हिउँचितुवाले चिसो, सुख्खा, खुला वा कम बोटबिरुवा भएको भूभाग मनपराउने भएकाले उर्लाबारीको वस्तुस्थिति यी तिनै परिस्थितिसँग मेल खाँदैन। हिउँदमा केही चिसो हुने भए पनि सहजै तराई झर्यो भन्नु उपयुक्त हुँदैन।
मोरङको उर्लाबारीमा १० माघ राति फेला परेको वयस्क हिउँचितुवा बारेको खबर राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा एकाएक ‘भाइरल’ नै भयो। यो कहाँबाट, कसरी र के कारणले हिमालभन्दा निक्कै तल समथर भागमा आइपुग्यो भन्ने प्रश्नहरूको उत्तर खोज्दै जाँदा हिउँचितुवा ‘पण्डित’हरूका आ–आफ्नै राय पाइयो। उच्च हिमाली वा चिसो ठाउँमा पाइने सो जनावर मोरङको तातो भू–भागमा सहजै देखिनु सम्भव कुरा हो त? यस्तो हुनुमा जलवायु परिवर्तन वा हरितगृह प्रभावको नतिजा छ त? यसको वैज्ञानिक विश्लेषण जरुरी छ।
के हो हिउँचितुवा?
स्तनधारी जनावर वर्गमा पर्ने हिउँचितुवा ‘फेलिडी’ परिवारमा पर्छ र यसको वैज्ञानिक नाम ‘प्यान्थेरा अनसिया’ हो। वयस्क हुँदा ०.५५ देखि ०.६५ मिटर अग्लो र टाउको ०.९ देखि १.७५ मिटर लामो हुने यो जनावरको पुच्छर ०.७८ देखि एक मिटरसम्म लामो हुन्छ। यसको वजन सामान्यतया ६९–७४ किलो हुन्छ। कहिलेकाहीँ भाले ७५ किलोसम्म र पोथी २५ किलोभन्दा कम वजन भएको पनि हुन सक्ने तथ्यांकबाट थाहा हुन्छ।
संसारभर हिउँचितुवाको संख्या करिब चार हजार हाराहारी रहेको र त्यसमा वयस्कको संख्या करिब दुई हजार ७०० देखि तीन हजार ४०० सम्म छ भन्ने विश्वास गरिन्छ। विभिन्न अनुसन्धानले नेपालमा हिउँचितुवाको संख्या ३००–५०० रहेको उल्लेख गरेका छन्। यसको आयु औसतमा १०–२० वर्षको हुन्छ।
हिउँचितुवाको समागमको समयावधि जनवरीदेखि मध्ये मार्चसम्म हुने गर्छ। पोथी हिउँचितुवा गर्भवती भएको ९३ देखि ११० दिनसम्ममा अर्थात् जुन वा जुलाईमा बच्चाहरू जन्मन्छन्। आमा एक्लैले बच्चाको हेरचाह गर्छे, खाना र आश्रय दुवै प्रदान गर्छे। जन्मेको १८ देखि २२ महिनापछि मात्र बच्चाहरू आमालाई छोडी स्वतन्त्र हुन्छन्।
हिउँचितुवा पाइने देश र वासस्थान
हिउँचितुवा नेपाललगायत अफगानिस्तान, भुटान, चीन, भारत, काजकिस्तान, किर्गिस्तान, मंगोलिया, पाकिस्तान, रुस, ताजिकिस्तान, उज्बेकिस्तान र उत्तरी म्यानमारमा पाइन्छ। संसारमा हिउँचितुवा पाइने कुल क्षेत्र लगभग २८ लाख वर्ग किलोमिटर अनुमान गरिएको छ।
