उनीहरू पशुपति, तिलगंगातिर कवाडी उठाउँथे। एक दिन सोचे– कवाडी उठाउनुभन्दा भक्तजनसँग पैसा मागेर जिन्दगी चलाउनु राम्रो। त्यसपछि गुह्येश्वरी आउने भक्तजनसँग पैसा माग्न थाले। त्यो काम निरन्तर चलिरहेको छ।
काठमाडौँ– दृष्टिविहीन दीपक राईसँग दुई वटा कुकुर हरदम साथमै हुन्छन्। तिनको नाम हो– काले र क्युटी।
दीपक कतै जान ठीक परे भने काले र क्युटी अघि लागिहाल्छन्। दीपकको काखमा लुटपुटिएर बस्न पाउँदा खुब खुशी हुन्छन्। उनीहरूको सामिप्य नपाए दीपक पनि निस्ताउँछन्।
दीपककी श्रीमती कान्छी मगर भन्छिन्, “कुकुरलाई भाग नछुट्याइ यी बुढा खान पनि बस्दैनन्।”
दीपक र कान्छीलाई अक्सर भेटिने ठेगाना हो– गुह्येश्वरी मन्दिर परिसर।
यो जोडी गुह्येश्वरीमा माग्न बसेको वर्षौं भइसकेको छ। उनीहरू गोठाटारबाट हिँडेर हरेक दिन बिहान १० बजे आसपास गुह्येश्वरी पुग्छन्। दिनभरि उही ठाउँमा बस्छन्। कान्छी भन्छिन्, “भक्तजनले दिनुभयो भने कहिलेकाहीँ ४–५ सय उठ्छ। कहिले रित्तो हात फर्किनुपर्छ।”
कतिपयले तीतो वचन पनि लाउने दीपक सुनाउँछन्। “आँखा देख्ने कोहीकोही मान्छे निठुर हुँदारहेछन्। साह्रै हेप्छन्। नमिठो वचन लगाउँछन्,” उनले भने, “पेटमा हरि नहुनेले अपराध चिताउँछन्। मलाई त झोँक चल्छ, हामी आँखा नदेख्नेहरूले के बिगारिदिएका छौँ र!”
त्यसो त, उनीहरूलाई माया गर्नेहरू पनि छन्। यही बाटो दैनिक आवतजावत गर्ने कतिपयले नियमित खानेकुरा ल्याइदिन्छन्। कसैले १००/५० का नोट थमाइदिन्छन्। “हाम्रो भलो चिताउनेहरू पनि छन्,” दीपकले मुसुक्क हाँस्दै भने।

तर अहिले मान्छेले पैसा दिन छाडेको अनुभव छ यी दम्पतीसँग। पैसा कम हुँदा घरको खर्च चलाउनै धौधौ हुन्छ। दीपक भन्छन्, “जति उठ्छ त्यतिले पुर्याउछौँ।”
श्रीमान्को कुरामा सहमति जनाउँदै कान्छी भन्छिन्, “पैसा त अरब–अरब हुनेलाई पनि पुगेको छैन।”
श्रीमतीले बोल्दाबोल्दै दीपक बीचैमा बोल्छन्, “देशमा ठूलठूला माग्ने छन्। हामी साना माग्नेलाई कसले गन्छ र! हामीलाई मगन्ते भनेर हेप्छन्, यो देशमा को मगन्ते छैन? सबै त मगन्ते हुन्।”
दीपकको काखमा बसेको काले बेलाबेला जोडले भुक्छ। उनी अनुमान लगाउँछन्, ‘बिचरालाई भोक लाग्यो होला।’
उनीसँगै टाँसिएर बसेको क्युटीचाहिँ मन्दिर छेउबाटै बगेको बागमती नदीतर्फ फर्किएको छ।
०००
दीपक बल्ल ८ वर्ष पुगेका थिए। एकदम चुलबुले। दिनभरि साथीहरूसँग खेल्न हिँड्थे। हुल बाँधेर कहिले वरको डाँडा कहिले परको डाँडा पुग्थे। ओखलढुंगाको चस्मेडाँडामा उनका बालसखाहरू धेरै थिए।
उनी बोलक्कड थिए। बालसखाहरू उनको गफ चाख मानेर सुन्थे। छरछिमेकहरू भन्थे– केटो बाठो छ।
उनको बाल्यकालीन दैनिकी ठीकठाक चलिरहेको थियो। एक दिन अकस्मात आँखा चिलाउन थाल्यो। उनी आँखा बेस्सरी माड्थे, रातो हुनेगरी। थुप्रै दिन बित्दा पनि चिलाउन कम भएन, बरू झन्झन् बढ्दै गयो। उनले आमालाई पनि सुनाए।
