मतदानको सबै तयारी पुरा, केहीबेरमा शुरू हुँदै

 निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्। उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन्।

तस्वीर : रासस

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुँदैछ। मतदानकाे सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ।

मतदानबाट प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य चुनिनेछन्। बाँकी भने समानूपातिक प्रणाली अन्तर्गत दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन्। प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० सदस्य हुन्छन्। प्रतिनिधिससभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।

त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन्। निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्। उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन्। प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फ दुई हजार ४१२ जना उमेदवार प्रतिस्पर्धामा छन्। यसैगरी प्रतिनिधिसभाको समानुपातिकतर्फ दुई हजार १९९ उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ। 

प्रदेशसभातर्फ प्रत्यक्षतर्फ तीन हजार २२४ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रदेशसभाको समानुपातिकतर्फ तीन हजार ७०८ जना उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ। यो निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कुल पाँच हजार ६३६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन्। समानुपातिकतर्फ पाँच हजार ९०७ उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ। 

निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र देखाएर मतदान गर्न सक्नेछन्। मतदाता परिचयपत्र नभएका तर नाम सूचीकृत भएका मतदाताले अन्य सरकारी कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ।