सप्तरी–२ बाट सीके राउत विजयी, उपेन्द्र यादव फराकिलो मतान्तरले पराजित

सप्तरी २ बाट जसपा अध्यक्षसमेत रहेका यादवलाई १८ हजार ६३ मतान्तरले हराउँदै सीके राउत निर्वाचित भएका छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत सप्तरी–२ बाट जनमत पार्टीका चन्द्रकान्त (सीके) राउत विजयी भएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन्।

राउत ३५ हजार ४२ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी रहेका जसपाका उम्मेदवार यादवले १६ हजार ९७९ मत ल्याए। जसपा अध्यक्षसमेत रहेका यादवले प्राप्त गरेको कुल मतभन्दा १८ हजार ६३  बढी मत ल्याए राउत निर्वाचित भए। 

२०७४ सालको निर्वाचनमा त्यस क्षेत्रबाट यादव नै निर्वाचित भएका थिए। २०६३ सालको मधेश आन्दोलनपछि मधेशकेन्द्रित राजनीतिमा उदाएका यादवको विजय–यात्रामा डेढ दशकपछि बिराम लागको हो।

संविधानसभा निर्वाचन २०६४ देखि निरन्तर निर्वाचन जित्दै आएका यादवलाई यसपालि जनमता पार्टीका राउतले बिराम लगाएका हुन्। राउत नेतृत्वको जनमत पार्टी यसपालिको निर्वाचनमार्फत पहिलोपटक संसदीय चुनावमा भाग लिएको हो।