दाजु लिलिमहाङले खाम्सोसोहाङलाई छोडी केही हजार सेना लिई सुनकोशीको तिरैतिर अरुणपूर्व हुँदै तावालुङ, सुसुवादेन, ताक्लृुङ पुगे। यहीँ राजधानी बनाए। लिम्बुवानको पहिलो ऐतहासिक राजधानी यही थियो।
लिम्बुवानको नाउँ ठूलो
खानु के छ? गाउँ ठूलो।
लिम्बुवानको ऐतिहासिक थातथलोमा भनिने/सुनिने गरिएको यो चल्तीको लोकभाका हो। नेपालको आधुनिक स्वरूप बन्नु अघिदेखि र वर्तमानमा पनि यो भाका चलनचल्तीमा छ। तर गएको साल फागुन महिनाको दोस्रो साता प्रदेश १ को नामकरण ‘कोशी’ गरिएपछि लिम्बुवान माथिको भाका खप्न अभिशप्त छ।
लिम्बू जातिसँग सम्बन्धित लिम्बुवान राज्य ऐतिहासिक तथा पुरातात्विक महत्त्वको अनुसन्धानको विषयमा सीमित हुँदै गएको छ। हरेक पटकको राष्ट्रिय राजनीतिक आन्दोलनमा यो विषयले प्रवेश पाउने र राज्यको संरचना निर्माण हुँदा निषेध हुने नियति बनेको छ। १० वर्षे सशस्त्र युद्ध र त्यसैको जगमा भएको दोस्रो जनआन्दोलनपछि पहिलो संविधानसभाको विषयगत समितिमा प्रस्तावका रूपमा ‘लिम्बूवान’ले प्रवेश पाएपछि आंशिक मान्यता पायो। सरकारसँगको सम्झौतामार्फत कानूनी मान्यता पनि पायो। तर जसै समय घर्कियो, पहिलो संविधानसभा विघटन भयो। दोस्रो संविधानसभामा यो विषय नेपथ्यमा पुग्यो।
यतिखेर लिम्बुवानको यो विषय पूर्व कोशीमा सीमित क्षेत्रीय पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान प्रान्तीय मञ्चलगायत केही संगठन र लिम्बू जातीय सामुदायिक संस्था किरात याक्थुङ चुम्लुङले मात्र उठाउँदै आएको छ। त्यसमा पनि लिम्बुवान पछाडि ‘किरात’ फुर्को जोडेर ‘लिम्बुवान किरात’को नाममा। अरू पार्टीले लिम्बुवानको मुद्दा छायाँ भाषामा मात्र उठाउँछन्। यसैले लिम्बुवानको चौबिस थुममा गाइने माथिको पालाम (एक शैलीको लिम्बू गीत) जस्तै भएको छ लिम्बुवानको मुद्दा।
लिम्बू र लिम्बुवान
करिब २०० वर्षअगाडि इतिहासकार कर्नेल कर्क पेट्रीकले ‘द अकाउन्ट अफ द किंडम अफ नेपाल’ पुस्तकमा नेपालको पूर्वी भागमा लिम्बू जनजातिको बसोबास भएको उल्लेख गरेका छन्। नेपाली शब्दकोशले लिम्बू जातिलाई लिम्बुवानमा बस्ने एक किरात जाति र ‘लिम्बुवान’ दीर्घकालदेखि लिम्बू जातिको स्थाई बसोबास भएको तत्कालीन कोशी र मेची अञ्चलको पहाडी क्षेत्र भनेर परिभाषित गरेको छ।
यसअघि लिम्बू र लिम्बुवानको विषयमा लिखितम केही पनि थिएन। कुनै ऐतिहासिक अभिलेखबिना पनि लिम्बू जातिको भाषिक, सांस्कृतिक निरन्तरताको जोगाडलाई एउटा ऐतिहासिक मिसाल नै मान्नु पर्छ। यतिका वर्षपछि पनि तिनको थातथलोको पहिचान हराएको छैन। जातीय ऐतिहासिक पृष्ठभूमिको यो पहिचान नेपालको राष्ट्रिय राजनीतिक आरोह अवरोहमा पछिल्तिर धकेलिएको छ। करिब २५० वर्षदेखि लिम्बुवान घुम्दैफिर्दै रुम्जाटार मात्रै हुने क्रममा छ।