उचाइको हिसाबमा यो सामान्यतया ५०० देखि पाँच हजार ८०० मिटर बीचको उचाइमा पाइन्छ। हिमाली क्षेत्रमा भने यो उपलेकाली (तीन हजारदेखि चार हजार मिटरसम्म), लेकाली (चार हजारदेखि पाँच हजार मिटरसम्म) र हिमाच्छादित (पाँच हजारदेखि ६ हजार मिटरसम्म) कटिबन्धीय (ट्रपिकल) क्षेत्रमा पाइन्छ। रुस र मंगोलियामा भने यो निक्कै कम उचाइमा (५०० मिटर) पाइन्छ। यद्यपि, यो धेरैजसो पाँच हजार ६०० मिटरभन्दा कम उचाइमा पाइन्छ भने कहिलेकाहीँ यसलाई ६ हजार मिटरसम्म पनि पाइने उल्लेख छ।
उपलेकाली क्षेत्रमा गर्मीमा उच्च तापक्रम शून्यदेखि २५ डिग्री सेल्सियस र जाडोमा शून्य डिग्री सेल्सियसको हाराहारीमा हुन्छ। लेकाली क्षेत्रमा गर्मीमा उच्च तापक्रम शून्यदेखि १० डिग्री सेल्सियसबीच र जाडोमा माइनस २० डिग्री सेल्सियसभन्दा पनि कम हुन्छ। हिमाच्छादित क्षेत्रमा बाह्रै महिना हिउँ जम्ने भएकोले वर्षभरि नै तापक्रम माइनस वा शून्यभन्दा तल हुन्छ।
हिउँचितुवाले मुख्यतः चट्टान भएको, पातलो जंगली क्षेत्र र केही उच्चहिमाली खोलानाला भएका भूभाग मन पराउँछ । यद्यपि, यो यदाकदा उच्च हिमालका खेतीपाती गर्ने ठाउँ र भूक्षयीकरण भएका ठाउँमा समेत पाइने उल्लेख छ। यो जनावर विशेष गरी डाँडाको अग्लो भागमा यात्रा गर्न रुचाउँछ, किनकि उच्च भागबाट सहजै चारैतिर देख्न सकिन्छ। निष्कर्षमा भन्ने हो भने हिउँचितुवाले खासगरी चिसो, सुख्खा र खुला वा अत्यन्त कम बोटबिरुवा भएको भूभाग मन पराउँछ।
सन् १९८९ मा ज्याक्सन र अहलबोर्नले पश्चिमी नेपालको मुगुस्थित लांगु उपत्यकामा गरेको अध्ययनअनुसार हिउँचितुवाको वासस्थानको परिधि १२ देखि ३९ किलोमिटरसम्म हुन्छ। त्यसैगरी सन् १९९७ मा एमके ओलीले मनाङमा एक भाले र दुई पोथीमा रेडियो-कलर प्रयोग गरेर हेर्दा हिउँचितुवाको हिउँदे वासस्थानको परिधि १९.९ देखि २२.३ किलोमिटरसम्मको हुने उल्लेख गरेका छन्।
हिउँचितुवाले आफ्नो वासस्थानको परिधि विशेष किसिमले चिह्न लगाउने गर्छन् र उक्त चिन्ह लगाउन ठूला ढुंगामा आफ्नो जीउ रगड्ने र पिसाब फेर्ने गर्छन्। यसरी गन्ध छोड्दै हिँड्ने हिउँचितुवा आफ्नो निश्चित वासस्थानको परिधि पहिल्याउन र घुमिरहन सफल रहन्छ। यसको वासस्थान पहिचान गर्न मानिसले खुट्टाको पाइला, गन्ध, रौँ र दिसाको अवलोकन गर्ने गर्छन्।
ज्याक्सन र अहलबोर्नका अनुसार भाले र पोथीको हिँडाइको गति फरक हुन्छ। भाले औसतमा प्रतिदिन १.१६ किलोमिटर र पोथी ०.६४ किलोमिटरको दुरी हिँड्ने गर्छ। दुवैले आफ्नो वासस्थानको परिधि टेढो-मेढो प्रकारको बनाउने गर्छन्। भाले र पोथीको वासस्थान भिन्नाभिन्नै ठाउँमा नभएर परस्पर रूपमा एकै ठाउँ हुने गर्छ। यद्यपि, तिनको मूल निवास क्षेत्र ८.१ वर्ग किलोमिटर हुने गर्दछ। तर ए. अर्यालले सन् २०१४ मा गरेको अनुसन्धानअनुसार उपल्लो मुस्ताङमा हिउँचितुवा करिब २६४.७ वर्ग किलोमिटरको क्षेत्रमा घुम्ने गर्दछ भनेर उल्लेख गरेका छन्।
