'गठबन्धन गर्नेहरूले त्यसको औचित्य पुष्टि गर्न जनताको पक्षमा काम गरेर देखाउन सक्नुपर्थ्यो। नेतृत्व अझै गठबन्धनको पक्षमा किन छ भने उनीहरूका निम्ति सत्ता नै प्रधान हो र गठबन्धन नगरी सत्तामा जान सकिँदैन।'
सिद्धार्थ वनस्थली स्कुलमा पढ्दा नवीन्द्रराज जोशी (स्वर्गीय)ले 'तिमी नेपाल विद्यार्थी संघ स्कुल इकाईको अध्यक्ष' भनिदिए, त्यति बेला प्रदीप पौडेल कक्षा ८ मा पढ्दै थिए। यसरी स्कुल पढ्दै राजनीतिको चस्का लागेपछि कक्षा सकाएर लुरुलुरु हिँड्दै कांग्रेस केन्द्रीय कार्यालय जमल पुग्न थाले। २०४६ सालमा जनआन्दोलन घोषणा हुँदा १० कक्षामा पढ्थे। आफ्नै अध्यक्षतामा नेविसंघको इकाई गठन गरी आन्दोलनमा होमिए र थुनिए पनि। त्यसयता अनवरत राजनीतिमा सक्रिय उनले विद्यार्थी राजनीतिको लामो 'इनिङ'का क्रममा नेविसंघको नेतृत्व नै गरे। कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका उनी केन्द्रीय समितिका मनोनीत सदस्य हुन्। गत आमचुनावमा काठमाडौँ–५ बाट प्रतिनिधिसभामा निर्वाचित भएका पौडेलसँग कांग्रेसको महासमिति बैठकको सन्दर्भमा उकालोका सुजित महत र किरण दहालले गरेको कुराकानी:
महाधिवेशनलगत्तै नीति अधिवेशन गर्ने भनिएको थियो, महाधिवेशन भएको दुई वर्ष तीन महिना बितेपछि बल्ल महासमिति बैठक हुँदैछ। किन यति धेरै विलम्ब? कांग्रेसलाई नीतिको आवश्यकता महसुस नभएर त होला नि, होइन?
कांग्रेसको विधानमा लेखिएका कतिपय प्रावधान लागू भएका छैनन्। विधानमा के–के गर्नुपर्छ भनेर त लेखियो, नगर्दा के हुन्छ भनेर लेखिएन। कार्यान्वयन बाध्यात्मक बनाउन विधानअनुरूप नगरे दण्डित हुने प्रावधान बनाउन सक्नुपर्छ। एउटा राजनीतिक दल नीतिगत अस्पष्टताबाट अगाडि बढ्न सक्दैन किनकि मूल तत्त्व नीति नै हो। सिद्धान्ततः अस्पष्ट राजनीतिक दलसँग न योजना हुन्छ, न कार्यक्रम नै। वर्तमान आलोच्य हुन्छ र भविष्य अन्योलपूर्ण। सिद्धान्त कर्मकाण्डी वा कार्यान्वयन फितलो भएकाले हाम्रो राजनीतिमा सपना छैन। सिद्धान्तलाई प्राथमिकतामा नराखिँदा राजनीति डेलिभर गर्ने सवालमा लगातार फेल भइरहेको छ।
यस्ता कमजोरी र नाकामयाबीको प्रतिबिम्ब कांग्रेसभित्र पनि छरपस्ट छ। सैद्धान्तिक प्रष्टता प्रधान हुनुपर्ने हो। सैद्धान्तिक प्रष्टताले बाटो देखाउँछ, लक्ष्य निर्धारण गर्छ र दायाँबायाँ जान दिँदैन अनि काम गर्ने खाका बन्छ। हामीले नीति अधिवेशन गर्नुपर्थ्यो, हरेक वर्ष महासमितिको बैठक बसेर हरेक विषयमा प्रस्ट हुने स्थिति बनाउनुपर्थ्यो। यो हामीले गर्न नसकेको तर नगरी नहुने काम हो।
कांग्रेसले यस्ता बैठकमा संस्थापक नेताहरूको सपना वा अतीतको मात्र कुरा गर्छ, वर्तमान वा भविष्यबारे खासै छलफल गर्दैन भनिन्छ। २०७५ सालमा महासमिति बैठककै दिन ‘नयाँ पत्रिका’मा प्रकाशित तपाईं र गगन थापाको ‘अतीतमुखी होइन, भविष्यमुखी कांग्रेस’ शीर्षकको लेखमा यही कुरा कोट्याउनु भएको थियो। तपाईंहरूले उधिनेका र पहिल्याएका समस्यामा पाँच वर्षमा केही प्रगति भयो त?
