छोरी पारिजातले ‘पुतली अवतार’ लिएर आफ्नै मृत्युको वर्णन गरेको कथा पाठकका लागि वर्णनातीत लाग्छ। ‘ब्लाइन्ड डेट’ संग्रहको ‘चक्लेटी’ कथा हो। एउटा अस्थिर पात्रको मनोदशा र काल्पनिकी बडो मज्जाले पोखिएको छ।
‘लेख्न सजिलो छ? पटक्कै गाह्रो छैन। बस, चरित्रले इमानदारीपूर्वक आफ्ना कथा भन्नुपर्छ र लेखकले त्यसलाई इमानदारीपूर्वक लेख्न सक्नुपर्छ।’ यो कथन साहित्यकार नयनराज पाण्डेको हो। खासमा कथा लेखनको परिभाषा यत्ति हो। कथालाई यही परिभाषाको कसीमा राखेर पढियो भने कथाको मिठास छुट्याउन सजिलो हुन्छ।
सन् २०१९, अस्कर अवार्डको ९२औँ संस्करणमा कोरियन सिनेमा ‘प्यारासाइट’ले उत्कृष्ट पुरस्कारको बाजी मारेपछि त्यस सिनेमामाथि सबैभन्दा सरल प्रतिटिप्पणी यो थियो कि ‘यदि अभिव्यक्तले गर्न खोजेको कुरा सशक्त र लय मिलेको छ भने कुन भाषामा कुन ठाउँबाट भनिँदै छ अथवा कस्तो रङ र अनुहार भएका मान्छेमार्फत कथा भनाइँदै छ, त्यसको वास्ता हुँदैन। कथा भन्ने पात्र कहाँ बस्छ अथवा कुन भूगोलमा बसेर कस्तो परिवेश र पात्रको निर्माण गर्छ भन्नेले केही फरक पर्दैन।’
यो टिप्पणी लेखक कृष्ण कुसुमकृत कथासंग्रह 'पार्श्वधुन'मा पनि जोडिन आउँछ। कथाको गुणवत्ता प्रमुख हो, आखिर लेखक जहाँसुकै बसेर लेखे पनि के फरक रह्यो र? यसमा 'मूलवास', प्रवास र आप्रवासको कथा छ। कथामार्फत राजनीतिको शल्यक्रिया गरिएको छ। कथालाई शास्त्रीय साँचोमा राखेर तुलना गर्नुपरे कुनै अंग मोटा-दुब्ला देखिएलान्, तर विषय उठान र भाव सम्प्रेषणलाई प्रधान मानेर कथा पढ्ने हो भने कथा सलल बगेका छन्।
'चिया अड्डादेखि तारे होटलसम्म नेपालमा सबैभन्दा बढी चर्चा गरिने विषय राजनीति हो। भलै जनस्तरमा राजनीतिलाई उत्साहका रूपमा नभई दिग्दारीका रूपमा व्यक्त गरिन्छ। यस्तो निरस विषयमा कुसुमले निब डोबेर ‘क्लोन’ कथा लेख्दै राजनीतिक विकृतिको ‘स्क्यान रिपोर्ट’ निकालेका छन्।
देशमा गणतन्त्र उम्रेसँगै राजनीतिकर्मी, जनप्रतिनिधि र शासक प्रशासकमा कुर्सी, सलामी, सालिक र टावर मोह देखियो। हिजो ‘सामन्त’सँग जुधेका दल र नेताले दिमागमा दरबारको सपना बोकेर हिँडे। ‘एक रङ्गी राजा’ पड्काएर त्यसैको रक्तबीजबाट ‘हजार चानचुन रजौटा’ व्यहोर्नुपरेको ‘मानक बिम्ब’ क्लोन कथा हो।
राजनीतिक विषयमा कथा लेख्नु एक किसिमले जोखिम मोल्नु हो। जोखिम यस अर्थमा कि राजनीतिबारे नजान्ने र अड्कल गर्न नसक्ने कोही छैन। त्यसैले राजनीतिक कथा जति चोटिलो भए पनि पढ्नेले ‘यो कुरा त थाहा भएकै हो त’ भन्दै ‘सामान्यीकरण’ गरिदिने जोखिम हमेसा रहन्छ। तर 'क्लोन' कथाको लेखनशैली र बिम्बात्मक वैशिष्ट्यले जोखिमलाई किनारा लगाएको छ।
प्रेरक जीवनी फाल्दै प्रायोजित इतिहासका पुस्तक राख्ने, समकालीन चिन्तन, सार्थक समालोचना र समकालीन राजनीतिका विश्लेषण खाल्डोमा हालेर, मनोरञ्जन, चुट्किला र कामशास्त्रका किताब दराजमा सुरक्षित राखेर शान्त भई निदाउने शरणकुमारको जुन खालको राजनीतिमा, नैतिक र वैचारिक पतनको बिम्ब नयनराज पाण्डेको कथा ‘निदाएँ जगदम्बा’मा हामीले पढ्न पाएका थियौं, त्यसै गरी देशमा गणतन्त्र आएसँगै राजनीतिकर्मी, जनप्रतिनिधि र शासक प्रशासकहरूमा ´एक रङ्गी राजा` पड्काएर त्यसैको रक्तबीजबाट ´हजार चानचुन रजौटा` बन्न लालायित राजनीतिको व्यवहारिक पतनको ´मानक` हो क्लोन कथा !
लेखनमा कहिलेकाहीँ अल्पमतमा परेको वा अनावरण नभएको विषयलाई कथामार्फत लोकार्पण गर्न सक्नु साँचो अर्थमा सृजनात्मक लेखन हो। जस्तै: एउटा अन्त्य। पार्श्वधुनमा समाहित १३ कथामध्ये पहिलो कथा हो यो। अधिकार र अस्तित्वको मनोसामाजिक द्वन्द्वसहितको यो कथा मीठो छ:
झन्डै सवा लाख संख्यामा नेपाली भाषी भुटानी शरणार्थी नेपाल आए। हामीले पढ्दै/सुन्दै आएअनुसार नेपाली भाषी भुटानीलाई त्यहाँको राज्य/सरकारले पूर्वाग्रहपूर्ण र बलजफती धपाएको हो। यो सबैभन्दा ठूलो सत्य हो, तर यो सत्यलाई किनार लगाएर कथामा लेखकले नयाँ सत्य अन्वेषण गरेका छन्। भुटान सरकारले सन् १९५७ को कागज (सायद जमिन वा सम्पत्तिको प्रमाण निस्सा) हुनेलाई देश निकाला गरेन भनिन्छ। जनताको हातमा १९५७ को सरकारी कागज नदिन भुटान सरकारले के–के गर्यो गर्यो, धेरै पढ्यौँ र सुन्यौँ। तर सम्पत्तिको लोभमा एकाघरका सदस्यको नाम र जेथाको सर्जिमिन जानाजान छुटाइदिएर दाजुभाइलाई बेघर, देशविहीन र ’जिउँदै मार्ने’ भुटानी कथा एउटा अन्त्यमा भेटिन्छ। राज्यले लखेट्नुअघि नै आफन्तबाट योजनाबद्ध तरिकाले लखेटिएका ‘गोपाल अंकल’सँग पहिले नै पीडाको पहाड थियो, साथमा जन्मदेश भुटान, मातृभाषी देश नेपाल र आफूलाई ’धर्म नागरिक’को रूपमा 'गोद' लिएको देश अमेरिकासँग जोडिएका अनेक संवेदना कथामा छन्। यस्ता अनेक उपकथाकै कारण कथा शक्तिशाली बनेको छ।
सपना र सम्पत्तिको चक्करमा सज्जन-आज्ञाकारी श्रीमती र अबोध छोरीलाई जिन्दगीको कोलाहलयुक्त दोबाटोमा छोडिदिएको कथा हो ‘दुत्कार’! संसार विश्वासमा अडेको छ भन्छन्। त्यसो हो भने स्वयं विश्वासचाहिँ केमा अडिएको होला? 'दुत्कार' कथाले निर्माण गरेको मार्मिक प्रश्न हो यो।
दुत्कार कथाको ‘सिक्वेल’ हो अनुत्तरित। दुत्कारकी अबोध अभिलाषा अनुत्तरितमा आइपुग्दा शिक्षित, आत्मनिर्भर र 'स्वनिर्णित' छन्। अनुत्तरित कथा एकल आमा बन्न पाउने र बन्न सक्ने नारी निर्णयको जगमा छ, तर कथाभित्र एकल आमाको सन्तानले ‘आफ्नो बाबु खोइ? बाबु को हो?’ आदि बालशुलभ प्रश्नमार्फत ‘पिता’को भौतिक अस्तित्व खोजेको छ। चल्तीको ‘नारीवाद’को कसीमा राखेर हेर्दा एकल आमा बन्ने अभिलाषाको सुविचारित निर्णयमा ‘सपनामा छोराले गरेको प्रश्न’ अगाडि सारेर कथाकारले ‘पुरुष अनिवार्यता’को तुरुप फालेको आरोप लगाउन सकिने जोखिम कथामा छ। यस्तो तर्क उठी नै हाले पनि प्रतिरोध गर्ने सक्नेगरी कथाले अंग हालेको छ।
