‘मेरो अनुभव र ज्ञानले गर्दा उनीहरूले मलाई एनालग एस्ट्रोनटमा छनोट गरे होलान्। त्यहाँ कमाण्डरको भूमिका पनि दिए। मसँग चारजना ‘क्रु मेम्बर’ थिए। तालिमपछि अन्तरिक्षयात्रीबारे धेरै कुरा थाहा भयो।’
दैनिक दुई हजारभन्दा बढी नेपालीले देश छाड्ने गरेका छन्। विश्वभरि छरिए पनि नेपालीको वैदेशिक गन्तव्य मूलतः खाडी मुलुक, अस्ट्रेलिया, अमेरिका र युरोपेली देश हुन्। विदेश जाने विभिन्न बाध्यता र कारण छन्, जस्तो– रोजगारी, व्यापार/व्यवसाय, शिक्षा, तालिम, विवाह आदि। यसरी जानेहरू कतिपय फर्किन्छन्, कतिपय उतैको नागरिक बनिसकेका छन्। उकालोले नियमित रूपमा उनीहरूबारे लेखिरहेको छ। यो दायरा थप फराकिलो बनाउन विभिन्न देश पुगेका नेपालीको कथा शृंखलाबद्ध रूपमा प्रकाशित गरिरहेका छौँ।
सन् २०१७ मा अमेरिका पुगेकी ज्योति केसीले केही समयअघि पोल्यान्ड पुगेर ‘एनालग एस्ट्रोनट’को तालिम लिइन्। अहिले उनी अमेरिकी एयरफोर्समा कार्यरत छिन्। एयरफोर्सको कामबाहेक एयरस्पेस इन्जिनियरिङ पनि अध्ययन गरिरहेकी छन्। अन्तरिक्षयात्री बन्ने उनको सपना छ। आगामी १० देखि २० वर्षमा अन्तरिक्षयात्री बन्ने लक्ष्य राखेकी छन्। अमेरिकामा करियर बनाउँदै गरेकी ज्योतिसँग उनका भोगाइ, योजना, नेपालसँगको सम्बन्धलगायत विषयमा उकालोका लागि किरण दहालले गरेको कुराकानीः
केही समयअघि पोल्याण्ड पुगेर तपाईंले एनालग एस्ट्रोनटको तालिम लिनुभयो। यो कस्तो तालिम हो र किन लिनुभयो?
यो दुई हप्ताको तालिम थियो। वास्तविक अन्तरिक्ष यात्रीले मिसनलाई केन्द्रमा राखेर २/३ वर्ष वा सोभन्दा बढी समय तालिम गर्छन्। एनालग एस्ट्रोनटलाई वास्तविक अन्तरिक्ष यात्रीले पाउनेजस्तै तालिम दिइन्छ। त्यहाँ हरेक दिन, हरेक कुरा रूटिनमा गर्नुपर्छ, ठ्याक्कै अन्तरिक्ष यात्रीले जस्तो। सहभागी आफूले कति क्यालोरी खाएँ भनेर समेत हिसाबकिताब राख्नुपर्छ।
विगतका मेरा अनुभवले पनि यो तालिममा सहभागी हुने मौका पाएँ। मेडिकलमा तीन वर्षको अनुभव थियो। एयरफोर्समा जागिर थियो। एयरस्पेस इन्जिनियरिङ पढिरहेको छु। केही घण्टा ‘फ्लाइङ’ गरेको अनुभव छ। मसँग भएको अनुभव र ज्ञानले गर्दा उनीहरूले मलाई एनालग एस्ट्रोनटमा छनोट गरे होलान्। त्यहाँ कमाण्डरको भूमिका पनि दिए। मसँग चारजना ‘क्रु मेम्बर’ थिए। तालिमपछि अन्तरिक्ष यात्रीबारे धेरै कुरा थाहा भयो। बाहिरबाट हेर्दा त क्या दाम्मी देखिन्छ तर अन्तरिक्षयात्री हुन सजिलो रहेनछ। युट्युबमा पाँच मिनेटको भिडियो हेरेर ‘वाउ’ भन्नु र त्यही परिवेशमा बाँच्नु नितान्त फरक हुनेरहेछ।

तपाईं दाङमा जन्मिनुभयो, हुर्किनुभयो। अहिले अमेरिकी एयरफोर्समा हुनुहुन्छ। यो यात्रा कसरी सम्भव भयो?