अर्का इतिहासकार एच हड्सनले सन् १८७४ मै आफ्नो पाण्डुलिपि पुस्तकमा लिम्बू र लिम्बुवान शब्दको प्रयोग गरेका थिए। त्यो पुस्तकमा लिम्बूहरूले आफूलाई ‘याक्थुङ्बा’ भन्ने तर खस पर्वतेहरूले ‘लिम्बू’ भन्ने गरेको उल्लेख छ। खस पर्वते भन्नाले गैरलिम्बू वा अहिलेको भाषामा आर्य मूलका क्षेत्री, बाहुन, दलित, दशनामी बुझ्नु पर्छ। हड्सनको यो भनाइलाई मिथ्या नसम्झने हो भने त्यस क्षेत्रमा गैरलिम्बूको प्रवेश पृथ्वीनारायण शाहले नेपालको यो स्वरूप विस्तार नगर्दै भैसकेको थियो कि भन्ने जिज्ञासा उठाउँछ। खैर, नेपालको विस्तारयता र खासगरी २०२१ सालको भूमिसुधारले किपट प्रथाको उन्मूलन भएपछि गैरलिम्बूको प्रवेश हुनुलाई सामान्य अर्थमा लिन सकिन्छ।
लिम्बूको अर्थ धनुर्धारी
केही इतिहासकारले लिम्बू जातिलाई धनुर्धारी भन्ने गरेका छन्। ई.पू. ६०० तिर आसामतर्फबाट आएका सानमकवानवंशी तीन पुरोहितसहित सात धनुर्धारीहरू प्रवेश गरेर आठ सामन्त किरात हाङ राजाको राज्य (खम्बुवान?) फेदाप कब्जामा लिई लिम्बुवान राज्य स्थापना गरेको दाबी गरिएको पाइन्छ।
चिनिया भाषासँग सम्बन्धित लिम्बू शब्दको अर्थ धनुर्धारी हुन्छ। धनुकाँडको मद्दतले फेदापमा विद्रोह गरी राज्य स्थापना गरेकाले राज्यको नाम लिम्बुवान र लिम्बू जातिको जन्म हुन गयो भनिन्छ।
अर्काथरी इतिहासकारका अनुसार ई.सं. ४ मा योक्नेहाङ नामका किरात राजाले नेपाल खाल्डोमा शासन गरिरहेको बेला लिच्छवि वंशका भूमि वर्माले आक्रमण गरी उनलाई पराजित गरे। उनै योक्नेहाङले साँगापूर्व बनेपामा राजधानी सारे। योक्नेहाङपछि लिलिमहाङले राज्यसत्ता सम्हाले।
लिच्छविको बारम्बारको आक्रमणपछि सहोदर भाइ खाम्सोसोहाङलाई राजधानी सार्ने प्रस्ताव राख्दा अस्वीकार गरे। त्यसपछि दाजु लिलिमहाङले खाम्सोसोहाङलाई त्यहीँ छोडी केही हजार कबिला सेना लिई सुनकोशीको तिरैतिर अरुणपूर्व हाङसेम्मालुङ्, हाङसामोरोङ, झलारा, बेलहारा हुँदै तावालुङ, सुसुवादेन, ताक्लृुङ पुगे। यो स्थान सामरिक महत्त्वको भएकोले यहीँ राजधानी बनाए। लिम्बुवानको पहिलो ऐतहासिक राजधानी यही थियो।
लिलिमहाङले स्थापना गरेको यही राज्य लिम्बुवान भयो र उनका अनुयायीहरू लिम्बू हुन पुगे भनिन्छ। लिच्छविले नेपाल खाल्डोमा शासन गरिरहेका किरातहरूलाई विस्थापित गरेको सन्दर्भपछि कालान्तरमा लिम्बू जातिको विकास भएको तर्क यसले गरेको छ। यसरी पूर्वतर्फको आसामतिरबाट आएका धनुर्धारी सानमकवान वंशी र पश्चिम नेपाल खाल्डोबाट गएका किराती वंशीहरूको सम्मिलन नै लिम्बू जाति र लिम्बुवान राज्यको भ्रुण थियो की भन्ने आंशिक अभिलेख पाइन्छ।
विद्रोहपछि लिम्बू
स्व. इमानसिं चेम्जोङले पनि आठ किरात राजा र १० चिनियाँ सरदारको विद्रोहमार्फत् लिम्बू जातिको उदय र लिम्बुवान राज्यको गठन भएको उल्लेख गरेका छन्। सातौँ शताब्दीमा राजा मावोरोङले दूधकोशी र मेचीबीचको भूभागमा लिम्बुवान राज्य स्थापना गरे।
