विद्यार्थी भिसामा जापान जाने धेरैले सपिङ स्टोरमा वा खाना प्याकिङ र यातायात सम्बन्धी काम गर्छन्। जापानले विद्यार्थी भिसालाई सहज बनाए पनि २८ घण्टाभन्दा बढी काम गर्न अनुमति नहुँदा कतिपयले समस्या भोग्छन्।
काठमाडौँ– जापानका प्रधानमन्त्री फुमियो किसुदाले गत वर्ष संसद्मा सम्बोधन गरेर देशको घट्दो जन्मदरबारे चिन्ता व्यक्त गरेका थिए। “घटिरहेको जन्मदरले हामीलाई चिन्तित तुल्याएको छ, समाजको रूपमा काम गर्न सक्छौँ कि सक्दैनौँ भन्ने संघारमा जापान उभिएको छ,” उनले भनेका थिए।
अघिल्लो वर्ष पाँच लाख ९५ हजारले घटेर जनसंख्या १२ करोड ४० लाखमा झरेको त्यहाँको सरकारी तथ्यांक छ। ‘नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसियल सेक्युरिटी रिसर्च’ले हरेक पाँच वर्षमा जारी गर्ने प्रक्षेपणअनुसार सन् २०५० सम्म जापानमा एक करोड आठ लाख वृद्धवृद्धा एक्लै बस्नेछन्। अर्थात् जम्मा परिवार संख्याको २०.६ प्रतिशतमा वृद्धवृद्धा मात्र हुनेछन्।
यसरी सक्रिय जनसंख्या (१५–६४) घटिरहेको र वृद्धवृद्धाको संख्या बढिरहेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाइराख्न जापानलाई चुनौती छ। सन् १९८० को दशकदेखि जापानले आर्थिक क्रान्ति गर्न थालेसँगै जनसांख्यिकीय अभावलाई परिपूर्ति गर्न विदेशी श्रमिकमा भर पर्दै आएको छ। विदेशी श्रमिकको संख्या बर्सेनि बढिरहेको छ। एक वर्षमै १२ प्रतिशतले बढेर सन् २०२३ मा विदेशी श्रमिकको संख्या २४ लाख पुगेको थियो।
जापानले खाडी र मलेसिया जसरी विदेशबाट अदक्ष श्रमिक लिँदैन। दक्ष कामदार तथा विद्यार्थी भिसामा ‘लर्निङ एन्ड अर्निङ’ कार्यक्रममार्फत अनौपचारिक क्षेत्रमा श्रमिकको अभाव पूर्ति गर्दै आएको छ।
सन् २०२३ सम्म जापानमा विदेशी विद्यार्थीको संख्या दुई लाख ८० हजार पुगेको छ। त्यहाँ विद्यार्थी भिसामा जानेमध्ये चीनपछि नेपाल दोस्रो स्थानमा छ। त्यसबाहेक, फिलिपिन्स, दक्षिण कोरिया, बांग्लादेशलगायत देशबाट विद्यार्थी गइरहेका छन्। यसरी जाने विद्यार्थीले हप्तामा २८ घण्टा मात्र काम गर्न पाउँछन्।
नेपालबाट जापानमा विशेष सीपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन सरकारले पाँच वर्षअघि प्रक्रिया थाले पनि टुंगो नलाग्दा त्यससम्बन्धी कार्यविधि कार्यान्वयनमा आएको छैन। त्यसको लाभ लिन नसक्दा युवा जनशक्ति विद्यार्थी भिसामै भए पनि जापान जान आतुर छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार जापानमा एक लाख ८० हजार हाराहारीमा नेपाली छन्। तीमध्ये ३० प्रतिशतभन्दा बढी विद्यार्थी भिसामा पुगेका हुन्। नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष गोपाल शर्मा भने अहिले जापानमा ५२ हजार हाराहारीमा नेपाली विद्यार्थी रहेको बताउँछन्।
