महोत्तरी–३ बाट लोसपाका महन्थ ठाकुर निर्वाचित

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट १६ हजार ३७५ मत प्राप्त गरी विजयी भएका छन्।

महोत्तरी– लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

शुक्रबार साँझ सम्पन्न मतगणना परिणामअनुसार ठाकुर १६ हजार ३७५ मत प्राप्त गरी विजयी भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जानकारी दिएको छ। ठाकुरका निकटतम प्रतिस्पर्धी जसपा नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत प्राप्त गरे।

यसअघि यसै क्षेत्रबाट निकटतम प्रतिस्पर्धीभन्दा झण्डै तेब्बर मत पाएर जितेका ठाकुरले यसपालि भने कसिलो प्रतिस्पर्धा गरेको थियो।

चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा आजै दिउँसो लोसपाकै वरिष्ठ नेता शरतसिंह भण्डारी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा भइसकेको छ।

भण्डारीले २५ हजार १९० मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी तमलोपा नेपालका डा. विजयकुमार सिंहले ११ हजार १२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–३ बलवाले जानकारी दिएको छ।

जिल्लाका अन्य दुई प्रतिनिधिसभा क्षेत्र १ र ४ को परिणाम आउन अझै बाँकी छ। यता जिल्लाका आठ प्रदेशसभा क्षेत्रमध्ये सात वटाको परिणाम सार्वजनिक भइसकेको छ भने महोत्तरी–१ (१) को मतगणना जारी छ।