अविवाहित रहिकन आमा बन्ने चाह राख्नु परिपक्व युवतीको जति अधिकार छ, ती युवतीलाई ‘आमा’ बनाउने सन्तानले भोलि आफ्नो ‘बायोलोजिकल बाबु’ चिन्न पाउने अधिकार पनि उत्तिकै हुन्छ। कथा पात्र अभिलाषाको चेतन मानसिकताको निर्णय हो विवाह नगर्ने, तर आमा बन्ने! पेटमा हुर्किँदै गरेको सन्ततिको सम्भावित प्रश्न अभिलाषाको अवचेतन मानसिकता हो। चेतन र अवचेतन मनोदशाको अन्तर्द्वन्द्वमा कथा मीठो गरी टुङ्गिएको छ।
लडाकु कथालाई राजनीतिक अथवा द्वन्द्वकथाको कोटीमा राखेर पढ्दा राम्रो हुन्छ। एउटा ‘लडाकु’को ऊर्जा, सपना र पलायनको त्रिशंकुमा कथाले ‘देशको आज’ बोलेको छ। कथामा गजब ‘डिटेलिङ’ छ।
'माया उर्फ पासो' र 'भर्याङ' कथामा प्रेम र विश्वासको राजमार्ग नमिठो बिन्दुमा पुगेर टुंगिन्छ। असाध्यै असल प्रेम र निकै स्वार्थी प्रेमको चेपमा एउटै पात्र पिल्सिएको कारुणिक कथा हो भर्याङ।
सूक्ष्म विषयमा निकै संवेदनशील शैलीबाट कहिएको कथा हो पारिजात। अकारण निद्रामै मृत्यु भएकी नवजात छोरीको ‘भवितव्य’पछि कोक्रोमा नसुताई काखमा सुताउने आमालाई अपराधी ठानेर पुलिसले समाएको, छोरी पारिजातले ´पुतली अवतार` लिएर आफ्नै मृत्युको वर्णन गरेको कथा पाठकका लागि वर्णनातीत लाग्छ। ‘ब्लाइन्ड डेट' संग्रहको ‘चक्लेटी’ कथा हो। एउटा अस्थिर पात्रको मनोदशा र काल्पनिकी बडो मज्जाले पोखिएको छ।
कहिलेकाहीँ सामान्य नियमभित्र नपर्ने/नअटाउने मनोवैज्ञानिक चरित्र पनि कथाकारले ‘मूलधारमा’ ल्याइदिने खुबी राख्छ। त्यसको कसी हो चार्ली कथा। प्रियंका पात्रको चार्ली (कुकुर)सँग स्नेह र अवसादसम्मको कथाको बुनोट नौलो र रुचिकर छ। ‘ब्लाइन्ड डेट’ र ‘चार्ली’लाई खासमा संग्रहका गुलाफी कथा भन्दा हुन्छ।
‘एम्प्टी नेस्ट सिन्ड्रोम’ र बाकस
बदलिँदो समाज अनि भविष्य निर्माणका लागि गाउँबाट मझौला शहर, मझौला शहरबाट ठूलो शहर (राजधानी) अनि विदेश ताक्ने जमात बढ्दै छ। पुस्ता सपनामुखी र भविष्यगामी हुँदै जाँदा अभिभावक र छोराछोरी अलग्गिने परिस्थिति बाक्लो बन्दै छ। युरोप र अमेरिकी मुलुकमा अलि पहिल्यैबाट भोग्दै आएको ´एम्प्टी नेस्ट सिन्ड्रोम` (बचेरा हुर्केपछि गुण त्यागेझैँ छोराछोरी हुर्केपछि आमाबाबु छोड्ने प्रचलन) नेपाली जातिमा पनि देखिँदै छ। नेपालमा आमाबाबु , विदेशमा छोराबुहारी, छोरीज्वाइँ। सामान्यीकरण गरेर सबै छोराछोरी यस्तै छन्/हुन्छन् भन्न मिल्दैन, तर ‘एक पटक त बाउआमालाई विदेश नल्याए के भन्लान्?’ भन्ने सामाजिक दबाबलगायत कारण ‘खाली गुँड’ कुरी बसेका बाबुआमा पनि विदेश पुग्नुपरेको यथार्थ हो। छोराछोरी र नातिनातिनाको माया र उनीहरूको भविष्यको लामो दौडमा सकिनसकी कुद्नु परेका अभिभावकको मनोगत फिलिङ्गोले सल्किएर दनदनी बलेको कथा हो ‘न्युयोर्कमा भेटिएको देश।’
