नेपालमा अमेरिका पुग्ने अवैध बाटोलाई ‘तल्लो बाटो’ भनिएझैँ भारतमा 'डंकी रुट'ले चर्चित छ। फिल्मले यो रुटको यात्राका कठिनाइ, देशहरूका सीमा पार गर्दाका सकस तथा निश्चित देशमा पुगेपछिको व्यवहार उजागर गर्छ।
बिदेसिनेसहितका कैयन् नेपालीको गुनासो हुन्छ– देशमा गुणस्तरीय शिक्षा र रोजगारी छैन। राजनीतिले निकास दिन नसकेको गुनासो पनि सँगै जोडिएर आउँछ।
बहुसंख्यक नेपाली रोजगारीका लागि अवैध (सरकारले फ्रि भिसा फ्रि टिकटको दाबी गरे पनि म्यानपावर कम्पनीले रकम उठाइरहेका छन्) रूपमा पैसा तिरेर वैध बाटो हुँदै जाने भनेको खाडीका देश र मलेसिया नै हो। अध्ययन गर्न जानेहरूको रोजाइमा भने अमेरिका, क्यानडा, अस्ट्रेलिया, यूके तथा युरोपियन देशहरू पर्छन्।
अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा नेपालबाट रोजगारीका लागि आठ लाख जना बिदेसिएका छन्। अध्ययनका लागि एक लाखभन्दा बढी बाहिरिएका छन्। विदेशमा स्थायी बसोबासका लागि एक वर्षमा झन्डै ७१ हजार मानिस बाहिरिएको तथ्यांक सामाजिक सञ्जालमा चर्चाको विषय नै बनेको थियो।
सरकारले सार्वजनिक गरेको यो संख्या वैध तवरले देश छाड्नेहरूको हो। कैयौँ यस्ता व्यक्ति पनि छन् जो अवैध बाटो हुँदै, लाखौँ पैसा खर्चिएर कष्टपूर्वक अमेरिका तथा क्यानडाको यात्रा गर्ने जोखिम मोल्छन्। ती देश पुग्न सके आफ्नो जीवन सफल हुने विश्वास गर्छन्। यसको फाइदा एजेन्टले उठाउँछन्। सम्पन्नशाली देश पुग्ने सपना पछ्याउँदै अवैध बाटो तय गर्नेहरूले पैसा मात्र गुमाउँदैनन्, यात्राका क्रममा शारीरिक तथा मानसिक यातना भोग्छन्। कतिले त बाटोमै ज्यान गुमाउँछन्। यात्रा सफल भए पनि सुरक्षाकर्मीबाट समातिने त्रास रहिरहन्छ, चयनसँग सुत्न सक्दैनन्।
नेपालबाट यसरी अवैध तरिकाले अमेरिका जाने रुटलाई ‘तल्लो बाटो’ भन्ने गरिएको छ। यसरी जानेसँग एजेन्टहरूले विभिन्न देशहरूमा पुर्याएर बन्धक बनाउने र थप पैसा असुल्ने गरेका पनि छन्। एजेन्टहरूले एक जनासँग ९० लाख रुपैयाँसम्म लिने गरेको प्रहरीको अनुसन्धान उद्धृत गर्दै समाचारहरू आउने गरेका छन्।
सामान्यतया अमेरिका, क्यानडा र युरोपका देशहरूमा वैध तरिकाले जाने योजना गर्न नसक्दा वा त्यसरी जाने प्रयासमा भिसा नलागेपछि एजेन्टहरूले अवैध मार्गको विकल्प दिन्छन्। सपना पालेर बसेकाहरू एजेन्टको विकल्पमा फस्छन्।
यसरी अवैध बाटो हुँदै विदेश जानेहरूको कथा भन्छ राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ले। यो बलिउड फिल्मले अवैध मार्ग भएर सपना पछ्याउने नेपालीको कथा पनि भन्छ।
फिल्ममा शाहरुख खान, तापसी पन्नू, विक्की कौशल, अनिल ग्रोवर, विक्रम कोचरलगायत कलाकारको अभिनय देख्न सकिन्छ। दुई घण्टा ४१ मिनेटको यो फिल्म भने पन्जाबको लाल्टु गाउँका युवाहरूको कथामा बनाइएको छ। उनीहरू नेपालीले झैँ अमेरिका नभई लन्डनको यात्रा तय गर्छन्। लाल्टु गाउँबाट अवैध बाटो हुँदै लन्डन पुग्ने युवाको भोगाइलाई पर्दामा उतारिएको छ।