सन् १३७४ मा राजा साइलाइङको समयमा लिम्बुवान राज्यको सिमाना उत्तरमा तिब्बत र दक्षिणमा भारत पुर्णिया जिल्लाको जलालगढ (जसको अवशेष अझै छ )सम्म पुग्यो। १८औँ शताब्दीमा लिम्बुवान पूर्वमा टिष्टा (पश्चिम सिक्किम), उत्तरमा तिब्बत, दक्षिणमा भारतको विहार र पश्चिममा अरुण नदीसम्म फैलिएको थियो।
समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययनबाट चार नश्ल र चार भाषा परिवारका असंख्य जाति समुदाय नेपालमा बस्ने गरेको पाइन्छ। चार नश्लहरू मंगोल, आर्य, अष्ट्रो र द्रविड हुन्। यसरी नै चार भाषा परिवारहरूमा भोट–बर्मेली, भारोपेली, अष्ट्रो र द्रविड छन्। लिम्बू चाहिँ मंगोल नश्लको भोट–बर्मेली भाषा परिवारको ‘याक्थुङ पान’ भाषा बोल्ने नेपालको प्रमुख आदिवासी जनजाति हो। लिम्बूको संख्या कुल जनसंख्याको २ प्रतिशतभन्दा केही कम छ।
लिम्बुवानको पतन
सन् १७७४ सम्म लिम्बुवान स्वतन्त्र राज्य थियो। गोरखाका राजा पृथ्वीनारायण शाहले पटक–पटक हमला गर्दा पनि नजितेपछि उनले लिम्बुवानका केही थुमे राजालाई आफनो पक्षमा पारे। पृथ्वीनारायण शाहविरुद्ध विजयपुरका राजा बुद्धिकर्ण रायले भने विद्रोह गरे। त्यसको केही समयपछि षडयन्त्रमूलक ढंगले गोरखाली सेनाले उनको हत्या गर्यो।
पृथ्वीनारायण शाहले १८३१ साउन २२ गते एकतर्फी ‘इस्तिहार’ (लालमोहर) नुनपानी सन्धि जारी गरी लिम्बुवान नेपालमा विलय भएको घोषणा गरे। भनिन्छ, यो घोषणापछि ३२ हजार लिम्बूहरू लिम्बुवानको स्थापनाका लागि बिदेसिए। इ.सं. १८१६ को सुगौली सन्धिपछि लिम्बुवानको पूर्वी सीमाना टिष्टा (पश्चिम सिक्किम) र दक्षिणको अधिकांश भूभाग गुम्यो। लिम्बुवान तीन फ्याक भई नेपाल, सिक्किम र दार्जिलिङ (भारत) मा विभाजन भयो। सुगौली सन्धिसँगै लिम्बुवानको ताकतको पनि पतन भयो।
एक वर्षअघि लिम्बुवान र किरात जातिसम्बद्ध ऐतिहासिक थलो प्रस्तावित प्रदेश १ लाई प्रदेशसभाले कोशी नामकरण गर्यो। नामकरणसँगै लिम्बू जातीय संस्था कियाचु, राई जातीय संस्था किरात राई यायोक्खा र अन्य आदिवासी जातीय संस्थाले नामकरण विरोधी अभियान र आन्दोलन गर्दै आएका छन्।
आन्दोलनकै क्रममा लाजेहाङ लिम्बू शहादत भए। प्रदेश सरकारसँग एकाध चरण वार्ता पनि भयो। तर निकासको कुनै विन्दु भेटिएको छैन। आन्दोलनरत संयुक्त संघर्ष समितिसँग कुनै एउटा नाममा मतैक्यता पनि छैन। यसरी प्रदेश १ को राष्ट्रियता यतिखेर बिलखबन्दमा छ।
लिम्बुवान किरात वा किरात नामकरण वा संयुक्त नामकरणको प्रस्ताव नहुँदा राजनीतिक खेलोफड्को भैरहने परिदृश्य देखिएको छ। यस कारण लिम्बुवानको राजनीतिक आन्दोलनले आठौँ प्रदेश लिम्बुवानलाई आत्मसात् गर्ने मेलो झिकेको छ। यहाँसम्म त ठीकै छ तर ग्रेटर लिम्बुवान, ग्रेटर गोर्खाल्यान्ड वा किरात देशको माग बढेर जाँदा नेपालको वर्तमान स्वरूपमा अर्को ‘सुगौली’ थपिन बेर छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