त्यति बेला महासमिति बैठककै बेला पारेर म र वर्तमान महामन्त्री गगन थापा (त्यति बेला दुवै जना केन्द्रीय सदस्य)ले ‘कांग्रेसको इतिहास अरूको भन्दा अब्बल छ, राजनीति सधैँजसो कांग्रेसले नेतृत्व गरेको छ, क्रान्ति गरेर परिवर्तन ल्याएको हो भनिरहनु पर्दैन। इतिहासमा दर्ज प्रामाणिक तथ्य दोहोर्याएर अबको राजनीति चल्दैन’ भनेर लेखेका थियौँ। ‘इतिहास बनाउनेहरू जस्तै हामी मिसन-भिजनमा प्रस्ट हुन सकेका छौँ कि छैनौँ? जनताका खास–खास मुद्दालाई समेटेर अजेन्डा निर्माण गर्न सकेका छौँ कि छैनौँ? सुशासन दिई लोकतन्त्रलाई मजबुत गर्ने प्रयत्न भएको छ कि छैन?’ यस्तै प्रश्नहरू हामीले उठान गरेका थियौँ। पाँच वर्षअघि महासमिति बैठक शुरू हुने दिन र आजको दिनलाई तुलना गर्दा बहसचाहिँ बढेको छ, नतिजाको प्रतीक्षा छ।
वर्तमान सुदृढ गर्ने गरी, भविष्य प्रस्ट हुने गरी लक्ष्य निर्धारण गरेर हामी अघि बढ्न सकेनौँ है भनेर नेतृत्वलाई झकझक्याउने कामले तीव्रता पाएको छ। पार्टीभित्र पनि यो विषयलाई घनिभूत ढंगले तलसम्म पुर्याउने कुरामा केही उपलब्धि भएको छ तर पार्टीको नीतिगत उपलब्धि खासै भएको छैन। त्यो लेख लेख्दा हामी विपक्षमा थियौँ, आज सत्तामा छौँ। त्यो बेला विपक्षमा बसेर सत्तालाई दबाब दिने र पार्टीभित्र त्यो विषयलाई प्रस्ट्याउने अवस्था थियो। आजचाहिँ नप्रस्टिएकै अवस्थामा पार्टी सत्तामा रहेको स्थिति छ। हामीले उठाएका विषयमा उपलब्धि नभएको कारण थाँती रहेका विषय फेर्नुपर्छ भन्ने लाग्दैन। तर ती विषयलाई पार्टीको मुद्दा बनाएर कार्यान्वयन गर्ने र सत्तालाई त्यो जिम्मेवारी दिने स्थिति निर्माण गर्न सक्नुपर्छ।
पाँच वर्षअघिको सो लेखमा तत्कालीन नेकपा (नेकपा) को सरकारलाई 'कम्युनिस्ट सरकार' भनेर खुबै आलोचना गर्नुभएको छ। त्यही नेकपालाई अदालतले चिरा पार्दिएपछिको एउटा चिरासँग कांग्रेसले सत्ता साझेदारी गरिरहेको छ, कस्तो अनुभव हुन्छ? अहिलेको सरकारको मूल्यांकन पनि गरिदिनुस् न!
नेपाली राजनीतिको चरित्र सत्तामुखी हुने, सत्तामा जानु नै 'सबकुछ' ठान्ने, जोड घटाउ, तलमाथि, जे गरेर हुन्छ सत्तामा पुग्ने मात्रै देखियो। नेपाली राजनीतिको समग्र चरित्रभित्र कांग्रेस पनि समाहित भएको छ। चुनावअघि गठबन्धन गर्नु गलत छ। चुनावपछाडिको गठबन्धन पनि सत्तामा जानकै लागि मात्र हुनुभएन। जनहितको काम गर्ने साझा उद्देश्य प्राप्तिका निम्ति सत्तामा जाने हो। सत्ताको उपलब्धिको फेहरिस्त देखाएर सत्तामा जानुको औचित्य पुष्टि गर्न सक्ने अवस्था बनेन। हाम्रो नेतृत्व के भन्छ भने सरकारमा नजाँदा वा विपक्षमा बस्दा धेरै कुरा गुम्छ। धेरै कुरा आफ्ना लागि गुम्ने हो कि जनताले गुमाउने हो? त्यो बेला हामी नेकपाबाट फुटेको चिरासँग मिलेर सत्तामा जान हुँदैन थियो, विपक्षमा बसेरै चुनावमा जानुपर्थ्यो।
आज सबैभन्दा ठूलो दल कांग्रेस हो, गठबन्धनबाट उपलब्धि निकाल्न सकिन्छ भने सरकारमा जाने कुरा ठीक हो। तर सत्तामा गएको यो एक वर्षमा त्यस्तो प्रयासै देखिएन। सत्तामा किन गएको भनेर औचित्य पुष्टि गर्न सकिएको छैन। हिजो सत्तामा नरहेको र आज सत्तामा रहेको अवस्था तुलना गर्दा जनतालाई सुनाउने कुरा खासै फरक छैन। कांग्रेसभित्र बुझाइमा एकरूपता छैन। हामीले राखेको बुझाइ सबैले राखेको स्थिति छैन। सत्तामा नजाने भनेको होइन, जनताका निम्ति काम गर्न पो जानुपर्छ भन्ने हो। हामीसँग फरक मत राख्नेहरूका अनुसार सरकारमा जानु मात्रै पनि उपलब्धि हो। किनकि आफ्नो गुट बनाउनका निम्ति सत्ताको प्रयोग गर्न पाइन्छ। सत्ताको प्रयोग यसरी गर्ने होइन। सत्तारुढ पार्टीको सांसद भए पनि हामीले एक ढङ्गले विपक्षकै भूमिका निर्वाह गरिरहेका छौँ।
निर्वाचन प्रणालीले नै एउटा पार्टीको बहुमतको सरकार बन्ने सम्भावनालाई करिब अन्त्य गरिदिएको छ, भनेपछि सरकार त गठबन्धन गरेरै बनाउने हो। २०७४ सालमा एमाले–माओवादीले गठबन्धन गरेपछि चुनाव पनि गठबन्धन गरेरै लड्ने अभ्यास शुरू भएको छ। गठबन्धनमा चुनावले खासगरी सिट छाड्न परेका ठाउँका कांग्रेसीजन बेचैन र विचलित छन्। यस्तो अभ्यासले निराश र कुण्ठित पारिदिएको छ। सम्भावित उम्मेदवारमा मात्रै बेचैनी र निराशा सीमित छैन, कांग्रेसका शुभचिन्तक मतदातासम्मै विस्तारित छ।
तपाईंहरूलाई आउने चुनाव कांग्रेस एक्लै लड्छ भन्न सजिलो र गर्न गाह्रो होला। कांग्रेसले छाडे माओवादी एमालेको बुई चढेर सत्ता पुग्देला, कांग्रेस सत्ताबाहिर हुत्तिएला भन्ने डर। अब गर्ने के? कांग्रेसजनमा व्याप्त बेचैनी र निराशाको निदान के?
