परम्परागत बाजा धिमेलाई ‘रणवाद्य’ पनि भनिन्छ। रणको अर्थ युद्ध र वाद्य भनेको बाजा हो। यसको ध्वनीले ठूलो भीड आइरहेको संकेत दिने हुँदा कुनै समय युद्धमा प्रतिपक्षी तर्साउन पनि धिमेको प्रयोग हुन्थ्यो।
काठमाडौँ– भक्तपुरबाट करिब चार किलोमिटर पूर्वतर्फ रहेको जितपुरमा पाँच वर्षअघि आफ्नै खट र देवतासहितको जात्रा निकाल्ने निर्णय भयो। जात्राको लागि धिमेबाजा बजाउने टोली अनिवार्य हुन्छ। गाउँमा धिमे बजाउन युवालाई प्रशिक्षण दिइयो र जात्रा निकालियो।
दुई वर्षअघि जितपुरकी विन्दा मुसिंख्वाल (२०)ले पनि धिमे बजाउन सिकिन्। दाजुदिदीहरूले धिमे सिकेर जात्रामा बजाएको देख्दा आफूलाई पनि रहर जागेको उनी बताउँछिन्।
बाजा बजाउन सीप र कला दुवै चाहिने विन्दाको भनाइ छ। बजाउन सिकेपछि आत्मविश्वास बढेको र जात्रामा बजाउन पाउँदा गर्व लाग्ने उनी बताउँछिन्।
नेपाल मण्डलमा मनाइने जात्रा र धिमेबाजा एकअर्काका परिपूरक हुन्। धिमेबिना जात्रा अपूरो हुन्छ। नेपाली नयाँ वर्षसँगै भक्तपुर, मध्यपुर ठिमी, ललितपुरको सिद्धिपुरलगायत नेवार बस्तीमा बिस्काः जात्राको रौनक बढ्छ। धिमेले जात्राको रौनक थप्छ।

जितपुर संस्कृति विकास समाजका अध्यक्ष प्रेमकुमार श्रेष्ठ बाजाबिना जात्राको माहोल र रौनक नहुने बताउँछन्। सोही कारण पनि समितिले स्थापनाकालमै बाजाका लागि इच्छुक स्थानीयलाई प्रशिक्षकको व्यवस्था गरेको उनको भनाइ छ। “बाजाले जात्रामा रौनक त थप्छ नै, खट तथा रथ बोक्नेहरूलाई उर्जासमेत दिन्छ,” उनले भने, “बाजाकै कारण अहिले गाउँबासी जात्रामा हाकुपटासीलगायत मौलिक पहिरनमा सजिएका हुन्छन्।”
जात्राले युवापुस्तालाई आफ्नो संस्कृतिप्रति अझ लगाव गराउने श्रेष्ठ बताउँछन्। आफ्नै गाउँमा मनाउनुअघि जितपुरबासी जात्रामा रम्न भक्तपुरको कोर बस्ती पुग्ने गर्थे।
भक्तपुरमा जात्रा साम्य हुँदै जाँदा काठमाडौँमा जनबहाः द्यः (सेतो मत्स्येन्द्रनाथ)को जात्रा चलिरहेको छ। बुँग द्यः (रातो मत्स्येन्द्रनाथ)को जात्रा वैशाख अन्तिमबाट शुरू हुन्छ। यसले काठमाडौँ उपत्यकामा धिमेको रौनक अझै केही समय गुन्जयमान बनाउने छ।
धिमेबाजा प्रशिक्षक कृष्णभक्त प्रजापतिका अनुसार विशेषतः जात्रा र पर्वमा यो बाजा बजाइन्छ। यसले सामाजिक कार्यमा हर्ष र उल्लासको संकेत गर्छ।
धिमेबाजाको प्रचलन महादेव र भगवतीको किंवदन्तीमा जोडिन्छ। कुनै समय महादेव र भगवतीबीच मतभेद भयो। मतभेदसँगै सन्तानलाई कसले राख्ने विवाद भयो। विवाद लुछाचुडीमा बदलियो। सोही क्रममा एक जनासँग कंकाल (हड्डीमात्र भएको शरीर) र अर्कोसँग ख्याक (मासु मात्र भएको शरीर) भए।
