सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादी केन्द्र शून्य

सुदूरपश्चिमबाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्रले कुनै पनि जिट जित्न सकेन।

काठमाडौँ– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्र शून्य भएको छ। सत्ता गठबन्धनको सिट बाँडफाँटमा चारवटा निर्वाचन क्षेत्रबाट टिकट पाएको माओवादीले कुनै पनि क्षेत्रमा जित निकाल्न सकेन। 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर २ र ३, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ र बैतडीमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रतिस्पर्धामा थिए। तर, कुनै पनि उम्मेदवारले चुनाव जित्न सकेनन्।

बाजुराको मतगणना भएको छैन। तर, त्यहाँ गठबन्धनबाट नेपाली कांग्रेसका बद्री पाण्डे उम्मेदवार छन्। संघीय संसद्मा १६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ माओवादी केन्द्र सांसदविहीन भएको हो।

प्रदेशसभातर्फ भने नेकपा माओवादी केन्द्रले ८ वटा प्रदेशसभा सिट जितेको छ। बाजुरा प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्मा उम्मेदवार छन्।