जनता हामीसँग असन्तुष्ट हुनुपर्ने कारण गठबन्धन मात्र होइन, अरू धेरै छन्। गठबन्धन साझेदारसँग हाम्रो दर्शन, मूल्य, मान्यता र लक्ष्य मेल खाँदैन। कांग्रेस लोकतान्त्रिक पार्टी हो भन्ने बुझाइ जनताको हो। लोकतन्त्रवादी दलले सत्ताका निम्ति सबै खाले सम्झौता गर्ने कुरा स्वाभाविक हुँदैन। तिमीहरूका लागि सिद्धान्त र मान्यता महत्त्वपूर्ण हुनुपर्थ्यो नि, सत्ता किन महत्त्वपूर्ण भयो? विचारै नमिल्नेसँग किन घाँटी जोडेको? सत्तामा गएपछि त जनहितमा काम गर्छौं, हाम्रै विचारमा अरूलाई पनि ल्याउँछौ भन्थ्यौ, आए त? तिमीहरूले समाजलाई खुला बनाउन चाहेको हो, नियन्त्रित मान्यता राख्नेसँग मिलेर नियन्त्रणको बाटोतिर किन गइरहेका छौ? समाजलाई यति धेरै राजनीतिकरण किन गरिरहेका छौ? जनतालाई नै कार्यकर्ता बनाउन किन खोजिरहेका छौ? तिमी त उदार विचार बोक्ने, विवेक प्रयोग गरेर निर्णय गर्न सक्ने वातावरण बनाउने, निष्पक्ष न्याय प्रणाली बनाउने, राज्य प्रशासनलाई निष्पक्ष हुने स्थिति निर्माण गर्ने पक्षका होइनौ? तिमीहरू उनीहरू जस्तो भयौ वा उनीहरूलाई तिमीजस्तो बनायौ? तमाम सवाल जनताले कांग्रेसमाथि तेर्स्याएका छन्।
एक त हामी चुनावमा मिलेको रुचाइएको थिएन। १६५ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले प्रतिस्पर्धा गरेको त ९१ क्षेत्रमा न हो। बाँकी ७४ निर्वाचन क्षेत्रमा रुख चिन्हवाला उम्मेदवारै थिएनन्। रुखमा मतदान गर्न नपाउँदा कांग्रेसका बफादार मतदाताले चित्त दुखाए। तिमीले अह्राएर र आदेश दिँदैमा हामीले किन अन्यत्र भोट हाल्ने भनेर कार्यकर्ताले प्रश्न गरे। गठबन्धन हामीभित्र अलोकप्रिय छ। गठबन्धन गर्नेहरूले गठबन्धनको औचित्य पुष्टि गर्न जनताको पक्षमा काम गरेर देखाउन सक्नुपर्थ्यो। नेतृत्व अझै गठबन्धनको पक्षमा किन छ भने उनीहरूका निम्ति सत्ता नै प्रधान हो र गठबन्धन नगरी सत्तामा जान सकिँदैन।
पार्टीको बफादार मतादातासम्म निराशा र बेचैनी छ। यसको निदान के? गठबन्धनले निरन्तरता पाइनै रहने भयो, होइन?
गठबन्धन पक्षधरको तर्क के छ भने हामीले माओवादीलाई मिलाएनौँ भने अर्कोसँग मिल्छ र हामीले चुनाव जित्दैनौँ। चुनावमा सबैभन्दा धेरै मत ल्याए पनि सिट नल्याए हारिने भयो। धेरै सिट ल्याउन थोरै मत भएकाहरू पनि जोड्नुपर्छ। जित्ने कुरा प्रधान हो, सिट जितेपछि सत्ता प्राप्ति हुन्छ। सत्तामा पुगेपछि पार्टी नेतृत्व मठाधीश हुन्छ। उमेरको कारण यो अन्तिमचोटि भनेको छ, सत्तामा बसिरहने लालसा छ– यस्ता तमाम कुराले गठबन्धनलाई स्वाभाविक बनाइरहेको स्थिति छ। यसको सैद्धान्तिक पाटोसँग कांग्रेसमा ठूलो मतभेद छ। नजिते पनि एक्लै लड्नुपर्छ भन्ने मत पनि प्रभावशाली छ।
हाम्रो आठ लाख ६६ हजार सक्रिय सदस्य छन्, आधाभन्दा बढीले गठबन्धनलाई स्विकारेका छैनन्। सदस्य भएको कारण नरुचाए पनि स्वीकार गर्यो होला वा छलेर अस्वीकार गरेको पनि होला। मतदातालाई आकर्षित गर्न हामीले आज सोच्नुपर्ने विषय के भने हिजोजस्तो एकलौटी लोकतान्त्रिक स्पेस आज हाम्रो छैन। हामीलाई भोट दिने बुद्धिजीवी, विवेकी, लोकतन्त्रवादी सबैले हामीउपर तेर्स्याएको प्रश्नलाई यत्तिकै निरुत्तर राखिरहने हो भने भोट दिँदैनन्। त्यसैले आजको सन्दर्भमा हामीले एकल अस्तित्व कायम गर्ने गरी सत्ताको लोभ नगरेर प्रस्ट ढंगबाट अगाडि जाने अवस्था बनाउन सक्नुपर्छ। गठबन्धनका कारण हाम्रो घटेको भोटलाई पुनः प्राप्ति गर्न सैद्धान्तिक प्रष्टतासाथ एक्लै प्रतिस्पर्धामा उत्रिने स्थिति बन्नुपर्छ।
गठबन्धन गरेर चुनावमा प्रतिस्पर्धा गर्दा सत्तामा त पुर्यायो, बेफाइदा चाहिँ के हुने रहेछ त?
