‘नेपालले अब गाडी बनाउनुभन्दा एआईमा लगानी बढाउनु उत्तम’

‘हाउभाउ हेरेर अपराधी थाहा पाउने एल्गोरिदम पनि छ। अल्पसंख्यक मानिसको डेटा कम भएका कारण एआर्ईले उनीहरूलाई अपराधी ठहर्‍याउने सम्भावना हुन्छ। अमेरिका वा युरोपमा पनि एल्गोरिदमले अल्पसंख्यकलाई भेदभाव गर्छ।’

तस्वीरहरू : मनीष पौडेल/उकालो

दैनिक दुई हजारभन्दा बढी नेपालीले देश छाड्ने गरेका छन्। विश्वभरि छरिए पनि नेपालीको वैदेशिक गन्तव्य मूलतः खाडी मुलुक, अस्ट्रेलिया, अमेरिका र युरोपेली देश हुन्। विदेश जाने विभिन्न बाध्यता र कारण छन्, जस्तो– रोजगारी, व्यापार/व्यवसाय, शिक्षा, तालिम, विवाह आदि। यसरी जानेहरू कतिपय फर्किन्छन्, कतिपय उतैको नागरिक बनिसकेका छन्। उकालोले विभिन्न देश पुगेका नेपालीको कथा शृंखलाबद्ध रूपमा प्रकाशित गरिरहेको छ।


अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याबमा काम गरिरहेका विवेक पौडेल मेसिन–लर्निङ, कम्प्युटर भिजन, एल्गोरिदमलगायत क्षेत्रका विज्ञ हुन्। एआईलाई अझ निष्पक्ष र विविधतापूर्ण बनाउनु उनी निरन्तर लागिरहेका छन्। उनले स्विट्जरल्यान्डको जुरिक विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा विद्यावारिधि गरेका छन्। एआई र यसको सेरोफेरोमाथि पौडेलसँग उकालोका लागि किरण दहालले गरेको कुराकानीः 

तपाईं स्टानफोर्ड विश्वविद्यालयमा ‘पोस्ट–डक’ कार्यक्रमअन्तर्गत एआईबारे अनुसन्धानरत हुनुहुन्छ। विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयमा अनुसन्धान गरिरहँदा बाहिरको संसार एआईबारे कति सजग पाउनुभएको छ?
एआई विस्तार हुँदैछ, यसबारे ज्ञान पनि फैलिँदै छ। यसमा व्यापार अर्थात् पैसा छ। मानिसले यसका ‘कि वर्ड’, ‘बज वर्ड’हरू सुनेका छन्। बाहिरफेर गफगाफ चलेको सुनिन्छ। बजारमा विभिन्न हल्ला पनि फैलिएका छन्, जुन स्वाभाविक हो।  कहिलेकाहीँ हल्ला र वास्तविकताबीच तालमेल हुन्न। थिग्रिन समय लाग्छ। वैज्ञानिकले गरेको काम तत्कालै सर्वसाधारणले बुझ्न गाह्रो पनि हुन्छ।

अहिलेको सन्दर्भमा इन्टरनेट प्रयोगकर्तालगायतका नेपालीले एआईबारे कतिसम्म जान्न अपरिहार्य छ? कि नजान्दा पनि हुन्छ?
एआई अब प्रविधिको अभिन्न अंग बनिसक्यो। फोन, इमेल, गुगल सर्च, समाचार जताततै एआई छ। त्यसकारण नजाने पनि चल्छ भन्ने होइन। अब यसमा रोजगारी पनि जोडिन्छ। आईटीको काममा एआईको प्रयोग गर्न सकियो भने
रेभेन्यु बढाउन सकिन्छ। त्यसका लागि प्राविधिक तहमा पुग्नुपर्छ भन्ने छैन। जस्तो, इन्जिनियरहरूले एआईका विभिन्न तहमध्ये शुरूका एकदुई तह जाने भने धेरै किसिमका काम सहज हुन्छ।

