गौशालामा रहेका ४५० गाईको गोबर आसपासको बारीमा सागसब्जी उमार्न प्रयोग हुने रहेछ। यहाँ आउने दर्शनार्थीलाई पस्किने सात्त्विक भोजनमा यहीँ उब्जनी भएको सागसब्जी पस्किइँदो रहेछ। तर हामीलाई त्यो अवसर जुरेन।
प्युठान– पुसको पहिलो साता रिपोर्टिङका निम्ति प्युठान जिल्लाको झिमरुक गाउँपालिका पुगेका थियौँ। रिपोर्टिङ सकिँदा साँझको ८ बजिसकेको थियो। अतः हामीले त्यस दिनको बास बस्न स्वर्गद्वारीमा पुग्ने योजना बनायौँ। झिमरुकबाट स्वर्गद्वारी करिब ५० किलोमिटरको दूरीमा रहेछ। स्वर्गद्वारीमा सम्पर्क गरेर गाँसबासको प्रबन्धबारे सोध्यौँ।

टेलिफोन सम्पर्कमा आएका आश्रम व्यवस्थापनका प्रतिनिधिले हामी आइपुग्न अबेर हुने भन्दै भोजन गरेरै आउन सुझाव दिए। भिंग्रीबाट उकालो लाग्दा अत्यन्त चिसो महसुस भइरहेको थियो। करिब दुई हजार २०० मिटर उचाइमा रहेको स्वर्गद्वारीको आश्रममा पुग्दा रातको झन्डै ११ बजिसकेको थियो।

चार वर्ष पहिले स्वर्गद्वारी आउँदा यहाँको व्यवस्थापन अलि फरक पाएको थिएँ। यहाँको धर्मशालामा सहुलियत दरमा गाँस, बास, कपासको व्यवस्था हुने गरेको पहिलो पटक आउँदा थाहा पाएको थिएँ। आश्रममा पुगेसँगै त्यहाँस्थित सूचना कक्षबाट एउटा कोठाको रसिद काट्यौँ। ३२० रुपैयाँमा हामीलाई चार बेड भएको कोठा नं. १२ उपलब्ध गराइयो। हामीलाई आश्रमकै प्रतिनिधि लालुराम न्यौपानेले कोठासम्म पुर्याइदिए।

स्वर्गद्वारीमा गएर सात्त्विक भोजन गर्ने र केही समय अध्यात्ममा रमाउने हाम्रो योजना थियो। बिहानै उठेर हामीले भोजनालयबाट दुई कप चिया लियौँ। भोजनका निम्ति पूर्वजानकारी गराउनु पर्ने थियो। एकाबिहानै भएकाले सूचना दिने समय बाँकी नै थियो। अतः हामीले आश्रम परिसरकै महादेव मन्दिर दर्शन गर्यौँ।

लालुरामले मन्दिरको दक्षिणमा रहेको अग्निकुण्ड देखाउँदै त्यहाँको अग्निज्वाला १९५२ सालदेखि निरन्तर बलिरहेको जानकारी हामीलाई दिए।

हामी मन्दिर प्रांगणबाट केही दक्षिणमा रहेको गौशालामा गयौँ। लालुरामका अनुसार गौशालामा हाल ४५० गाई छन्। गाईको गोबर आसपासका बारीहरूमा सागसब्जी उमार्न प्रयोग हुने रहेछ। यहाँ आउने दर्शनार्थीहरूलाई पस्किने सात्त्विक भोजनमा यहीँ उब्जनी भएको सागसब्जी पस्किइँदो रहेछ।

गौशाला नजिकैको हेलिप्याडसम्म पुगेर धौलागिरि, अन्नपूर्ण, मनासलु हिमशृङ्खलाको मनोरम दृश्यावलोकनसहित हामी त्यहाँको सेरोफेरोमा टहलियौँ।

केही बेरमा फर्किएर आश्रम अगाडिको विशाल वृक्षको फेदमा बस्यौँ। सो रुख बाझ वृक्ष रहेछ। खाना खानुअघि आजको दैनिकी तय गर्दै रोल्पाको गुरुङगाउँ होमस्टे पुग्ने योजना बनायौँ। त्यसका लागि हामीलाई चाहिने थप बिदाका निम्ति कार्यालयमा सम्पर्क गर्यौँ। तर कार्यालयबाट रिपोर्टिङको लागि थप बिदा नमिल्ने भयो। अनि तत्काल काठमाडौँ फर्किन तम्सियौँ।

यसरी दोस्रो पटक पुग्दासमेत यहाँको सात्त्विक भोजनको अवसर जुरेन। केही समय मात्र बिताउन पाए पनि अग्लो पहाडमाथि रहेको स्वर्गद्वारी र त्यहाँको भूगोलले साँच्चीकै अद्भूत आनन्द भने महसुस गरायो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