सत्तामा पुग्नेभन्दा अर्को फाइदा देखिएन। प्रधानमन्त्री-मन्त्री को बन्ने, कसलाई बनाउने भन्ने मात्र भयो। गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री तोक्नुहुन्छ। शीर्ष नेताले पार्टीमा आफ्ना बफादारमध्येबाट मन्त्री छान्नु हुन्छ। त्यसो भएपछि डेलिभर गर्ने मुद्दा कता हरायो कता। गठबन्धनले औचित्य पुष्टि गर्न नसकेको कारण पनि यही हो। नेताहरूले बरु 'सत्ता मेरो प्रधान विषय हो, त्यसकै निम्ति गठबन्धन गरिरहेको छौँ' भनेर खुलस्त भन्दिनुपर्यो। नत्र 'गठबन्धन डेलिभर गर्नका निम्ति हो' भनेर काम गर्न थाल्नुपर्यो, अनि न गठबन्धनको औचित्य पुष्टि हुन्छ। तर गठबन्धन गर्दा डेलिभर झनै भएको छैन।
दोस्रो, कांग्रेसको संगठन प्रभावित भयो। गठबन्धन गरेका कारण हाम्रो समानुपातिक भोट घट्यो। रुख चिन्हका उम्मेदवार हुँदा जितिने कतिपय क्षेत्र गठबन्धनलाई दिँदा गुमाउनुपर्यो। तेस्रो, रुख चिन्हभन्दा अरू सोच्नै नसक्ने प्रतिबद्ध मतदाता लाखापाखा लाग्ने अवस्था बन्यो। चौँथो, गठबन्धनका कारण अरूले गरेका गल्तीको अपजस पनि हामीले थाप्लोमा बोक्नुपर्यो। ठाउँ–कुठाउँमा सम्झौता गरेका कारण छवि नकारात्मक बन्यो। त्यसले वैचारिक स्पेसमा पनि हामीलाई समस्या गर्यो।
पाँच वर्षअघि तपाईंहरूले 'आगामी महाधिवेशनबाट नेतृत्व पुस्ताले विश्राम लिनुपर्छ' भनेर लेख्नुभएको थियो, त्यो त १४औँ महाधिवेशनमा भएन। आगामी महाधिवेशनबाट विश्राम लिने सम्भावना छ?
त्योचाहिँ हामीले कांग्रेसलाई रूपान्तरण गर्नुपर्छ भन्ने सन्दर्भमा भनेको हो। नेतृत्व परिवर्तन त पहिलो शर्त नै थियो, छ। त्यसपछि विचार, कार्यशैली र प्राथमिकता परिवर्तन–परिमार्जन हुनुपर्यो। कतिपय विषयलाई नयाँ ढंगबाट परिभाषित गरेर परिमार्जन गर्न सक्नुपर्यो। बदलिँदो नेपाली समाजको आवश्यकता प्रतिविम्बित गर्ने गरी पार्टीको दृष्टिकोण निर्माण हुनुपर्यो। समग्रमा लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढेको, धेरै आन्तरिक लोकतन्त्रको अभ्यास गरेको, सुशासनको पक्षमा र भ्रष्टाचारको विपक्षमा, राष्ट्रिय मुद्दामा प्रस्ट दृष्टिकोण भएको पार्टी कांग्रेस हो भन्ने बनाउन खोजेको हो। वैचारिक पक्षमा हामीले अरूले बुझ्ने गरी कति प्रस्ट बनाउन सक्यौँ, त्यो हाम्रो कमजोरीको पाटो हुनसक्छ। नेतृत्व परिवर्तन त प्रक्रियागत विषय हो। प्रक्रियाबाटै हामीले परिवर्तन गर्न चाहे पनि परिवर्तन हुन सकेको छैन।
हामीले पार्टी रूपान्तरणका लागि नेतृत्वको पुस्तान्तरणको आवश्यकता अझै बुझाउन सकेनौँ। बुझाउनका निम्ति हामी आफ्नै शैलीमा निरन्तर छौँ। हामीले पनि सुधार गर्नुपर्ने कुराहरू छन्। १५औँ महाधिवेशनमा कांग्रेसले सबै पक्षमा परिवर्तन आत्मसात् गरेर नयाँ शिराबाट अघि बढ्यो भन्ने सन्देश हामीले दिन सक्छौँ र दिनुपर्छ। त्यसका लागि समयमै महाधिवेशन हुनुपर्छ। महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गर्ने गरी प्रस्ट ढंगबाट अगाडि जान सक्नेगरी सन्देश दिन सक्यो भने हाम्रा समस्या हल हुन सक्छन्।

तपाईंहरूको जोडबल समयमै महाधिवेशन गर्ने हुन्छ। महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका प्रस्ताव गरिसक्नुभयो। तर संस्थापनले अब आउने स्थानीय र आमचुनावसम्मै महाधिवेशन टाल्ने सम्भावना छ। किनकि चुनावको टिकटमार्फत गुट बलियो बनाइराख्न सकिन्छ। यस्तो अवस्थामा समयमै महाधिवेशन हुने सम्भावना कति छ? २०८४ को चुनावपछि महाधिवेशन हुने अवस्था भयो भने कांग्रेसको दशा र दिशा कस्तो होला?
यसैमा अन्तर्द्वन्द्व चर्किने देखिन्छ। हामी समयमै महाधिवेशन गरेर कांग्रेस सबै पक्षमा रूपान्तरित भयो भन्ने सन्देशका साथ चुनावमा जान चाहन्छौँ। पार्टीभित्र गुटगत स्वार्थमा आफ्नो विरासत कायम गर्न चाहनेहरूले महाधिवेशन धकेल्दै स्थानीय र आमचुनावमा आफू बलियो हुने गरी टिकट वितरण गर्न खोज्ने सम्भावना छ। यसमा सबै कांग्रेसजन घोत्लिनुपर्ने छ, रूपान्तरणको सन्देश दिन नसक्ने हो भने २०८४ सालको चुनावमा के हुन्छ त? कांग्रेसले दिनुपर्ने सन्देश दिन सकेन भने २०८४ को चुनावमा हामी अब्बल हुनसक्ने सम्भावना कम हुन्छ। त्यसैले चुनावमा पार्टीलाई बलियो बनाएर लैजान सक्ने कांग्रेसले नै यो समग्र प्रक्रियाको नेतृत्व गर्न सक्छ भन्ने सन्देश समाजमा स्थापित गर्न समयमै महाधिवेशन गर्नुपर्छ। यसरी नै सरकारमा बसेर गइरहने हो भने सरकारले उपलब्धिको फेहरिस्त तयार गर्न सक्नुपर्छ। दुवै काम हामीले गर्न सकेनौँ भने पार्टीको भविष्यमा कुठाराघात हुने स्थिति बन्न सक्छ।
तपाईंहरू संविधानको रक्षा कांग्रेसले गर्नुपर्छ भन्नुहुन्छ, संघियता र धर्मनिरपेक्षताविरुद्ध कांग्रेसमै मत बनिरहेको छ। खुमबहादुर खड्काको बिडो थामेर शंकर भण्डारी हिन्दू राष्ट्रको पक्षमा मत बनाउँदै हुनुहुन्छ। अर्कातिर केन्द्रीय सदस्य तथा सांसद डा. आरजु देउवा भारतीय जनता पार्टीसँग सम्बन्ध घनिष्ट बनाउन सक्रिय भएको सुनिन्छ। कांग्रेस नै यो संविधानको मलामी जाने सम्भावना छ?
