चुनावमा उठाएका मुद्दामा हाम्रो ‘फोकस’ रहने छ। सेवा प्रवाहमा शिक्षा, स्वास्थ्य, रोजगारी र किसानका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढ्छौँ।
काठमाडौँ– सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत चर्चामा छन्। राउतले यादवलाई दोब्बरभन्दा बढी मतले पराजित गरेका हुन्।
यो नतिजा आफैँमा रोचक किन पनि हो भने, राउत पहिलोपटक संसदीय निर्वाचनमा सहभागी भएका थिए। यादव भने २०६३ सालको मधेश आन्दोलनको नेतृत्व गरेर लगातार निर्वाचित हुँदै आएका नेता हुन्। २०६४ र २०७० को संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित यादव यसपालि चौथो जित निकाल्नेमा ढुक्कजस्तै थिए। २०७४ को निर्वाचन उनले सप्तरी–२ बाटै जितेका थिए।
कुनै बेला पृथकतावादी अभियान चलाएका राउत मूलधारको शान्तिपूर्ण राजनीतिमा आउने निर्क्योल गरेर यसपालि स्थानीय तह निर्वाचनमा सहभागी भएका थिए। तर, त्यो निर्वाचनमा उनको जनमत पार्टीले खासै प्रभाव पार्न सकेन। यही कारण हुनसक्छ, यसपालि यादव र राउत आमनेसामने हुने तय भएपछि यादवका समर्थकहरूले राउतलाई शुरूदेखि नै हियाउने किसिमले अभिव्यक्ति दिँदै आएका थिए। तर, राउतले नै यादवको निरन्तरको ‘विजय यात्रा’मा ब्रेक लगाइदिए। कम्प्युटर इन्जिनियरिङमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक र युनिभर्सिटी अफ टोक्योबाट स्नातकोत्तर गरेका राउतले क्यामब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।
अमेरिकाबाट ११ वर्षअघि नेपाल फर्केपछि राउतले ‘स्वतन्त्र मधेश’को मागसहित चलाएको आन्दोलनलाई बिराम दिँदै २०७५ फागुन २४ मा तत्कालीन सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीति शुरू गरेका थिए। राउतसँग उकालोले गरेको संक्षिप्त कुराकानीको सारसंक्षेपः
मधेशको राजनीतिमा सबभन्दा प्रभावशाली रहँदै आएका नेता उपेन्द्र यादवलाई पराजित गरेर संसद् पस्दै हुनुहुन्छ। के मधेश राजनीतिमा नयाँ चरण शुरू भएको हो?
एकदमै हो। नयाँ चरण मात्र होइन, मधेशको राजनीति नयाँ युगमा प्रवेश गरेको छ। जनताले भय, त्रास र राजनीतिको माफियाकरणलाई समाप्त पारेर परिवर्तित नयाँ युगको शुरूवात गराएका छन्। व्यक्तिको नियन्त्रणमा रहेको दलको शक्तिलाई नियन्त्रित गर्दै बन्धकमा परेको मुद्दालाई नयाँ सिराबाट अगाडि बढाउने जनादेश जनतम पार्टीले प्राप्त गरेको छ।
स्थानीय तह निर्वाचनमा पनि सहभागी हुनुभयो, तर त्यस जनमत पार्टीको त्यति प्रभाव देखिएन। यसपालि मधेशमा धेरैतिर उल्लेख्य मत ल्याइरहनुभएको छ। अचानक के गर्नुभयो त्यस्तो?
जनमत पार्टीको जनाधार अचानक देखिएको होइन। हामीसँग जनतले परिवर्तनका लागि आशा गरेका छन्, अपेक्षा व्यक्त गरेका छन्। स्थानीय निर्वाचनमा स्वाभाविक रूपमा परिदृश्य फरक हुन्छ। वडापिच्छे उम्मेदवारहरू उठेका हुन्छन्, उनीहरूको पृष्ठभूमि र प्रभावले असर गरेको हुन्छ। स्थानीय स्तरमा नाता, सम्बन्धले पनि काम गर्छन्। यस्ता विभिन्न आयामले काम गरिरहेका हुन्छन्।
तर, संसदीय निर्वाचन फरक हुन्छ। यसमा पार्टीको जनाधार देखिने हो। मेरो पार्टीमाथि र ममाथि पनि जनताले गरेको विश्वासको नतिजा हो यो।
तपाईंले मधेशको राजनीतिमा नयाँ युग शुरू भयो भन्नुभयो। अब त्यसलाई प्रतिबिम्बित गर्ने तपाईंका मुद्दा के हुन्? सदनमा तपाईंले उठाउने अजेन्डा के हुन्?
चुनावमा जाँदा हामीले सेवा प्रवाहमा सुधारको मुद्दा उठाएर अगाडि बढेका थियौँ। अब मुख्यतः त्यसमा हाम्रो ‘फोकस’ रहने छ। सेवा प्रवाहमा शिक्षा, स्वास्थ्य, रोजगारी र किसानको मुद्दालाई हामी प्राथमिकतामा राखेर अगाडि बढ्ने छौँ। किसानको अवस्थामा सुधार हाम्रो मुख्य लक्ष्य हुने छ। राजनीतिक बेथितिहरूको विरुद्धमा हामी निरन्तर आवाज उठाइरहनेछौँ।
कतिपयले यो निर्वाचनबाट मधेशमा मधेशकेन्द्रित दल, त्यसमा पनि उपेन्द्र यादवको पतन भयो भन्ने दाबी गरिरहेका छन् नि?
व्यक्तिभन्दा पनि खराब प्रवृत्तिको पतन चाहिँ भएको हो। जुन एउटा कुशासन थियो, जंगलराज थियो, त्यहाँबाट निस्किएर जनताराज कायम भएको अवस्था छ। युवाहरूको नेतृत्व, स्वच्छ छवि भएकाहरूको प्रतिनिधित्व, जाति र धर्मभन्दा माथि उठेर गरिने राजनीतिको उदय भएको छ। शक्तिकै कुरा गर्दा, राम्रो काम गरेपछि शक्ति कायम रहन्छ। दम्भमा बसेपछि, जनताको सेवा नगरेपछि, आन्दोलनका अजेन्डा पूरा गर्ने पहलै नगरेपछि निश्चित रूपले त्यस्ता शक्ति समाप्त हुन्छन्।
जनमत पार्टी मधेशकेन्द्रित दलहरूको विकल्प बनेको हो भन्ने लाग्छ?
हो, एकदम विकल्प नै भएर आएको छ। बाटो नै दिएको हो। निकास दिएको हो यसले, जुन कुरा आगामी दिनमा देखिँदै जाने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