विद्यार्थी भिसामा जापान जान खोज्नेको आकर्षण बर्सेनि बढिरहेको शिक्षा मन्त्रालयको तथ्यांक छ। जापान जानका लागि आर्थिक वर्ष २०७८/७९ मा १६ हजार ६९५ ले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएका थिए। एनओसी २०७९/८० मा २१ हजार ६४१ ले र २०८०/८१ को बैशाख २५ सम्म मात्र ३० हजार ११४ जनाले लिइसकेका छन्।

नेपालबाट विद्यार्थी भिसामा अधिकांश पढ्नको लागि नभएर रोजगारीकै लागि जाने गरेका शिक्षा मन्त्रालयका उपसचिव शंकर अधिकारी बताउँछन्। “विद्यार्थी भिसा भन्नेबित्तिकै पढ्नकै लागि जाने भन्ने होइन, जापान जाने अधिकांशको उद्देश्य रोजगारी नै हो,” उनले भने।
जापान जान विद्यार्थीले १२ देखि १५ लाख रुपैयाँ कन्सल्टेन्सीलाई बुझाउने गरेका छन्। पढाइसँगै जागिर गर्न पाउने भएपछि नेपालबाटै १०औँ लाख खर्चेर भए पनि बर्सेनि हजारौँको संख्यामा जापान पुगेकाहरूले त्यहाँ पुगेपछि भने अनेकौँ समस्या झेल्नु परिरहेको हुन्छ।
नेपाली विद्यार्थीका दुःख
धनगढीकी सुनिता बम जेठ पहिलो साता विद्यार्थी भिसामा जापान गइन्। स्नातक तहमा अध्ययनरत सुनिता यताको पढाइ बीचमै छाडेर गएकी हुन्। त्यता जान १४ लाख रुपैयाँ खर्चेकी थिइन्। तीन महिना भाषा सिकेर परीक्षा उत्तीर्ण गरेपछि भिसा सजिलै लागेको उनको भनाइ छ।
तर अब चार वर्षसम्म पढाइ र जागिरलाई कसरी सँगसँगै बढाउने भन्ने चिन्ताले पिरोल्न थालेको उनी बताउँछिन्। “घरको यत्रो पैसा खर्च गरेर जापान त आइयो, कमाउन सकिने हो कि होइन!” सुनिताले भनिन्, “काम खोजेको छैन, त्यै पनि हप्तामा २८ घण्टा मात्र गर्न मिल्ने नियम छ। हेरौँ अब के हुन्छ!”
यसरी जाने विद्यार्थीले ६ महिनादेखि एक वर्षको कलेजको शुल्क नेपालबाटै तिर्नुपर्छ। महिनाको लगभग ६० देखि ९० हजार रुपैयाँसम्म कलेजलाई बुझाएको हुन्छ। तर हप्ताको २८ घण्टा मात्र काम गर्न पाइने नियम र महँगीका कारण कमाएको रकम बचत गर्न सक्दैनन्। नेपाली विद्यार्थीले भोगिरहेका यस्ता समस्या सम्बोधन गर्न गत महिना त्यहाँ रहेको एनआरएनएले भर्चुअल कार्यक्रम नै गरेको थियो।
एनआरएनए जापानका अध्यक्ष नवीन न्युरे नेपाली विद्यार्थीको संख्या बढेसँगै समस्या पनि धेरै देखिन थालेको बताउँछन्। उनी भन्छन्, “विद्यार्थीको संख्या जति बढ्दै गएको छ, त्यति नै मात्रामा समस्या बढ्दै गएको महसुस गरेका छौँ।”
नेपालमा कन्सल्टेन्सीहरूले पनि ‘हुँदै नहुने कुरा गरेर’ जापान पठाउन विद्यार्थीलाई प्रलोभनमा पार्ने गरेको न्युरेको भनाइ छ। “कन्सल्टेन्सीले जापानको सत्यतथ्य जानकारी दिएर पठाए सजिलो हुने थियो। उता भन्ने एउटा, यता जापान आएर अर्कै अनुभव गर्नुपर्दा नेपाली विद्यार्थी समस्यामा पर्ने गरेका छन्,” उनले भने।
