समाजमा महिला र पुरुष मात्र नभई त्यसबाहेकको लैंगिक पहिचान पनि हुने विषय नेपाली समाजमा चर्चा हुन थालेको करिब दुई दशक भयो। 'एलजीबीटीक्यूआईए प्लस' भनेर चिनिने यो समुदायप्रति अझै लाञ्छना र भ्रम बाँकी छन्।
काठमाडौँ– लैंगिक तथा यौनिक अल्पसंख्यक अर्थात् ‘एलजीबीटीक्यूआईए प्लस’बारे नेपाली समाजको बुझाइ नियाल्न तीन वटा सन्दर्भ हेरौँ।
सन्दर्भ १ः सर्वोच्च अदालतले गत असार १३ गते समलिंगी विवाहको अस्थायी दर्ता गरिदिन सरकारलाई अन्तरिम आदेश दियो। सुरेन्द्र पाण्डे र माया (रामबहादुर) गुरुङले सामाजिक रूपमा ६ वर्षअघि विवाह गरे पनि कानूनी रूपमा दर्ता भएको थिएन। सर्वोच्चको आदेशपछि सामाजिक सञ्जालमा समलिंगी विवाहको पक्ष र विपक्षमा बहस नै चल्यो।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले यस्तो विवाहलाई अनुमति दिनु ‘प्राकृतिक प्रक्रियामाथिको अपव्याख्या’ भन्दै विरोध गरे। तर लेखक तथा नागरिक आन्दोलनका अगुवा संजीव उप्रेतीले उक्त आदेशको स्वागत गरे। यद्यपि, उप्रेतीले आदेशको स्वागतमा सामाजिक सञ्जाल एक्समा गरेको पोस्टले अझै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायप्रतिको बुझाइमा त्रुटि रहेको थाहा हुने ‘क्वयेर युथ ग्रुप’की रुक्शना कपाली बताउँछिन्।
उप्रेतीको पोष्ट देखेपछि कपालीले 'कमेन्ट'मा धन्यवाद दिइन् र उनको त्रुटिबारे पनि बुझाइदिइन्। आफूलाई उक्त समुदायभित्र हुने अलग पहिचान र त्यसलाई सम्बोधन गरिने शब्दको जानकारी नहुँदा त्रुटि भएको उप्रेतीले उकालोसँग बताए।

“उहाँ (रुक्शना कपाली)को कमेन्ट देख्ने बित्तिकै मेसेजमा कुरा भयो। मेरो बुझाइ सतही रहेछ। समुदायभित्र प्रचलित भाषिक व्यवस्था र टर्म थाहा नभएको कारण बुझाइ दिन अनुरोध गरेँ। उहाँबाट एउटा विस्तृत अध्ययनको पाठ आयो,” उप्रेती भन्छन्, “अध्ययनपछि बल्ल थाहा पाएँ लैंगिक र यौनिक विषय नितान्त फरक र व्यक्तिगत रहेछन्।”
सन्दर्भ २ः काठमाडौँका स्वराज लामा अवकाश प्राप्त सैनिक हुन्। गत असारमा ‘प्राइड मन्थ’ (गौरवको महिना)मा भेट हुँदा उनले आफूलाई महिला र पुरुषबाहेकका लैंगिकता भएका व्यक्ति हुन्छन् भन्ने थाहा भएको तर जानकारी नभएको बताएका थिए। उनले भनेका थिए, “एलजीबीटीक्यूआईए प्लस समुदायबारे पनि प्राइड मन्थ शुरू भएपछि मात्र थाहा पाएँ। यो समुदायबारे जान्न इच्छा छ। धेरै जानकारी छैन।”
