महिलाले स्कुल जाने, शास्त्र पढ्ने कुरै थिएन। छोरीहरू पढे भने बिग्रिन्छन्, गाई बहुलाउँछन्, घरमा अलच्छिन पस्छ भन्थे। तर तिनै आमाहरूको भूमिका सामाजिक सहिष्णुता र द्वन्द्व व्यवस्थापनमा प्रभावकारी थियो।
यो कथा हामीले छाडिआएको विकट जिन्दगीको हो। राणा शासनमा सामाजिक बुहार्तन भोगेका आमाहरूको हो। घरधन्दाबाट ढिम्किनै नपाएका आम महिलाहरूको हो। यो कथा प्रजातन्त्र र पञ्चायतमा अझ खापिँदै गएका बोझको कहानी हो।
यसको शुरूआत हुन्छ २००७ सालको क्रान्तिको आसपासबाट। तर आमाहरूको जीवनमा त्यो क्रान्ति कहिल्यै आएन।
घरमुनि तोरीबारीको डिलमा आरू झपक्क फुलेको थियो। धनकुटाको उत्तरमा पर्ने गुराँसे लेकबाट आउने चिसो सिरेटो कम हुँदै थियो। त्यस वर्ष नयाँ सन्तानलाई पेटमा हुर्काउँदै पनि आमाको पिठ्यूँले बेँसीको धान बोकिसकेको थियो।
यसपटक आमालाई दुई दिनसम्म सुत्केरी व्यथाले च्याप्यो। काकी, हजुरआमाहरू सुडेनी बने। दिदी रुन्चे अनुहार लगाएर घर भित्रबाहिर गर्थिन्। आमा व्यथाले रोएको सुनेर एक दिनभरि म पल्लोघरमै गएर बसेँ। बेलाबेला कुदेर फुत्त आउथेँ। आमा बाँच्ने आशा मारेझैँ गरेर हामीलाई पुलुपुलु हेर्नुहुन्थ्यो।
बा पनि हैरानीमै हुनुहुनुहुन्थ्यो। अनि दौडादौड गरिरहनुभएको थियो। कहिले धामीको घरमा गएर अक्षेता र पानी फुकेर ल्याउनुहुन्थ्यो। कहिले कता प्राथना गरिरहनुभएको हुन्थ्यो। हजुरआमाहरूले केदारधाम जाँदा ल्याएको रेलको टिकट आमाको कम्मरमा बाँधिदिएका थिए। त्यसरी कम्मरमा बाँधेपछि पीडा भाग्छ भन्ने विश्वास थियो।
दुई दिनको चरम पीडा र कष्ट भोगेर आमाले नयाँ सन्तानलाई धर्तीमा अवतरण गराउनुभयो। आमाको चौँथो सन्तान बहिनी आई।
त्यस वर्ष सुनार गाउँकी माइली आमैले चारपाँच दिन हाम्रो बारीमा मल बोकिदिइन्। त्योबेला जातीय भेदभाव कडै थियो तर सुनार गाउँका महिला हाम्री आमाका हितैषी थिए। आमाको सद्भावपूर्ण व्यवहारले गर्दा उनीहरू आइरहन्थे। तल ठोका गाउँकी आमाकी प्यारी आठपहरिया नन्द थिइन्। चाडबाड, बिहे बटुलोमा हाम्रो घर आउँथिन्। आमा सुत्केरी भएको सुनेपछि मह काढेर लिएर आइछन्। हामी उनलाई फुपू भनेर बोलाउँथ्यौँ। मैले फुपूको घर गएर धेरैपटक आँप र केरा खाएको थिएँ।
मंसिर लागेपछि गाई, भैँसीको गोठ बेँसी झारिन्थ्यो। तीनचार महिना आमाहरू धान पराल बोक्नुहुन्थ्यो।
एक दिन बेँसी झर्या बेला म पनि आमाहरूको पछि लागेँ। आमाहरू दुःखसुखका कुरा गरेर बाटो काट्थे। केके कुरा चल्यो मैले ध्यान दिइनँ, आमाहरू त भावुक भएर भक्कानिएर रुन थाले। मलाई नराम्रो लाग्यो। तल चौतारीमा पुग्दानपुग्दै सम्हालिएर एकछिन थकाइ मारेपछि फेरि ओरालो लागियो। त्यस बेलाका आमाहरूको पिर पोख्ने, आँसुले मन धुने, खुशी व्यक्त गर्ने भनेकै अर्मपर्म, गोठालो, खेतालो, घाँसदाउरा, मेलापात, हाटबजार गर्दा मन मिल्ने साथीहरू देउरानीजेठानी, नन्दभाउजू जुट्दा मात्र अनुकूल हुन्थ्यो। तर जेजे कुरा चले पनि गोपनीयता राख्थे, आपसी विश्वास गाढा थियो।