गैरप्राविधिक मान्छेले एआईको लाभ–हानिबारे बुझ्न जरूरी छ। हाम्रो डेटा प्रयोग गरेर एआई सिस्टम बनिरहेकाले आफ्नो डेटा कसरी प्रयोग भइरहेको छ भनेर अनभिज्ञ बस्न मिल्दैन। आफ्ना गोप्य, महत्त्वपूर्ण र संवेदनशील डेटाको सुरक्षा हामी आफैँले गर्नुपर्छ। समाजका हरेक पक्षमा एआईले भूमिका खेल्नेवाला छ। आफ्नो भविष्यबारे सबैले सोच्नुपर्छ तर एक–एक जनाले सोच्न अलि गाह्रो हुन्छ। एउटा मान्छेले कता–कता सोच्ने! नीति निर्माताहरूले सोचेर माहौल बनाए सजिलो होला। तर हाम्रोमा त्यसबारे सोचिएको छैन। सरकारी वा सर्वसाधारणको डेटा कहाँ राख्ने, कसरी राख्ने, फोन वा इमेल कसरी प्रयोग गर्ने, यस्ता थुप्रै विषय छन्। पहिला सरकारले आफ्ना कार्यालयबाट परिवर्तन शुरू गर्नुपर्‍यो। नीतिनियम बनाउनुपर्‍यो। नेपालको कतिपय नियम कानूनले नयाँ डिजिटल प्रविधिलाई समेट्दैन। अब यसमाथि बहस शुरू गर्नुपर्छ। अरू देशले नियम कानुन बनाएका हुनाले हामीलाई सजिलो छ, त्यहाँबाट सिक्न सकिन्छ।

वैयक्तिक स्वायत्तता र एआई एकअर्कालाई हस्तक्षेप नगरी आ–आफ्नो बाटो हिँड्न सम्भव छ?
वैयक्तिक स्वतन्त्रता पूरै कायम गरेर एआई सिस्टम बनाउन गाह्रो छ। यसका निम्ति अत्यधिक डेटा चाहिन्छ। इन्टरनेटमा उपलब्ध सबै डेटा यसले प्रयोग गर्छ। कतिपय मानिस आफ्नै डेटाबारे अनभिज्ञ होलान्। हाम्रो इमेल, जियोलोकेसन, भ्वाइस पनि प्रयोग भइरहेको हुनसक्छ। यी सामग्रीबेगर एआई बन्दैन। डेटा प्रयोग गर्दैमा समस्या निम्तिन्छ भन्ने हैन। मान्छेको व्यक्तिगत पहिचान नहुनेगरी समेत डेटा प्रयोग गर्न मिल्छ। त्यसका तरिका छन्। तर कम्पनीहरू सजिलोगरी काम गर्न खोज्छन्, स्वाभाविक पनि हो।

डेटा संरक्षण गर्ने हो भने सरकारले नियम बनाउनुपर्छ। युरोपियन युनियन (ईयू)ले आफ्ना नागरिकको डेटा ईयुभित्र हुनुपर्छ भन्ने नियम बनाएको छ। त्यसो भएपछि भोलिका दिनमा केही अप्ठ्यारो परिहाल्यो भने नियमन गर्न सजिलो भयो। अरू देशले डेटा लैजान नपाउने भए। नेपालले त्यसो गर्न सक्ला? गाह्रो छ। तैपनि नेपालजस्ता साना मुलुकले समूह बनाएर संयुक्त काम गर्न सक्छन्। नेपाली भाषाको एआई बनाऊ, हामी यति डेटा दिन्छौँ भनेर पनि भन्न सकियो।

