बागलुङ-१ बाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विजयी

बागलुङ-१ मा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले हराउँदै राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विजयी भएका छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ-१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विजयी भएका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसी २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत ल्याए। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका खीमानन्द कँडेल ९ हजार १८१ मतसहित तेस्रो भए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ १ लाख १ हजार २२३ मतदाता रहेका थिए। ५४ हजार ७११ मत खसेको थियो भने ५२ हजार ८७० मत सदर भएको थियो। १ हजार ७१४ मत बदर भएको थियो।

२०७४ सालको निर्वाचनमा यहाँबाट बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा एमालेका सूर्यप्रसाद पाठक निर्वाचित भएका थिए।