पाल्पा–१ बाट एमालेका नारायण आचार्य विजयी

पाल्पा-१ बाट नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाभन्दा १० हजार ८४७ बढी मत ल्याएर एमालेका नारायणप्रसाद आचार्य विजयी भएका छन्।

पाल्पा– पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नारायणप्रसाद आचार्य विजयी भएका छन्।

आचार्यले ३१ हजार १०३ मत प्राप्त गरे भने प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत पाएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिए।

स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार ८६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५,  राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले २५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार ९१६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले ११५ मत प्राप्त गरे। 

आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरू नारायण न्यौपानेले २७, राजु सुनारले ६८ र डोलराज तिमिल्सिनाले १० मत प्राप्त गरे।

प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको थियो। जसमध्ये एक हजार ४०७ मत बदर भएको छ। गत मङ्सिर ५ गते साँझदेखि शुरू भएको मतगणना शुक्रबार सम्पन्न भएको हो। 

प्रतिनिधिसभामा निर्वाचित आचार्य २०७४ सालको निर्वाचनमा क्षेत्र नं १ (२) मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।