२०७९ असोज ७, शुक्रबार

प्रचण्ड उवाच  नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौँमा आयोजित एक कार्यक्रममा 'युद्धपछि मात्र नेपालमा शान्ति आएको' बताएका छन्।  तत्कालीन माओवादी द्वन्दको पक्ष-विपक्षमा आजसम्म पनि बहस हुने गरेको छ। माओवादी समर्थकहरूले नेपालमा राजनीतिक र सामाजिक चेतको विकास 'जनयुद्ध'ले गर्दा सम्भव भएको दलील पेश गर्छन्। लोकतान्त्रिक दलका समर्थकहरू द्वन्द्वकालले गर्दा मुलुकको राजनीतिक र आर्थिक अवस्था दशकौं पछि धकेलिएको भन्ने गर्छन्। ती पक्ष-विपक्षका तर्क आ-आफ्नै ठाउँमा होलान् तर दाहाल, जो शान्ति सम्झौता गरिसकेपछि देश र पार्टी कार्यकर्ताभन्दा सधैँ आफू र आफ्नो परिवारको आर्थिक शान्तिको लागि अनवरत लागिरहे, उनले युद्धबाट देशमा शान्ति आएको भन्न कति उचित होला? वर्ग संघर्ष, सर्वहारा मुक्ति जस्ता कुरामा भुलाएर अनेक लडाकु तयार पारे। आफू भने हजारौंका पहिरन पहिरिने,  लाखौंका गाडीमा हिँड्ने, करोडौंका घरमा बस्ने गरेका छन्। कुनैबेला ज्यान दिन तयार सयौं लडाकुहरूलाई दोधारमा पारेर, बिचल्ली गराएर कुनै औचित्य पुष्टि गर्न शान्तिको रटान लगाउन उनलाई कतिको सुहाउँछ होला पाठकहरू आफै यकिन गर्नुहोला। --------------- डा. केसी-सरकार वार्ता जारी डा. गोविन्द केसी स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशन बसेको आज १२ दिन पुग्यो। तत्कालीन नेकपा (नेकपा) र पछि नेकपा (एमाले) सरकारमा रहँदा पनि डा. केसीले आमरण अनशन गरेका थिए।  त्यो बेला केसीको जायज मुद्दालाई सम्बोधन गरेन भनेर सडक र सदनमा उनको समर्थनमा उत्रिएको नेपाली कांग्रेस अहिले आफ्नो नेतृत्वको …

प्रचण्ड उवाच 

नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौँमा आयोजित एक कार्यक्रममा 'युद्धपछि मात्र नेपालमा शान्ति आएको' बताएका छन्। 

तत्कालीन माओवादी द्वन्दको पक्ष-विपक्षमा आजसम्म पनि बहस हुने गरेको छ। माओवादी समर्थकहरूले नेपालमा राजनीतिक र सामाजिक चेतको विकास 'जनयुद्ध'ले गर्दा सम्भव भएको दलील पेश गर्छन्। लोकतान्त्रिक दलका समर्थकहरू द्वन्द्वकालले गर्दा मुलुकको राजनीतिक र आर्थिक अवस्था दशकौं पछि धकेलिएको भन्ने गर्छन्।

ती पक्ष-विपक्षका तर्क आ-आफ्नै ठाउँमा होलान् तर दाहाल, जो शान्ति सम्झौता गरिसकेपछि देश र पार्टी कार्यकर्ताभन्दा सधैँ आफू र आफ्नो परिवारको आर्थिक शान्तिको लागि अनवरत लागिरहे, उनले युद्धबाट देशमा शान्ति आएको भन्न कति उचित होला? वर्ग संघर्ष, सर्वहारा मुक्ति जस्ता कुरामा भुलाएर अनेक लडाकु तयार पारे। आफू भने हजारौंका पहिरन पहिरिने, 

लाखौंका गाडीमा हिँड्ने, करोडौंका घरमा बस्ने गरेका छन्। कुनैबेला ज्यान दिन तयार सयौं लडाकुहरूलाई दोधारमा पारेर, बिचल्ली गराएर कुनै औचित्य पुष्टि गर्न शान्तिको रटान लगाउन उनलाई कतिको सुहाउँछ होला पाठकहरू आफै यकिन गर्नुहोला।

---------------

डा. केसी-सरकार वार्ता जारी

डा. गोविन्द केसी स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशन बसेको आज १२ दिन पुग्यो। तत्कालीन नेकपा (नेकपा) र पछि नेकपा (एमाले) सरकारमा रहँदा पनि डा. केसीले आमरण अनशन गरेका थिए। 

