नेपाली राजनीति र समाजबाट मिडल अर्डर बिस्तारै हराइरहेको अवस्था छ र यसले भोलिका दिनमा निम्त्याउन सक्ने विचारको शून्यता डरलाग्दो छ।
गत अक्टोबर-नोभेम्बरमा सम्पन्न क्रिकेट विश्वकपमा खेलिएका खेलहरूमध्ये लागेको एउटा अत्यन्त रोमाञ्चक खेल थियो अफगानिस्तान र अस्ट्रेलिया बीचको। (अरू खेल रोमाञ्चक थिएनन् भने अर्थ नलागोस्)। अफगानिस्तानले २९१ रन बनाएपछि ब्याटिङ गर्न आएको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाको 'टप र मिडल अर्डर' जब गर्ल्यामगुर्लुम ढल्यो, 'अल राउन्डर' ग्लेन म्याक्स्वेल आइपुगे। एक समयमा ९१ रनमा सात विकेट गुमाएको अस्ट्रेलियाको हार त अब निश्चित नै भयो भन्ने थियो। जब म्याक्स्वेल ले २०१ को अविजित रन बनाएर नयाँ व्यक्तिगत कीर्तिमान बनाए, उनको वाहवाही त जायज नै थियो, अझ उनले त असम्भव सरह भैसकेको म्याच नै जिताइदिए।
तर श्रेय पाउनुपर्ने अर्का एक खेलाडी पनि थिए– प्याट कम्मिन्स, कप्तान। उनको रनको योगदान जितमा कति थियो भन्दा पनि कप्तानीको टोपी फुकालेर आफ्नो सहखेलाडीलाई जुन धैर्यताका साथ उनले साथ दिए, त्यो बडो रोमाञ्चक थियो। खेलमा जित-हार त हुन्छ नै, तर उक्त खेलले एक पटक फेरि एउटा के कुरा सम्झाई दियो भने कसरी 'मिडल अर्डर कोल्याप्स'ले एउटा बलियो टिमलाई पनि हारको नजिक ल्याइदिन्छ।
त्यसैले त होला एउटा बलियो मिडल अर्डर निर्माण गर्न अधिकांश टिमहरू निकै मिहिनेत गर्छन्।
राजनीति खेलै त हैन, तर फेरी खेल पनि त हो। अझ असीमित सम्भावनाहरूको "खेल" पनि भन्छन् क्यार। तर नेपाली राजनीति को खेलमा यस्तो लाग्छ कि मिडल अर्डर नै छैन।
नेपालका मुख्य भनिने राजनीतिक दलहरूका कप्तानहरू हेर्नुभयो भने कोही पनि निकट भविष्यमा आफ्नो कप्तानीको टोपी फुकाल्ने पक्षमा देखिँदैनन्– भलै देश-समाज जतिसुकै संकटमा परोस्।
सत्ताधारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो ३४ वर्ष यता अविच्छिन्न नेतृत्वमा छन्। हद त यो छ कि ७०-वर्षीय दाहाल नयाँ विधान नै पारित गरेर अझै दुई अवधि अध्यक्ष पद ओगट्ने विचारमा छन्। आफूलाई 'प्रजातान्त्रिक' भन्न रुचाउने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उमेरले ८० को संघारमा छन्, तर उनको उत्कट अभिलाषा अझै छैटौँ पटक प्रधानमन्त्री 'खाई हाल्ने' छ, त्यसकारण उनी नेतृत्व हस्तान्तरण गर्न एक रत्ती पनि उत्सुक छैनन्। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ७०-७१ मा दौडिरहेका केपी शर्मा ओलीको पूर्ण कब्जामा छ। अध्यक्ष पदमा रहिरहन यिनले ७०-वर्षे विधान नै संशोधन गरिदिएको त धेरै पनि भएको छैन। अरू दलहरू पनि चारित्रिक हिसाबले खासै फरक छैनन्; जहाँसम्म नयाँका कुरा छन्, तिनीहरूको परीक्षण हुन बाँकी नै छ।