संवैधानिक प्रावधानभन्दा पनि दलहरू र सरकारको कार्यशैलीको कारण संविधानलाई विवादित बनाउने प्रयत्न भइरहेको बुझ्छु। आज यो संविधान संकटमा परेको त नभनौँ, टीकाटिप्पणी हुने स्थितिमा पुगेको चाहिँ सत्ताको नेतृत्व गर्ने दलहरूका नेताको कार्यशैलीका कारण हो। सुशासनको पक्षमा फिटिक्कै काम भएन। भ्रष्टाचार नियन्त्रणमा कतै कोशिश गरिएन। राज्य संयन्त्रलाई निर्बाध ढंगले चल्ने स्थिति बन्न दिइएन। सबैतिर पहुँचले काम गर्ने भयो। राज्यका सम्पूर्ण संरचनालाई पार्टी, गुट अझ व्यक्तिगत स्वार्थका निम्ति कब्जा गर्ने रवैयाबाट जसरी काम भयो त्यसले संविधानमाथि असन्तुष्टि प्रकट गर्ने स्थिति बन्यो। संविधानप्रदत्त उपलब्धि जगेर्ना गर्ने हो भने यो संविधान मान्नेहरूसँग सत्ता छ, सत्ताले आजैदेखि सुशासनका पक्षमा काम गर्नुपर्यो। सुशासनको पक्षमा काम गरेको संकेत बाहिर आउनेबित्तिकै सबै खाले प्रहार निस्तेज भएर जान्छन्। सत्तामा बसेर सुशासन खलबलाउने काम गर्ने अनि संवैधानिक व्यवस्थालाई परिवर्तन गर्नतिर लाग्ने हो भने अराजकता मात्र मच्चाउँछ।
संविधानको कुनै एउटा विषय मात्र परिवर्तन गरेर परिस्थिति सम्हालिनेवाला छैन। एउटा विषय परिवर्तन गर्न खोज्दा मूलभूत कुरा नै समाप्त हुने स्थिति बन्न सक्छ। आमजनता असन्तुष्ट भएको कारण पार्टीको नेतृत्वले नबुझेको पनि होइन। उहाँहरूले नबुझेको जस्तो गरिदिँदा असन्तुष्टिको प्रहार संविधानमाथि हुँदै गरेको स्थिति छ। यो हामीले ल्याएको संविधान हो भनेर हामी भनिरहेका छौँ, यसका मूलभूत विषयमा प्रतिबद्ध छौँ भनेर पनि भनिरहेका छौँ। म संविधानसभामा थिइनँ, हुन्थेँ भने धर्मनिरपेक्ष वा सापेक्ष केही पनि लेखिरहनु पर्दैन भनेर भन्ने थिएँ। संविधानसभामा बस्ने, संविधान जारी गर्ने अनि अहिले संविधानको मूलभूत विषयमाथि प्रहार गर्ने– यस्तो चरित्रले अस्थिरता निम्त्याउन उद्यत भएको देखियो नै, कांग्रेस पार्टीको कुनै पनि कुरामा प्रतिबद्धता नरहेको पनि देखिन्छ।
हिन्दु धर्म/संस्कृति हाम्रो मौलिकता हो, हाम्रो सभ्यता हो। यसको जगेर्नामा सम्झौता हुनुहुँदैन। यसको जगेर्ना गर्ने व्यवस्था त यो संविधानभित्रै छ। आजको मुख्य मुद्दा सुशासन हो। आम नागरिकले चाहेको राज्य व्यवस्थाको संरचना, व्यवहार, स्वरूप, त्यसअनुसार त्यसलाई सक्रिय बनाउने हो। जनता असन्तुष्ट एउटा विषयमा भएका छन्, असन्तुष्टिलाई अर्कातिर जोडेर स्वार्थपूर्ति गर्न खोजिँदैछ। गणतन्त्र छाडेर प्रतिगमनको बाटोतिर जान मिल्दैन। यसलाई मलजल कुशासनले गरिरहेकाले हामीले नेतृत्वलाई दबाब दिने कुरा के हो भने सुशासनमा बाधक नबन।
छवि र भूमिकामा कांग्रेस प्रश्नहरूको घेरामा छ। कांग्रेसले आफूलाई तत्काल सुधार गरिहाल्नुपर्ने, गर्न सकिने के–के हो?