लैंगिक तथा यौनिक अल्पसंख्यकबारे विस्तृतमा जानकारी नभएका स्वराजजस्ता धेरै छन्। कतिपयले आफूहरूबारे बुझ्ने इच्छा गर्ने तर कतिपय भने बुझ्न नखोज्ने र लाञ्छना लाउने प्रवृत्तिका भएको स्वयम् लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्य बताउँछन्।
सन्दर्भ ३ः गत मंसिर २३ गते अनलाइनखबरको अंग्रेजी संस्करणमा प्रकाशित अंकित खड्गीको लेखमा नेपाली समाज लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि उदाहरणीय नभएको उल्लेख छ। लैंगिक तथा यौनिक अल्पसंख्यकबारे धेरैको सतही बुझाइ भएको उनको टिप्पणी छ। उक्त लेखमा भनिएको छ, “...नेपाल लैंगिक र यौनिक अल्यसंख्यकको लागि (सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा) भनेजस्तो, देखाएजस्तो युटोपिया (आदर्शवादी) उदाहरण होइन। नेपालमा लागू कानून एक आममानिसले बाँच्नका लागि पाउनु पर्ने अधिकार मात्र हो।”
उनको यो लेख पहिलो सन्दर्भसँग मिल्छ। सर्वोच्चले विवाह दर्ताको आदेश दिए पनि काठमाडौँ जिल्ला अदालतले उक्त मुद्दामा आफू विपक्षी नरहेको र सर्वोच्चले विपक्षीको नाममा दिएको आदेशमा आफू नपर्ने भन्दै सुरेन्द्र र मायाको विवाह दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि उनीहरू उच्च अदालत पाटन पुगे। तर उच्च अदालतले पनि उनीहरूको पक्षमा आदेश गरेन।
अनि सर्वोच्चको फैसला बोकेर लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर–२ गएका थिए। त्यहाँ गत मंसिर १३ गते उनीहरूको विवाह दर्ता भयो। उनीहरूको विवाहको समाचार सम्प्रेषण गर्दा कतिपय मिडियाले महिला, पुरुष, दम्पतीलगायत शब्द प्रयोग गरेका थिए। यही सन्दर्भलाई लिएर लेखिएको उक्त लेखमा खड्गीले पाण्डे र गुरुङ ‘क्वयेर’ समुदायका भए पनि समलिंगी नभई विपरीत लिंगी नै भएको बताउँछन्। सञ्चारमाध्यमले समाचारमा गलत व्याख्या गरेको उनको भनाइ छ।
लेखलाई आधार मान्दा क्वेयर समुदायको व्यक्ति हुँदैमा महिला र पुरुषभन्दा ‘फरक’ भनेर बुझिदिने मिथ्याविचारका कारण यसरी सम्बोधन भएको हो। समलैगिंक हुनका लागि दुवै व्यक्ति एकै लंगिकताका हुनुपर्छ। तर यहाँ सुरेन्द्र पाण्डे पुरुष र माया गुरुङ महिला भएकाले यो समलंगिक विवाह होइन विपरीत लैगिंक विवाह हो। माया गुरुङले आफूलाई महिला लंगिकतामा पहिचान गरे पनि उनको नागरिकतामा त्यही अनुरूप संशोधन हुन नसक्दा यो समस्या आएको हो
के हो लैंगिक तथा यौनिक अल्पसंख्यक?