समाचार, कथा र सामाजिक भोगाइका रूपमा हामीले पढिरहेकै हो, मजदुरीको दुर्दान्त कथा। कमाउन गएका बलिष्ठहरू बक्सामा बन्द भएर फर्केका व्यथा। त्यही कारण ‘गथासो’ कथा अन्य कथाको दाँजोमा आम र औसत लाग्न सक्छ।
आफ्नै बाबुबाट बहिष्कार, समाजसेवीको मखुन्डो लगाएका पिपासुको वक्रदृष्टि, माया गर्ने मान्छेसँगको अल्पयात्रा अनि पेटमा हुर्किँदै गरेको बच्चाको जैविक र कानूनी हक। दुःखैदुःख र हन्डरको कथा हो 'अपुरो'। कथ्यशैली बेजोड नभए पनि अपुरोकी रचनाले भोगेका अलग–अलग दुःखले हाम्रो समाजको अनुहार देखाउँछ।
कस्तो कथालाई राम्रो वा नराम्रो भन्ने? नत यसको उत्तर निरपेक्ष हुन्छ। न त एक जना पाठकको छनोटले आमपाठकको रुचि समेट्ने प्राधिकार राख्छ।
सम्बन्ध, समाज, देश, परदेश जहाँजहाँ पुगौँ: सुयोगभन्दा वियोग व्याप्त छ। शान्तिभन्दा भागाभाग ज्यादा छ। संग्रहका १३ कथामा अधिकांश कथा वियोगान्त छन्। कथा दुखान्तमा रोकिए पनि थप कथाको संकेत र अनुराग छोडेका छन्।
विषय नयाँ नभई कथा शक्तिशाली बन्दैन र सशक्त कथाबिना लेखक स्थापित हुँदैन। चोटिला भईकन पनि अल्पमतमा परेका विषय रोज्दैगर्दा विषयवस्तुबीचको अन्तरसम्बन्ध 'इसीजी रिपोर्ट'को ग्राफझैँ तलमाथि लाग्छ, तर कथाकार छरितो बनेर कुदेका छन्।
लेखक र पाठक
सार्वजनिक भएको दिनदेखि लेखकबाट पाठकको ‘अधीनमा’ जान्छ किताब। तसर्थ, किताबले आफ्नो यात्रा र सफलता पाठकमार्फत आफैँ तय गर्ने हो। लेखक चुप बस्ने हो।
कुनै सार्वजनिक मञ्चमा बोल्नुपर्यो भने कि पहिलो वक्तालाई तर्क प्रस्तुत गर्ने लाभ मिल्छ कि त भने पुछारको वक्तालाई सबैका तर्क सुनेर, समेटेर आफ्नो भनाइ राख्न सजिलो हुन्छ। ‘पुछारको वक्ता’को सुविधा उपयोग गर्दैछु।
किताब बजारमा आयो। ‘रकेट गति’को पठन स्वभाव र चुस्त आलोचनात्मक चेत भएका अनि किताबी गुण/दोष केलाएर बोल्ने प्राज्ञिक व्यक्ति राम लोहनीले यो कथासंग्रहलाई ‘पठनीय’को दर्जा दिए। पार्श्वघुन पढेपछि शक्तिशाली आख्यानकार नयनराज पाण्डेले ‘डायस्पोरिक’ आख्यान लेखनमा तीन उम्दा नाम भन्दै राजव, केशवराज ज्ञवाली र कृष्ण कुसुमको नाम लिए।