अघिल्लो वर्षदेखि हाम्रा बा तमोरपारि कुरुलेमा शिक्षक भएर जानुभएको थियो। उहाँलाई पढाउनका लागि गाउँलेहरूले नै बोलाएका थिए। बा हिँडेपछि आमाका दुःखको सीमा नै थिएन। बेँसीमा तौलीधान पनि खेपेको थियो। तयसपछि बर्खेधान रोपियो। त्यो बर्खेधान कोदालीले गाड्नुपर्ने थियो। धनकुटा बेँसीपारि बेलहारा गाउँका खेतालाहरू आउँथे। हाम्री आमाले खबर गरेपछि कहिल्यै धोका हुँदैन थियो। आमाले त्यहाँ पनि आत्मीय सम्बन्ध राख्नुभएको थियो।
आमासँग उनीहरूको सामिप्य र आत्मीयतालाई जातले छेक्न सकेको थिएन। आमाका हितैषीहरू राई र दलित समुदायका थिए। बेलुका आम्बोटे खेतको जंगलमा ओझेल पुगेपछि आमाले खेतालालाई खाजा र ज्याला दिँदै भोलिका लागि पनि आइदिन भन्नुहुन्थ्यो।
मेरो काम चाहिँ कुलोको पानी हेर्ने हुन्थ्यो। खेताला बिदा गरेपछि आमाले तीनचार मुठा घाँस बोक्नुभयो। तल चनौटे खेतबाट काकीहरू पनि आउनुभयो, अनि हामी उकालो लाग्यौँ।
हाम्रो नयाँ घर बनाएको वर्ष २००९ साल रहेछ। घर बनाउन टाढाको सल्ले गाउँबाट मिस्त्री मगर दाइहरू आएका थिए। कर्मी र मिस्त्रीहरू बासै बसेर घर बनाउने चलन थियो। उनीहरूलाई पनि खुवाउनुपथ्र्यो। त्यहीबेला हामीलाई अनिकाल पर्ने अवस्था भएछ।
आमा अछामिनी आमैलाई सहयोगी लिएर एक दिनमा पुग्न मुस्किल पर्ने डाँडागाउँस्थित मावल जानुभयो। हामीले मावलमा हजुरआमा त देख्न पाएनौँ, हजुरबुवा, मामा र माइजूहरू हुनुहुन्थ्यो। घर बनाएको वर्ष दुःख हुन्छ भनेर हजुरबुवाले नै छोरीलाई ‘अन्न लिन आइज कान्छी’ भनेर खबर पठाउनुभएको रहेछ। अनि त्यो दुःखको बेला सहयोगी बनेर साथ दिने तिनै दलित आमै हुनुभएको थियो।
त्यसबेला धनकुटाको सीमा पूर्वमा सिक्किमसम्म जोडिएको थियो। धनकुटा गौँडा जिल्लाको सदरमुकाम थियो। त्यहाँ राणा जर्नेल बडाहाकिम भएर बस्थे। हाम्रो हजुरआमाको माइती ताप्लेजुङको याङरुप गाउँ थियो। हाम्रो हजुरबा सय सालतिरै जवानीमै बित्नुभएको रहेछ। उमेरमै हजुरआमा एकल हुनुभयो।
एकपटक माइतीमा मुद्दा मामिलाका कारण संकट परेको खबर आयो। म आठ वर्षको थिएँ। हजुरआमा म फुच्चेलाई लिएर माइत जानुभयो। हाम्रो बुढो मावली काबेली खोलामाथि पाखामा थियो।
हजुरआमा निकै साहसी हुनुहुन्थ्यो। त्यसअघि, हाम्रो हुलाकी जग्गामा पनि मुद्दा परेको थियो रे। हजुरआमा मुद्दा लड्न हाम्रा बा (जेठो छोरा) लिएरै काठमाडौँ जानुभएको थियो रे। उहाँ मुद्दा जितेर फर्किनुभएको थियो रे।
२०१३ साल फागुन १६ गते धनकुटामा राजाको सवारी भएको थियो। त्यही महिनाको अन्तिम हप्तातिर धरानका वाग्ले थरका केटासँग मेरी ठूली दिदीको बिहेको कुरा छिनियो। दिदी १४ वर्षकी हुनुहुन्थ्यो। बिहे आएपछि हाम्रो घरमा खुब चहलपहल भयो। धान कुट्ने, चिउरा कुट्ने, दाउरा काट्ने र बोक्ने, पात टिपेर ल्याउने र गाँस्ने कामका लागि गाउँभरिका महिला पुरुष जम्मा हुन्थे। आमालाई यति धेरै धमाधम थियो, भनी साध्य छैन। त्यसबेला सानो भाइ काखमा थियो। दिदीलाई भाइले हैरान दिन्थ्यो।
