मनास्लु हिमपहिरोमा परी एक जनाको मृत्यु, मौसम खराबीले फर्किए हलिकोप्टर

मनास्लु हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ। घटनास्थल क्षेत्रमा निरन्तर रूपमा लागिरहेको कुहिरोले उद्दार प्रभावित भएको छ।

फाइल तस्वीर

काठमाडौँ- गोरखाको चुमनुब्री गाउँपालिका-१ मा पर्ने मनास्लु हिमालमा गएको हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ। 



मृत्यु हुनेमा आरोहण सहयोगी अनुप राई रहेको चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्। हिमपहिरो गएको क्षेत्रमा कति जना थिए र अवस्था के छ भन्ने विस्तृत विवरण नआइसकेको उनले बताइन्।



जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेका अनुसार ४ नम्बर शिविरबाट ३ नम्बर शिविरतिर हिमपहिरो खसेको छ। ३ नम्बर शिविरमा १० देखि १५ जना आरोही हुनसक्ने अनुमान रहेको उनले बताए। घटना ६ हजार ५०० मिटरभन्दा माथि भएकाले उद्दार तथा राहतमा कठिनाइ भएको उनको भनाइ छ।



त्यहाँ रहेका आरोहीकाे उद्दारका लागि गएका हेलिकोप्टरहरू बस्न नसकी फर्किएका छन्। निरन्तर कुहिरो लागेका कारण हेलिकोप्टर बस्न नसकेका हुन्। उच्च हिमाली क्षेत्रमा कुहरो लागेकाले उद्दारमा अझै समय लाग्नसक्ने डिएसपी लामिछानेले जानकारी दिए।



अहिले पुनः सिम्रिक एअरको हेलिकोप्टर त्यसतर्फ उडेको छ।