नेतृत्वमा बसेर दल हाँकिरहेको कुनै पनि नेतालाई आफ्नो पद सर्लक्कै कोही अरूलाई दिन त किन नै मन लाग्ला र; शक्तिको अभ्यास आखिर मानवीय (दुर्)गुण नै हो। विडम्बना के भने आज कुनै पनि मुख्य दलमा वर्षौंदेखि नेतृत्वमा बसेकालाई चुनौती दिने 'मिडल अर्डर' नै छैन। ती दलहरूमा मिडल अर्डर निरीह भइसक्यो, लगभग ‘कोल्याप्स’ भइसकेको स्थिति छ।
पुस्तान्तरणको कुरा नेपाली राजनीतिक वृत्तमा चलेको धेरै नै भइसक्यो। खास बहसले मार खाएको नै त्यहीँ हो। प्रश्न उमेरको पनि हैन। मूल कुरा के हो भने नेपालका ‘टप अर्डर’ राजनीतिक खेलाडीहरू सत्ता सञ्चालन, सेवा प्रवाह, विकास र समाज रूपान्तरणजस्ता विषयमा परीक्षण भएर अनुत्तीर्ण भइसकेका छन्। उनीहरूबाट अब रचनात्मक विचारको कुनै अपेक्षा नै छैन। चिन्ता के हो भने मिडल अर्डर पनि अघिल्लो पुस्ताले ओगटी रहेको पदका लागि पर्खिरहेको जमातमा परिवर्तन भइरहेको छ। आजको मिडल अर्डर पनि जुन पुरातनपन्थी विचार बोकेर हिँडेको छ, जसरी 'पपुलिज्म'को हावामा बहेको छ र सबैभन्दा तल झुन्डेको फल टिपेर खान कुरेर बसेको जस्तो गरेको छ, त्यसको प्रत्यक्ष असर त भोग्नुपर्ने समाज र मुलुकले नै हो।
क्रिकेट खेलकै उदाहरण लिऊँ न। मिडल अर्डर त योजनाकार हुन्छ, 'फिनिसर' हुन्छ, स्पिन र फास्ट बल उत्तिकै राम्ररी खेल्छ। विचारका साथ मैदानमा उत्रन्छ।
त्यसैले मिडल अर्डर टप अर्डरलाई विस्थापित गर्ने एउटा झुन्ड मात्र हैन कि, यो आफैँमा एउटा सामूहिक विचार पनि हो। अहिले नेपाली राजनीतिमा देखिएको मिडल अर्डरको संकट के भने यो करिब करिब विचारविहीन छ। या त उसको विचार नै छैन वा छ भने पनि ऊ प्रकट गर्न डराउँछ। हालै एउटा अत्यन्त दुखद घटना भयो– विभिन्न सडक दुर्घटनामा १२ जना ले ज्यान गुमाउनुपर्यो। प्रधानमन्त्री, मन्त्री, दलहरूले समवेदना प्रकट गरे। नेपालमा राजनीतिज्ञहरूले कुनै पनि काम अत्यन्त तीव्रताका साथ गर्छन् भने त्यो हो शुभकामना दिने र समवेदना प्रकट गर्ने। दुःखको कुरा के छ भने अहिलेका मिडल अर्डरले पनि त्यही अभ्यास अनुसरण गरिरहेका छन्। अन्तिम पटक तपाईंले कुन चाहिँ मिडल अर्डर राजनीतिक खेलाडीबाट कुनै सामाजिक महत्वको विषयमा कुनचाहिँ रचनात्मक विचार सुन्ने अवसर पाउनु भएको छ?
सडक दुर्घटनाबाट जोगिने उपायको बारेमा, रोजगारीको बारेमा, आधारभूत स्वास्थ्य र शिक्षाको बारेमा अहिले को मिडल अर्डरको विचार र योजना के हो ? भोलि दलमा पद पाए, र सरकार नै सञ्चालन गर्नु पर्ने अवस्था आए पछि उनीहरूले के गर्नेछन् र कसरी गर्नेछन् भन्नेबारे कुनै योजना उनीहरूसँग छ ? छ भने ती विचार हरू सार्वजनिक रूपमा बहसमा आएका छन् त?