पहिला त हामी प्रश्नहरूको घेरामा छौँ भन्ने कुरा नेतृत्वले आत्मसात् गर्नुपर्यो। शुभचिन्तकहरू नै हाम्रो कार्यशैलीप्रति असन्तुष्ट र निराश छन् भनेर चिन्तित हुनुपर्यो। किन असन्तुष्ट छन्, उनीहरूले चाहेको के हो भनेर चिन्तन गर्नुपर्यो। सत्तामा बस्याबस्यै छौँ, सुशासनको पक्षमा थोपो काम भएको छैन। कतिपय चर्चित भ्रष्टाचार देखेको नदेख्यै गरेका छौँ। नेतृत्व सुशासनको पक्षमा खरो भई उत्रिहाल्नुपर्यो। दोस्रो कुरा, राष्ट्रिय मुद्दाहरूमा ‘ब्ल्याक एन्ड ह्वाइट’मा प्रस्ट हुनुपर्यो, ‘ग्रे एरिया’ मा बस्ने होइन।
आजका नागरिकले बीपीले भनेजस्तै समाजवाद खोजेको हो? समाजवाद नै भनिरहन पर्छ कि नभने पनि हुने हो? शिक्षाको यो स्वरूपले समाजमा विभेद सिर्जना गर्छ, वर्ग झनै छुट्याउँछ। नागरिकले खोजेको शिक्षा र स्वास्थ्यका लागि समाजवाद चाहिने हो? शिक्षा पनि गुणस्तरीय र गुणस्तरहीन भनेर व्याख्या गरिरहेका छौँ। आजको प्रणालीले गुणस्तरीय र गुणस्तरहीन शिक्षा भनेर छुट्याइरहेको छ। स्वास्थ्य गुणस्तरीय र गुणस्तरहीन भनिराखिएको छ। शिक्षा र स्वास्थ्य गुणस्तरहीन भन्ने हुँदैन भन्छु, किनकि गुणस्तरहीन भएपछि त्यो शिक्षा भएन, स्वास्थ्य भएन। गुणस्तरहीन स्वास्थ्य भनेको के हो? दाहिने हात अपरेसन गर्नुछ, देब्रेको गर्नु होइन र? तर हाम्रो प्रणालीले त्यस्तै भाष्य विकसित गरिरहेको छ। हामीले हेरिरहेका छौँ, न हस्तक्षेप गर्छौं, न नियमन गर्छौं। शिक्षा, स्वास्थ्य, न्याय र पहुँचका आधारमा पाइने वस्तु होइन, राज्यले सबैको पहुँच हुने गरी उपलब्ध गराउनुपर्छ। निःशुल्क उपलब्ध गराउनुपर्छ। समाजवाद भने पनि नभने पनि गर्नुपर्ने यही हो।
आजको सन्दर्भमा राज्यको स्वरूप कस्तो हुनुपर्छ, संरचना कस्तो हुनुपर्छ भन्नेमा हस्तक्षेप गर्न सक्नुपर्छ। तेस्रो कुरा, कांग्रेस नियन्त्रित विषय, विचार र पद्धतिलाई संस्थागत गर्ने पार्टी होइन। कांग्रेस 'क्याडर' बनाएर, क्याडरमार्फत समाजलाई नियन्त्रण गर्न सिकाउने पार्टी पनि होइन। आज मात्र होइन, स्थापना कालमा पनि त्यो होइन। कांग्रेस खुला समाज निर्माण गर्ने पार्टी हो। यो आफैँमा ‘मास बेस्ड’ पार्टी हो। टिकट कसैलाई दिइयो, मतदातालाई लादिएको महसुस भएको छ। त्यसैले सदस्यले नै आफ्नो उम्मेदवार चयन गर्ने ‘प्राइमरी इलेक्सन’ सुनिश्चित गरिनुपर्छ। हाम्रो पद्धतिले गुट झाँगियो।
एउटा निर्वाचन क्षेत्रबाट २५ जना आउँछन्। जित्नेले १३ जनालाई पहिल्यै आफ्नो बनाइसकेको हुन्छ। जितको नजिक पुग्नेले १२ जनालाई आफ्नो बनाइसकेको हुन्छ। सभापति वा महामन्त्री लड्न चाहनेले के गर्छ भने 'मेरो निम्ति काम गर, तेरो राजनीति म सुरक्षित गरिदिन्छु, मेरा निम्ति भोट बढाएर आइज' भन्छ र त्यसरी गुट बनाएर जित्छ। जितिसकेपछि अलिअलि आफूनजिक भोट ल्याउनेलाई दिन्छ। बाँकी कुरा सबै आफ्नो मान्छेलाई दिन्छ। यस्तो नेता पार्टीको अभिभावक हो भन्ने महसुस नगरेपछि र उस/उनकै कारण अन्याय भएको हो भन्ने ठानेपछि नेता कार्यकर्ताले बदला लिन थाल्छन्। अहिलेको हाम्रो संरचनागत अभ्यासले गुट झाँगियो।
‘मास’ले नेतृत्व चयन गर्नुपर्छ। कांग्रेसको एकै प्रकारको सदस्यता वितरण गरी ती सदस्यले केन्द्रीय सभापति र महामन्त्री चयन गर्ने व्यवस्था हुनपर्छ। त्यसो भएपछि सानो झुण्ड बनाएर गुटबन्दी गर्न सकिँदैन। धेरै मान्छेले छनोट गरेको कुनै पनि विषय थोरैले गरेको भन्दा न्यायपूर्ण हुन्छ। त्यसरी गरियो भने क्षमतावान् नेतृत्व पनि आउँछ। कांग्रेसले केही आन्तरिक पद्धतिमा सुधार गर्ने र राष्ट्रिय मुद्दामा प्रस्ट भएर सुशासनको पक्षमा खरो ढंगले उभिनुपर्छ। सँगसँगै हामी सत्तामा बसेको कारण हामीले अकुत सम्पत्ति कमायौँ भन्ने संगीन आरोप छ। आरोपबाट मुक्त हुन राज्य संयन्त्रले हामीमाथि छानबिन गर्न चाहन्छ भने छानबिनमा सहयोग गर्नुपर्छ। त्यो पद्धति हामीले नै बसाल्ने गरी अगाडि जान सक्नुपर्छ।
महासमिति बैठक के विषयमा केन्द्रित हुन्छ? गठबन्धनको विषयमा विरोध भइहाल्छ होला। त्यहाँबाट केही निष्कर्ष पनि आउला?
महासमिति बैठक बहसको थलो मात्र हुने देख्छु, निष्कर्ष निस्किने छाँट छैन। कांग्रेसभित्र चरम ध्रुवीकरण छ। यसैले सन्देश नै फेर्ने गरी महासमितिमा निर्णय हुने कुरामा म आशावादी छैन। तैपनि बहुआयामिक बहस कांग्रेसभित्र प्रवेश गर्छ, जुन सकारात्मक ठहरिनेछ। प्रतिवेदनहरू आउँछन्, त्यसमा विषय पनि धेरै आउँछन्। धेरै विषयको प्रवेश हुने सकारात्मक लक्षण छ। महामन्त्रीद्वयले कांग्रेसको आगामी कार्यतालिका ल्याउनुहुन्छ। पास हुन्छ वा हुँदैन, म भन्न सक्दिनँ। वैचारिक पाटोमा पनि अरू धेरै साथीहरूले धेरै थोक ल्याउने स्थिति छ। नेतृत्वले टालटुल गर्ने, धेरै झमेला नगर्ने ढंगबाट जान खोज्ने छ। निष्कर्षमा पुग्नेगरी दबाब सिर्जना हुनसक्ने सम्भावना कम छ।
समग्रमा, यो बैठक कांग्रेसभित्रको एउटा नियमित प्रक्रिया मात्र हो भनेर बुझे भयो?