निर्देशक हिरानीले फिल्मको शुरूआतचाहिँ लन्डनस्थित अस्पतालमा उपचाररत मन्नु (तापसी पन्नू) बठ्याइँ गरेर त्यहाँबाट भागेको दृश्यबाट गर्छन्। मन्नु भारतको भिसा माग्दै 'इमिग्रेसन लयर' पटेलकहाँ पुग्छिन्। पटेलले भारतबाहेक नजिकका जुनसुकै देशको भिसा लगाइदिने तर भारतको नसक्ने जवाफ दिन्छन्। भारतीय नागरिक नै भए पनि भारतको भिसा नलाग्नुको कारण फिल्म हेर्दै जाँदा खुल्छ।
पन्जाबको कथा
पन्जाबको लाल्टु गाउँमा विदेश जानेको लहर छ। विदेशमा गएकाहरूको जनाउ दिन घरहरूमा विमानको आकृति बनाउने प्रचलन छ।
त्यसैबीच तीन युवा आ–आफ्नै समस्याबाट मुक्तिका लागि बेलायत पुग्ने चाहना राख्छन्। एजेन्टबाट ठगिन्छन् तर पनि उनीहरूको विदेश जाने चाहना मर्दैन। उनीहरूलाई लन्डन पुर्याउने यात्रामा लाग्छन् भारतीय पूर्वसेना हार्डी (शाहरुख खान)।
पूर्वसैनिक हार्डी देशभक्त छन्। तर आफ्ना साथीहरूलाई अवैध बाटोमार्फत विदेशी भूमिमा पुर्याउने जिम्मा लिन्छन्। यात्राका क्रममा भोगेका पीडा, सँगैका साथीहरूले ज्यान गुमाउँदा टुलटुल हेर्न विवश परिस्थितिबाट लन्डन जान हिँडेकाहरूप्रति दर्शकको सहानुभूति हुन्छ।

निर्देशक हिरानीले सन् १९९५ ताका पन्जाबमा देखिएको विदेश जाने लहर, त्यसका नाममा भएको ठगी तथा अंग्रेजी भाषा सिकाउने नाममा भइरहेका धन्दाबारे उजागर गर्ने प्रयास गरेका छन्। यो फिल्मले उनका अघिल्ला फिल्म जति दमदार र प्रणालीप्रति कटाक्ष गर्न नसके पनि तल्लो बाटो भनिने 'डंकी रुट'मा यात्रा गर्दा भोग्नुपर्ने कठिनाइ, देशहरूको सीमा पार गर्दाका सकस तथा निश्चित देशमा पुगेपछि गरिने व्यवहारजस्ता कुरा उजागर गर्छ।
फिल्मको पहिलो हाफमा कोचिङ सेन्टरमाथि उनले कटाक्ष गरेका छन् भने दोस्रो हाफमा डंकी रुटमा कसरी ज्यान गुमाउँछन्, कति कष्टकर यात्रा हुन्छ, बोर्डरमा के–के हुन्छ, खोला जंगल मरुभूमिको यात्रा कसरी तय गरिन्छ भन्ने देखाइको छ।
डंकी रुटको अर्को कथा
विभिन्न देशमा रोकिएर गैरकानूनी रूपमा अर्को देशमा पठाउने बाटोलाई भारतीय सञ्चारमाध्यमले 'डंकी रुट' नामकरण गरेका छन्। डंकी रुटको यात्राका लागि मानिसहरूले २० लाखदेखि एक करोड भारुसम्म खर्चिने गर्छन्। यत्रो रकम खर्चिए पनि उनीहरू सहजै अमेरिका, क्यानडा छिर्न पाउँदैनन्।
भारतको राजधानी दिल्लीबाट विमानमार्फत ल्याटिन अमेरिकाका इक्वेडर, बोलिबिया, ब्राजिल तथा भेनेजुएलालगायत देशमा पुर्याइन्छ। त्यहाँबाट एजेन्टहरूले अघिल्लो देशमा पुर्याउँदै नयाँ एजेन्टलाई सुम्पिन्छन्। पानामामा प्रवेश गरेपछि डंकी रुटको खतरनाक यात्रा शुरू हुन्छ।
कोलम्बिया र पानामाको बीचमा घना जंगल छ, यस जंगललाई पानामाको जंगल तथा डेरियन ग्याप पनि भनिन्छ। यो जंगलमा विषालु जीवजन्तु, लुटेरा, विभिन्न नदी छन्। यहाँ न मान्छे हिँड्ने सहज बाटो छन् न त प्रकाश र अन्य आधारभूत सुविधा नै।