बेलुका आमाले बासँग भन्दै हुनुहुन्थ्यो, “धरान ठूलो शहरमा छोरी दिने भइयो, शहरका कुटुम्बलाई मान पुर्याउन गाह्रो हुन्छ होला।”
बाले भन्नुभयो, “जसो होला, पिर नगर्। सकेसम्म राम्रो गरौँला। भोलि साहुकोमा जान्छु, ब्याज चैँ कस्छन् होला। तर (ऋण) नकाढी भएकै छैन।”
दिदीको बिहे हुँदा म १० वर्षको थिएँ। सबै कुरा त सम्झना छैन। यति थाहा छ, हामी भुरा खुब रमाएका थियौँ। बाले हामीलाई पनि नयाँ कपडा किन्दिने भन्नुभएकोले पनि फुरुङ्ग भएका थियौँ।
मेरी आमाले एउटा चाहिँ ‘वरदान’ नै पाउनुभएको थियो, उहाँ कहिल्यै कोहीसँग झर्किनु र रिसाउनुभएन। ‘भोक लाग्यो’ भनेको कहिल्यै सुनिएन। गलेर थकित अनुहार कहिल्यै देखिएन।
विवाह रमाइलोसँग सम्पन्न भयो। साँघुरीपारि झलमल शहर छ रे भन्थे, त्यो शहर धरान थियो। दिदी त्यही शहरको पराया घर गइन्। एक दिन आमालाई सोधेँ, आमाले महाभारत श्रृंखला र साँघुरी भन्ज्याङ देखाउँदै आँखा टलपल पार्दै भन्नभयो, “ऊ... त्यहाँ पुगेपछि धरान शहर देखिन्छ, त्यहीँ छ बाबु तेरी दिदीको कर्मघर।”
२०२२ सालतिरको कुरा हो, धरान–धनकुटा मोटरबाटो खन्न शुरू भएको थियो। गाउँलेहरू श्रमदान गर्न सातु, सामल तथा आढ्ने, ओछ्याउनेको कुम्लो बोकेर धरान झरे। बा पनि धरान झर्नुभयो।
म त्यसबेला धरानमा पढेथेँ। हामी साथीभाइ पनि श्रमदानको रमिता हेर्न गयौँ। त्यहाँ सेउलाका झुप्रो बनाएर सयौँ श्रमदानीहरू बसेका थिए। उनीहरू आफैँले खान र बस्नको बन्दोबस्त गरेका थिए भने, खन्ने औजार चाहिँ दिएको रहेछ। त्यहाँ पुरुष नभएका घरबाट गएका आमाहरूको समूह पनि थियो। त्यो सडकलाई धनकुटा ल्याउन बा र माइलो भाइले पाँच वर्षसम्म खने। पछि म छुट्टीमा घर जाँदा आमाले भन्नुभयो, “तेरो बा बाटो खन्न गएपछि म साह्रै बिरामी परेँ। संकटमा पल्लाघर काकी र माथिल्लो घरकी दिदीले मलाई ठूलो गुन लगाए। सुनार गाउँकी साइँली आएर धन्न मल बोकिदिइन्।”
धनकुटाबेँसीबाट मंसिरमा धान दाउनी गर्ने, बोक्ने काम पालैपालो अर्मपर्ममा मिलेर गरिन्थ्यो। दाइँ गर्ने सल्लाह पुरुषहरूले गर्थे, धान बोक्ने सरसल्लाह आमाहरूले गर्थे। गाउँका कार्की दिदी र फुपूहरू १०–१२ जनाले धान लिएर आए। भात हाम्रैमा पाक्यो। सबै गाउँले खेतालाले खाना खाए। अनि, भोलिपल्ट चनौटेको धान बोक्ने सल्लाह गर्दै राँको बालेर आआफ्नो घरतिर लागे।
“नानी उठ्न... भाले बासेको ऐले हैन। माथ्लार्की नानीले बोलाएको पनि धेरै बेर भइसक्यो। मैले कुवा गएर पानी ल्याई, कँस्यार लाई दैला ठेला पोतिसकेँ।”
माघको कठ्याङ्ग्रिदो ठिही। मैले ठुटे कट्टु र कमिज लगाएको थिएँ। आमाले ओढ्दै गरेको पछ्यौरा मलाई दिनुभयो। “अलि ढिलो भएछ, तीनतारा त डुबीसके,” आमाहरू आपसमा कुरा गर्दै झर्नुभयो।
