तरिबाबु देशार (९२) बाहेक चापागाउँमा वादे बुकि धाँ बजाउने कोही थिएन। नयाँ पुस्ताले यो बाजा बजाउन नजान्ला भन्ने चिन्ता थियो उनलाई। त्यो चिन्ता हर्षमा बदलिएको दुई महिनामै उनले संसार छाडेका छन्।
काठमाडौँ– “बाजा सिकाएका १८ जनामा १० जना विदेश गए भने पनि बाँकी आठ जनाले त यो बाजा (वादे बुकि धाँ)लाई बचाएर राख्छन् होला। अब ८–१० वर्षलाई बाजा हराउने चिन्ता छैन। ढुक्क भइयो।”
स्वर्गीय बाबु तरिबाबु देशारले पत्रिकामा आफ्नो नामसहितको समाचार पढ्दै गर्दा गत माघ १० गते बोलेको यो वाक्य छोरा ज्ञानबहादुर देशारको कानमा बेलाबखत गुन्जिरहन्छ।
पत्रिकामा छापिएको खबर तरिबाबुको नेतृत्वमा चापागाउँको मौलिक बाजा वादे बुकि धाँ नयाँ पुस्तालाई हस्तान्तरण गरिएको सम्बन्धमा थियो। पत्रिकामा आफ्नो नाम र कामको चर्चाले ९२ वर्षीय तरिबाबु दंग थिए।
चापागाउँको चिनारी रहेको वादे बुकि धाँ (न्येकु) बाजा बजाउने सीप र कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने देशारको दशकौँदेखिको इच्छाले पूर्णता पाउँदा उनी अझ प्रफुल्लित र पुलकित थिए।
वैदेशिक शिक्षा र रोगजारीको सिलसिलामा विदेश पलायन भइरहेका पुस्ताबाट मात्र नभई स्थानीय स्तरमा युवा पुस्तामाझ परम्परागत बाजागाजा, लोकसंस्कृति पनि लोप हुन थालेको अवस्थाबाट अनभिज्ञ थिएनन्, तरिबाबु।
आफ्नो समकालीन साथीभाइबाहेक नयाँ पुस्ताले वादे बुकि धाँ बाजा घन्काएको आफ्नो आँखाले देख्न नपाउँदा उनी निराश थिए। जीवनको अन्तिम इच्छा नै उक्त बाजाको पुस्तान्तरण गर्नु थियो। त्यो इच्छा पूर्ण गर्दै गत फागुन २७ गते उनको भौतिक शरीरले संसार छाड्यो।
तरिबाबु देशार र बुकि बाजा
१९९९ साल कात्तिक २० गते जन्मिएका तरिबाबु सात वर्षको उमेरमै वादे बुकि धाँसँग परिचित भएका थिए। चापागाउँमा हुने जात्रापर्वमा उनी र उनका समकालीन साथीभाइबाटै उक्त बाजा बजिरहे।
बढ्दो उमेरसँगै देशार हिँडडुल र छिटोछरितो हुन छाडिसकेका थिए। सोही कारण उनी उक्त बाजा नयाँ पुस्तामाझ हस्तान्तरण होस् भन्ने चाहन्थे। ९२ वर्ष पुग्दा उनको गुनासो भने आफूपछिका पुस्ताले उक्त बाजा बजाउन चासो नदेखाएकोमा थियो। यसले उनलाई चापागाउँबाट बुकि बाजा हराउने भयले पिरोल्यो।
जब गाउँका युवा बाजा जोगाउन तरिबाबुकहाँ पुगे
तरिबाबुको भय र निराशा गत असोज १ गते ऊर्जामा बदलियो। त्यस दिन १८ स्थानीय युवाले चापागाउँस्थित उनको निवासमा पुगेर बाजा प्रशिक्षणको लागि अनुरोध गरेका थिए।
बाजामा रुचि भएका ती सबै युवाको अनुरोध असोज ६ गतेबाट प्रशिक्षणमा परिणत भयो। वादे बुकि धाँ (न्येंकु) बाजा खलः का कजी (अध्यक्ष) भने तरिबाबुका छोरा ज्ञानबहादुर देशार भए।
