‘जो गाईको रक्षक हुन्, उनीहरूलाई गोर्खा सेनामा पठाइएन। आदिवासीहरूलाई भर्ती गराउँदा धर्मको महलमा हिन्दू लेख्न लगाइन्थ्यो वा गल्लावालहरूले त्यही लेखिदिन्थे तर हिन्दू थिएनन्।’
बेलायतमा बसेर नेपाली साहित्य सिर्जनामा सक्रिय नाम हो– काङमाङ नरेश राई। राई २०४५ सालदेखि नै साहित्य लेखनमा लागेका हुन्। बृटिश गोर्खा सैनिकमा भर्ती भएर २०५६ सालमा बेलायत गएपछि पनि उनको साहित्ययात्रा रोकिएन। आनन्द रानोहँछासँग मिलेर संयुक्त रूपमा प्रकाशन गरेको कविता संग्रह ‘आँसुको दोभान’ उनको पहिलो पुस्तक हो। हालसम्म १० वटा पुस्तक प्रकाशन भइसकेका छन्, जसमध्ये कविता संग्रह चार वटा तथा कथा संग्रह, उपन्यास र गैरआख्यान एक–एक वटा छन्। उनको कविता संग्रह ‘तेप्लायु’ले २०७८ सालको विमल गुरुङ कृति पुरस्कार पाएको थियो। दशौँ पुस्तक ‘पानी पतिया’ आगामी वैशाख ९ गते सार्वजनिक हुँदैछ। बृटिश गोर्खा भर्तीको विषयमा लेखिएको पानी पतियामा केन्द्रीत रहेर राईसँग उकालोले गरेको कुराकानीः
बृटिश गोर्खा भर्तीबारे धेरै साहित्य लेखिएका छन्। इतिहास र आख्यान दुवै छन्। तपाईंले ‘पानी पतिया’ किन लेख्नु पर्यो?
गोर्खा सैनिकको इतिहासमा छुटेका पाटाहरूलाई समेट्नु पर्छ भन्ने महसुस भएर पानी पतिया पुस्तक लेखेको हुँ। गोर्खा सैनिक (आदिवासी)लाई हिन्दूकरण कसरी गरियो भन्ने विषय यसभित्र छ। बेलायतले गर्दै आएको असमान व्यवहारविरुद्ध उनीहरूले गर्दै आएको आन्दोलनको विषय पनि समेटिएको छ। नेपालमा उनीहरूले राजनीतिक, शैक्षिक, सामाजिक, आर्थिक, साहित्य, संगीत, खेलकुद आदि क्षेत्रमा दिएको योगदानको खासै चर्चा गरिएन, लेखिएन। त्यसो हुनाले पानी पतिया लेख्नु पर्यो।
पानी पतियामा गोर्खा भर्तीको इतिहास कहाँबाट शुरू हुन्छ र कहाँसम्म लेख्नुभएको छ?
सन् १७९० मा अंग्रेज सेनामा भर्ती हुने जब्बरसिंह थापा पहिलो नेपाली रहेछन्। सोहि बेलादेखि अहिलेसम्मको इतिहासलाई पुस्तकमा अटाइएको छ। यसमा अमरसिंह थापा र बलभद्र कुँवरले अंग्रेजसँग पराजित भएको तथ्यलाई समेटिएको छ। बलभद्र कुँवर किल्ला छाडी भागेर लाहोरस्थित तत्कालीन पन्जाबका महाराजा रणजीत सिंहको सेनामा भर्ती भएका थिए। सिंहको सेनामा कमाण्डर सम्हाली अफगानिस्तानको पठान इलाकामा परिचालित हुँदा उनी मारिएको कथा छ। चार हजार ६५० जना नेपाली भगौडा सेनाहरू इस्ट इन्डिया कम्पनी सरकारका जनरल अक्टोरलोनीले खडा गरेको मलाउ किल्ला प्रथम, द्वितीय नर्सरी र सिरमोर बटालियनहरूमा भर्ती गरिएको तथ्यलाई समेटिएको छ।
गोर्खा लाहुरेलाई हिन्दूकरण गरेको विषय उठाउनुभएको रहेछ। त्यहाँ भर्ती हुने गोर्खा अधिकांश त यसै हिन्दू होइनन् र?
