ललितपुर-३ बाट स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

कार्की ८ हजार ७७१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। 

काठमाडौं– ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छन्। ८ हजार ७७१ मत ल्याएर कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काले ६ हजार ७७७ मत प्राप्त गरे। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रका पम्फा भुसालले ४ हजार २५४ मत मात्रै प्राप्त गरिन्। भुसाल बहालवाला ऊर्जामन्त्रीसमेत हुन्। 

कार्कीको उम्मेदवारीको विषयलाई लिएर निर्वाचन आयोगले रद्द नै गरेको थियो। उनी त्यसविरुद्ध सर्वोच्च अदालत गएकी थिइन्। अदालतले अन्तरिम आदेश जारी गरेको थियो। 

त्यसविरुद्ध पनि निर्वाचन आयोग भ्याकेटमा निवेदन लिएर सर्वाेच्च गएको थियो। तर, अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिँदै उम्मेदवारी कायम राखेको थियो। तोसिमा निर्वाचित भएको औपचारिक घोषणा हुन बाँकी रहेको छ।