रूकुम पश्चिमबाट प्रतिनिधि र प्रदेशसभामा माओवादी केन्द्रका उम्मेदवार विजयी

रूकुम पश्चिमबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

रूकुम– रूकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा निर्वाचित भएका छन्। सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहेका शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई पराजित गरेका हुन्।

मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार अर्थमन्त्रीसमेत रहेका शर्माले ३९ हजार ५४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त गरे। प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रूकुम पश्चिममा कूल ५७ हजार २९५ सदर मत खसेका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपककुमार मल्लले ७९६, मङ्गोल नेशनल अर्गनाइजेसनका उम्मेदवार हरिबहादुर पुनले २०८ र स्वतन्त्र उम्मेदवार तारक केसीले तीन हजार ५६७ मत प्राप्त गरे।

त्यस्तै, रूकुम पश्चिममा प्रदेशसभा सदस्यतर्फ दुवै क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा (१) मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका नारायणकुमार शाहले ८८१ मत ल्याएका छन्।

त्यसैगरी, रूकुम पश्चिम प्रदेशसभा (२) मा माओवादी केन्द्रकै उम्मेदवार राजकुमार शर्माले २० हजार १६० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका कर्णबहादुर घर्तीमगरले आठ हजार ८८ मत प्राप्त गरे।