रमिते डाँडामा पुगेपछि आमाले भन्नुभयो, “एक छिन त बसौँ, मलाई गाह्रो भो।”
आमा, काकीहरूका पैताला फुटेर छर्छरी रगत आएको देखेँ। त्यसबेला न आङमा तातो कपडा, न खुट्टामा जुत्ता। तर आमाहरू जीवनबाट कहिल्यै हारेको, निराश भएको देखिनँ। झण्डै तीन चार महिना गाउँ–बेँसी गर्दा पिठ्युँ खाली हुँदैन थियो।
त्यस बेलाको समाजमा धामी, झाँक्री, बोक्सी, डायन, लागो, भागो खुब कराइन्थ्यो। गाउँमा यस्तै निहुँमा झगडा पनि हुन्थ्यो। एकपटक ठूलाघर वाग्लेको जामुने खेतमा पाकेको धान हाम्रो गाईगोरुले खाइदिए। म गोठालो थिएँ। अघिल्लो रात माझघर माल्दाईका आङमा बुढीबजै आएको भनेर सबै हेर्न जाँदा म पनि गएकोले अनिँदो भएर गोठालामै निदाएँछु। भुसुक्कै बाली खाइदिएपछि ठूलै झगडा पर्यो। बाले गोद्नुहुन्छ भन्ने डरले म रातिसम्म गल्लीमा लुकेर बसेँ। आमाले बोलाएर लानुभयो।
एकपटक के भयो कुन्नी हाम्रा साविकका पुरोहितसँग मनमुटाव भयो। बोलचाल नै बन्द भएपछि बाले पुरोहित फेर्नुभयो। यस्ता अनेक घटनाको मलाई सम्झना छ। यी घटनामा आमा द्वन्द्व न्यूनीकरण गर्ने र सम्बन्ध सहज बनाउने काम गर्नुहुन्थ्यो।
मेरी आमाको कोखबाट झण्डै तीन वर्षको फरकमा हामी नौ सन्तान जन्मिएका थियौँ। छोराछोरीको लालनपालन, गाउँबेँसी खेती, गाईभैँसीलाई घाँसपात, सोत्तर, अर्मपर्म, ढिकीजाँतो, पानी पँधेरो, चाडपर्व, तिथिश्राद्ध भनी नसक्नु जिम्मेवारी थियो आमाको काँधमा। मैले थाहा पाएसम्म मेरी आमा दुई घन्टाभन्दा बढी राति आराम गर्न पाउनुहुन्न थियो। बिरामी परेको पनि कमै मात्र थाहा छ। सानुतिनु बिमार आमालाई भन्ने फुर्सदै थिएन।
छरछिमेक घरगाउँको सहयोग सम्बन्ध, कहिलेकाहीँ हुने झैँझगडा, शत्रुतापूर्ण कलह, तिनको कुशल व्यवस्थापनमा आमाहरूकै भूमिका हुन्थ्यो। पुरुषहरूबाट उत्पन्न भएका समस्याहरूलाई पनि आमाहरूको सद्भाव, सहिष्णुता, सहनशीलता र समन्वयकारी भूमिकाले न्यूनीकरण हुँदै सामाजिकीकरण गरिन्थ्यो। मेरी आमाका तल्लाघरकी हजुरआमा, मेरी हजुरआमा, पारिगाउँकी आमा, माथिल्लो घरकी आमा मात्र मान्यजन थिए। बाँकी सबै देउरानी र नन्दहरू थिए। मेरी आमालाई साइनोअनुसार पण्डितनी आमा, भाउजू, दिदी भन्ने धेरै थिए।
त्यो समयमा महिलाले शास्त्र पढ्ने कुरै भएन। स्कुल जान पाउने कुरा पनि भएन। छोरीहरू पढे भने बिग्रिन्छन्, गाई बहुलाउँछन्, घरमा अलच्छिन पस्छ भन्थे। विभेद र अन्धविश्वासको कालरात्री थियो। तर तिनै आमाहरूको अन्तरचेतना र ज्ञानले सामाजिक सहिष्णुता र द्वन्द्व व्यवस्थापनमा प्रभावकारी भूमिका हुन्थ्यो।
गाउँका आमाहरूको कामको बोझ अहिले पनि उस्तै छ। उस्तै छन् आमाहरूको दुःख। गाउँ पुगेका सडकहरूले छोराछोरीलाई टाढा पुर्याइदियो। आमाहरू गाउँमै छाडिए। दुःख पनि आमाहरूसँगै छाडिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