नीलहिरा समाजकी पूर्वअध्यक्ष भूमिका श्रेष्ठ ‘एलजीबीटीक्यूआईए प्लस’ भनेर चिनिने लैंगिक तथा यौनिक अल्पसंख्यकबारे धेरै जनाको बुझाइ ठीक नभएको बताउँछिन्। नागरिक अगुवा, लेखक र बुद्धिजीविहरूलाई शंकाको सुविधा दिन सकिए पनि कतिपय चिकित्सकसमेत यसबारे अनविज्ञ रहेको उनको भनाइ छ।
“हामीलाई लागिरहेको थियो, हाम्रो अभियान एक कदम अघि बढेको छ, अब हामी आर्थिक र सामाजिक सहभागिताको लागि अघि बढ्ने छौँ,” उनले भनिन्, “तर, यहाँ एक कदम पछि हटेर अझै आधारभूत अवधारणा बुझाउनु पर्ने देखिन्छ।”
एलजीबीटीक्यूआई प्लसले लैंगिक तथा यौनिक अल्पसंख्यक पहिचानका व्यक्तिलाई जनाउँछ। ‘एल’ अर्थात्, ‘लेस्बियन’ले समयौनिक महिला र ‘जी’ अर्थात्, ‘गे’ले समयौनिक पुरुषलाई जनाउँछ। ‘बी’ अर्थात् ‘बाइसेक्सुअल’, ‘टी’ अर्थात् ‘ट्रान्सजेन्डर’, ‘क्यू’ अर्थात् ‘क्वेयर’, ‘आई’ अर्थात् ‘इन्टरसेक्स’, ‘ए’ अर्थात् ‘एसेक्युअल’ र प्लसले भविष्यमा भिन्न लैंगिक पहिचान बोकेर आउनसक्ने अन्यलाई समेट्ने श्रेष्ठ बताउँछिन्। यो पहिचान व्यक्तिको यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताको आधारमा हुने उनको भनाइ छ।

यति मात्र नभई, लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचानको फैलावट अझ व्यापक छ। यौन विशेषताको आधारमा अन्तरलिंगी (इन्टरसेक्स) हुन्छ भने लैंगिक पहिचानको आधारमा पारलैंगिक (ट्रान्सजेन्डर) महिला र पुरुष तथा गैरद्वयसांखिक (ननबाइनरी) हुन्छन्। त्यस्तै, अभिमुखीकरणतर्फ समयौनिक (होमोसेक्सुअल), द्वियौनिक (बाईसेक्सुअल), सर्वयौनिक (प्यानसेक्सुअल), अयौनिक (एसेक्सुअल), द्रवयौनिक (यौनिक रूपमा तरल) लगायत पहिचान हुन्छ।
क्वयेर युथ ग्रुपकी रुक्शना कपालीका अनुसार व्यक्तिको यौनांग र प्रजनन प्रणालीका अंगहरू क्रोमोजोमका ढाँचाबाट छुट्टिने भिन्नतालाई यौन विशेषता भनिन्छ। यसलाई लिंग भनेर बुझिन्छ। व्यक्तिको यौन विशेषता शारीरिक रूपमा निर्धारण हुन्छ।
विश्वभरि पुलिंगी र स्त्रीलिंगीहरू बहुसंख्याक छन्। यिनलाई समष्टिगत रूपमा इन्डोसेक्स (अन्तः लिंगी) भनिन्छ। स्त्री र पुलिंगीको परिभाषामा नपर्ने यौन विशेषताका विविधतालाई जनाउने शब्द अन्तरलिंगी अवस्था हो। कतिपय जन्मिएको अवस्थामा नै अन्तरलिंगी हुन्छन् भने, कतिलाई किशोरावस्थामा मात्र अनुभूति हुन्छ। कतिपयलाई जन्मदाको अवस्थामा नै अन्तरलिंगी हो भन्ने थाहा हुन्छ भने कतिलाई किशोरावस्था पुगेपछि मात्र थाहा हुन्छ। कतिपय अवस्थामा अन्तरलिंगीहरूको यौन विशेषता शारीरिक रूपमा बाहिर नदेखिने हुनसक्छ। कुनै व्यक्तिमा बाहिरी यौनांग योनी र अण्डकोष हुने, बाहिर लिंग र भित्र पाठेघर हुने अथवा लिंग र योनी दुवै हुने हुन्छ।