मौसमअनुसार हिउँचितुवा केवल एकै ठाउँमा मात्र नबसेर एक भूभागबाट अर्को भूभागमा जाने गर्छ। यसरी वासस्थान परिवर्तन गर्दा अन्तर्देशीय स्थानान्तरण पनि हुने गर्छ।
हिउँचितुवाको स्वभाव र आहारा
हिउँचितुवा निक्कै लजालु, लुकी हिँड्ने र एकलकाँटे स्वभावको हुन्छ। यो सबैभन्दा सक्रिय कि त बिहान र साँझ हुन्छ कि त जनवरीदेखि मार्चसम्मको प्रजनन समयावधिमा हुन्छ।
मुख्यतः जंगली जनावरहरू नावर, झारल, घोरल र मृगमा निर्भर रहने हिउँचितुवाले साना हिमाली मुसा, खरायो, मलसाँप्रो, न्याउरी मुसा, स्याल र केही चरा पनि खाने गर्छ। हिउँदको समयमा हिउँचितुवाले उल्लेख्य मात्रामा घरपालुवा जनावरलाई पनि आफ्नो आहारा बनाउने गर्छ। विभिन्न अध्ययन-अनुसन्धानले हिउँचितुवाले ४० भन्दा धेरै प्रकारका जनावरलाई आफ्नो आहार बनाउने उल्लेख गरेका छन्।
उपसंहार
माथि उल्लेखित जानकारीले मोरङको उर्लाबारीमा १० माघ राति फेला परेको वयस्क हिउँचितुवा कसरी त्यस ठाउँमा भेटियो भनेर विश्लेषण गर्न मद्दत गर्छ।
समुद्री सतहदेखि माथि बढ्दै जाने उचाइको कुरा गर्ने हो भने हिउँचितुवा नेपालमा तीन हजारमाथि पाइने भए तापनि रुस र मंगोलियामा ५०० मिटरको हाराहारीमा पाइन्छ। उचाइको मापनलाई आधार बनाउनुभन्दा पनि हामीले मौसमको कुरालाई ख्याल गर्नुपर्छ। हिउँचितुवाले खासगरी चिसो, सुख्खा र खुला वा अत्यन्त कम बोटबिरुवा भएको भूभाग मनपराउने भएकाले उर्लाबारीको वस्तुस्थिति यी तिनै परिस्थितिसँग मेल खाँदैन। हिउँदको समयमा केही मात्रामा तराईमा चिसो हुने भए तापनि तापमानकै आधारमा हिउँचितुवा सहजै तराई झर्यो भन्नु उपयुक्त हुँदैन।
अर्को कुरा हिउँचितुवा एकलकाँटे र डाँडाको अग्लो भागमा यात्रा गर्न रुचाउने हुनाले घना बस्ती भएको तराईमा आफैँ नआई कसैले ल्याएको हुनसक्ने प्रबल सम्भावना देखिन्छ। मौसमअनुसार आफ्नो निश्चित वासस्थानको परिधिभित्र बस्न रुचाउने अनि उक्त वासस्थानलाई आफूले चिह्न लगाउने हुँदा र आफू जन्मेको १८ देखि २२ महिनापछि मात्र आमालाई छाडी स्वतन्त्र हुने स्वभावको जनावर ‘कतै आफ्नो आमाबाट छुट्टिएर हराएको बच्चा’ भनेर इंगित गर्नु उपबुज्रुकपन हो भन्दा अतिशयोक्ति नहोला।
‘ललितपुरको सदर चिडियाखानामा फोटो खिच्दा प्रतिक्रिया जनाएन वा तर्सेन’ भन्नु उपयुक्त निर्क्योल होइन। लजालु स्वभावको यो जनावर कतै फोटो खिच्दा ‘के गरूँ, कसो गरूँ’ भनेर ‘प्रतिक्रियाविहीन’ भई अलमलमा परेको हुन सक्छ। सुनसान ठाउँमा बस्ने यो जनावरलाई मानसिक आघात परेको पनि हुन सक्छ। यद्यपि, उद्धार गर्ने संस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषले शुरूदेखि नै व्यवहारसम्बन्धी अध्ययन गरेको भए उत्तम हुन्थ्यो। यो अहिले पनि शुरू गर्न सकिन्छ।