दुईचार दिन त उनकी आमाले वास्तै गरिनन्। तर उनले भन्न छाडेनन्। हदै गनगन गर्न थालेपछि आमालाई पनि चसक्क भयो। जँचाउनका लागि गाउँमा अस्पताल थिएन, शहर लैजान परिवारसँग पैसा थिएन। दीपक भन्छन्, “त्यतिबेला गाउँमा सिउँडीको चोप हालेपछि आँखा दुखेको/पोलेको/चिलाएको चट्टै हुन्छ भन्ने मान्यता रहेछ। एक दिन आमा पनि सिउँडी बोकेर घर आइपुग्नुभयो।”
गाउँलेको सुझावअनुसार आमाले चारपाँच थोपा सिँउडीको चोप उनको आँखामा पित्काइदिइन्। अनि त आँखा भतभती पोल्न थाल्यो। बेस्सरी रून थाले। छट्पटी भयो।
आमाले ‘सञ्चो हुन्छ’ भनेपछि उनी सहेर बसे। तर कहिल्यै सञ्चो भएन।
दीपक अहिले उमेरले ५० वर्ष नाघिसके। बाल्यकालका घटना कमै याद छ। तर उनको स्मरणमा आँखाको ज्योति गुमेको त्यो दिन अझै ताजा छ। उनी भन्छन्, “सिउँडीको चोपले आँखा फुट्छ भन्ने न आमालाई थाहा थियो न मलाई। त्यो त बिखालु हुने रहेछ।”
चोप हालेपछि दीपकको आँखामा बादल लाग्दै आयो, जाडो याममा तराईमा लाग्ने बाक्लो हुस्सुजस्तो। आँखा ठप्पै देख्न नसकिने त भएन तर आफैँ अघिल्तिरको चिजबिज खुट्याउन पनि मुस्किल हुनथाल्यो। उनले देख्नै छाडेको चाहिँ ४० वर्ष उमेर कटेपछि मात्र हो।
उनलाई कहिलेकाहीँ त्यो दिन सम्झिएर खुब रिस उठ्छ। दिक्दारीले बेचैन बन्छन्। उनी मलिन स्वरमा सुनाउँछन्, “त्यो दिन मेरो आँखामा सिउँडीको चोप नपरेको भए जिन्दगी त अर्कै हुन्थ्यो होला!”
यस घटनाको केही महिना पनि नबित्दै उनकी आमाले अर्को विवाह गरिन्।
बुवा पहिले नै बितिसकेका थिए। बुवाबारे खासै सम्झना छैन। उनी भन्छन्, “बुवा जुवातास खेल्ने, जाँड खाने गर्नुहुन्थ्यो रे। अलिअलि भएको खेत पनि जुवा खेलेर सकाउनु भएछ। आमाले खुबै दुःख सहनु परेको थियो रे। म ६/७ वर्षको हुँदा बुवा नुन खान जानुभएछ।”

दीपकका तीन दाजुभाइ र दुई दिदीबहिनी थिए। आमाले पनि छाडेर हिँडेपछि उनी माइलो दाजुसँग बस्न थाले।
गाउँमा जग्गाजमिन थिएन। पैसा कमाउने उपाय पनि भएन। ९ वर्षको हुँदा उनलाई लिएर माइलो दाजु धरान झरे।
दीपकलाई गीत गाउन खुब मनपर्थ्यो। धरान झरेपछि लामो समयसम्म उनले गीत गाएर माग्दै हिँडे। गीत गाउँदै धरानबाट इटहरी, विराटनगर, काँकडभिट्टा पुग्थे। उनका गीत सुनेर यात्रु मख्ख पर्थे, २/४ रूपैयाँ थमाइदिन्थे। त्यतिबेलासम्म उनी आँखा धमिलो देख्थे।
उनले गाउने गीत रामायणका पात्रहरूबारे हुन्थ्यो। सतीप्रथाबारेका गीत पनि गाउँथे। मानिसका दुःखका गीत गाए। २०४४ सालमा हुरीले दशरथ रंगशालामा फुटबल हेर्न गएका बेला धेरै मान्छेको ज्यान लिएपछि त्यो दुःखान्त कथाको गीत पनि गाए।
कतिपय गीतहरू अहिले पनि उनको सम्झनामा छन्। उनी लय निकालेर गाउन थालिहाल्छन्–
सुन्नुहोला सज्जन, केही बिन्ती गर्छु
गल्ती होला भाइदेखि शरणमा पर्छु
गाउँछु गीत झ्याउरे भाषा,
रामायण सारा...
