इजरायली नाकाबन्दीले गाजामा खाद्य संकट

इजरायलको १६ वर्षदेखिको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य संकट देखिएको छ। यहाँका ६४ प्रतिशत नागरिक नाकाबन्दीका कारण गरिबीको रेखामा पुगेका बताइएको छ।

तस्वीर : एपी

इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य संकट परेको बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गाजा क्षेत्रका कम्तीमा पनि ५७ प्रतिशत जनसंख्यालाई खाद्य असुरक्षा हुन पुगेको छ।

सो क्षेत्रमा इजरायलले करिब १६ वर्षदेखि नाकाबन्दी गरिरहेको बताइएको छ। यसका कारण गाजा क्षेत्रमा दिन प्रतिदिन खाद्यान्नको अभाव भएको र अहिले आएर यहाँका करिब ५७ प्रतिशत मानिसलाई खाद्यान्न अभाव हुन पुगेको पाइएको बताइएको छ।

गाजाको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी एक परिषद्ले जनाएअनुसार सो क्षेत्रमा लामो समयसम्म जारी रहेको नाकाबन्दीका कारण यहाँको जनसंख्या गरिबीतर्फ पनि धकेलिएको छ।

सो परिषद्को प्रतिवेदनमा यहाँका करिब ६४ प्रतिशत नागरिक यही नाकाबन्दीका कारण नै गरिबीको रेखामा पुगेका बताइएको छ।

गाजा क्षेत्रमा करिब २० लाख प्यालेस्टिनीको बसोबास रहेको छ। यहाँका नागरिकलाई इजरायलले सन् २००७ देखि नै नाकाबन्दी गर्दै आएको छ।