यसबीचमा लुटेर तथा जंगली जीवजन्तुको आक्रमणका कारण कैयौँले ज्यान गुमाउँछन्। डेरियन ग्यापबाट ज्यान बचाएर निस्किएकाहरूलाई मेक्सिकोसम्म डुंगामा कष्टपूर्ण तरिकाले पुर्याइन्छ। उनीहरूको यात्रा यतिमै सीमित हुँदैन, मेक्सिको पुगेपछि अमेरिका प्रवेशका लागि ३० फिट अग्लो पर्खाल नाघ्नु पर्छ जसका क्रममा कतिपयको जान जान्छ। मेक्सिको र अमेरिकी सीमा पार गर्न सफल भए पनि सुरक्षाकर्मीले समातेर आप्रवासी केन्द्रमा थुनिन्छन्। यहाँको अवस्था जेलभन्दा पनि खराब हुने बताइन्छ। त्यहाँबाट उनीहरूलाई स्वदेश फिर्ता गरिन्छ।
भारतको कुरा गर्ने हो भने पन्जाब, हरियाणा, हिमाचल प्रदेशमा अमेरिका तथा क्यानडा जाने चाह उच्च रहेको छ। यहाँ आईईएलटीएस कोचिङ क्लासका नाममा करोडौँ भारतीय रुपैयाँको व्यापार हुने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्टहरूले पहिला नै लाखौँ रुपैयाँ लिएर भिसाका लागि आवेदन दिन्छन्, तर कैयन्को भिसा रिजेक्ट हुन्छ। तर प्रक्रियाका क्रममा मानिसमा विदेश जाने इच्छा यति प्रबल हुन्छ कि उनीहरू डंकी रुट रोज्छन्।
फिल्मबारे हिरानीको अनुभव
भारतीय फिल्म निर्देशक हिरानीको छैटौँ फिल्म हो डंकी। हरेक पटक फरक कथामा फिल्म निर्देशन गर्ने र हिट हुनेमा पर्छन् हिरानी। ‘मुन्ना भाइ एमबीबीएस’, ‘पीके’, ‘संजु’, ‘थ्री इडियट्स’को चर्चा उच्च थियो। थ्री इडियट्समा शैक्षिक प्रणालीमाथि कटाक्ष गरेका उनले पीकेमार्फत धार्मिक अन्धविश्वासमाथि व्यंग्य गरे।
हिरानीका अनुसार गाउँठाउँ छोडेर बिदेसिने युवाहरूका आ–आफ्नै परिस्थिति कारक हुन्छन्। अमेरिका, क्यानडा, लन्डन, यूकेजस्ता सम्पन्नशाली देश पुग्ने रहर, त्यहाँ पुगे सबै कुरा पूरा हुन्छ भन्ने आकांक्षाले डोर्याएर गलत बाटो खोज्छन्। कतिपयमा सम्पन्नशाली देश जाने इच्छा त हुन्छ तर आफूसँग डिग्री हुँदैन, बैंक ब्यालेन्स हुँदैन।
हिरानी भन्छन्, “शिक्षा र बैंक ब्यालेन्स भएन भने भिसा पाइँदैन। यसकारण कैयन् अवैध मार्गमार्फत विदेश जान्छन्। बाध्यता नभई कोही पनि आफ्नो घर, साथीभाइ, गाउँघर छोडेर जाँदैनन्।”
एक अन्तर्वार्तामा उनले फिल्म डंकी सत्य घटना र अनुसन्धानमा आधारित भएको बताएका छन्। उनले फिल्म निर्माणअघि अध्ययनका लागि पन्जाब पुगेर अंग्रेजी कक्षासमेत हेरेका थिए।
उनका अनुसार भारत हरेक वर्ष १० लाख मानिस डंकी रुट अर्थात् अवैध मार्ग हुँदै विदेश जान्छन्। यसरी जाने व्यक्तिहरूलाई देशको सीमा पार गर्न ६ देखि आठ महिनासम्म लाग्छ। यस्तो अवस्थामा धेरैले ज्यान गुमाउँछन्। ज्यान बचाएकाहरू लक्ष्यमा पुगेपछि मात्रै आफूले सोचेजस्तो ठाउँ रहेन छ भन्ने महसुस हुन्छ। तर पनि उनीहरू अवैध बनेर त्यहाँ जीवन गुजार्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