हिउँचितुवा अध्ययनमा पाइला, गन्ध, रौँ र दिसाको अवलोकन र उच्चतम प्रविधि प्रयोग गरी आनुवंशिक रूपमा विश्लेषण र पहिचान गरिने परिपाटी भएकाले सदर चिडियाखानामा ल्याइएको जनावरको उर्लाबारीमा भेटिँदा देखिकै दिसाको संकलन गरी, खाएको आहारको आधारमा यो कहाँबाट आएको भनी पहिचान गर्न सकेको भए उत्तम हुन्थ्यो। यसका साथै पाइलाका डोब पहिल्याउँदै गएको भए पनि केही कुरो त थाहा हुन्थ्यो। तर ‘भाइरल’ खबर र तस्वीर सम्प्रेषण गर्नेबाहेक यी संस्थाले केही नगर्दा उदेक मान्नुबाहेक हामी सर्वसाधारण के नै गर्न सक्छौँ?
संरक्षणको नाममा करोडौँ पैसा खर्च गर्ने यी संस्थाले कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय विज्ञको परामर्शमा यस्ता कुरा गरेको भए राम्रो हुन्थ्यो। यो हिमालबाट एकै पटक तराईसम्म सरासर हिँडेर आउने जातको जनावर नै होइन। यो एकै खाले मौसममा यसरी विभिन्न क्षेत्रमा हिँडिरहने जनावर होइन।
कञ्चनजंघा संरक्षण क्षेत्रबाट उर्लाबारीसम्म पुग्न धेरै खोलानाला पार गर्नुपर्ने हुँदा उर्लाबारीमा फेला परेको हिउँचितुवा कसैले पालेर अवैध रूपमा तस्करी गर्न तराई झार्दा फुत्केको हुनसक्ने सम्भावना प्रबल छ।
धेरैले भनेको जस्तो तराईमै कुनै घरमा पालिएको भन्ने कुरा पनि शंकास्पद नै छ, किनकि अत्यन्त चिसो ठाउँमा बस्ने यो जनावर हेर्दा ठूलो भएकाले केही गर्मी मौसम कटाएको जस्तो देखिन्छ। यसरी केही गर्मी मौसम कटाएर यस्तो हृष्टपुष्ट रहिरहन असम्भव हुन्छ।
उदाहरणका लागि हिमाली भोटे कुकुरकै प्रजाति तराई त के काठमाडौँ (९०० देखि १२–१३ सय मिटरको उचाइसम्म)मै पनि पूर्ण रूपमा बाँच्न कठिन हुन्छ। त्यसैले भाइरल हुने मेलोमेसो गर्नुभन्दा वैज्ञानिक विधि प्रयोग गरी ‘यो हिउँचितुवा यहाँको, त्यहाँको, यस्तो, त्यस्तो’ भनेर आजको युगमा 'अड्कलाइजेन' गर्नु बेकार मात्र होइन, लाजमर्दो कुरा हो।
उसो त एयर्पोटमा बोराका बोरा सुन भित्रँदा त मेलोमेसो नपाउने हाम्रो नेपालमा यो जाबो जनावरबारे के मतलब! आखिर हल्ला गर्यो, पत्रकार सम्मेलन गर्यो अनि जनावरको उद्धारमा पैसा खर्च गर्यो र अन्त्यमा विस्तृत वैज्ञानिक अध्ययन गर्न सम्बन्धित संस्था वा सरकारी निकायसँग बजेट छैन भन्यो, दातृ संस्थाहरूको मुख ताक्यो, बस्यो। यो त नेपाल र नेपालीको नियति नै भयो नि!
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