बाजा सिक्ने स्थान पनि उनीहरूको घरलाई नै बनाइयो। नेवार समुदायमा बाजा, नाच सिक्नको लागि पहिले नाट्यश्वरको पूजा गर्नुपर्ने चलन छ। प्रशिक्षार्थीले सानो प्यालाजस्तो माटोको भाँडामा अक्षता, पैसाको सिक्का र सुपारी राखी प्रशिक्षण सफलतापूर्वक सम्पन्न होस् भनी प्रार्थना र वाचासहित नाट्यश्वर देवतालाई शुरूमा पूज्छन्। यसलाई नेवार समुदायमा ‘किस्ली’ भनिन्छ।
“नाट्यश्वरलाई साँझमा पूजिन्छ, उनलाई घरमा प्रतिस्थापनमा गरेर हामीले बाजा प्रशिक्षण शुरू गरेका थियौँ,” कजी ज्ञानबहादुर भन्छन्, “बुबा प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो। उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर पनि हाम्रै घरलाई प्रशिक्षणस्थल बनाएका थियौँ।”
१८ जनाको समूहमा १४ देखि ४० वर्षसम्मका युवा थिए। प्रशिक्षणको पहिलो चरणमा बाजाको बोल महत्वपूर्ण थियो। पहिलो एक महिना बाजाको बोल सिक्न लाग्यो।
“हाते बाजा बजाउनुअघि मौखिकरूपमा धुन कण्ठस्त गर्नुपर्ने थियो,” प्रशिक्षार्थीमध्येका एक राजेन्द्र देशार भन्छन्, “पहिलो एक महिनामा पाँच वटा धुन सकिन्छ भन्ने लाग्यो, त्यो पनि मौखिकरूपमा। पहिलो दुई स्लोकमै हामी १५ दिन रुमलियौँ।”
मौखिक धुन सिक्न महिनादिन लाग्दा ६ महिनामा पनि बाजा पूरा सिकिने हो कि होइन भन्ने चिन्ता कजी ज्ञानबहादुरलाई थियो। त्यसमाथि रक्तचाप र मुटुका दीर्घ बिरामी बुवाको स्वास्थ्यको पनि हेक्का राख्नुपर्ने हुन्थ्यो।
गत पुसमा उकालोसँग भेटेका तरिबाबु देशारले बाजाको बोल जान्नु बाजाको बोलमा हात बस्नुभन्दा पनि महत्वपूर्ण पक्ष भएको बताएका थिए। उनले त्यसबेला भनेका थिए, “बाजाको बोल मुखले जानेपछि हात बस्छ। देवताका स्तुतीका लागि चाहिने पाँच वटा बोल आएपछि हातको अभ्यास शुरू हुन्छ।”
चापागाउँमा तरिबाबु देशार मात्र एक त्यस्ता व्यक्ति थिए, जसले बोलमार्फत बाजाको प्रशिक्षण दिन सक्थे। प्रशिक्षार्थी राजेन्द्र देशारका अनुसार अन्य प्रशिक्षकमा कसैलाई बजाउन मात्र आउने, कसैलाई बोली मात्र आउने हुँदा तरिबाबुको बोल, बाजा दुवैमा दक्षता थियो।
“बालाई बोल र बाजा दुवै मज्जाले आउँथ्यो। कोही बाजा हातले बजाउन आउने, तर बोल भने नआउने हुँदा प्रशिक्षण गर्ने जान्दैनथे,” कजी ज्ञानबहादुर थप्छन्।
बाजा प्रशिक्षण चार महिनामा सकियो। आउँदो चैत पूर्णिमामा हुने बज्रबाराही जात्रामा प्रशिक्षार्थी सहितको बाजा टोलीलाई बाहिर ल्याएर नगर परिक्रममा गराउने योजना थियो।
यद्यपि तरिबाबुकै सल्लाहमा जात्रापर्वको साइत नपर्खी बाजालाई औपचारिकरूपमा हस्तान्तरण गर्ने सल्लाह भयो। सोही अनुसार गत माघ ६ गते बाजासहित प्रशिक्षण सम्पन्न भएको घोषणा गरियो।