मैले एसएललीसम्म दाङमै पढेँ। त्यसपछि प्लस टु गर्न बुटवल आएँ। त्यहाँको पढाइ सकाएर काठमाडौँमा ब्याचलर्समा ‘इन्टेरियर डिजाइन/आर्किटेक्ट’ पढ्दै थिएँ। त्यही बेला डिभी भरेँ। डीभी परेपछि सन् २०१७ मा अमेरिका आएँ। यहाँ आएपछि एयरफोर्समा लाग्ने निर्णय गरेँ, जुन कुरा मैले बुवाआमालाई पनि भनिनँ। मेरो बुवाआमा पहिल्यैदेखि छोराछोरी विदेश गएको वा विदेशी सेना/पुलिसमा भर्ना भएको मन पराउनुहुन्न थियो। मेरो भाइले ब्रिटिस लाहुरे बन्ने बताउँदा उहाँहरूले पटक्कै मान्नुभएको थिएन। मेरो निर्णय पनि उहाँहरूलाई मन पर्दैन भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो। तर आफ्नो रहरमा म अडिग रहेँ।
आफू एयरफोर्समा लागेको जानकारी परिवारलाई कहिले दिनुभयो त?
एयरफोर्समा लागिसकेपछि परिवारलाई चित्त बुझाउने जिम्मेवारी मैले मेरो दिदीलाई दिएँ। दुई महिनाको तालिम भयो, मोबाइल चलाउन पाईँदैन थियो। इन्टरनेटको दुनियाँबाट टाढा भइयो। कसैसँग सम्पर्क/सम्बन्ध भएन। परिवारमा मेरो खोजी भएछ। त्यसपछि दिदीले सबैकुरा भनिदिनुभएछ। तर मैलेचाहीँ यो विषयमा उहाँहरूसँग कहिल्यै कुरा गरिनँ। परिवारले के प्रतिक्रिया दिए भनेर मैले दिदीलाई अहिलेसम्म पनि सोधेको छैन। त्यो दुई महिनामा केके भयो– न आमाबुवालाई सोधेको छु, न दिदीलाई। शायद रिसाउनुभयो होला। चिन्ता गर्नुभयो होला।
एयरफोर्समा जागिर खानेबारे कसरी सोच्नुभयो? कोही सम्पर्क व्यक्ति थिए?
अमेरिका आएपछि सानो ‘नर्सिङ होम’मा काम गरेँ। त्यही सिलसिलामा एक रिटायर्ड आर्मीसँग भेट भयो। गफगाफ हुँदा उहाँसँग मेरो सपनाबारे कुरा गरेँ। मैले उहाँलाई भनेँ– आइ वान्ट टु फ्लाइ! उसको छोरा पनि एयरफोर्सको पाइलट अध्ययन गरिरहेको रहेछ। मैले पनि एयरफोर्सबारे अनुसन्धान गर्न थालेँ। एयरफोर्सका १० वटा अत्यावश्यक योग्यतामध्ये मसँग २ वटा मात्र रहेछ। त्यसपछि आफूलाई योग्य बनाउन थप मिहिनेत गरेँ। म सक्दिनँ कि भन्ने सोच नै आएन, यो सोच मलाई अरू बेला पनि आउँदैन।
अन्ततः म एयरफोर्समा लागेँ। त्यहाँभित्र एयरस्पेस मेडिसिनमा काम गर्नपुर्ने भयो। यो भनेको एयरक्राफ्टभित्र घाइतेहरूलाई चेकअप गर्ने अभ्यास हो। त्यसका लागि मलाई आठ महिनाको तालिम दिइयो। एयरफोर्समा एकदमै धेरै अनुशासनमा बस्नुपर्ने रहेछ। हाम्रो तालिममा ५० जना केटी थिए। धेरै अमेरिकाकै, चार जना मात्र अरू देशका थिए।

तर तपाईंले डाक्टरी पढेको हैन, औषधोपचारमा अप्ठ्यारो परेन?
