अपराधका सजायमा मासिन्यामाथि राज्यको ठूलो विभेद थियो। अन्य जातलाई सर्वश्व वा थुना मात्र हुँदा मासिन्याको ज्यानै लिइन्थ्यो। नाटक ‘मासिन्या’ले कुनै बेला मासिन्या घोषणा गरिएको तामाङ समुदायको कथा भन्छ।
काठमाडौँ- बोम्बो (झाँक्री)ले जोखाना हेरेर सांमोकी भदैनीसँग पितृ खुशी नभएको र उनीमा पितृको आत्मा आएको बताउँछन्। त्यसपछि सांमो आफ्नो कथा भन्न थाल्छिन्। त्यो कथा कुनै पहाडको तामाङ गाउँको हो।
युवावयका च्याङ्बा र सांमो प्रेममा छन्। उनीहरूको प्रेममा अनेक आरोहअवरोह आउँछन्। उनीहरू विवाह गरेर परिवार बसाल्न चाहन्छन्। च्याङ्बाको जिन्दगीको सपना भनेको अकालमै ज्यान गुमाएका आमबुबाको सम्झनामा उनीहरूकै चाहना भएको ठाउँमा छोर्तेन बनाउने हो। च्याङ्बा त्यसैका लागि मेहनत गरिरहेको छ। तर विकासका नाममा 'राजनीति' गाउँ पसेपछि च्याङ्बा र सांमासँगै तामाङ गाउँका अधिकांशको जीवन मोडिन्छ। उनीहरू तामाङ संस्कृति र पहिचानसँग जोडिएको छोर्तेन जोगाउने संघर्षमा लाग्छन्। त्यसपछि थापागाउँस्थित मण्डला थिएटरमा चलिरहेको नाटक ‘मासिन्या’ले गति लिन्छ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा जारी गरेको मुलुकी ऐनमा जातीय वर्गीकरण गरेर विभिन्न जातजातिहरूलाई तागाधारी, मतवाली र अछुत भनेर विभाजन गरिएको थियो। प्राय: आदिवासीलाई मतवालीमा राखिएको थियो। मतवालीलाई पनि मासिन्या र नमासिन्या भनेर वर्गीकरण गरिएको थियो।
मासिन्या मतवालीमा थारु, तामाङ, भोटे आदिलाई राखिएको थियो। नमासिन्या मतवालीमा मगर, सुनुवार, गुरुङ, राई र लिम्बूहरूलाई राखिएको थियो। मासिन्यालाई दास बनाउन पाइने वर्गमा राखिएको थियो। अपराधका सजायमा मासिन्यामाथि ठूलो विभेद थियो। कतिपय अपराधमा अन्य जातका लागि सर्वश्व वा थुना मात्र हुँदा मासिन्याका लागि ज्यान सजायकै व्यवस्था थियो।

नाटक ‘मासिन्या’ले मुलुकी ऐनमा मासिन्याअन्तर्गत राखिएको तामाङ समुदायको कथा भन्छ। नाटकमा तामाङ समुदायको मौलिक कला, संस्कृति र परम्परा तथा यो समुदायमाथि राज्यव्यवस्थाले गरेको उत्पीडनलाई देखाइएको छ।
नाटक लक्ष्मी रूम्बा, राजु स्याङ्तान र राबतले लेखेका हुन्। निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। यसअघि नाटक माघ २८ गतेसम्म मात्र देखाइने भनिएको थियो। तर दर्शकको माग आएपछि प्रदर्शन मिति फागुन १२ गतेसम्म पुर्याइएको निर्माण युनिटले जनाएको छ।

नाटकमा रोहनी लामा, रुपेश लामा, सुनिल तामाङ, शीतल थोकर तामाङ, सानुमाया तामाङ, प्रशान्त वाइबा, सुलभ पाण्डे, निर्मल साउद, विकास लामा, रमिला मोक्तान, सचिन रत्न, विजय नेपाल, अजय लामा, सोनाम लामा, इंगिहोपो कोइँच सुनुवारलगायत कलाकारले अभिनय गरेका छन्।











Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