कालान्तरमा कंकाल र ख्याक नकारात्मक शक्तिको रूपमा विकसित भए। यसले महादेवलाई दुखित तुल्यायो। उनी पृथ्वीको जंगलमा आएर लठ्ठीले ढ्याङग्रो जस्तो बाजा बजाए। जुन पछि गएर धिमेको रूपमा परिणत भयो।
नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका लागि नरेश प्रजापतिले तयार पारेको ‘नेवारी समाजमा प्रचलित धिमे बाजा समूह (खलः)’ नामक शोधपत्रमा धिमे शब्दमा ‘धि’ भनेको नेपाल भाषामा काठको धिक्का, डल्लो र ‘मे’ भनेको छाला अर्थात् मन नपर्ने छाला भनिएको छ। शोधपत्रका अनुसार प्राचीनकालमा मानिसहरू जनावरको मासु खाने तर छाला मन नपराउने भएकाले त्यसलाई फालिन्थ्यो। यसरी फाल्दा काठको धिक्का अर्थात् भित्र खोक्रो परेको काठको ढिक्कामा राखी त्यसमाथि केही कुरा फाल्दा या त्यो सुकिसकेपछि हान्दा आवाज निस्कियो। यसरी यसबाट आवाज निस्कँदा यसको प्रयोग बिस्तारै जनावर धपाउनमा पनि हुन थालेको शोधपत्रमा उल्लेख छ।
किन लोकप्रिय भयो धिमे?
धिमे नेवार समुदायमा सर्वाधिक प्रचलित बाजा हो। नेवार समुदायको अधिकांश बाजामध्ये धिमे सिक्न सहज भएको कारण पनि लोकप्रिय भएको मौलिक बाजा अनुसन्धानकर्ता पुष्पा पलाञ्चोके बताउँछिन्। कुनै समय आफै पनि उक्त बाजा सिक्दा अन्य बाजाको तुलनामा नीतिनियम तथा विधि कम भएको उनको अनुभव छ।
“नेवाः समुदायमा धिमे बाजा उत्सवको बाजा हो। जात्रा, पर्व मात्र नभई व्रतबन्ध जस्ता सामाजिक कार्यमा पनि बजाइन्छ,” उनी भन्छिन्, “धिमे मनोरञ्जनको लागि पनि प्रयोग हुने गरेको छ।”
नेवार समुदायमा रहेको कथित जात व्यवस्थाअनुसार बाजाको पनि वर्गीकरण गरिएको पाइन्छ। धिमेबाजा ज्यापू समुदायको बाजा हो। तर यो बाजा प्रायः सबै समुदायले बजाएको पाइन्छ। धिमेलाई पलाञ्चोके समावेशी बाजाको रूपमा चित्रण गर्छिन्। यसले पनि बाजालाई लोकप्रिय बनाउन मद्दत गरेको उनको भनाइ छ।
संगीत अनसुन्धानकर्ता जुगल डंगोल भने कथित जातका आधारमा निर्धारण बाजाको सीमा हराउँदै गएको बताउँछन्। धिमेमा पनि त्यस्तो कुनै सीमा नभएको र नेवार समुदायमा जोसुकैले पनि बजाउन थालेको उनको भनाइ छ।

धिमेको ताल संरचनाको कारण पनि यो बाजा अन्यको तुलनामा भिन्न भएको डंगोल बताउँछन्। उक्त बाजाबाट निस्कने आवाज र त्यसको घनत्वले हरकोही स्रोताको मस्तिष्कमा झंकार गर्ने र उत्तेजना पैदा गर्ने उनको भनाइ छ।
