बाटो बढाउने नाममा घर भत्काउनु हुँदैनः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेकाले बाटो फराकिलो गर्ने नाममा संरचना भत्काउन नहुने बताएका छन्।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंजस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नु नहुने बताएका छन्।



आइतबार विश्वेश्वर महादेव मन्दिर पुनः निर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताएका हुन्।



उनले पुराना भौतिक संरचनाको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्त्व रहने भन्दै उनले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए।



मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिबद्धता जनाए। उनले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए।



"अब क्रमशः देशको पर्यटनको काम बढ्नेछ, पर्यटनबाट आर्थिकोपार्जन हुनेछ। रोजगारीको लागि कोही पनि मानिस विदेश जान नपर्ने गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्छ," मन्त्री श्रेष्ठले भने।



मन्त्री श्रेष्ठले अहिलेको समाजले आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए। उनका अनुसार मन्त्रालयले पुरानै शैलीमा संरचनाको स्थापना गर्ने योजना बनाएको छ।



उनले पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्नेबारेमा पनि मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको दाबी गरे। उनले पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर अघि बढ्न नसक्दा पर्यटकलाई भित्र्याउन नसकेको बताए।



हनुमान ढोकादेखि स्वयम्भूसम्म २.२ किलोमिटरको सम्पदामार्ग निर्माण हुँदैछ। पर्यटकलाई शान्तिपूर्ण रूपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदामार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए। यो सम्पदामार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने छ।



उनले पुराना सिप, शैली, पेशा, व्यवसायलाई पुनः स्थापित गरी कसरी रोजगारी सिर्जना गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए। काठमाडौंका पर्यटकीय स्थानको भ्रमणका लागि पर्यटकलाई घुमाउन ४० जना जनशक्ति परिचालन गरेको उनको भनाइ छ।



मन्त्री श्रेष्ठले पर्यटकले शान्तिपूर्ण रूपमा यात्रा गर्न नपाएको गुनासो गरिरहेको भन्दै उनले यो सम्पदामार्गमा सम्भव भएसम्म मोटरसाइकल, अन्य सवारी चल्न नदिने गरी निर्माणको व्यवस्था गरेको बताए।