लैंगिक पहिचान व्यक्तिको स्वःअनुभूति पनि हो। आफ्नो लैंगिक पहिचान हुर्कने क्रममा अनुभूति हुँदै जान्छ। हुर्कने, बढ्ने क्रममा लैंगिक आचरण, हाउभाउ, चालढाल, आनीबानीलगायतबाट स्वःअनुभूति हुने कपाली बताउँछिन्।
जन्मेको अवस्थाको भन्दा विपरीत लैंगिक अनुभूतिलाई पारलैंगिक (ट्रान्सजेन्डर) भनिन्छ। कोही व्यक्ति जन्मँदा पुरुषको लिंग हुन्छ तर यौनिक अनुभूति महिलाको हुन्छ। त्यस्तै, कोही व्यक्ति जन्मदा महिलाको लिंग हुन्छ भने, यौनिक अनुभूति पुरुषको हुन्छ।
महिला तथा पुरुष दुई लैंगिकतालाई द्वयसांखिक (बाइनरी जेन्डर) भएको मानिन्छ। यसभित्र पनि विविधता हुन्छ। पुरुष वा महिलाको लैंगिकबाहेक पारम्परिक लैंगिक भिन्नतासँग सम्बन्धित नरहेका र महिला वा पुरुष लैंगिकता दुवै नरहेका, दुवै रहेका वा मिश्रण जनाउने लंगिक पहिचानहरूको विविधतालाई गैरद्वयसंख्यिक लैंगिकता भनिन्छ। गैरद्वयसंख्यिक शब्द छाता शब्द हो, यसमा दुईलैंगिक (बाइजेन्डर), अलैंगिक (एजेन्डर), द्रवलैंगिक (जेन्डर फ्लु), अर्धलैंगिक (डिमीजेन्डर) लगायत छन्।
पुरुष वा महिलाजस्ता पारम्परिक लैंगिक भिन्नतासँग सम्बन्धित नरहेका र महिला वा पुरुष लैंगिकता दुवै नरहेका, दुवै रहेका वा मिश्रण जनाउने लैंगिक पहिचानहरूको विविधतलाई गैरद्वयसांखिक लैंगिकता भनिन्छ। गैरद्वयसांखिक छाता शब्द हो। योअन्तर्गत विविध लैंगिक अनुभूति एवं पहिचानहरू छन्।

आफूलाई कुनै पनि लैंगिकतासँग सम्बन्ध नभएको पहिचान गर्ने व्यक्तिलाई अलैंगिक भनिन्छ। आफूलाई महिला र पुरुष दुवै भएको पहिचान गर्नेलाई दुईलैंगिक भनिन्छ। आधि रूपमा एउटा लैंगिकतासँग सम्बन्ध राख्ने र आधि भने तरल लैंगिकता भएकालाई अर्धलैंगिक भनिन्छ। महिला तथा पुरुष दुवैमा नपर्ने र विविध लैंगिक पहिचान जनाउनका लागि गैरद्वयसांखिक शब्द प्रयोग गरिन्छ।
व्यक्तिको यौन र प्रणयात्मक आकर्षणसम्बन्धी विशेषतालाई यौन अभिमुखीकरण (सेक्सुअल ओरेन्टेसन) भनिन्छ। यो व्यक्तिको मनोसामाजिक विशेषता हो। आफूभन्दा फरक र आफूजस्तै लैंगिकता भएका दुवैतर्फ यौन तथा प्रणयात्मक आर्कषण हुनु द्वियौनिक (बाइसेक्सुल) हो। सबै खालका यौनिकता भएकाहरूतर्फ यौन तथा प्रणयात्मक आर्कषण हुने सर्वयौनिक (प्यानसेक्सुल) हुन्। उनीहरू सबै लैंगिकता भएका व्यक्तिसँग आकर्षण महसुस गर्छन्।
द्रवयौनिक भने तरल वा परिर्वतनशील यौन अभिमुखीकरण भएका व्यक्ति हुन्। उनीहरू कुनै निश्चित लिंगतर्फ लगातार आर्कषण नभई परिर्वतनशील हुन्छन्। अयौनिक (एसेक्सुअल) भन्नाले कुनै प्रकारको यौन आकर्षण महसुस नहुने र कुनै प्रकारको यौन चाहाना नहुने अथवा अति न्यून चाहाना हुने हो। यसरी हेर्दा यौन विशेषता, लैंगिक पहिचान तथा यौन अभिमुखीकरण गरी एक व्यक्तिको तीन विभिन्न खालका भावना हुनसक्छन्।