त्यस दिन तरिबाबुले विधिवत्रूपमा नयाँ पुस्तालाई ‘लह् ल्यागु’ अर्थात् बाजा हस्तान्तरण गरे। त्यसपछि बाजा निकालेर चापागाउँका विभिन्न मठमन्दिरमा परिक्रमा भयो। परिक्रमा सकाएर कजी देशारको घरमा भोज खाई विधिवत्रूपमा बाजा बाहिर ल्याउने काम पनि सम्पन्न भयो।
तरिबाबु देशारको दशकौँदेखिको सपनाअनुसार चापागाउँको जात्रामा नवयुवाको समूहले ‘वादे बुकि धाँ’ को ध्वनि गुन्जायको दिन थियो। पिता तरिबाबुको ५०–६० वर्षदेखिको चिन्ता त्यस दिन हर्षमा परिणत भएको ज्ञानबहादुर बताउँछन्।
असफलतापछिको सफलता
ज्ञानबहादुर देशारको लागि आफ्ना पिता हर्षित हुँदाको अनुभूति विशेष छ। त्यस्तो अनुभूति उनले दशकौँपछि गरेका थिए। कारण, पिता देशार आफैँले पनि २०६२ सालमा बाजा पुस्तान्तरणको प्रयास गरेका थिए। त्यसबेलाको असफलताको साक्षी उनै ज्ञानबहादुर हुन्।
“त्यो बेला बाले आफ्नै पहलमा १० जनालाई प्रशिक्षण गराउनुभएको थियो। १० मध्ये चार जनाले मुस्किलले बजाउन सके,” ज्ञानबहादुर सम्झन्छन्, “त्यो देखेर बाले आफैँलाई असफल मान्नुभयो।”
तरिबाबुबाट ज्ञानबहादुरसम्मको पुस्तान्तरण सामाजिक र आर्थिकरूपमा पनि रूपान्तरणकारी रह्यो। आधुनिक विकासतर्फ समाज उन्मुख रहँदा मानिसले कला, संस्कृति, गुठी, पर्वभन्दा पनि जीवनको आधारभूत पाटोमा केन्द्रित हुनुपर्ने बाध्यताका बीच यस्ता जात्रापर्व छायाँ पर्न गएको अनुमान ज्ञानबहादुर लगाउँछन्। यसलाई उनी आफ्नै अनुभवबाट पनि मूल्यांकन गर्छन्।
नयाँ पुस्ताले बाजा सिक्न चासो नदेखाउँदा तरिबाबु भित्रभित्रै पिरोलिने गरेको छोरा देशारले बताए। “बाको गुनासो र इच्छा नै बाजालाई जसरी हुन्छ जोगाउनु थियो,” उनी भन्छन्, “उहाँले आफूसँग भएको ज्ञान, सीप र आस्था आफ्नै इच्छाअनुसार पुस्तान्तरण गरेर जानुभएको छ।”
बाजा प्रशिक्षणको बेलामा पुलकित देखिएको पिताको अनुहार उनलाई अझै पनि याद छ। बाजा सिकाउँदा बुवाको अनुहारमा आएको चमक विल्कुल भिन्न र तृप्त देखिएको ज्ञानबहादुर सम्झन्छन्।
“बाले आफूसँग भएको ज्ञानसीप पुस्तान्तरण गरिदिनुभयो। उहाँको जीवन सिद्ध भयो, उहाँ आफँै पनि त्यही भन्नुहुन्थ्यो,” उनी भन्छन्, “वादेमा बुकि बाजा गुन्जने भयो, बुबाको अभावबीच यो एक कारणले म स्वयं पनि खुशी छु।”
चापागाउँ र वादे बुकि धाँ बाजा
बुकि बाजा चापागाउँको चिनारी भएको अध्येता माहिला महर्जन बताउँछन्। उनी चापागाउँको छिमेकी प्याङगाउँका रैथाने हुन्। “चापागाउँको परम्परागत नाम वादे हो,” उनी भन्छन्, “सोही अनुसार वादे बुकि धाँ त्यहाँको महत्वपूर्ण बाजा हो।”
चापागाउँमा परम्परादेखि नै बाजा जात्रा पर्वबाहेकका सुखद् या दुखद् घटनामा पनि बजाएर सांकेतिकरूपमा जानकारी दिने अभ्यास रहेको महर्जनले बताए। उनका अनुसार चापागाउँमा बजाइने हरेक बाजाको शुरूआतमा सोही बाजाले नेतृत्व गर्छ। उक्त बाजा बजेसँगै जात्रा शुरू भएको मानिन्छ।