प्रश्न उठ्न सक्छ– ठिकै छ नि त, आखिर समाज र राजनीति कहाँ फरक कुरा हुन् र, वर्तमान राजनीतिक परिदृश्यमा मिडल अर्डर नभए समाजबाट कोही आइ त हाल्ला। कुरो जायज पनि हो। तर देश यति खतरनाक अवस्थाबाट गुज्रिरहेको छ कि, नेपाली समाजबाटै बिस्तारै मिडल अर्डर हराइरहेको छ।
दैनिक दुई हजारभन्दा बढी युवा कामका लागि बिदेसिइरहेका छन्, पढ्नका लागि विदेश जाने विद्यार्थीको संख्या पनि उस्तै छ। यी युवा फर्केर आउँदैनन् भन्न खोजिएको हैन, तर यी युवा आएर राजनीतिचाहिँ गर्छन् कि गर्दैनन् भन्ने हो। नेपाली राजनीतिज्ञहरूले राजनीतिलाई यति घृणित बनाइदिएका छन् कि कोही किन राजनीतिमा आओस्। कसैले यही पुराना दलमा प्रवेश गर्ने मनसाय बनाइहाले पनि, तिनले देखेको वर्तमान निरीह मिडल अर्डरले गर्दा 'गएर गर्न नै के सकिन्छ र' भन्ने छ।
नेपाली राजनीतिको खेलमा केही "युवा" नेताहरू बलियो मिडल अर्डरको रूपमा स्थापित हुने लक्षण देखाएका थिए तर तिनी पनि अब अहिले नेतृत्वलाई चिढाउन भन्दा रिझाएर मात्र अगाडि बढ्न सकिन्छ भन्ने मानसिकताले ग्रस्त देखिन्छन्। आफूलाई प्रजातान्त्रिक भन्ने दलका बलिया मानिने मिडल अर्डर खेलाडी पनि आजभोलि "बेन्च"मा बसेका छन्, वा बस्न बाध्य पारिएका छन्; नेतृत्वलाई चुनौती दिनु भन्दा बरु सामाजिक संजालमै रमाएका छन्। हुँदाहुँदै अझ तर्क पनि जसलाई चुनौती दिन पर्ने हो, उही पुरानो नेतृत्वको झैँ परम्परागत गर्छन्।
मिडल अर्डरले समाजमा नयाँ, रचनात्मक र सिर्जनशील विचारको प्रवेश गराउँछ, समाजलाई जीवन्त बनाउँछ र आशाको सञ्चार गराउँछ। मिडल अर्डरबिना दल र समाज मृत प्राय: हुन्छन्। सबैभन्दा ठुलो कुरा त बलियो मिडल अर्डरले दल र समाजलाई 'अर्डर'मा राख्छ, किनकि यसले टप अर्डर र परम्परागत विचारहरूलाई बारम्बार चुनौती दिइरहेको हुन्छ अनि नयाँ बन्ने क्रममा रहेको पुस्तालाई प्रेरित गर्छ, आत्मविश्वास दिन्छ।
तर, नेपालका वर्तमान सत्ता सञ्चालक र दलहरूमा हालीमुहाली गरेर बसेका नेताहरूलाई भने हाइसन्चो भएको छ– न दलभित्र आफूलाई चुनौती दिने मिडल अर्डर छ, न त सडकमै आक्रोश पोख्न सक्ने मिडल अर्डर समाजमा छ।
समाजमा मिडल अर्डरको यो जुन अवसान शनैः शनैः भइरहेको छ त्यसले निम्त्याउन सक्ने विचारको दुर्लभता, शून्यता अनि संकट मुलुकका लागि कति घातक होला?
लेखक द काठमान्डु पोस्टका पूर्वसम्पादक हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
