हेर्दा सुन्दर देखिने दृश्यको कुरूप यथार्थले प्रकृतिबाट मानव जीवनलाई अलग्याएको भन्दै प्रकृतिप्रेमी अभियन्ताहरूले आपत्ति जनाएका छन्।
काठमाडौँ– स्थानीय यादवलाल कायस्थ सधैँजसो बिहान न्युरोडको पिपलबोट आउँथे, रूखमा चराहरूको चिरबिर आवाज सुन्दै आनन्द लिन्थे र फर्किन्थे। विगत केही समयदेखि चराहरूको चिरबिर सुनिन छाड्यो। उनलाई बिहानमा त्यहाँ पुग्दा शून्य भएजस्तो, आनन्दै नआएजस्तो लागिरह्यो। रूखहरू आफ्नै स्वरूपमा थिए, तर चिरबिर गर्ने चञ्चल चराचुरुंगी थिएनन्।
केही समयअघि पिपलबोटमा लगाइएको झिलिमिली बत्तीले गर्दा चराचुरुंगीको बासस्थान बिथोलिएको रहेछ। त्यसपछि साबिकको बास छोडेर चराहरू अन्तै गएछन्। कायस्थलगायत उनका अभियन्ता साथीहरूले वैशाख १० गते पिपलबोटमा लगाइएका बत्ती हटाए। त्यसयता चराहरू फेरि फर्केर बास बस्न थालेको उनीहरूले बताएका छन्।
केही समयअघि काठमाडौँ महानगरले सहर सुन्दर बनाउन धेरै ठाउँका रूख र पोलहरूमा त्यस्ता झिलिमिली बत्ती लगाएको थियो। महानगरका वडा कार्यालयहरूले समेत सहर, पोखरी, पार्क वा अन्य पर्यटकीय स्थलहरू सुन्दर देखाउन त्यस्ता बत्ती लगाएर आकर्षक बनाउने काम गरिरहेका छन्।
स्थानीय र विदेशी पर्यटकको आर्कषणका लागि प्रयोग गरिने चम्किला बत्तीले गर्दा त्यस वरपरको दृश्य सुन्दर देखिन्छ। हेर्दा सुन्दर देखिने दृश्यको कुरूप यथार्थले प्रकृतिबाट मानव जीवनलाई भने अलग्याएको भन्दै प्रकृतिप्रेमी अभियन्ताहरूले आपत्ति जनाएका छन्।
प्रकृतिबिनाको मानव जीवन असम्भव भएकाले यसरी प्रयोग गरिएका बत्तीहरूले पर्यावरणलाई नै असर गरेको उनीहरूको तर्क छ। सडकबत्ती चाहिन्छ, तर त्यसो भन्दैमा रूखमा लगेर अत्यन्त उज्यालो चमक दिने बत्तीका तार बेर्नु उपयुक्त नभएको उनीहरू बताउँछन्।
पर्यावरणमा महत्वपूर्ण भूमिका खेल्ने बोटबिरुवाहरूमा झिलिमिली बत्ती बेर्दा उत्पन्न हुने ‘इलेक्ट्रोम्याग्नेटिक फिल्ड’ले रूखबिरुवाको वृद्धि र विकासमा समेत असर पर्ने अभियन्ताहरूको भनाइ छ। सम्पदा संरक्षणमा क्रियाशील अभियन्ता जीवनपति श्रेष्ठ भन्छन्, “हेर्दा झिलिमिली देखिने, तर राति चराहरू आफ्नो गुँडमा बस्नै नपाउने स्थिति भएपछि बत्ती हटाउन हामी लागिपर्यौँ।”
पहिलेका पुराना घरहरू बनाउँदैमा राखिएका प्वालमा चराले गुँड लगाएर पर्यावरण सुन्दर बनाउँथे। त्यसबेला घरबाहिर निस्किँदा समेत रमाइलो लाग्थ्यो। बिस्तारै चराचुरुंगी हराउन थाले। नयाँ बन्ने घरमा उनीहरूको गुँडका लागि प्वाल नै नराखिदिँदा समस्या पर्न थाल्यो। चराचुरुंगीको गुँडका लागि प्वालहरू राखेर घर बनाउने अनिवार्य प्रावधान ल्याउन भक्तपुर नगरपालिकालाई त अनुरोध नै गरेको श्रेष्ठ बताउँछन्।
“मानवलाई प्रकृति चाहिन्छ, तर प्रकृतिलाई मानव नभए पनि हुन्छ। जहाँ मान्छेलाई सडकमा बत्ती चाहिने हो त्यहाँ बत्ती छैन, जहाँ कीराफट्यांग्रा र चराचुरुंगी राति बास बस्छन् त्यो ठाउँमा अनावश्यक बत्ती राखेको राम्रो भएन भनेर विरोध गरेका हौँ,” पर्यावरण संरक्षणका अभियन्ता राजाराम तण्डुकार भन्छन्।
पहिलो चरणमा केही ठाँउका बत्ती हटाएर सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेको उनले बताए। पर्यावरण जोगाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने तण्डुकारको भनाइ छ।
न्युरोड क्षेत्रमा पर्ने काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन सुन्दरताका लागि नै रूखहरूमा झिलिमिली बत्ती लगाएको बताउँछन्। “सुन्दरताका लागि लगाएका थियौँ, अभियन्ता साथीहरूले चराचुरुंगीलाई बास बस्न समस्या पर्यो भनेर निकालिदिनुभो,” उनले भने।
कृत्रिम उज्यालोले पर्यावरण बिगार्दै
कीराफट्यांग्रा, जुनकिरी लगायतका साना जीव र चराहरू रातको समयमा सक्रिय हुन्छन्। त्यस्तो बेला कृत्रिम र चहकिलो बत्तीले उनीहरूलाई बाधा पुर्याएको पन्छीविज्ञ कृष्णप्रसाद भुसाल बताउँछन्। यसरी अव्यवस्थित रूपमा राखिएका कृत्रिम लाइटमा ठोकिएर चराचुरुंगी लगायतका साना जीवहरू घाइते हुने, मर्ने या बसाइँ सरेर अन्यत्रै जानसक्ने खतरा उनले औँल्याए।
चरा र कीराहरूले बासस्थान बनाउने रूखमै जथाभावी लाइटहरू बेरेर राख्ने काम कहीँ पनि गर्नु पर्यावरणमैत्री व्यवहार नभएको उनको भनाइ छ। काठमाडौँका सडक छेउमा भएका रूख र पोलहरूमा जताततै झिलिमिली बत्तीको तार बेरेर राखिएका देखिन्छन्।
भुसालका अनुसार एउटा रूखलाई अर्को रूखसँगका परागसेचन प्रकृयामा चमेराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। “बेरिएका लाइटहरूले चमेराको सक्रियतालाई पनि असर गर्ने भएकाले रूखमै लाइट बेरेर राख्नु उचित होइन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