पहिचानका लागि संघर्ष
समाजमा महिला र पुरुष मात्र नभई तेस्रोलिंगी पनि हुने विषय नेपाली समाजमा सार्वजनिक चर्चा हुन थालेको दुई दशक मात्र पुगेको छ। यस्ता समुदायका सदस्यलाई विभिन्न लाञ्छनायुक्त शब्द प्रयोग हुन थालेपछि नीलहिरा समाजले तत्कालीन अध्यक्ष सुनीलबाबु पन्तको अगुवाइमा ‘तेस्रोलिंगी’ शब्दको प्रयोग गर्न थालेको थियो।
त्यसबेला तेस्रोलिंगी भनिएको समुदायलाई अहिले उनीहरूको पहिचानका आधारमा एलजीबीटीक्यूआईए प्लस भनिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यकको गणनामा पनि तेस्रोलिंगीबाहेकका अन्यको गणना र अस्तित्वको पहिचान नभएको महसुस समुदायभित्रका व्यक्तिहरूको छ।
पासपोर्टदेखि सरकारी कार्यलयमा भर्नुपर्ने विवरणमा महिला, पुरुष र अन्यसम्म लेखिने व्यवस्था अझै नभएको नीलहिरा समाजकी पूर्वअध्यक्ष भूमिका श्रेष्ठ बताउँछिन्। यस्तोमा तेस्रोलिंगीको मात्र कानूनी र भाषिक पहिचान स्थापित भएको उनको भनाइ छ। लैंगिक तथा यौनिक अल्पसंख्यककै अन्य समुदाय छायामा परेको उनी बताउँछिन्।
श्रेष्ठका अनुसार भौतिक स्वरूपमा अन्य लैंगिक तथा यौनिक पहिचानभन्दा ट्रान्सजेन्डरहरू समाजको नजरमा परेका छन्। “पारदर्शिताका हिसाबले इन्टरसेक्सहरू पछाडि नै रहे। समाजले आफ्नो अघि जसलाई देख्यो त्यसलाई नै मान्न थाल्यो। यसले तेस्रोलिंगी समुदाय अझ बेसी देखिएको छ,” उनले भनिन्।

तेस्रोलिंगीको बढी चर्चा हुँदा लैंगिक तथा यौनिक अल्पसंख्यकका अन्य समुदाय छायाँमा परेको श्रेष्ठ बताउँछिन्। उनी भन्छिन्, “यदि समाजले यौनिकता र लैंगिकतालाई फरक पाटो हेर्ने हो भने यस खालको समस्या आउँदैन। यसको लागि अझै पनि समाजलाई शिक्षित गराउनु पर्नेछ।”
आफूलाई क्वेयरको रूपमा चिनाउने अकिंत खड्गी पनि क्वयेर वा एलजीबीटीक्यूआईएस प्लस समुदायका व्यक्ति तेस्रोलिंगी हुन् भन्ने बुझाइ गलत रहेको बताउँछन्। कानूनदेखि जनगणनामा पनि सबै एलजीबीटीक्यूआईएस प्लसलाई तेस्रोलिंगीमा गणना गरिएको भन्दै उनले असन्तुष्टि जनाए। सर्वोच्च अदालतले २०७९ पुसल ४ गते गरेको फैसलामा पनि लैंगिक तथा यौनिक अल्पसंख्यकलाई तेस्रोलिंगी भनेर बुझ्नु अनुपयुक्त रहेको ठहर गरेको थियो।
लैंगिकता र यौनिक अल्पसंख्यकप्रति नेपाली समाजको पूर्वाग्रहले बुझाइ र व्यवहारमा खाडल पैदा गरेको अंकित खड्गी बताउँछन्। “कोही पुरुष आफूलाई समलिंगी मान्छ र पुरुषप्रति नै आकर्षिक हुन्छ भने उसलाई समाजले पुरुषको रूपमा लिँदैन। कुनै पनि जेन्डरले उसको यौनिकतालाई रेफर गर्ने भन्ने हुँदैन,” खड्गी भन्छन्, “हाम्रोमा ओरिन्टेसन (यौनिक आकर्षण)को अर्थ र व्यवहार पुरुषप्रधान समाजमा पुरुषले नै निर्धारण गर्छ। हामीलाई सिकाउने, बुझाउने गरिएन। शिक्षित व्यक्तिलाई पनि परिभाषा थाहा छैन।”