उनी गीत गाउँदागाउँदै बेस्सरी हाँस्छन्।
गीत गाउँदै उनी काठमाडौँ पनि आइपुग्थे। कहिले सिक्किम र दार्जिलिङ पुग्थे। २०४७ सालमा गीत गाउँदै भुटान पुगेका थिए। त्यहाँ घरघर पुगेर नेपाली गीत भाका हालेर गाए। विरहका गीत भुटानीले मन पराए, पैसा दिए। उनी भन्छन्, “हैट, जिन्दगीमा पनि के–के पो गरिएछ।”
२०५४ सालमा भने बस्नेगरी काठमाडौँ आइपुगे। गीत गाउनेबाहेक अरू काम जानेका थिएनन्। त्यही गर्न थाले।
पशुपतिको जंगलमा पाल टाँसेर बस्ने ठाउँ बनाएका थिए। घरभाडा दिनुपर्दैन थियो। गीत गाएको पैसाले खान पुग्थ्यो। तर उनी गीत गाएको कमाइबाट सन्तुष्टि हुन सकेनन्।
त्यसपछि दीपकले फोटो बेच्ने काम शुरू गरे। ‘हिरो हिरोइन’का फोटोहरू २० पैसा गोटा बेच्थे। शिव श्रेष्ठ, भुवन केसीका फोटो खुब बिक्थे। उनलाई अहिले पनि नेपालका पुराना अभिनेता र अभिनेत्रीहरूको नाम कन्ठस्थ छ।
उनी फिल्म हेर्न भनेपछि हुरूक्क हुन्थे। आँखा नदेखे पनि नयाँ फिल्म आयो कि सिनेमा हल पुगिहाल्थे। गोपिकृष्ण, रञ्जना, जयनेपाल, कुमारी, विश्वज्योतिलगायत सिनेमा हल पानीपँधेरो थिए। कहिलेकाहीँ त एउटै फिल्म दोहोर्याएर तेहेर्याएर हेर्न जान्थे। फोटो बेचेर कमाएको पैसा फिल्म हेरेरै उडाए।
‘आँखा नदेख्दा फिल्म हेर्न अलि गाह्रो भयो कि?’
उनी जवाफ दिन्छन्, “आँखाले नदेखेर के भयो, डाइलग हानेको त सुनिन्थ्यो नि!”
०००
गौशाला बस्ने दीपक २०५४ सालतिर प्रायः पशुपतितिर भेटिन्थे। एक दिन पशुपति मन्दिरछेउ डुल्दैघुम्दै गर्दा दीपक र कान्छीको देखादेख भयो। उनीहरूले चिनजान गरे। शुरूमा अलिअलि गफगाफ भयो। त्यसपछि दैनिकजसो पशुपतिमा भेट हुन थाल्यो। “त्यसरी नै माया बस्यो,” कान्छी हाँस्दै भन्छिन्।
कान्छी पनि त्यति बेला साथीहरूसँग गौशालातिर बस्थिन्। रामेछापको रातमाटेबाट भर्खरभर्खर काठमाडौँ आएकी थिइन्। कामको खोजीमा थिइन् तर भेटेकी थिइनन्। दीपकसँग भेट हुने दिन पनि पशुपतितिर घुम्न निस्केकी थिइन्। “कोसँग मायापिरती हुन्छ भन्ने कुरा त लेखेरै आएको हुँदोरहेछ,” कान्छीले यति बोलेर भुइँतिर हेर्न थालिन्।
अनि दीपकले थपे, “मेरो खप्परमा कान्छीसँगै बिहे हुन लेखेको रहेछ।”
त्यसैपछि दुवै जना हाँसे।
उनीहरूले पशुपतिमै बिहे गरे, त्यो दिन मंसिरको ३ या ४ गते थियो दुवैलाई स्पष्ट सम्झना छैन।
बिहेपछि गौशाला छेउमा उनीहरू पाल टाँगेर बस्न थाले। गुजारा चलाउन नाङ्ले पसल थापे। सरकारले उठाइदिएपछि २०५७ सालबाट त्यो काम पनि छाडे। “सरकारका मान्छेले सामान पनि लिएर गए। त्यसपछि नाङ्लाको व्यापार सधैँका लागि छाडिदियौँ,” दीपक भन्छन्।
श्रीमान्–श्रीमतीले नै सल्लाह गरेर दुवै जनाले कवाडी उठाउन शुरू गरे। कवाडीबाट हप्तामा २ हजार रूपैयाँसम्म कमाएको कान्छी बताउँछिन्।
पशुपति, तिलगंगालगायत ठाउँमा कवाडी उठाउने क्रममा उनीहरूले एक दिन सोचे– कवाडी उठाउनुभन्दा भक्तजनसँग पैसा मागेर जिन्दगी चलाउनु राम्रो। त्यसपछि गुह्येश्वरी मन्दिरमा आउने भक्तजनसँग पैसा माग्न थाले। त्यो काम अहिलेसम्म निरन्तर चलिरहेको छ।
दीपक भन्छन्, “कहिलेकाहीँ नेताहरूले गरिबी निवारण भनेको सुन्छु। हामी माग्नेको पनि स्थिति सुधारिदिए हुन्थ्यो नि!”
कान्छी थप्छिन्, “बरू धनी निवारण कार्यक्रम ल्याए हुने।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