रोजगारीको उद्देश्य लिएर विद्यार्थी भिसामा जाने धेरैले शुरूमा त्यहाँ सपिङ स्टोर, बेन्तो (खाना प्याकिङ) र एमातो (यातायात सम्बन्धी) काम गर्छन्। पढ्दै कमाउन कति सहज हुने भन्ने विषय काम गर्ने कम्पनी, पढ्ने कलेज, बस्ने शहरलगायतले तय हुन्छ।
सबै कुरा मिल्यो भने घरमा पनि पैसा पठाउन सक्छन्। नत्र घरबाट पैसा मगाएरै क्याम्पसको खर्च बेहोर्नुपर्ने हुन्छ। नेपालबाट लाखौँ खर्चेर विद्यार्थी भिसामा जापान जाने तर आम्दानी र पढाइको मेसो नमिल्दा धेरै नेपाली विद्यार्थी समस्यामा पर्ने जापानमा कार्यरत झापाका प्रहार पौडेल बताउँछन्।
विगत सात वर्षदेखि जापानमा रहँदै आएका र त्यहाँको साहित्यिक कार्यक्रममा सक्रिय पौडेल विद्यार्थी भिसामा जापानमा आउनु ‘सपनालाई थाती राखेर अविराम संघर्षको यात्रामा होमिनु’ भएको बताउँछन्। उनी भन्छन्, “लाखौँ खर्च गरेर विद्यार्थी भिसामा जापान आउनेको समस्या भिसा लाग्दैमा सकिँदैन। जापान पुगेर काम गर्ने, डिपेन्डेन्ट बोलाउने अनि पैसा कमाउने जस्ता सपना बोकेर आएका विद्यार्थीलाई यहाँको कानून र परिस्थितिले समस्या थपिदिन्छ। आफ्ना सपना थाती राखेर संघर्षको विपनामा दौडिनु पर्छ।”
नेपालबाट कन्सल्टेन्सीमार्फत अधिकांश ‘प्राइभेट स्कुल’मा पढ्न जान्छन्। जापानी भाषा परीक्षा उत्तीर्ण गरेर जान विद्यार्थीले त्यहाँका राज्यकेन्द्रित स्कुलहरूमा भाषा पढ्नैपर्छ जसलाई ‘नियोनकोगाकु’ भनिन्छ। नेपालमा १२ कक्षासम्म मात्र पढेको छ भने दुई वर्ष नियोनकोगाकु गरेपछि त्यति नै अवधिको सेनमनगाकु गर्नुपर्छ। स्नातक गरेकोलाई यो अनिवार्य हुँदैन तर सेनमनगाकु गरे काम खोज्न सहज हुन्छ।
सेनमनगाकु अन्तर्गत गाडी बनाउने, केयर गिभर, सूचनाप्रविधि लगायत विशेष सीप सिकाइन्छ। यति भएपछि कामदार भिसा लगाउन सहज हुन्छ। कामदार भिसा नपाएसम्म विद्यार्थी भिसालाई नै निरन्तरता दिन विभिन्न शैक्षिक कोर्स गर्ने तथा क्याम्पसमा भर्ना हुनुपर्छ। नत्र भिसा रद्द हुन्छ। वर्किङ भिसा पनि नभए नेपाल फर्किनुको विकल्प हुँदैन।

यस्तो अवस्थामा पुगेका धेरै नेपालीले लुकेर अवैधानिक तवरमा काम गर्ने गत फागुनमा नेपाल फर्किएका काठमाडौँका सुदीप (नाम परिवर्तन) बताउँछन्। उनले पनि तीन वर्षसम्म जापानमा लुकिछिपी काम गरेका थिए। “अहिले पनि धेरै छन् त्यस्ता साथी,” उनी भन्छन्, “कमाउनुपर्छ भन्ने मानसिकता लिएर गइयो, त्यहाँ त कमाएको जति सबै कलेजको फी तिर्नै सकिन थालेपछि पढाइ हापेर काममा लागियो। इलिगल भएपछि अहिले यसरी फर्किनुपर्यो।”
सहज बन्दै विद्यार्थी भिसा, काममा कडाइ