कतिले त्यसरी बुझिरहेको स्थिति पनि छ। तर त्यस्तो पनि होइन। विषयचाहिँ प्रवेश हुन्छन्।
पपुलिजमले राजनीतिलाई गाँज्दै लगेको देखिन्छ। आगामी दिनमा पपुलिजमको बाछिटाले कांग्रेस कतिको भिज्ने सम्भावना छ? पपुलिस्ट नेता-दलको आयु कस्तो अनुमान गर्नुहुन्छ?
हामीले गरेका त्रुटिहरूको जगमा उभिएर कसैले राजनीति गरिरहेको छ, कमजोरीको जग नहुने हो भने त्यो स्पेस नै बन्थेन। कमजोरी सुधार्नेभन्दा पनि ‘डिफेन्ड’ गर्नेतिर लागिरहेका छौँ। पपुलिजम धेरै टिक्दैन, त्यसको गहिराइ हुँदैन। राजनीतिले डेलिभर गर्न नसकेको, सुशासनको सन्दर्भमा थुप्रै प्रश्न उठाउन सकिने स्थितिको कारणले तिनै प्रश्न उठाएर राजनीतिमा टिक्ने कोशिश भइरहेको हो। जोउपर प्रश्न उठाइएको छ, उनीहरूले बढी ख्याल गर्नुपर्छजस्तो लाग्छ। ती प्रश्नलाई उत्तरित हुने स्थितिमा पुर्याउने र थप प्रश्न उठ्न नदिने, कमी कमजोरी पहिल्याइ सच्याउने र सच्चिएको सन्देश दिन सक्ने अथवा सत्तामा बस्दा भएका त्रुटिहरू स्विकारेर अब नयाँ शिराबाट अगाडि बढ्छौँ भन्ने सन्देश दिन सके पपुलिजमको स्पेस खासै हुँदैन। पपुलिस्ट चरित्रले के भन्दा ताली बज्छ, त्यही मात्र खोज्छ। उनीहरूप्रति समर्थन अस्थायी हुन्छ। योजनाबद्ध सिलसिला पनि हुँदैन। झिनामसिना समस्या पनि हामीले नसुल्झाएपछि त पपुलिजम पपुलर भइहाल्छ नि।
आमचुनावअघि गगन थापा र विश्वप्रकाश शर्मा जोडिए, चुनावपछि तपाईं पनि थपिनुभयो। ‘जीबीपी ट्रोइका’ आगामी महाधिवेशनसम्म साथसाथै हो?
हामी एउटै पुस्ताको भएकै कारण मिलेका होइनौँ। उहिल्यैदेखि संगत थियो, अब राजनीतिमा पनि मिलौँ भनेर मिलेका पनि होइनौँ। हामीलाई केही विषयले मिल्न बाध्य बनाएको हो। रूपान्तरणको पक्षमा कांग्रेसलाई लैजाने सवालमा जोडिने स्थिति बन्नुपर्छ भनेर जोडिएका हौँ। शक्तिकेन्द्र बन्न, पदीय स्वार्थ पूरा गर्न एक ठाउँमा आएका होइनौँ। हामीले अरूलाई यसैमा संगठित हुनुपर्छ भनेको पनि छैन। कांग्रेसको रूपान्तरण आवश्यक छ र यसका लागि हिँड्नुपर्ने बाटोबारे मूल नेतृत्वसँग हाम्रो मतभेद छ। यी विषयमा मत मिलेका कारण सँगै जाने बाटो तय गर्न खोजेको हो। यसले एउटा आशा सिर्जना गर्न सक्छ। अब कांग्रेस रूपान्तरणतिर जान सक्छ भनेर विश्वास दिलाउन सक्छ। आशा र विश्वास भयो भने मात्र हामीले यथास्थितिलाई बदल्न सक्छौँ। समय र परिस्थितिले यो आवश्यकतालाई स्वाभाविक बनाउँदै लैजान्छ कि जस्तो लाग्छ।
विश्वप्रकाश शर्माले त गगन थापाको नेतृत्व स्विकारेको देखिन्छ, तपाईंले पनि स्विकारेको हो?
मूल नेतृत्वमा दाबी गर्ने कुरामा म पछाडि परेको छु। म यहाँ नै हुनुपर्छ भनेर परिवर्तनका निम्ति बनेको माहौल बिगार्न चाहन्नँ। स्वाभाविक दाबेदार जो हो उसैलाई अघि सार्नुपर्छ। परिवर्तन, रूपान्तरण प्रधान हो। प्रधान कुरालाई निष्कर्षमा पुर्याउन कसको नेतृत्व स्वाभाविक हुनसक्छ भनेर हेरिनुपर्छ। गगनजी महामन्त्री हुनुहुन्छ, पहिलो संविधानसभा (२०६४) देखि हाउसमा हुनुहुन्छ, संसदीय दलको नेता लडिसक्नुभयो। स्वाभाविक रूपमा उहाँ अलि अगाडि देखिनुहुन्छ।

गगन र विश्वप्रकाशसँग तपाईंको लामो संगत छ, अहिले त पार्टीमा पनि एकै ठाउँमा उभिनुभएको छ। यी दुवै नेताबारे तपाईंको ‘अब्जर्भेसन’ के छ? कमजोर पक्षसहित भनिदिनुस् न।
गगनजी एकदमै महत्त्वाकाक्षीं नेता हो। महत्त्वाकाक्षा पूरा गर्ने स्वाभाविक वातावरण बनाउन पनि सिपालु हुनुहुन्छ। कतिपयमा महत्त्वाकाक्षा मात्र हुन्छ, प्राप्त गर्ने क्षमता विकास भएको हुँदैन। गगनजीमा स्वाभाविक वातावरण निर्माण गर्न सक्ने क्षमतासहितको महत्त्वाकाक्षा देखिन्छ। फेरि त्यही महत्त्वाकाक्षाका कारण कतिपय सन्दर्भमा सहकर्मीहरूले नै ‘मलाई पनि सँगै लैजान्छ’ भनेर अन्तर्मनदेखि विश्वास गर्न सक्दैन कि जस्तो लाग्छ। महामन्त्रीद्वयमा अत्यन्त धेरै सकारात्मक पक्ष भएकाले उहाँहरूको नेतृत्व स्वाभाविक बन्दै गएको स्थिति पनि छ। विश्व दाइ गगनजीजस्तो जोखिम मोल्न तयार हुनुहुन्न। विश्व दाइमा संगठन कला र अरूलाई विश्वास दिलाउने क्षमता त छ, जोखिम लिन तयार बन्नुहुन्न।
गगनमा कुन क्षमता छ, जुन तपाईं र विश्वप्रकाशमा छैन? विश्वप्रकाशमा कुन क्षमता छ, जुन तपाईं र गगनमा छैन?