लामो अभियानले समाजमा महिला र पुरुषबाहेक अन्य पनि छन् भन्ने स्वीकार गर्न थालिएको छ। तर ‘अन्य’मा के के छन्, कस्तो छन् भन्ने चासो राखेको पाइँदैन। “त्यस्तो अन्यीकरण गरिएकाहरूकोे यौनिक ओरिन्टेसन र पहिचानको विषयलाई लिएर को प्रति हाम्रो झुकाव छ भन्नेमा समाजले बुझ्नु पर्नेछ,” उनी भन्छन्।
भौगोलिकसँगै भौतिक र अन्य विकासले पनि यस प्रकारको बुझाइमा फरक ल्याउने उनी बताउँछन्। “म बसिरहेको अमेरिकमा सन् १९६० को दशकदेखि यी विषयमा बहस भए। सोही कारण केही हदसम्म उदार देखिन्छ,” उनी भन्छन्, “काठमाडौँ र सुदूरपश्चिममै पनि बुझाइ फरक हुन सक्छ। यसकारण पनि शैक्षिक पाठ्यक्रममा समावेश भइ विद्यालयस्तरबाटै पढाइ भए यस्ता विषय स्पष्ट हुँदै जान्छन्।”
समान भाषाका लागि रुक्शनाको अभियान
रुक्शना कपाली पारलैंगिक महिला हुन्। उनी सन् २०२३ को बीबीसीको प्रभावशाली र प्रेरणादायी १०० महिलामा परेकी छन्।
रुक्शना २०६५ सालतिर इन्टरनेटमा आफ्नो पहिचान भेटिने सामग्री खोजेर पढ्ने तथा हेर्ने गर्थिन्। आफूभित्रको पहिचानलाई बुझ्ने क्रममा अंग्रेजीका शब्दहरूसँग परिचित भइन्। तर नेपालीमा उपयुक्त शब्द थिएनन्।
उनी भन्छिन्, “कसले कस्तो पोइन्ट अफ भ्युबाट हेर्छ, त्यो महत्वपूर्ण छ। सिसजेन्डर पुरुष, महिलाको वास्तविकताबाट समाजले अन्य लैंगिक र यौनिक व्यक्तिलाई हेर्नु गलत छ। नेपालमा ट्रान्स भनिरहँदा महिलाबाट पुरुष हुनु वा पुरुषबाट महिला हुनुलाई मानिन्छ। जुन गलत बुझाइ हो।”
शारीरिक रूपमा जन्मँदा पुरुष भए पनि लैंगिक अनुभूति महिलाको वा महिला भए पुरुषको अनुभूति हुनु पारलैंगिक हो।

यद्यपि, उनी आफू उचित भाषिक तथा शब्दावली प्रयोगका लागि लडिरहेको बताउँछिन्। उनले पहिला नेपाल भाषामा एजीबीटीक्यूआई प्लस समुदायको भाषिक तथा शब्दावली उन्नतिको लागि काम गरिन्। तर नेपाली भाषामा पनि तेस्रोलिंगी र समलिंगीबाहेक शब्द थिएनन्। सोही कारण पनि आफूसम्बद्ध क्वेयर युथ ग्रुपले भाषामा काम गर्न थालेको उनी बताउँछिन्।
भाषामा शब्द हुनु वा नहुनुले कानूनदेखि समाजसम्म प्रभाव पार्ने रुक्शना बताउँछिन्। यसले राजनीतिक क्षेत्रमा पनि प्रभाव पार्ने उनको भनाइ छ। “नेपाली भाषाका नाम, सर्वनाम तथा क्रियामा पुलिंग र स्त्रीलिंग ठ्याक्कै छुट्याउने शब्दावली छन्। जस्तै, दाइ, भाउजू, गर्छ, गर्छिन्। यस्तोमा यौनिकता झल्काउने भन्दा पनि समानता देखाउने शब्दावली आवश्यक छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