गोर्खाको अर्थ ‘गाईको रक्षक’ हो। तर बेलायती सेनामा भर्ती हुने सबैभन्दा धेरै आदिवासीहरू छन् जो गाई काटेर खान्थे। उनीहरूलाई हुकुमी उर्दी लगाएर गोर्खा भर्ती गराइयो। जो गाईको रक्षक हुन्, उनीहरूलाई गोर्खा सेनामा पठाइएन। आदिवासीहरूलाई भर्ती गराउँदा धर्मको महलमा हिन्दू लेख्न लगाइन्थो वा गल्लावालहरूले त्यही लेखिदिन्थे तर हिन्दू थिएनन्। यसरी भर्ती हुनेहरू गोर्खा (गाईको रक्षक) भन्दा धेरै गैरगोर्खा (गाईको मासु खानेहरू) छन्। बुद्धिष्ट र किरात धर्मावलम्बीहरू छन्।
त्यस बेला म्लेच्छ या गैरहिन्दू (क्रिस्चियन) धर्मावलम्बीले पकाएको खान नहुने हिन्दू धर्मको कट्टरता थियो। लाहुरेहरू घर फर्किंदा छोइछिटो भएको हुन्छ भनेर पण्डितद्वारा हिन्दू धर्मअनुसार अनिवार्य ‘पानी पतिया’ गराइन्थ्यो । पञ्चगव्य ‘गहुँत’ (गाईको पिसाब), गोबर, दूध, दही र घिउले नुहाएर शुद्ध खाना खानु पर्थ्यो। यसरी उसको जात फर्काउने विधि नै पानी पतिया हो।
तपाईं आफैँ पनि पूर्व बृटिश गोर्खा सैनिक हुनुहुन्छ, गोर्खा सेनालाई बेलायतमा के कस्तो विभेद छ?
गोर्खा सैनिकलाई धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा बेलायतले धेरै विभेद गरेको थियो। त्यसको मार अहिलेसम्म उनीहरूले भोगिरहेका छन्। उनीहरूलाई समान तलब, भत्ता, सुविधा, पेन्सन दिइएको थिएन। सन् २००७ देखि मात्र गोर्खा सैनिकलाई बेलायतले समान ब्यवहार गरेको हो। तर सन् १९९७ अघिका गोर्खा सैनिकहरूमाथि अहिले पनि विभेद छ। उनीहरूलाई समान पेन्सन अझै पनि दिइएको छैन। उनीहरूको बुढेसकाल सहज छैन। सोही कारण उनीहरू जीवनको उत्तरार्धमा पनि आन्दोलन गरिरहेका छन्।
बृटिश गोर्खा सेनामा भर्ती बन्द गर्नुपर्छ भनेर नेपालमा कतिपयले आवाज उठाउने गरेका छन्। गोर्खा भर्तीले नेपाल र नेपालीको हित गरेको थियो कि थिएन? अहिलेको अवस्था के छ?
गोर्खा भर्तीले नेपाल र नेपालीको हित उबेलामा गरेको थियो भन्ने लाग्दैन। अहिले रोजगारको हिसाबले ठिकै होला। तर पनि सर्वभौम सम्पन्न देशको नागरिक अर्को देशको सेनामा भर्ती गरिनु कति उचित हो? महत्त्वपूर्ण विषय सुरक्षाको दृष्टिकोणबाट हेरिनु पर्छ। जस्तै, काठमाडौँको जावलाखेल र पोखरामा बेलातयी सेनाको क्याम्प छ। पहिले छाती, उचाई, वजन नापिन्थो। अहिले योग्यता, क्षमता, शिक्षालगायत सबै परीक्षामा सामेल गरिन्छ। ठीक वा बेठीकलाई टिक लगाउने काम राज्यको हो। राज्य आफैंमा के हो स्वयं राज्य सञ्चालकहरूले बुझ्ने विषय हो।
तपाईं कविता, कथा लेखिरहनुभएको लेखक हुनुहुन्छ। अचानक गैरआख्यान/इतिहास लेख्ने सोच कसरी आयो?
म इतिहासकार हैन तर पनि कुनै समय इतिहासको विद्यार्थी थिएँ। म आफैँ सेवानिवृत्त गोर्खा हुँ। शुद्ध साहित्यको ढोकाबाट गोर्खा सैनिकको छुटेको कथाहरू आउँछ जस्तो लागेन। यही निष्कर्षका कारण यो किताब लेख्न बाध्य भएँ। खासमा आफू र गोर्खाली सेनाले भोगेका विभेद र अन्यायबारे बोल्ने ममा हुटहुटी थियो। त्यही हुटहुटी र सकसलाई बाहिर ल्याएर आफू थोरै शान्त र बौद्धिक जगतलाई आलोचनात्मक कोणबाट अशान्त पार्ने मन भयो। बौद्धिकहरूमा यसको प्रभाव के कस्तो होला भन्ने जोखिम उठाउन मन लाग्यो। त्यसैले गैरआख्यान ‘पानी पतिया’ लेखेको हुँ।
तपाईं कथाकार पनि हुनुहुन्छ। कथा लेखन र इतिहास लेखनको अन्तर के रहेछ?
कथा लेख्न धेरै सजिलो रैछ। आफूले चाहे अनुसार पात्रहरूलाई चल्न, बोल्न, भन्न लगाउन सकिन्छ। तर इतिहास लेख्नको लागि सन्दर्भ सामग्री अनिवार्य शर्त हो। दसीप्रमाण खोज गर्दा नै धेरै समय चाहिने। त्यसपछि अध्ययन अनि लेखनमा पुग्दा निकै बूढो पो भइगइयो जस्तो लाग्ने रैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