के एआईले मानव अनुभवका मसिना कुराहरू पनि बुझ्न र त्यसलाई सही ढंगले अनुवाद गर्न सक्छ?
यो प्रविधि झन्झन् विकास भइरहेको छ। जस्तो, अहिले मेरो अनुहार हेरेर म डराएको छु वा खुशी छु थाहा पाउन सकिन्छ। त्यस्ता ‘एल्गोरिदम’ छन्। घडीले तपाईंको ब्लडप्रेसर र मुटुको धड्कन नाप्छ। मान्छेका भावना, सोचाइ, मनस्थिति थाहा पाउने तरिका बनिसकेको छ। त्यसमा झन्झन् सुधार हुँदैछ।

एआईमा समस्या पनि छ। एल्गोरिदम एक किसिमका मान्छेमा बनाइएको छ। जसका लागि बनाइएको हो, तिनकै मामिलामा बढी उपयोगी हुने भयो। हाम्रामा काम नगर्न सक्छ। किनभने एउटा समुदाय र अर्को समुदायको हाउभाउ नमिल्न सक्छ। हाउभाउ हेरेर अपराधी हो कि हैन भनेर थाहा पाउने एल्गोरिदम पनि छ। अल्पसंख्यक मानिसको डेटा कम भएका कारण एआईले उनीहरूलाई अपराधी ठहर्‍याउने सम्भावना बढी हुन्छ। अमेरिका वा युरोपमा पनि एल्गोरिदमले अल्पसंख्यकलाई बढी भेदभाव गर्छ। अब डेटा कम हुँदा समस्या बढ्ने भयो।

नेपालजस्तो देशले एआईमा खास ठूलो भूमिका खेल्न नसक्ने भएपछि भविष्यमा झन् ठुलो अप्ठ्यारो पर्ने त हैन?
तपाईंले असमानताको कुरा जोड्न खोज्नु भएको होला। अहिलेको प्रविधि प्रयोग गर्न सजिलो छ, बनाउन गाह्रो छ। स्रोतसाधन र प्रविधिको ज्ञान हुनेले कम ज्ञान हुने समूहलाई दबाएको इतिहास छ। प्रविधि निर्माताहरू शक्तिशाली देखिन्छन्। प्रयोगकर्ता मात्र भइरह्यौँ भने समस्या त आउँछन् नै। असमानता बढ्न सक्छ। थोरै कम्पनीहरूको हातमा धेरै शक्ति हुनेवाला छ। हामी हस्तक्षेपकारी भूमिका पनि खेल्न सक्दैनौँ। उत्पादन (म्यानुफ्याक्चरिङ), पर्यावरण, अर्थतन्त्रलगायत क्षेत्रमा साना मुलुकले जस्तो समस्या बेहोर्छन् नि, यसमा पनि त्यस्तै हुने सम्भावना छ। त्यसै पनि नेपालजस्तो देशले बेलैमा एआई निर्माणमा ध्यान दिँदा राम्रो हुन्छ। एआईको घाटा मात्र हैन, फाइदा पनि छ नि! फाइदा र बेफाइदाको गठजोड हो– प्रविधि। मेरो स्पष्ट मान्यता छ– नेपालले अब गाडी बनाउनुभन्दा एआई बनाउनु उत्तम हो।

एल्गोरिदम एक किसिमको एआई हो। यसले जातजाति, लिंग, राजनीतिक झुकाव, धर्मलगायत मुद्दामा पूर्वाग्रहहरू विस्तार गर्न सक्ने अध्ययनहरूले पनि देखाएका छन्। यसलाई घटाउन वा हटाउन के–कस्ता काम भइरहेका छन्?
सामाजिक सञ्जालका प्लेटफार्महरूमा ध्रुवीकरण बढेको सम्बन्धमा अध्ययनहरूले भन्छन्– सामाजिक सञ्जालका सक्रिय प्रयोगकर्ता प्रायः अलि उग्र नै हुन्छन्। उग्र मानिसलाई मनपर्ने कन्टेन्टहरू हाल्दा सामाजिक सञ्जाल चलाउने कम्पनीलाई फाइदा हुने भयो। त्यसैले कस्तो खाले एआई बनाउने भन्नेमा भर पर्छ। नाफामूलक कम्पनीले बनाएको हो भने उसको ध्यान नाफा कमाउनमै सीमित हुन्छ। समाज नाफाले मात्र चल्दैन। नाफा कमाउने बाहेकका कुरा पनि थप्नुपर्‍यो। त्यो कसले थप्ने त? नियामक निकायले थप्न सक्छन्। यसका लागि कम्पनीलाई बाहिरी दबाब पर्नुपर्छ। अघि पनि मैले भनेँ– प्रविधिको नाफाघाटा दुवै छ। सन्तुलन मिलाउन अरू निकायले भूमिका खेल्नुपर्छ। जस्तो, वैज्ञानिकहरूको निकायमा छलफल हुन्छ तर उनीहरूले सोचेजस्तो छिटोछिटो सुधार हुँदैन। छिटो सुधार गर्न सरकार र अन्य नियामक निकायको पहलले मात्र सम्भव छ।