त्यो बेला केसीको जायज मुद्दालाई सम्बोधन गरेन भनेर सडक र सदनमा उनको समर्थनमा उत्रिएको नेपाली कांग्रेस अहिले आफ्नो नेतृत्वको सरकार हुँदा अनशनको १२औँ दिनसम्म उदासिनता देखाइरहेको छ। यद्यपि, केसी पक्षधर र सरकारी टोली बीच चौंथो चरणको वार्ता हाल जारी छ। 

-----------

मिश्रको 'अ'वैकल्पिक यात्रा निष्कर्ष नजिक

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भूतपूर्व वैकल्पिक नेता रवीन्द्र मिश्रसँगको लामो वार्ता र छलफलपछि आउने २-३ दिनभित्र एकता हुने वा नहुनेबारे टुंगो लाग्ने बताएका छन्।

स्रोतका अनुसार, मिश्रले वरीयता क्रममा अध्यक्षपछि हुने गरी वरिष्ठ उपाध्यक्ष पदको माग गरे पनि पार्टीभित्रका पुराना र वरिष्ठ नेताहरूले उनलाई सो पदमा स्वीकार गर्न आनाकानी गरेकोले एकता छलफल निष्कर्षमा पुग्न सकेको छैन।

एकादेशका वैकल्पिक राजनीतिको 'मेन हिरो'का रूपमा उदाएका मिश्र, विवेकशील साझामा विवाद उच्च विन्दुमा पुगेपछि सो पार्टीको एउटा हिस्सैसहित राप्रपा प्रवेशको तयारीमा छन्। 

उनको यो यात्रा, जुन वैकल्पिक भने बिलकुलै हैन। उल्टो हो कि सुल्टो यो केवल उनी जानुन् वा उनको अल्टरइगो मनु चौधरीले जानुन्, तर 'सेन्टर लेफ्ट' भनेर एकतमास कुर्लिने उनको एकाएक 'फार राइट' तर्फको छलाङ भने निकै रोचक छ। अझै भनौं, कुनै बेला नेपालमा वैकल्पिक राजनीतिको संभावनाबारे आस्था राखेर यी पार्टीहरूप्रति आकर्षित भएका, जोडिएका, र मत दिएकाहरू जिल्लै परेका छन् भन्दा अतिशयोक्ति नहोला।

मिश्रको राजनीतिक महत्वाकांक्षा धेरै अगाडिदेखि रहिआएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्। त्यसमा पनि उनलाई सिधै माथिल्लो तप्काबाट राजनीति गर्नु थियो, माथि भनेझैं मेन हिरो भएर, साइड क्यारेक्टर हैन। वैकल्पिक राजनीतिमा होम्मिनु अघि मिश्रले कमल थापाको तत्कालीन राप्रपा नेपाल प्रवेश गर्न निकै जोरजुलुम गरेका थिए र थापा पनि उनलाई भित्र्याउन निकै उत्साहित थिए। तर त्यहाँ पनि वरिष्ठ उपाध्यक्ष माग गरेका उनी वरीयता र पदबारे कुरा नमिलेपछि आफ्नै बाटो लागेका थिए।

खैर, साझा-विवेकशील हुँदै साझादेखि राप्रपासम्मको मार्चपास सबैको लागि रमाइलो बनेको छ नै, यो यात्रा लिङ्देनको 'धर्मको लागि ज्यान दिन तयार हुने' गन्तव्यमा पुगेर सम्पूर्ण हुन्छ कि यहाँबाट अझै 'विचारभन्दा माथि देश' भन्दा कडा फुर्को जोडेर अगाडी बढ्छ, कौतुहल रहिरहने छ।
 
------

तालमेल ताँती

निर्वाचन अझै नजिकिँदै छ, तालमेलका प्रयासहरूले झनै निरन्तरता पाइरहेका छन्।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग लभ्-हेट सम्बन्ध रहेका राजेन्द्र महतो हाल उनै ओलीको पार्टीसँग चुनावी तालमेल गर्न प्रयासरत् छन्। एकातर्फ उक्त पार्टी राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोधमा उत्रिएको छ। अर्कोतर्फ, राष्ट्रपतिको कदमलाई हरसम्भव समर्थन गर्ने एमालेसँग गठजोड मिलाउन पनि तत्पर देखिन्छ। यी र यस्तै विरोधाभाषहरूले नेपालको राजनीतिक परिदृश्यलाई परिभाषित गर्दछन्, शायद विश्व राजनीति पनि।

उता सरकारमा रहेका गठबन्धन पार्टीहरूको दिनदिनै घुर्क्याइँ, रिसाइँ, फुल्याइ चलिरहेको छ र चुनावको अघिल्लो रात, यानेकी अग्राख पलाउने रातसम्म चलिनै रहने सम्भावना छँदै छ।