“धिमे बाजाका धेरै तालमध्ये चो बोलको ताललाई २–४ लयमा बजाउने गरिन्छ। यो यस्तो लय हो जुन हरेक बाजामा अभ्यास÷अनुकरण गर्दा मानिसको मस्तिष्कमा उर्जा र उत्तेजना पैदा गर्छ,” उनले भने, “धिमेसँगै बज्ने भुस्या (काशबाट बनेका दुई ठूला बाजा) को समिश्रणबाट पनि सुन्दर ध्वनी पैदा गर्छ।”
रथ तान्ने बेला धिमे बजाइनुको अर्को कारण ‘चो’ तालले सांगीतिक अर्थमा ‘होस्टे हैसेँ’ बुझाउँछ। यसले रथ बोक्ने मानिसलाई तागत र उर्जा दिने डंगोल बताउँछन्। “लिम्बूमा च्याब्रुङ तथा भारतमा ढोलको रूपमा बजाइने धिमे बाजा नेवारहरूले पृथक शैलीमा बजाउँछन्,” उनले भने, “चो ताल अन्य तालको तुलनामा सजिलो र क्याची छ।”
परम्परागत बाजामा पर्ने धिमेलाई ‘रणवाद्य’ पनि भनिने उनले बताए। ‘रण’ भन्नाले युद्ध र ‘वाद्य’ले बाजाको अर्थ दिन्छ। पहिले यो बाजा युद्धको समयमा समेत बजाइने गरेको उनी बताउँछन्।
“धिमे समूहमा बजाइने बाजा हो, यसको ध्वनी ठूलो हुन्छ,” डंगोल भन्छन्, “बाजाको ध्वनीले ठूलो भीड आइरहेको संकेत दिँदा युद्धमा प्रतिपक्षीलाई तर्साउन अथवा मानिसको ठूलो जमातको प्रतीत गराउन धिमेको प्रयोग भएको देखिन्छ।”
धिमे बजाउने पहिलो महिला
धिमेबाजाकै कारण इन्दिरा लाछिमस्यु चर्चामा छिन्। उनलाई ‘धिमे मैँचा’ उपनाम दिइएको छ। २०५१ सालमा धिमे बजाउन सिकेकी उनी यो बाजा बजाउने पहिलो महिला हुन्।

अहिले उनीमाथि फिल्म बन्न लागेको छ। आफूमाथि बन्ने फिल्ममा उनी पनि देखिएकी छन्। त्यसैका लागि ३० वर्षपछि बिस्काः जात्रामा फेरि धिमे बजाइन्। तत्कालीन समयमा आफूले बाजा सिक्दा परिवारको हौसला भएको तर समाजमा कतिपयले कुरा काटेको उनी बताउँछिन्। उनी भन्छिन्, “निकै संघर्ष गर्नु परेको थियो। अहिले महिलाहरूले बजाएको देख्दा खुशी र गर्व लाग्छ। धिमे मात्र नभई अन्य बाजा बजाउनेमा केटीहरूको संख्या धेरै देख्न थालेको छु।”
पुष्पा पलाञ्चोके पनि बाजा बजाउने महिलाको संख्या बढ्दै गएको बताउँछिन्। बाजा सिक्नको लागि विधिविधान हुन्छन्। महिलालाई महिनावारीलगायत प्राकृतिक प्रक्रियाले रोकतोक लगाउने विधानप्रति प्रश्न आउँथे। तर अहिले खुलस्त रूपमा बजाउन थालिएको उनी बताउँछिन्। त्यस कारण पनि धिमेबाजा लोकप्रिय भइरहेको उनको ठम्याइ छ।
इन्दिरा अहिले बाजा प्रशिक्षक हुन्। पेसाले भने उनी शिक्षिका हुन। यो बाजाको प्रशिक्षणमा शैक्षिक संस्थाहरूले पनि सहयोग गरे अझ राम्रो हुने उनको भनाइ छ। “बाजाले संस्कृति संरक्षण गर्छ। टोलटोलमा नयाँ पुस्ताले बाजा सिकिरहेका छन्, यो राम्रो कुरा हो,” उनी भन्छिन्, “तर यस्तो सिकाइ कालान्तरमा आर्जनको स्रोत हुनसके मात्र बाजाको अस्तित्व दिगो हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