पूर्वाग्रह त ‘च्याट जीपीटी’ मा पनि देखिन्छ। त्यसलाई हटाउन सकिने सम्भावना छैन?
च्याट जीपीटीले अहिलेसम्मका डेटाको आधारमा सामग्री उत्पादन गर्ने हो। उसले डेटामा गलत कुरा भेट्यो भने गलत कुरा भनिदिन्छ। मिडियामा ‘रेसिस्ट’ कुरा आएको छ भने उसले पनि दोहोर्‍याउँछ। उसलाई कसरी कम पूर्वाग्रही वा आफ्नो डेटाभन्दा बाहिर जाने बनाउने! यसमा हामीले काम गरिरहेका छौँ, अरूले पनि गरिरहेका छन्। भविष्यमा यस्ता समस्या पनि समाधान हुन्छन् तर मैले अघि भनेजस्तो  हरदम निगरानी भइरहनुपर्छ। नियम कानुनहरू बन्नुपर्छ।

मिडियामा अहिले ‘मिसइन्फरमेसन’, ‘डिसइन्फरमेसन’ र ‘फेक न्युज’ यत्रतत्र छन्। भनिन्छ– सही समाचारभन्दा फेक न्युज ६ गुणा छिटो फैलिन्छ। यसमा एआईको भूमिका कति छ?
एआईको भूमिकाबारे कुरा गरौँला। त्योभन्दा पहिला हाम्रा समाचार कस्ता छन्, त्यो हेरौँ। समाचारलाई भाइरल गराउन सोच विचारी शीर्षक राखिन्छ। यो ट्रेन्ड बाहिरका मिडियामा एकदम छ, नेपालमा पनि होला। उनीहरू आफ्ना सामग्रीमा पाठकको ‘इन्गेजमेन्ट’ बढाउन चाहन्छन्। कसै कसैको ध्याउन्नै त्यसमै मात्र हुन्छ, त्यसैअनुसारका ‘कि वर्ड’हरू राख्छन्। भित्र झूटा कुरा पनि हुन्छन्। एआईले डेटा यहीँबाट लिने हो। यसकारण फेक न्युज फैलाउन भूमिका नखेल्ने कुरै भएन। 

अहिले भिडियोमा पनि काफी काम भइरहेको छ। खिचेको भन्दा एआईले बनाएका भिडियोहरू बजारमा छ्यापछ्याप्ती हुने भए। यो चिर्न झन् गाह्रो हुने निश्चित छ। एआईको प्रभाव झन् बढ्नेवाला छ। नियन्त्रण सजिलो छैन। सत्यतथ्य नबुझी भिडियो शेयर गरिहाल्दा कति क्षति पुग्ला भनेर सहजै अनुमान लगाउन सक्छौँ। प्रविधि जुन गतिमा अगाडि बढिरहेको छ, यसको नियमनमा कानून पर्याप्त छैनन्। समाजमा नयाँ चुनौती आएका छन्, जुन पहिला थिएन। जसरी प्रिन्टिङ प्रेस आउनुभन्दा पहिला र आएपछिको समय पूरै बदलियो, एआई आएपछि र आउनुभन्दा पहिलाको समय पनि पूरै बदलियो।