महत्त्वाकाक्षीं म पनि उत्तिकै हुँला, माहौल बनाउने गगनजीको जस्तो क्षमता मसँग छैन। विश्व दाइमा कलात्मकता छ। सिलसिला जोडेर त्यसलाई टिकाइरहन उहाँले सक्नुभएको छैन। कुनै पनि विषयलाई ठ्याक्कै बुझाउने र माहौल बनाउने क्षमता गगनजी र मभन्दा विश्व दाइसँग बढी हो कि!
गगन र विश्वप्रकाशसँग नभएको र आफूसँग भएको बलियो पक्ष के हो जस्तो लाग्छ?
त्यो त म भन्दिनँ, तपाईंहरूले मूल्यांकन गर्ने कुरा हो।
अहिलेको विद्यार्थी राजनीतिले त सपार्ने केही देखिएन, बिगार्ने मात्र भयो। यस्तो विकृत राजनीतिले गतिलो नेता जन्माउने सम्भावना झनझनै कमजोर हुँदो छ। शिक्षण संस्थालाई पनि बिगारिरहेका छन्। सुधार्ने केही उपाय छ? स्ववियू त खारेज गर्दिए भएन र?
यही शैलीले चल्ने-चलाउने हो भने त खारेज गर्दिए हुन्छ। तर म स्वयम् विद्यार्थी राजनीतिबाट आएको मान्छेले वर्गीय स्वतन्त्रता हनन हुनुपर्छ भन्न मिलेन। स्ववियूले कार्यशैली परिवर्तन गर्नुपर्यो। अब स्ववियूको कार्यशैली परिवर्तन गर्न नेपाल विद्यार्थी संघ, अझ कांग्रेसले नै उत्प्रेरित र दबाब सिर्जना गर्नुपर्यो। हामीले पार्टीप्रति अझ आफैँप्रति बफादार मात्रै खोज्यौँ। विश्वविद्यालयप्रति, समग्र शिक्षाप्रति, विद्यार्थीप्रति प्रतिबद्ध नेतृत्व रोज्न र खोज्न सकेनौँ। स्ववियूमा नेविसंघले जितेको ठाउँमा स्ववियूले राम्रो काम गरिदियो भने त त्यसको फाइदा नेविसंघलाई मात्रै नभएर कांग्रेसलाई पनि हुन्छ। यसैले एकदमै पार्टीगत स्वार्थ राखेर भन्दा पनि स्ववियूको कार्यशैली सुधार्न पर्यो।
समयको माग समावेशी छ। तपाईंहरू बिपी कोइरालाको सरकार नै समावेशी थियो, धनमानसिंह परियार (दलित) लाई महामन्त्री बनाउने पार्टी कांग्रेस हो भनेर अतीतका कुरा सुनाउनु त हुन्छ तर अहिले समावेशीकरण यथेष्ट हुन त सकेको छैन नि, बाधा के होला?
हामी तिनै जना (गगन, विश्वप्रकाशसहित) पुरुष, त्यसमा पनि खस-आर्य त हौँ तर समावेशीकरणका पक्षपाती हौँ। समावेशीकरणका लागि यथेष्ट संरचना बनिसकेको अवस्था होइन। हामी तीन जना संरचनागत पक्षभन्दा पनि विषयगत पक्षबाट जोडिएका हौँ। मुद्दाको आधारमा जोडिँदा कैफियत देखिएला तर संरचनाको कुरामा त ख्याल नगर्ने कुरै हुँदैन, अझै संवेदनशील पनि छौँ।
राजनीतिमा जोसँग ‘कन्टेन्ट’ छ, जसले कन्टेन्टलाई आकर्षक लेआउटमा पस्किन सक्छ, उसैले नेतृत्व गर्ने हो। जुनसुकै लिंग, जात र भेगको भए पनि राजनीतिले कन्टेन्ट त खोजिरहेको छ। मैले राजनीति थालेको त ३५ वर्ष भयो तर ३५ दिनअघि आएको क्षमतावानले मलाई जित्न सक्छ भने मैले बाटो छाड्दिनपर्छ, त्यस्तै वातावरण बनाउनुपर्छ। आजको समाजले जे खोजेको छ, त्यसलाई सम्बोधन गर्न नेतृत्वले संरचनाचाहिँ समावेशी नबनाई हुँदैन। अरूको तुलनामा कांग्रेसको संरचना समावेशी छ, ३३ प्रतिशत महिला प्रतिनिधित्व नभएको संरचना छैन। तर यो यथेष्ट छ, पूर्ण छ भन्ने होइन। कार्यकारी तह कतिको समावेशी छ त? यसैले महिलाको हकमा ३३ प्रतिशतको बाध्यात्मक व्यवस्थाबाट माथि लैजानुपर्ने त छँदैछ, कार्यकारी पदमा पनि सबै सीमान्तकृतको उपस्थिति उल्लेख्य बनाउनुपर्ने चुनौती छ। यसैले कार्यकारी पदमा पनि बाध्यात्मक व्यवस्था गर्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
