स्वतन्त्र पार्टीका 'क्याम्पेन हेड' ढुंगाना भन्छन्- ३० देखि ३५ सिट जित्नेमा आशावादी छौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियान हाँकेका सिमोन ढुंगानाले आफ्नो पार्टीले प्रत्यक्षमा ८ देखि १० र समानुपातिकतर्फ २२ देखि २५ सिट जित्ने बताए।

काठमाडौं– आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना शुरू हुँदैछ। गणना शुरू नहुँदै विभिन्न संस्थाहरूले गरेका एक्जिट पोल, काठमाडौं उपत्यकादेखि देशका विभिन्न क्षेत्रमा मतदान गरेका मतदातासँगको कुराकानी र त्यसक्रममा देखिएका रुझान हेर्दा यो निर्वाचनले केही जबर्दस्त संकेत गरेको छ। त्यो हो, स्थापित प्रमुख पार्टीहरूले प्रभाव पार्दै आएको मतमा यसपालि भर्खरै जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धावा बोल्ने देखिन्छ। त्यस्तै, टुटफुटबाट गुज्रँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि स्थापित पार्टीहरूको मत घटाउने संकेत देखिएको छ।

सबभन्दा रोचक चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सम्भावित उदय बनेको छ। काठमाडौं उपत्यकासहित केही ठाउँमा प्रत्यक्षतर्फ नै निर्वाचन जित्ने आकलन भइरहेको रास्वपाले समानुपातिकतर्फ नसोचेको मत पाउने प्रक्षेपण भइरहेको छ। तीन महिना पहिले मात्र गठन भएको रास्वपाले प्रतिनिधि सभामा कति सिट जित्न सक्छ? अनि तीन महिनामै यसको आधार कसरी तयार भयो? 

रास्वपाको चुनावी अभियान हाँकेका 'क्याम्पेन हेड' सिमोन ढुंगानाले प्रतिनिधि सभामा ३० देख ३५ सिट जित्ने आशा आफूहरूले गरेको बताए। "प्रत्यक्षमा हामीले ८ देखि १० सिट जित्ने आशा गरेका छौँ। समानुपातिकतर्फ २२ देखि २५ सिट ल्याउने हाम्रो आशा छ", उनले भने। 

ढुंगानाका अनुसार पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट जित निकाल्ने आकलन छ। त्यस्तै काठमाडौं-२ बाट सोविता गौतम, काठमाडौं-६ बाट शिशिर खनाल, काठमाडौं-८ बाट विराजभक्त श्रेष्ठ, ललितपुर-३ बाट डा. तोसिमा कार्की, चितवन-३ बाट जिता बराल, झापा-४ बाट शम्भु प्रसाद ढकाल र सुनसरी-१ बाट गोमा तामाङ निर्वाचित हुने आशा गरिएको उनले बताए।

"हाम्रो पक्षमा साँच्चिकै लहर आएको रहेछ भने हामी यीबाहेकका सिटमा पनि जित्न सक्छौँ", उनले भने। 

काठमाडौं उपत्यकाभित्र अहिलेसम्म काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित हुने आकलन भइरहेको छ। त्यहाँ रास्वपाका उम्मेदवार छैनन्। रास्वपाले गगनका लागि मैदान खालि गरिदिएको टिप्पणी भइरहँदा ढुंगानाले भने गगनलाई छाड्ने कुनै योजना र सल्लाह नभएको दाबी गरे। "हामीले हतारमा आन्तरिक रूपले प्राइमरी इलेक्सन गरेर उम्मेदवारहरू छान्दाखेरि काठमाडौं क्षेत्र नम्बर ४ मा तलबाटै अरूण श्रेष्ठ छानिएर आए। उनको बारे हामीलाई खासै थाहा थिएन। पछि त उनी गगनका मान्छे रहेछन् र उनको भित्र भित्र कुरा मिलिसकेको रहेछ", ढुंगानाको दाबी छ।

हप्तौंको चुनावी दौडाहापछि केही सन्नाटा छाएजस्तो भएको तर, मतगणना शुरू भएपछि माहौल तात्ने उनको दाबी छ। "अहिले पार्टी पंक्तिको मूड एकदम राम्रो छ र मतगणना हाम्रो पक्षमा जान्छ भन्ने विश्वासले भरिएको छ", उनले भने, "हिजोसम्म हामी उत्साहित त थियौँ तर यति राम्रो माहौल बन्छ भन्ने सोचिसकेका थिएनौँ। आजबाट थप उत्साहित भएका छौँ।"

पार्टी सभापति रवि लामिछानेबारे अन्तिम समयमा आएको नागरिकता विवादले चुनावी माहौललाई खासै फरक नपारेको उल्लेख गर्दै उनले लामिछानेलाई मन नपराउनेहरू पहिल्यैदेखि विरोधी रहेको, उनका समर्थकहरू त्यसपछि झन् कडा समर्थक बनेको बताए।

समग्रमा मत कम खस्दा सबभन्दा धेरै नकारात्मक असर गठबन्धनलाई परेको आकलन उनले गरे। अर्को पार्टीको उम्मेदवारलाई मत दिनुभन्दा समर्थकहरू मतदान गर्नै नगएको उनको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देखिएको रुझानबारे उनको टिप्पणी थियो- "यो जनताको मूड हो।"