एआईले मिडियामा आएका सामग्रीलाई आधार मान्ने भयो। त्यसो भएपछि एआईलाई सुधार्न मिडिया सुध्रिनुपर्ने भयो, हैन त?
त्यो पनि हो। एआईमा डेटा हाल्दा कुन स्रोत विश्वसनीय र कुन अविश्वसनीय भनेर ‘लेबल’ गरिन्छ। समाचारका स्रोत राम्रो भयो भने हामी सबैलाई फाइदा हुन्छ।

न्युयोर्क टाइम्सले सन् २०२३ मा ‘ओपन एआई’विरुद्ध कपी राइटको मुद्दा हाल्यो। कतिपयले यसलाई च्याट जीपीटी र अरू एआईको भविष्यसँग पनि तुलना गरे। यसलाई कसरी बुझ्ने?
न्युयोर्क टाइम्स मिडिया मात्र हैन, प्रविधि कम्पनी पनि हो। न्युयोर्क टाइम्सको वेबसाइट छ, एप छ, एआई प्रयोग गर्छ। प्रविधिसँग जोडिएकाहरू भन्छन्– उ एक प्रतिस्पर्धी कम्पनी हो, एउटा प्रतिस्पर्धीले अर्को प्रतिस्पर्धीलाई अप्ठ्यारोमा पार्न जे गर्छ त्यही गरिरहेको हो। अर्काथरी भन्छन्– यो त मिडिया हो, दुःखले सामग्री बनाएको छ, सित्तैमा एआईले प्रयोग गरिदियो भने अप्ठ्यारो पर्छ। ओपन एआईले न्युयोर्क टाइम्सलाई पैसा दिनुपर्छ।

अब यो केसमा दुवैथरी मत मिसिएको होला। दुवै कम्पनीहरू एकले अर्कोलाई रोक्न चाहन्छन्। सामग्री ‘क्रिएट’ गर्ने र ‘जेनेरेट’ गर्ने बीचको प्रतिस्पर्धा हो यो। एउटा नयाँ प्रविधिले हस्तक्षेप गर्दै छ, यसले भविष्यमा समाजका विभिन्न क्षेत्रमा घर्षण ल्याउँछ। बदलिएको परिस्थितिमा आफूलाई कसरी अनुकूल बनाउने भनेर सबैले सोच्नुपर्छ।

एआईले उत्पादन गरेको लेख, भिडियो वा फोटोहरूको प्रतिलिपि अधिकार को सँग हुन्छ? विश्वविद्यालय वा सञ्चारमाध्यममा ‘डिस्क्लोजर’ बिना त्यस्ता सामग्री  प्रकाशित गरियो भने नैतिक रूपमा कति जायज हुन्छ?
एआईले जेनेरेट गरेको लेखरचनाहरू पत्ता लगाउने भरपर्दो तरिका छैन। केहीकेही माध्यम छन्, विश्वसनीय छैनन्। त्यसकारण कुन सामग्री एआईले लेखेको हो, कुन हैन भनेर दाबी गर्न सकिँदैन। जेनेरेटिभ एआई एकदम नयाँ हो। कपी राइट के गर्ने, स्कुल र कलेजमा विद्यार्थीले लेखेका पेपरहरू एआईले लेखेको हो कि हैन भनेर कसरी पत्ता लगाउने वा पढाउने तरिका नै परिवर्तन गर्ने कि भन्नेबारे छलफल भइरहेको छ। कोही पनि निचोडमा पुगिसकेका छैनन्।