अनुशासन एकदम महत्त्वपूर्ण कुरा रहेछ। उनीहरूले यसरी तालिम दिने रहेछन् कि पाइलट नपढेको मान्छेलाई पनि राम्रो पाइलट बनाइदिन सक्छन्। म मेडिकल क्षेत्रबाट आएको हैन तर यहाँ हरेक औषधिबारे अध्ययन गरिरहेको छु। मैले आठ महिनामा धेरै पेलिएर अध्ययन गर्नुपर्यो। खासमा दुई वर्षको पाठ्यक्रम आठ महिनामा भ्याउने गरी बनाइएको थियो। मेरा लागि त्यो पनि एकदमै चुनौतीपूर्ण थियो। तालिममा बसेपछि बाहिरको दुनियाँबारे थाहै नहुने रहेछ। मोबाइल हेर्ने समेत समय नहुने। ट्रेनिङ सेन्टरमा मेडिकल नपढेको मान्छे म मात्र थिएँ। अहिले पनि म काम गर्ने एयरफोर्समा मेडिकल पृष्ठभूमि नभएको म मात्र हुँ।
अरू नेपाली एयरफोर्ससँग तपाईंको भेट हुन्छ?
केही नेपाली एयरफोर्समा छन् भन्ने सुनेको छु, तर मैले भेटेको छैन।
एयरफोर्स हुँदै अन्तरिक्षयात्री बन्ने तपाईंको योजना हो?
मेरो जिन्दगीको रहर चाहिँ अन्तरिक्षयात्री बन्ने हो। केही दिन, केही महिना वा केही वर्षमा भइहाल्छु भन्ने छैन तर जतिसुकै समय लागे पनि मेरो लक्ष्य त्यही हो। यो यात्रा हो, यात्रामा धेरै समय पनि लाग्न सक्छ। मैले जति पनि पढेको वा सुनेको छु, धेरै अन्तरिक्षयात्री मिलिटरी पृष्ठभूमिबाट आएका छन्। मैले एयरफोर्सतिर लाग्नुको कारण पनि त्यही हो। एयरफोर्स बन्न धेरै योग्यता चाहिन्छ, मिलिटरी पृष्ठभूमिले एकपाइला अघि बढाउँछ।
तपाईंले एयरफोर्समा के गर्नुहुन्छ? कस्तो दैनिकी हुन्छ?
यहाँका आफ्नै नियम/कानून हुन्छन्। मेरो काम बिहान ७ बजेदेखि शुरू हुन्छ। दैनिकी सार्वजानिक रूपमा भन्न मिल्दैन। एयरस्पेसको मेडिकल क्षेत्रमा काम गर्ने भएकाले औषधोपचार नै गर्ने हो। कोही मान्छे बिरामी भयो भने क्लिनिकमा जाँदा डाक्टर वा नर्सले उपचार गर्छ नि, त्यस्तै हो। त्यहाँभित्र अरू थुप्रै तालिम हुन्छन्, दैनिक अभ्यास हुन्छन्।
कामबाहेक अध्ययन पनि चलिरहेको छ?
हो। एयरफोर्सको कामबाहेक अहिले एयरस्पेस इन्जिनियरिङको अध्ययन पनि चलिरहेको छ।
तपाईंलाई एयरफोर्सले संकट वा युद्ध क्षेत्रमा खटाउने सम्भावना कत्तिको छ?
त्यो देखिरहेको छु। किनभने मेडिकलको काम ‘डिमान्डिङ’ छ। कोभिड–१९ को संकटमा म टेक्सासमा खटिएको थिएँ। नेपालले कोभिडबाट ठूलो संकट बेहोरिरहँदा म अमेरिकामा सेवा गरिरहेको थिएँ। त्यति बेला कतिपटक निराश पनि भएँ– उता आफ्नो देशमा संकट पर्दा मचाहिँ यता छु। गाउँघरमा मेडिकल कुराहरू थाहा नहुँदा धेरैले ज्यान गुमाए। जनचेतना कत्ति धेरै महत्त्वपूर्ण हुन्छ भन्ने मैले त्यही बेला थाहा पाएको हुँ।

अलिकति तपाईंको व्यक्तिगत कुरा पनि गरौँ। नयाँ ठाउँ, नयाँ मानिस, सबैकुरा नयाँ। अमेरिका पुगेपछि कत्तिको संकट भयो?