पार्श्वधुनबारे मदन पुरस्कार विजेता आख्यानकार कृष्ण धरावासी भन्छन्, "समाजमा देखिएका भोगिएका, तर देख्न वा देखाउन नसकिएका वेदना छाल हुन् यी।"
समालोचक राजकुमार बानियाँका शब्दमा, "हाम्रा साहित्यकार एक अर्कालाई नपढीकनै फलानोको सिर्जना खत्तम भनिदिन्छ।" हाम्रो साहित्य बजारको लघुताभासबारे खुलस्त बोल्न सक्ने बानियाँ लेख्छन्, "कृष्ण कुसुमको कथाकारिताले ‘बर्ड आई भ्यु’लाई सहजै स्वीकार गर्दैन। बरु छिद्रान्वेषणमा लैजान्छ र रहस्योद्घाटन गरिछाड्छ। कथाकार मूल प्रवाहका विषयभन्दा बाहिर अर्थात् छेउकुनाका, अझ छुटेका साना त्यान्द्रा समातेर कथामा ट्विस्ट ल्याउन सिपालु छन्।"
तुलसीहरि कोइरालाले कथासंग्रहको भिडमा ‘पार्श्वधुन कलेवरदेखि भित्री गुदीसम्मका दृष्टिले अब्बल’ भनेका छन्। शिलापत्र डिजिटल पत्रिकाले पाठकमतको आधारमा तयार पारेको सूचीमा पार्श्वधुन आख्यान किताब २०८०को ‘उत्कृष्ट पाँच’भित्र छानिएको छ।
नेपाली साहित्यमा लेखक, प्रकाशक अनि समालोचक र पत्रकार जोडिएर बनेको परिधि त्यति ठूलो छैन। लेखक वा प्रकाशक उछलकुद गरे भने पत्रकार वा समालोचकलाई ‘चिया खुवाउने’ चौतारी गौँडागौँडामा छन्। यस्तोमा कृतिले पाठकीय अभिमत जुटाउनु, पत्याइएका लेखक समीक्षकको मन जित्नु संयोग मात्र होइन, कथा र कथाकारको सफलता हो। पाठकीय अभिरुचिको समेत सफलता हो।
साहित्य सिर्जना र लेखकको कुरा गर्दा नेपाली भाषामा लेखिएका जो जसलाई हामीले पढेका छौँ, त्यसकै सेरोफेरोमा रहेर तुलनात्मक समीक्षा गर्ने हो। कतिपय कथाकारले प्रयोगवादी कथा लेखेको छु भन्दाभन्दै आफ्नो अनुभव दुरूह भाषामा व्यक्त गर्दा हामीले कथा ठानेर पढ्न शुरू गरेका चिज 'अकथा' बनेर सकिएका छन्। यस्तो रूढ पार्श्वधुनमा छैन।
विषय अब्बल हुनुसँगै कथा भाषिक कला पनि हो। कथासंग्रहमा फाट्टफुट्ट भाषिक एक रूपता खड्कन्छ। विम्बको पुनरावृत्ति रोक्न सकिने प्रशस्त ठाउँ छन्। धेरै कथामा ‘फ्लासब्याक’ शैलीको उपयोग भएको छ। आगामी लेखनमा शैली विन्यासको सुझाव लेखकलाई दिन सकिन्छ।
अध्ययन र पेसाले सिभिल इन्जिनियर कुसुम बडेमानका पुलहरूको ‘डिजाइन’ गरेझैँ सामाजिक र राजनीतिक रूपमा तिक्खर चेतका कथा डिजाइनसहित आफ्नो पहिलो कथासंग्रह पार्श्वधुनबाटै समकालीन सफल कथाकारमा सूचीकृत भएका छन्। कथा पढेपछि यो ठहर जायजै लाग्ला।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
