जुम्लाबाहेकका जिल्लामा गठबन्धन सफल भएको माओवादीको निष्कर्ष

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा गठबन्धन पूर्णतः सफल भएको निष्कर्ष निकालेको छ। त्यस्तै, निर्वाचनमा भएको विजय तथा पराजयको समीक्षा गरिने माओवादी केन्द्रले जनाएको छ।

काठमाडौँ-  नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश, समितिले जुम्लाबाहेकका जिल्लामा गठबन्धन पूर्ण सफल भएको निष्कर्ष निकालेको छ।

समितिले नवनिर्वाचित उम्मेदवारहरूलाई बधाइ तथा शुभकामना दिँदै उम्मेदवारी दिएका अधिकांश सिटमा गठबन्धनका उम्मेदवारले जितेकाले गठबन्धन सफल भएको निष्कर्ष निकालेको हो।

समितिले कर्णालीका १० जिल्लाको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा माओवादीले प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ९, कांग्रेसले प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ९, नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाका ३ क्षेत्रमा जित हासिल गरेकाले नतिजा गठबन्धनको पक्षमा रहेको निष्कर्ष निकालेको हो।  

गठबन्धनले कर्णाली प्रदेशको प्रतिनिधिसभातर्फको कूल १२ निर्वाचन क्षेत्रमध्ये ११ र प्रदेशसभातर्फको कूल २४ निर्वाचन क्षेत्रमध्ये १८ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ।

यस्तै, दैलेख २ (ख), सुर्खेत २ (क), डोल्पा १ (क) र मुगु १ (क) मा गठबन्धन दलभित्रको आन्तरिक किचलोका कारण पराजित हुनुपरेको माओवादीको निष्कर्ष छ। 

माओवादीले जुम्लामा भने गठबन्धन पूर्णतः असफल भएको जनाएको छ। विजय र पराजयको समीक्षा गरिनेसमेत माओवादीको भनाइ छ।