्दै साना र नयाँ लगानीकर्तालाई ट्रयापमा पार्दै फसाउने र आफू कमाउने कार्यमा तल्लीन ठुला भनिएका लगानीकर्ता शेयर बजारको दिगो विकासका बाधक हुन् भनेर औँल्याउनेहरू प्रशस्तै छन्। अरूले फसाउँदैमा फस्ने आफै मूर्ख हुन् नि भन्दै जवाफसमेत फर्काउन त्यस्ता ठुला लगानीकर्ताले भ्याइरहेका छन्।
त्यसो त आफूले लगानी गर्न खोजेको र बेच्न खोजेको कम्पनीबारे प्रारम्भिक ज्ञानसमेत नराखी चिया गफ र सामाजिक सञ्जालका पोस्ट तथा तथाकथित शेयर विश्लेषकहरूको लहैलहैमा लागेर लगानी गर्ने र डराएर घाटामा बेच्ने साना लगानीकर्ताहरू ठुला लगानीकर्ताभन्दा बढी दोषी छन् शेयर बजारको स्थायित्व र दिगो विकास नहुनुमा। बजारका आधारभूत कुरा नबुझ्ने, तर सामाजिक सञ्जालमा आएका हचुवा पोस्ट र युट्युबमा आउने चर्चा चाहने 'हावा विश्लेषक'हरूको विश्लेषणलाई अनुसरण गर्ने कारणले पनि नयाँ लगानीकर्ता बजारमा स्थापित हुन सकिरहेका छैनन्। नयाँ लगानीकर्ताले लगानीकर्ता कम र व्यापारी बढी बन्दै छोटो समयमा बढी नाफा आर्जन गर्ने महत्वाकांक्षा तथा धैर्यताको अभावले समेत झनै घाटामा परिरहेका छन्। कति त ऋणब्याजको तनावले हैरान भइरहेका समेत भेटिन्छन्।
कम्पनीको अवस्था के छ, कम्पनी र त्यो क्षेत्रसँग सम्बन्धित ऐन नियम के कस्तो छ, के कस्ता परिवर्तन हुनेवाला छन् र ती परिवर्तनको प्रभाव आफूले लगानी गरिरहेको कम्पनीहरूको नाफानोक्सान र लाभांश वितरणमा कसरी प्रभाव पर्छ भन्नेतर्फ भन्दा फलानो ब्रोकरले यो उठायो, फलानोले यो शेयर अझै होल्ड गरिराखेको छ, फलानोले यो सबै फाल्दियो भन्दै कुद्ने प्रवृत्तिले शेयर बजारको लगानीकर्तामा परिपक्वता आउने कुनै लक्षण देखिँदैन।
ठूला लगानीकर्ताले सरकारका मन्त्री, नियामक निकायका पदाधिकारी तथा देशको अर्थतन्त्र र शेयर बजारमा कुनै सम्बन्ध नै नभएका व्यक्तिले दिएका सार्वजनिक वक्तव्यलाई समेत आफू अनुकूल प्रयोग गर्दै अरूलाई ट्रयापमा पार्ने कोसिस गरिरहेका छन्। उनीहरू एउटै खाले अभिव्यक्तिलाई समेत कहिले बजार बढाउन प्रयोग गर्छन् त कहिले घटाउन प्रयोग गर्छन् भन्ने कुरा सबै लगानीकर्ताले बुझ्न जरुरी छ। शेयर बजारमा हुने यस्ता हर्कतले शेयर बजारलाई पुँजी बजारको रूपमा कम र जुवा खालको रूपमा बढी परिभाषित गर्दै लागेको छ।
कम्पनीहरूको नाफानोक्सानमा आउने फेरबदल, देशको अर्थतन्त्र तथा वित्तीय र मौद्रिक नीतिले लिने परिवर्तनशील नीतिहरूले शेयर बजारमा आउने थपघट स्वाभाविक विषय भए पनि बेलामौकामा शेयर बजारमा अस्वाभाविक चलखेल देखिन्छन्। उसो त विस्तृत अध्ययन गरेर तथा आधिकारिक जानकारी लिएर शेयर कारोबार गरे नाफामात्रै कमाइन्छ, घाटा हुँदै-हुँदैन भन्ने होइन, तर कमसेकम के चाहिँ हो भने हल्लाका पछि लाग्नुभन्दा भरपर्दो तथ्यांक र अध्ययनको आधारमा कारोबार गर्दा तथा हल्लाको बहावमा बहेको शेयर बजारसँगै बहनुभन्दा आफ्नो लय बनाउँदा फस्ने सम्भावना अत्यन्तै कम हुन्छ।
नेपाली शेयर बजारलाई भावनाभन्दा वास्तविकतामा चलाउने कुरामा स्थायित्व प्रदान गर्न सरकार, नियामक निकाय, ब्रोकर तथा साना-ठूला लगानीकर्ता तथा सर्वसाधारणले यी कुरामा ध्यान तथा योगदान पुर्याउनुपर्ने देखिन्छ:
१.स्वच्छ, प्रभावकारी एवं पारदर्शी बजारको व्यवस्था
२.वित्तीय साक्षरता तथा सही सूचना सम्प्रेषणमा जोड
३.लगानीकर्ताको तर्फबाट आवश्यक अध्ययन तथा ज्ञान हासिलको प्रयत्न
४.विगतको समीक्षाभन्दा भविष्यको पूर्वानुमानमा जोड
५.नियामक निकायको स्वच्छ र सदाचारी भूमिका
६.भित्री कारोबारलगायत गलत अभ्यासको नियन्त्रण र उन्मुलन
७.गलत हल्ला र अफवाह नियन्त्रण
८.ब्रोकरहरूको निष्पक्ष भूमिका
९.अल्पकालीन ट्रेडिङभन्दा दीर्घकालीन लगानीमा जोड।
१०.बजारको सन्तुलन र स्थायित्वमा जोड
यीलगायत अन्य थुप्रै प्रयास सरकार, सरकारका नियामक निकाय, लगानीकर्ता तथा खरिदबिक्रीमा प्रत्यक्ष संलग्न हुने ब्रोकरहरूले खेल्न सके नेपालको पुँजीबजारलाई जुवा खालभन्दा पनि स्थायी स्टक मार्केटको रूपमा विकास गरी समग्र अर्थतन्त्रको विकासमा फड्को मार्न सकिन्छ। अझै पनि हल्ला र भावनामा चल्ने र अरूकै लहैलहैमा लागेर शेयर खरिद विक्री गरिरहने हो भने क्षणिक समयमा केही नाफा कमाउन सकिएला, तर त्यसले दीर्घकालीन पुँजीबजार विकास हुन सक्दैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