के एआई अन्ततः एक आलोचनात्मक चेत बोकेको सक्षम सहयात्रीको रूपमा समाचार कक्षमा उपस्थित हुन सक्छ? पत्रकारमा देखिने अन्तर्निहित अनुमान र पूर्वाग्रहलाई समेत प्रश्न गर्न सक्षम होला?
अहिलेसम्म बनेका एआईले लेखको संक्षेपीकरण गर्न वा ‘फ्याक्ट चेक’ गर्न सक्छ। तपाईंले भनेकै जस्तो एआई पनि बनाउन नसकिने हैन। त्यस्तो पनि बन्दै जाला। न्युजरूमले लेखनको गुणस्तरमा पनि ध्यान दिनुपर्छ। सञ्चारमाध्यममा धेरै किसिमका विचार आइरहेका हुन्छन् जुन नआए पनि फरक पर्दैन। एआईले लेख्न सक्ने कुरामा मान्छेले किन समय खर्चिने? एआईलाई नै लेख्न लगाए भयो नि! बरु त्यो समय नयाँ र गुणस्तरीय लेखनमा लगाउँदा राम्रो हुन्छ।

के एआई उपकरणहरूले विकृतिविरुद्ध लड्न मद्दत गर्ने सम्भावना छ वा त्यसले समस्या अझै बढाउला?
हामीले आफ्नो समाज र परिवेशअनुसार एआई बनाउन सक्छौँ। त्यसले नाफा कमाउने मात्र हैन, समाजको वृहत् हितमा पनि सहयोग पुर्‍याउन सक्छ। समाजमा एआई कसरी प्रयोग गरिन्छ भन्ने प्रश्न मुख्य हो। 

एआईको प्रभाव बढिरहँदा पारदर्शिता र जबाफदेहिताको प्रश्न आउँदैन? यसमा विश्वविद्यालयहरू कतिको चनाखो छन्? 
एआईले अध्ययन अध्यापनको नयाँ फिल्ड तयार पारिदिएको छ। यो दिन प्रतिदिन जटिल बन्दैछ। एआईले आफैँ काम गर्छ, आफैँ नतिजा दिन्छ। के कारणले खास नतिजा दियो, कसैलाई थाहा हुँदैन। मानौँ, भेदभाव गर्‍यो भने एआईले जानाजानी गरेको हैन। किन त्यसो गर्‍यो त! यो पनि एआईभित्र ठूलो अनुसन्धानको विधा हो। त्यसमा काम हुँदैछ। पारदर्शिताबिना एआईलाई धेरै क्षेत्रमा प्रयोग गर्न सकिँदैन।

एआईसँग मानिसका त्रास पनि छन्। जस्तो, जागिर खाइदिएला कि! समग्रमा समाजलाई लाभ दिने गरी यसको प्रयोग कसरी गर्ने त?
क्यालकुलेटर बन्नुअघि दिमाग खियाएर जोडघटाउ गर्नु पर्थ्यो। क्यालकुलेटर आयो, सहज भयो। सामान बोक्ने मेसिन आयो, भारी बोक्नु परेन। प्रविधि आयो, मान्छे फुर्सदिलो हुन थाले। प्रविधिको विकास सँगसँगै दैनिक जीवनमा सजिलो हुन थाल्यो। अब  कल्पना गरौँ, एआईले सुन्दर संसार कसरी बनाउन सक्छ! मान्छेलाई मन नपर्ने झन्झटिलो र जोखिमपूर्ण काम एआईले गरोस्। मान्छेको समय सिर्जनशील काममा लगाउन सकियोस्। उत्पादकत्व बढोस्। मान्छे फुर्सदिला बनुन्। आठ घण्टा लाग्ने काम चार घण्टामा सकियोस्, बाँकी चार घण्टा आराम गर्न सकियोस्। रोग नलागोस्। मान्छे रमाइरहुन्। यो एउटा सुन्दर कल्पना हो। यो सबै सम्भव होला। तर एआईलाई कसरी प्रयोग गर्ने र कस्तो अंग बनाउने भनेर समाजले ध्यान दिनुपर्छ। यसले उपलब्ध गराएको फाइदालाई प्रयोग गर्ने सन्दर्भमा उपयुक्त ‘मेकानिजम’ नबनाउने हो भने समाजमा असमानता झन् बढ्छ।