उक्त बाजामा धाँ (ढोलजस्तै आकारको बाजा), भुसाँ (झ्याली), ताँ (सानो हाते झ्याली) र न्येकुं (अर्नाको सिङबाट बनेको बाजा) समविष्ट हुन्छन्।
बुकि बाजाको विशेष प्रयोजन साउनको जनै पूर्णिमासँगै शुरू हुने गुँला पर्वमा हुने ज्ञानबहादुर बताउँछन्। नेपाल भाषामा ‘बुकि’को अर्थ ‘बुद्धको स्तोत्र पाठ’ र ‘धाँ’ को अर्थ बाजा भएको उनले बताए। सोही कारण साउनको एक महिना बुद्धको स्तोत्र पाठ गर्दै बजाइने बाजाको रूपमा पनि यो चिनिन्छ।
बाजाभित्र समाविष्ट न्येकुं बाजा अन्य जात्रामा नहुँदा पनि खासै फरक नपर्ने, तर गुँला पर्वका समयमा भने अनिवार्य चाहिने तरिबाबुले बताएका थिए। त्यसबाहेक, मरस्ती जात्रा, गाईजात्रा तथा रोपाइँजात्रामा पनि यो बाजाको उत्तिकै महत्व हुने ज्ञानबहादुर बताउँछन्। “रोपाइँ जात्रामा उक्त बाजाको धुन शुरू भएसँगै त्यसैको तालमा धान रोप्न थालिन्छ,” उनले भने।
पुस्तान्तरणका अब्बल उदाहरण तरिबाबु
पिता तरिबाबुले अन्तिम समयमा प्रकट गरेको अर्को चिन्ताबारे पितृवियोगमा रहेका ज्ञानबहादुरले कुराकानीको उत्तरार्द्ध बताए।
“बाजा शुरू गर्नुअघि स्तोत्र पाठ हुन्छ, जसको बारेमा बालाई स्पष्ट ज्ञान थिएन। उहाँ गाउँकै जान्ने अर्को मानिसबाट पाठ गराएर त्यो स्तोत्रलाई पनि अडियो रेकर्डमा अभिलेख राख्न चाहनुहुन्थ्यो,” उनले भने, “यद्यपि त्यस्ता स्तोत्र, पाठका लागि नीतिनियममा बस्नुपर्छ, जान्ने व्यक्तिको आचरण सफा नहुँदा उक्त स्तोत्र पाठ हराउने चिन्ता बालाई थियो।”
आफूसँग भएको ज्ञान सबै भाँतीले पूर्ण रहेकाले त्यसैमा चित्त बुझाउन र चिन्ता नलिन पितालाई आफूले सम्झाएको ज्ञानबहादुर बताउँछन्।
दशकौँदेखिको पिताको गुनासो अन्त्य गर्दै उनको अन्तिम इच्छासमेत पूर्ण भएको साक्षी हुन पाउँदा आफूलाई भाग्यमानी ठान्छन् ज्ञानबहादुर। ६३ वर्षको उमेरमा आइपुग्दासम्म उनले घरमूलीको रूपमा पिताको छत्रछाया पाएका थिए। अहिले उनको अभावका बीच पिताको अन्तिम इच्छा पूरा भएकोमा मनलाई शान्ति मिलेको उनले बताए।
उनी मात्र नभई चापागाउँबासीकै लागि तरिबाबुको अभिभावकत्व सँधैका लागि अतुलनीय क्षतिको रूपमा रहने बाजा प्रशिक्षार्थी राजेन्द्र देशार बताउँछन्। बाल्यकाल हुँदै वृद्धावस्थासम्म बाजा बजाउँदै आर्जन गरेको कला र सीप पुस्तान्तरण गर्न इच्छुक तरिबाबुको सपना साकार पार्न पाएकोमा उनी पनि खुशी छन्।
आफ्नो मृत्युको पल सोच्दा वा अन्य कसैको मृत्युबारे सुन्दा अन्तिम इच्छाबारे अनन्त प्रश्नहरू उब्जिने गर्छन्। तर तरिबाबुले भने आफ्नो अन्तिम इच्छालाई पूर्णता दिएर गएसँगै नयाँ पुस्तालाई पनि आफ्नो ज्ञान–सीप हस्तान्तरण गर्नुपर्ने सन्देश छाडेका चापागाउँवासी ठान्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