जापान सरकारले गत फेब्रुअरी २९ देखि विदेशी विद्यार्थीका लागि भिसा प्रक्रियालाई सहज बनाएको छ। व्यावसायिक र शैक्षिक क्षेत्रको मागलाई सम्बोधन गर्दै जापानमा बस्न तथा रोजगारी खोज्न अनुमति दिइने विदेशी विद्यार्थीहरूको दायरा विस्तार गर्न भिसा नियमहरू सहज बनाएको हो।
जापानको अध्यागमन सेवा एजेन्सीले सरकारले राज्यनिर्धारित प्राविधिक विद्यालयहरूमा अध्ययन पूरा गरेका विद्यार्थीलाई प्रमुख क्षेत्रहरूसँग नजिकको सम्बन्ध नभएका क्षेत्रमा काम गर्न अनुमति दिने जनाएको छ। नयाँ उपायमार्फत विदेशी विद्यार्थीको संख्या वार्षिक तीन हजारले वृद्धि गर्ने जापानको लक्ष्य छ।
पहिले धेरै विदेशी विद्यार्थीले प्राविधिक विद्यालयहरूमा निश्चित डिग्री, प्राविधिक र जापानी भाषा सीपहरू हासिल गरे पनि आफूले हासिल गरेको सीप वा ज्ञानसँग मेल खाने कार्यस्थल फेला पार्न असफल भएर स्वदेश फर्किनुपर्थ्यो। नयाँ नियमअनुसार राज्यद्वारा तोकिएका प्राविधिक विद्यालयले कम्पनीहरूमा व्यावहारिक प्रशिक्षणसहित विशेष कार्यक्रमहरू प्रस्ताव गर्ने योजना बनाइएको छ।
यीलगायत भाषाका विषयमा पनि त्यहाँका कलेज लचिलो बनेको यस क्षेत्रमा संलग्न व्यवसायीहरू बताउँछन्। जसले गर्दा पछिल्लो समय नेपालबाट सजिलै भाषा परीक्षा उत्तीर्ण गरेर जान सकिने भएको छ। जापानी भाषा परीक्षामध्ये कठिन मानिने जे–टेस्ट गर्ने संस्था सांग्रिला एजुकेसन फाउन्डेसनका कृपा नाथ अहिले जापानका कलेजले नै सामान्य भाषा उत्तीर्ण गरेकालाई पनि लिने गरेको बताउँछन्।
“हामीले जापानको लागि जे–टेस्ट परीक्षा लिँदै आएका थियौँ, जुन परीक्षा जापानिज भाषा जाँचमा गाह्रो मानिन्छ, यसको मूल्यांकन पनि धेरै नै हुन्छ। तर अहिले यो परीक्षाका लागि विद्यार्थीहरूलाई कन्सल्टेन्सीले पठाइरहेको छैन, मतलब अन्य सजिला भाषा परीक्षा लिएरै पठाइरहेको जस्तो लाग्छ,” उनले भने।
जापान गएर भाषा सिकिसकेका विदेशी विद्यार्थीका लागि पछिल्लो व्यवस्थाले केही सहज बनाए पनि हप्ताको २८ घण्टा मात्र काम गर्न पाउने नियमले समस्या उस्तै छ। नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष गोपाल शर्मा नेपालबाट आउने बेला नै कमाएर घर पठाउने सोच बनाउनु भन्दा दुई वर्ष ‘पार्टटाइम जब’सँगै राम्रोसँग पढेर बल्ल कमाउन थाल्छु भन्ने सोच राख्न सुझाव दिन्छन्।
“यहाँ आएर शुरूमै कमाएर ऋण तिर्छु भन्ने धेरैको सोच हुन्छ, तर सबैलाई भनेजस्तो नहुन सक्छ। जसले गर्दा उनीहरूमा मानसिक समस्या पनि देखिने गरेको छ,” शर्मा भन्छन्, “राम्रो काम पाएर कमाइ भए त ठिकै छ, नत्र यहाँको सरकारले तोकेको नियम मिचेर काम गरे भविष्यमा समस्या हुनसक्छ। त्यसैले शुरूमा आफ्नो भाषा र सीप वृद्धि गर्न ध्यान दिएपछि काम पाउन सहज भइहाल्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