त्यस्तो संकट हुन्छ। साथीहरू हुँदैनन्। तपाईंका छेउछाउमा बसिदिने आफन्त पनि हुँदैनन्। हरेक संकट एक्लैले सामना गर्नुपर्छ। कसैले मलाई बाटो देखाइदेओस् भन्ने आशा सबैमा हुन्छ। तर सबैजना व्यस्त छन्, आ–आफ्नै समस्यामा जेलिएका छन्। यहाँको संस्कृति बेग्लै छ। कोहीसँग समय छैन। कसैसँग सल्लाह/सुझाव लिन वा दिन धेरै सोचेर समय निकाल्नुपर्छ। मैले नेपालबाट जाँदै गर्दा नै सोच बनाएको थिएँ– म जस्तो अवस्थामा जोसँग पनि काम गर्छु। एयरफोर्समा गएपछि मैले चाहे पनि नचाहे पनि सबै मान्छेसँग घुलमिल भएर काम गर्नै पर्यो।
पहिचानको संकट त हुन्छ होला नि?
यहाँ आएका धेरै नेपालीमा मैले त्यो देखेको छु। अमेरिकामै जन्मेहुर्केका नेपाली पनि आफू अमेरिकन हुँ कि नेपाली भन्नेमा रनभुल्ल छन्। पूर्णरूपमा नेपाली पनि हुन नसक्ने, अमेरिकन बन्न पनि नसक्ने स्थिति छ। संस्कृति मिलेन। बुवाआमा नेपाली समाज/संस्कृतिमा हुर्किए, छोराछोरी अमेरिकन। दुई समाज र संस्कृति बिलकुल फरक छ। घरमा बुवाआमाले नेपाली संस्कृति अनुसार हुर्काउँछन् तर बाहिर गयो अमेरिकी संसार अर्कै छ। यो दोधार धेरैमा छ।
कहिलेकाहीँ साथीभाइसँग भेटघाट गर्न वा बाहिर रमाइलो गर्न एयरफोर्सको कामबाट समय निकाल्न मिल्छ?
मान्छेको चाहाना फरक–फरक हुन्छन्। मेरो सम्पूर्ण समय नयाँ कुरा कसरी सिक्ने भन्नेमा छ। स्किलफूल कसरी बन्ने भन्नेमै मेरो सोच प्रायः घुमिरहेको हुन्छ। बरू, म भोल्युन्टियरमा गइरहेको हुन्छु। एयरफोर्समा लाग्नुभन्दा पहिला नेपालीसँग अलि बढी भेट हुन्थ्यो, विशेषगरी बर्थडे, दशैँ लगायत कार्यक्रममा। अहिले खास भेट हुन्न।
हुन त जोन ग्लेन ७७ वर्षको उमेरमा स्पेसमा पुगेका हुन् तर तरपाईंलाई चाहिँ कुन उमेरमा त्यो सफलता हात पारौँला भन्ने अनुमान छ?
अहिले त सरकारी मात्र होइन ‘कमर्सियल’ पनि छ। नयाँ स्पेस कम्पनी आउँदैछन्। आगामी १० देखि २० वर्षमा अन्तरिक्षयात्री बनौँला कि! स्पेस उद्योग पनि एयरलाइन्स उद्योगजस्तो नहोला भन्ने के छ र! यो विश्व त्यही दौरानमा छ। स्पेसमा जानै नसकिने भन्ने हुँदैन होला।
कुनै समयमा अन्तरिक्षयात्री बन्नु होला। स्पेस पुगेर पृथ्वीतिर हेर्दा तपाईंको आँखाले सबैभन्दा पहिला के खोज्लान्? अमेरिका खोज्लान्, नेपाल खोज्लान्, वा अरू केही?
म जाँदा मेरो हातमा नेपालको झण्डा अवश्य हुनेछ। किनभने नेपालीले पनि गर्न सक्छन् भनेर देखाउनुछ। स्पेसबाट सबैभन्दा पहिला त पृथ्वीलाई हेर्नेछु। त्यसपछि सकेसम्म नेपाललाई नियाल्नेछु।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
