घाइते सबैको उद्दार, शव आधार शिविर झारियो

मनास्लु हिमपहिरोमा परेर घाइते भएका सबै १३ जनाको उद्दार भएको छ। मृत्यु भएका एक जनाको शव भने आधार शिवरमा राखिएको छ।

फाइल तस्वीर

काठमाडौं- गोरखाको मनास्लु हिमपहिरोमा परेर घाइते भएका सबैजनाको उद्धार गरिएको छ। सोमबार दुई र मंगलबार १० जना गरी १२ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।



गोरखाको चुमनुब्री गाउँपालिका-१ मा पर्ने मनास्लु हिमालमा सोमबार दिउँसो पहिरो गएको थियो। पहिरोमा परेर आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो। राईको शव पनि आधार शिविरमा ल्याइसकेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।



उनले भने "उद्धार कार्य सकिएको छ। हिजो दुई जना र आज १० जनाको उद्धार गरेर काठमाडौं पठाइएको छ।" उनीहरूलाई कपनस्थित एक अस्पताल पुर्‍याइएको छ।



जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोमबार ४ नम्बर शिविरबाट ३ नम्बर शिविरतिर हिमपहिरो खसेको थियो। ३ नम्बर शिविरमा रहेका १५ आरोही तथा सहयोगी घाइते भएका थिए। घाइतेमध्ये १२ जनाको उद्धार गरी काठमाठौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए। अन्य दुई जना आधार शिविरमा शव कुरेर बसेको बताए।



घटना ६ हजार ५०० मिटरभन्दा माथि भएकाले सोमबार उद्धार तथा राहतमा कठिनाइ भएको थियो। आरोहीको उद्धारका लागि गएका हेलिकोप्टरहरू बस्न नसकी फर्किएका थिए।



मंगलबार बिहान मौसम खुलेसँगै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको हो। केही आरोही आधार शिविरमा रहेको र उनीहरू पुनः हिमाल चढ्ने योजनामा रहेको उनको भनाइ छ।