------

आम निर्वाचन उम्मेदवारी र बालेन मोडल

चुनावको माहोल छ, र छ लहर उम्मेदवारी घोषणा गर्नेहरूको।

सामान्यतया पनि उम्मेदवारी घोषणा हुँदा जनमानसमा कौतुहल हुने नै भयो, यसपालि भने पहिले वैकल्पिक दलहरूमा आबद्ध नेता-नेतृहरू, र विभिन्न क्षेत्रमा सफल व्यक्तिहरूले 'बालेन मोडल' पच्छ्याएर स्वतन्त्र उम्मेदवारी दिने लहरले खबर बजार निकै तातिएको छ।

काठमाडौं महानगरपालिकाको पछिल्लो मेयर चुनावमा उम्मेदवारी दिएर रञ्जु दर्शनाको राजनीतिक उदय भएको थियो। विवेकशील नेपाली दल, विवेकशील साझाबीच जुट-फुट चल्दै गर्दा। अहिले कुनै पार्टीसँग आबद्ध नभएकी उनले संसदीय निर्वाचनमा काठमाडौं -५ बाट उम्मेदवार बन्ने घोषणा गरेकी छिन्।

त्यसैगरी विवेकशील साझाबाट बागमती प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले पनि काठमाडौँ-८ बाट हालसालै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

विवेकशील साझाका युवा नेता अब्दुस मियाँले पनि यसैगरी स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका थिए, तर एकाएक यू-टर्न गर्दै हिजो मात्र उनी केपी शर्मा ओलीसँग हात मिलाउँदै नेकपा एमाले प्रवेश गरेका छन्। 

काठमाडौं मेयर बालेन शाहको स्वतन्त्र उम्मेदवारको रुपमा जित र चुलिएको लोकप्रियता देखेर मिडियाकर्मी रवि लामिछानेले त राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल नै दर्ता गरे, जसमा पछिल्लो समय केही नाम चलेका व्यक्तिहरू प्रवेश गर्ने क्रम जारी छ।

हेरौँ, मेयर शाहको लागि फलिफाप भएको यो मोडलले अरुको हकमा के कस्तो नतिजा ल्याउँछ!

-------

ब्रिटिश ट्याबलोइड्स् भर्सेस् मेगन मार्कल 

दुई हप्ताअघि बेलायत कि ९६ वर्षीया महारानी एलिजाबेथ द्वितीयको निधनको खबरले विश्वभरका मिडिया जगत् र सामाजिक सञ्जाल एक्कासी तरंगित भए।


सामाजिक सञ्जालमा निकै रोचक दुई भिन्न परिदृश्य देखिए: एकातर्फ रानीको निधनको शोक मनाउ गरिरहेका पोस्टहरू निकै शेयर/रिट्विट भए। अर्कोतर्फ आयरल्याण्ड, दक्षिण अफ्रिका, क्यारेबियन देशहरू, भारतलगायतका बेलायतका पूर्व उपनिवेश देशका बासिन्दाहरू रानी र राजपरिवारबारे मिमहरू शेयर गरिरहेका थिए। 

यसैबीच, बेलायती ट्याबलोइड्हरु चाहिँ राजपरिवारबाट अलग्गिएका राजकुमार ह्यारी र मेगन मार्कल, खासगरी मार्कलबारे अझै अनेक तर्क-कुतर्क गरिरहेका थिए। मेगनको हरेक हाउभाउ, बोलिचाली, हिँडाइ-हेराइ, यहाँसम्म कि उनी यसै उभिइरहेका तस्वीरहरू माथि पनि यी ट्याबलोइड्हरूले ३-४०० शब्द खर्चिइ मिहीन 'विश्लेषण' गरिरहे। एलिजाबेथको अन्त्येष्टि समारोहमा एकटक हेरिहेकी उनको तस्वीरलाई 'खुशी मेगन' भनेर रिपोर्ट गरियो, जसलाई सामाजिक सञ्जालमा उनका विरोधीहरूले थप बढावा दिए। 

मेगनले बकिङ्घम् प्यालेसअगाडि दरबारका एक सहयोगीसँग गरेको सामान्य वार्तालापलाई छुच्चो व्यवहार भनेर प्रस्तुत गरियो, जसलाई उनका समर्थकहरूले ब्रिटेनका मिडियाको रंगभेदी व्यवहार भन्दै आएका छन्।

ट्याब्लोइडहरू माथि पटकपटक मुद्दा हालेर जित्दा पनि तिनको मार्कलप्रतिको निरन्तर 'लगाव' बुझिनसक्नुको छ।

अर्कोतर्फ, रानी एलिजाबेथको निधनको शोकमा भनौं कि 'शक'मा भनौं, नेपाल सरकारको तीन दिन 'बार्ने' कुटनीतिक घोषणा पनि यसबीच निकै चर्चित रह्यो।