केही समयअघि एआईविज्ञ रूमन चौधरीले ‘एआईका सन्दर्भमा सर्वसाधारण, सरकार र कम्पनीहरूबीच एकअर्कामा राम्रोसँग कुरा नभएकाले समस्या आइरहेको’ बताउनुभएको थियो। समन्वय किन भइरहेको छैन?
सही हो, समन्वय भइरहेको छैन। प्रविधिबारे धेरै मान्छे जानकार छैनन्। नेपालमा मात्र हैन, विकसित देशमा समेत राजनीतिक वृत्तले राम्ररी बुझिसकेको छैन। सबैतिर अन्योल छ। धेरैको ध्यान युद्ध, अर्थतन्त्रलगायत क्षेत्रमा छन्। तत्काल जोखिम नभएसम्म मान्छेले खास ध्यान नदिने रहेछ। राजनीतिक वृत्तमा यसमाथि थोरबहुत बुझाइ भए पनि कि डर, कि अत्यधिक उत्साह छ। सन्तुलित बुझाइ छैन। नयाँ क्षेत्र विकास हुँदै गर्दा बुझाइ पनि विस्तार हुँदै जाला। तर प्रविधिको विकास यति छिटो भइरहेको छ कि समाजका अन्य अवयवले पछ्याउनै सकिरहेका छैनन्।

प्रविधि द्रुत रूपमा अघि बढ्ने तर यसलाई नियमन गर्ने संस्थाहरू पछाडि नै छुट्दा समस्या बढ्दैन?
बढ्न सक्छ। सीमित कम्पनीको हातमा शक्ति केन्द्रित हुन्छ भन्ने डर छ। केही कम्पनी सरकार वा देशभन्दा शक्तिशाली हुन सक्छन्। सबै शक्ति एक ठाउँमा थुप्रिने जोखिम छ।

एआईबारे हामीभित्र व्याप्त भ्रम के–के छन्? 
एआई नयाँ कुरा छ। पहिलाको जमानामा प्रविधि र यसबाहेकको क्षेत्र अलि फरक थियो। त्यति बेला प्रविधि प्रयोग नगर्दा पनि फरक पर्दैन थियो। अहिले प्रविधिलाई पहिलाजस्तो बेवास्ता गर्न सकिँदैन। कतिपयलाई प्रविधिमा चाख नहुन पनि सक्छ तर यो बाध्यकारी भइसक्यो। भ्रमहरू धेरै छ। कि त समयअनुसार त्यो थिग्रिँदै जान्छ, कि संस्थाहरूको पहलमा त्यसलाई चिर्नुपर्छ।

एआईले सन् १९८४ को स्थितिमा पुर्‍याउने त हैन? अर्थात् जर्ज अरवेलले भनेजस्तो ‘बिग ब्रदर इज वाचिङ यु’ को अवस्था निम्तिने त हैन?
त्यो त अहिले नै भइसकेको छ। प्रजातान्त्रिक र विश्वासलायक बिग ब्रदर हो भने फाइदै पनि होला। अपराधीलाई समाउन पहिलाभन्दा सजिलो भएको छ। खासमा चाह्यो भने जसलाई पनि समाउन सकिन्छ। यसले बालबच्चा, महिलामाथिको जोखिम पनि कम गराउँछ। यसका सकारात्मक पक्ष धेरै छन्। बिग ब्रदरलाई सबै हिसाबले खराब भन्दिनँ। तर सरकारमा गलत मान्छे पनि पुग्न सक्छन्। नियम कानून परिवर्तन हुनसक्छ। मान्छे प्रविधिमा लट्ठ परेर बाँकी दुनियाँ नै भुल्न सक्छन्। प्रविधि र सूचनाले मानिसलाई आलसी बनाइदिने सम्भावना हुन्छ। विश्व त्यतातिर पो जान लागेको हो कि भन्ने सुनिन्छ।